डा. टेकेन्द्रको अनुभव : घाँटी काटिएकालाई पनि बचाइयो, चिउँडो भाँचिएका कैदीले ‘डाक्टर साप, भोकले मर्न आटेँ’ भन्दा मनै कटक्क भो

डा. टेकेन्द्रको अनुभव : घाँटी काटिएकालाई पनि बचाइयो, चिउँडो भाँचिएका कैदीले ‘डाक्टर साप, भोकले मर्न आटेँ’ भन्दा मनै कटक्क भो

इलाम जिल्ला अस्पतालमा काम गर्दाको एउटा घटना दन्त चिकित्सक डा. टेकेन्द्र चौलागाईँको मानसपटलमा ताजै छ।

प्रसङ्ग करिब चार वर्षअघिको हो। करिब ३५ वर्षका पुरुषलाई इलाम अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। पुरुषको घाँटीको अगाडिको श्वास नली नै काटिएको थियो।

घाँटीबाट रगत बगिरहेको थियो। घोक्रो तथा श्वासनली नै काटिएका ती पुरुषले कठिनले श्वास फेरिरहेका थिए। उनी अर्धचेत अवस्थामा थिए।

‘घाइते पुरुषको श्वासनली नै काटिएको थियो’ डा. टेकेन्द्रले त्यो बेलाको घटना सुनाए, ‘घाइतेले मुख र घाँटी दुवै ठाउँबाट श्वास फेरिरहेको अवस्था थियो। रगत बगिरहेको थियो।’

त्यो घटना देखेपछि सुरुमा त डा. टेकेन्द्र पनि हतास भए। अतालिए। अस्पतालमा उपचारका लागि स्रोत साधनको अभाव थियो। त्यहाँ न उनी विशेषज्ञ चिकित्सक थिए न अन्य कोही।

करिब ६ महिनापछि वृद्धलाई लिएर परिवार पुनः अस्पताल पुग्यो। डा. टेकेन्द्रले स्वास्थ्य अवस्था हेरे। बुझे। मुखमा क्यान्सर फैलिएर वृद्धको स्वास्थ्य अवस्था निक्कै जटिल बनिसकेको थियो।

डा. टेकेन्द्र त बीडिएस अध्ययन गरेका डेन्टिस्ट चिकित्सक थिए। सिंगो अस्पतालमा चिकित्सकका नाममा उनी र अर्का एक जना मेडिकल अधिकृत गरी दुई जना मात्रै चिकित्सक थिए।

तर, अन्य ठाउँमा रिफर गर्दा पुरुषको ज्यानै जाने अवस्था थियो। त्यसैले डा. टेकेन्द्र र अर्का चिकित्सकको टिम मिलेर घाइतेको काटिएको घाँटीको उपचार सुरु गरे। डा. टेकेन्द्रले काटिएको घाँटी सिलाउन थाले।

केही मिनेट काटिएको घाँटीको भाग टाल्न सफल भयो डा. टेकेन्द्रको टिम। विस्तारै काटिएको भागको घाँटीको घाउ ठिक हुँदै गयो। पुरुषको स्वास्थ्य सामान्य अवस्थामा फर्कँदै गयो।

पछि बुझ्दा ती पुरुष अत्याधिक लागुपदार्थ सेवन गर्दा रहेछन्। घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेका रहेछन्। लागुऔषधको लतमा परिसकेकाले पुरुषको परिवार पनि दिक्क भइसकेका रहेछन्।

केही दिनको अस्पताल बसाइपछि पुरुष अस्पतालबाट डिस्चार्ज भए। डिस्चार्जपछि अस्पतालको बाटो परेर हिँड्दा ती पुरुष अस्पताल छिरेर ढोगेर मात्रै जाने गरेको सम्झन्छन् डा. टेकेन्द्र।

‘अस्पतालको बाटो हिँड्दा उहाँ एक पटक मलाई ढोगर जानुहुन्थ्यो,’ डा. टेकेन्द्रले सुनाए। त्यसो त कहिलेकाहिँ ति पुरुषले उनलाई मह, सागसब्जीजस्ता कोसेली पनि ल्याइदिन्थे रे। 

उपचार पछि पनि ती पुरुषलाई रक्सी र लागुपदार्थ सेवनको नसामा भेटेको सम्झन्छन् डा. टेकेन्द्र।

‘उहाँ अस्पताल वरिपरि रक्सी र लागुपदार्थ सेवन गरेर हल्ला गर्नुहुन्थ्यो,’ डा. टेकेन्द्रले सुनाए, ‘कसैले भनेको मान्नुहुन्थेन। मैले गएर हल्ला गर्न हुँदैन है भनेपछि उहाँ मान्नुहुन्थ्यो।’

