उकेरा फिचर

३० वटा माटाका गिलासबाट सुरू भएकाे ‘दाह्री भाईको चिया पसल’, जहाँ मुख्यमन्त्री र मन्त्रीले चिया पिउँछन्


सुर्खेत : वीरेन्द्रनगर–९ लाटीकोइलीको सडक छेउमै सुरज क्षेत्रीको चिया पसल छ। मुख्य बजारबाट १० मिनेटको मोटरसाइकल यात्रामा दाह्री भाइको चिया पसल पुगिन्छ।

नजिकै कर्णालीको प्रमुख पर्यटकीय स्थल काँक्रेबिहार छ। विहान होस् या दिउँसो, बजारदेखि नै उनको पसलमा चिया खान जानेका भीड नै हुन्छ।

सुर्खेतमा प्रख्यात बनेको मट्का चियाको ‘ब्राण्ड’सँगै विभिन्न योजना र कुराकानी समेत हुन्छ यहाँ। चुनावी सरगर्मी चलिरहेका बेला अहिले उनको पसलमा राजनीतिका गफ पनि टन्नै हुन्छन्।

‘फलानो पार्टीले जित्छ, त्यो पार्टीको उम्मेदवार ठिक, उसले जित्दा राम्रो काम गर्न सक्छ’ जस्ता तर्कले चिया पसलमा चुनावी सरगर्मी बढेको भान हुन्छ। क्षेत्री अरुका कुरा सुन्दै आफ्नो व्यापारमा ध्यान दिन्छन्। यसरी नै विहानदेखि साँझसम्म चल्छ उनको पसल।

व्यापारमा कसरी ?
सानै उमेरदेखि व्यापार व्यवसाय गर्नुपर्छ भन्ने सोच राख्ने उनी २०७४ सालमा विदेश जाने योजनासहित सुर्खेतमा चार महिने जापानिज भाषा पढे।

पहिलो परीक्षा दिएर पास पनि भए। तर, उनलाई सुर्खेत छोड्नै मन लागेन। उनलाई लाग्यो बाहिर गएर दुःख गर्नुभन्दा यहिँ केही उद्यम गरेर कमाउन सकिन्छ। जापान जान लाग्ने खर्चको केही हिस्सा यता व्यवसायमा लगानी गरे र मट्का चिया पसल खोले।

‘खासमा मैले जापानिज भाषा पढेर विदेश जाने योजना बनाएको थिएँ, सोही अनुसार पहिलो परीक्षा दिएँ, पास पनि भएँ,’ उनले भने, ‘पछि यति धेरै पैसा ऋण गरेर विदेश जानुभन्दा थोरै लगानीमा यहिँ केही गर्छु भन्ने सोच आयो अनि मट्का चिया पसल खोलेर बसेँ।’

ठूलै रेस्टुरेन्ट खोल्ने सोच पनि उनीमा नआएको होइन। तर, व्यापार भन्ने सानोबाट नै सुरु गर्दा विस्तारै ठूलो हुन्छ भन्ने उनलाई लाग्यो। २०७५ वैशाख १ गतेदेखि उनले सुर्खेतमा मट्का चिया बेच्न सुरु गरे।

सुर्खेतमा मट्का चिया पाउने ठाउँ अन्त थिएन। माटोको भाँडामा चिया बेच्नु सुर्खेतका लागि नौलो थियो। सुरु–सुरुमा मट्का चियामा ग्राहकले रुचि नदेखाए पनि एकपटक स्वाद बसेपछि ग्राहकको संख्या ह्वात्तै बढेको क्षेत्री बताउँछन्।

‘स्टिल र सिसाका गिलासमा त चिया जहाँ पनि पाउने। तर, माटोको भाँडोमा चिया बेच्न थालेपछि ग्राहकका लागि पनि नयाँ अनुभव भयो,’ क्षेत्री भन्छन्, ‘माटोको भाँडोमा चिया पिउँदा माटोको बास्ना आउने भएकोले पनि मट्का चिया पिउनेहरूको संख्या बढ्यो।’

ग्राहकलाई मन पर्न थालेपछि के चाहियो र? व्यवसाय पनि फस्टाउँदै गयो र सुर्खेतमा मट्का चिया ‘ब्राण्ड’ नै बन्यो।

काठमाडौं बस्दा माटोको भाँडोमा विभिन्न परिकार र चिया बेच्ने गरेको सुरजलाई थाहा थियो। त्यो देखेपछि उनलाई आफूले पनि यहि गर्छु भन्ने लागेको थियो।