चिउँडो भाँचिएका कैदीले डा. साप भोकले मर्न आटेँ भन्दा...
सात वर्षअघि बीडिएस अध्ययनपछि छात्रवृति करारमा हेटौंडा जिल्ला अस्पतालमा काम गर्दाको एउटा प्रसङ्ग पनि डा. टेकेन्द्र कहिल्यै भूल्दैनन्। एक दिन हेटौंडा अस्पतालमा करिब २०/२२ वर्षका पुरुष कैदीलाई उपचारका लागि पुर्याइएको थियो।

कारागारभित्र झगडा हुँदा अर्का कैदीले हानेर उनको चिउँडो नै भाँचिदिएछन्। दाँतको हड्डी पनि भाँचिएको थियो।

स्रोत साधनको अभावका बाबजुत डा. टेकेन्द्रको टिमले उनको उपचार गर्यो। हड्डी जोडियो। तारले दाँत बाँधियो। उपचारपछि भाँच्चिएको चिउँडो जोडिँदै गयो। समस्या ठिक हुँदै गयो। 

त्यहि दिन कैदी अस्पतालबाट डिस्चार्ज भए। चिउँडो, बंगारा र दाँतमा समस्या भएकाले उनलाई साह्रो किसिमको खानपान गर्न मिल्दैनथ्यो। झोलिलो पदार्थ मात्रै खानुपर्ने थियो। तर, कारागारमा भने उनलाई दालभात दिइएछ।

सायद परामर्श नपुगेर दालभात दिइएको हुनसक्ने डा. टेकेन्द्रको बुझाइ छ। एक हप्तापछि उनलाई फलोअपका लागि पुनः अस्पताल पुर्याइयो।

अस्पताल जाँदा उनले डा. टेकेन्द्रलाई भनेछन्– ‘चिउँडो त बनाइदिनुभयो डाक्टर साप, तर भोकले मर्न आटेँ। जेलमा पानी मात्रै पिइरहेको छु।’

एक हप्तासम्म उनले पानी बाहेक केही खाएका रहेनछन्। त्यसपछि डा. टेकेन्द्रले प्रहरीलाई भनेर झोलिलो पदार्थ मात्रै खुवाउन अनुरोध गरे। त्यसपछि सायद चिउँडो भाँचिएका ती कैदीले झोलिलो पदार्थ खान पाए। चिउँडोको समस्या समाधान हुँदै गइरहेपछि उनी फलोअपमा आएको डा. टेकेन्द्रलाई याद छैन।

‘बालकले गोजीमा बोकेर आएको दाँत जोडियो’
त्यसैगरी इलाम जिल्ला अस्पतालमा काम गर्दा एकजना बालकको दाँत गोजीमा बोकेर अस्पताल पुगेको पनि डा. टेकेन्द्रको सम्झनामा छ।

प्रसङ्ग केही वर्षअघिको हो। करिब १३ वर्षका बालकको राति लडेर दाँत झरेछ। त्यसपछि झरेको दाँत गोजीमा बोकेर ती बालकलाई भोलिपल्ट परिवारले इलाम अस्पताल पुर्याएछन्।

‘लडेको १२ घण्टापछि बालकको दाँत गोजीमा लिएर आउनुभएको थियो,’उनले त्यो बेलाको प्रसङ्ग सुनाए।

गिजा पाकेर गाला बाहिर नै पिप निस्किरहेकाे बिरामीका बिरामीका आफन्तले दाँत फुकाल्नै दिएनन्।

डा. टेकेन्द्रको टिम उपचारका लागि तयार भयो तर अस्पतालमा झरेको दाँत जोड्ने स्रोतसाधन तथा औषधिको अभाव थियो। झरेको दाँत जोड्नुपूर्व ‘साइट्रिक एसिड’ लगायतमा डुबाएर सफा गर्नुपर्ने थियो। अन्य औषधि पनि चाहिन्थ्यो। तर, अस्पतालमा ‘साइट्रिक एसिड’ थिएन।

त्यसपछि डा. टेकेन्द्रले आइडिया लगाए। कर्मचारीलाई कागती किन्न पठाए। अस्पतालमा कागती ल्याइयो। उनले ‘साइट्रिक एसिड’ को रुपमा कागती निचोरेर रस निकाले।

स्लाइनमा कागतीको रस हालियो। त्यसपछि कागतीको रस लगायत अन्य औषधिमा झरेको दाँतलाई डुबाएर दाँत सफा गरियो। त्यसपछि बालकको झरेको दाँत जोड्न सफल भएको उनले सुनाए।