सोही अनुसार सुर्खेतमा पसल सुरु गरेपछि माटाका भाँडा भक्तपुरबाट सुर्खेत मगाए। सुरुमा ३० वटा माटाका भाँडा मगाएका उनले केहीमा दही जमाउँथे केहीमा चिया बेच्थे।

वार्षिक १५ लाख आम्दानी
अहिले विस्तार भएको यही व्यवसायबाट उनले वार्षिक १५ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। पसलमा उनलाई परिवारले साथ दिन्छन्। काम गर्नका लागि बाहिरको मानिस खोज्न नपरेको उनी बताउँछन्।

उनले थपे, ‘अहिले यहि चिया पसलले वार्षिक १४÷१५ लाख रूपैयाँ कमाउँछ। किन विदेश जानुपर्यो र? अब विदेशमा काम गर्ने सोचले होइन, घुम्न मात्र जाने हो।’

क्षेत्रीले बेच्ने चियाको ‘ब्राण्ड’सँगै पसलको नाम पनि फरक छ। नामकै कारण पनि कहिल्यै नछिर्ने मानिस पनि एकपटक चिया पिएर जाने उनी बताउँछन्। एक पटक छिरेको मान्छेलाई चियाले मोहनी लगाउने र नियमित ग्राहक बन्ने उनको भनाइ छ।

चार वर्षदेखि सुर्खेतमा उनको ब्राण्डको चिया बिक्छ। चियाको ‘टेस्ट’मा उनले कहिल्यै कमी गरेका छैनन्। अहिले उनले  पसलमा चियासँगै लस्सी पनि बेच्छन्।

निर्वाचनको समय भएकाले केन्द्रका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, पत्रकार र सरकारी कर्मचारीले उनको पसलमा चिया पिउने गरेका छन्।

अहिले चक्लेट चिया, मट्का चिया, दुध चिया र कोकोनट चिया र लस्सी बेचिरहेको भए पनि आगामी दिनमा अन्य परिकार पनि थपेर वीरेन्द्रनगर बजारमासमेत शाखा खोल्ने उनको योजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

रातिको १२ बजेको थियो। एक्कासी गड्याङगुडुङ आवाजसँगै छिमेकीहरू कराएको हल्ला चल्यो। महेन्द्र ब्यूँझिए, यस्सो घरबाहिर हेर्दा पहिरोले घरलाई दायाँबायाँबाट घेरा हालिसकेको थियो। बल्लतल्ल झ्यालबाट हाम....

गाउँमै व्यवसाय गर्न पनि सरकारसँग जुधिरहेका हरिबहादुर दम्पती

सिरीरी चलिरहेने सिरेटो र वरपरको सुन्दर दृश्यले जोकोहीलाई लोभ्याउँछ नै। यहि होम स्टे चलाउने हरि बहादुर घिमिरे र उनी श्रीमती स्वस्तिकाको भने आफ्नै दुःख छ।....

साँखुमा डाेकाे बुन्ने जयनारण भन्छन्- 'नेतालाई भोट हाल्नु र खोलामा ढुङ्गा हान्नु एकै हाे'

एक्लो सन्तान भएको र आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण उनले विद्यालय पढ्न जान समेत पाएनन्। गाउँघरमा खेती किसानीको काम गर्दा-गर्दा दिक्क भएका राईकाे दिमागमा....

१५ वर्षदेखि आँगनमै भाषण गर्दा पनि कुनै नेताले देखेनन् धर्मबहादुरको घर

कार्यक्रममा उनकै घरतिर माइक फर्काएर नेताहरू ठूल्ठूला स्वरमा भाषण गर्छन्– ‘हामी गरिबलाई धनी बनाउँछौं। बाटो, खानेपानी र बिजुली ल्याउँछौं। गरिबका खरले छाएका झुपडीमा टिन हाल्छौं।....

१६ वर्ष सेनाको जागिरे हुँदा नमिलेको सन्तुष्टि ठीमीको सडक किनारमा भेटेका सरोज

सानैमा आफ्ना बाले अर्की आमा ल्याएपछि आफू र आमालाई नहेरेको गुनासो गर्ने खत्री आमाले नै तरकारी बेचेर आफूलाई पढाएको र यतिको सक्षम बनाएको गर्वसाथ बताउँछन्।....