‘ट्रिटमेन्ट गरेर दाँत जोडियो र सफल पनि भयो,’ उनले सुनाए, ‘त्यो कुरा सम्झँदा आफैँलाई अचम्म लाग्छ।’

‘क्यान्सर भएकाे पत्याएनन्, पछि फैलियाे’
अर्को एउटा प्रसङ्ग पनि डा. टेकेन्द्र कहिल्यै भुल्दैनन्। इलाम अस्पतालमा नै काम गर्दा जिब्रोमा घाउ भएका एक वृद्ध अस्पताल पुगेका थिए। दाँत दुखिरहेकाले निकालिदन अनुरोध गरे उनले। स्वास्थ्य परीक्षण गर्दा उनको जिब्रोमा भएको घाउमा क्यान्सरको लक्षण थियो।

क्यान्सर भर्खर सुरु भएको देखिन्थ्यो। त्यसैले वृद्धका आफन्तलाई डा. टेकेन्द्रले जिब्रोमा भएको घाउ क्यान्सरको लक्षण जस्तो भएकाले थप स्वास्थ्य परीक्षण गरेर उपचार गर्नुपर्ने सुझाव दिए।

तर, ती वृद्धका छोराले ‘क्यान्सर भनेर जेपायो त्यही बोल्ने, यस्तो घाउ पनि कहिँ क्यान्सर हुन्छ’ भन्दै डा. टेकेन्द्रसँग असन्तुष्टि पोखे। उनले जति सम्झाउने कोसिस गरे पनि केही चलेन। कुरै नसुनी छोराले वृद्धलाई लिएर गए।

त्यसको करिब ६ महिनापछि वृद्धलाई लिएर परिवार पुनः अस्पताल पुग्यो। डा. टेकेन्द्रले स्वास्थ्य अवस्था हेरे। बुझे। मुखमा क्यान्सर फैलिएर वृद्धको स्वास्थ्य अवस्था निक्कै जटिल बनिसकेको थियो।

उनले ती वृद्धलाई थप उपचारका लागि ठूलो अस्पताल लैजान सल्लाह दिए। त्यसपछि वृद्धलाई लिएर परिवार फर्कियो। ती वृद्धको अनुहार सम्झँदा अझै डा. टेकेन्द्रको मन कुडिन्छ। 

बिरामीका आफन्तले दाँत फुकाल्न नदिएपछि...
दाँतको उपचारसम्बन्धी केही गलत बुझाइसमेत रहेको डा. टेकेन्द्रले सुनाए।

‘दाँत दुखेको समयमा दाँत फुकाल्दिने? कस्तो खालको डाक्टर रहेछ’ भनेर कतिपय बिरामी तथा बिरामीका आफन्तले गाली समेत गरेको सम्झन्छन् उनी। इलाममा नै काम गर्दा बिरामीका आफन्तले असन्तुष्टि पोखेको प्रसङ्ग उनले सुनाए।

दाँत दुखाइ तथा समस्याका कारण मुख सुन्निएका करिब ४० वर्षका पुरुष इलाम अस्पतालमा पुगे। उनको दाँतमा समस्या भई गिजा पाकेर गाला बाहिर नै पिप निस्किरहेको थियो। उनको मुखसमेत सुन्निएको थियो।

बिरामीलाई डा. टेकेन्द्रले अस्पतालमा भर्ना गरे। औषधि उपचार सुरु गरे। उनले दाँत फुकालिदिने योजना बनाएका थिए। त्यही अनुसार बिरामी तथा बिरामीका आफन्तलाई भनेका पनि थिए उनले। तर, बिरामीका आफन्तले दाँत फुकाल्नै दिएनछन्।

‘म त पिलास बोकेर हिँड्छु, त्यसैले कहिलेकाहिँ आफूलाई दाह्रा मिस्त्री पनि भन्ने गर्छु’

‘दाँत दुखेको बेला फुकाल्नै मिल्दैन, अहिले फूकाल्न हुँदैन, त्यहि पनि यो हेर्दै फुच्चे डाक्टर छ’ भनेछन् बिरामीका आफन्तले। दाँत नफुकाली बिरामीको दाँतको समस्या समाधान हुने अवस्था थिएन। दाँत नफुकाले बिरामी थप समस्यामा पर्ने कुरा डा. टेकेन्द्रलाई थाहा थियो।

जति सम्झाउँदा पनि नमानेपछि डा. टेकेन्द्रले बिरामीका आफन्तलाई भनेछन्, ‘विश्वास लाग्छ भने उपचार गर्नुहोस्। हैन भने बिरामी अन्त लानुहोस्।’

त्यसपछि भने बिरामीका आफन्त दाँत फुकाल्न सहमत भए। डा. टेकेन्द्रले समस्या भएको बिरामीको दाँत फुकालिदिए। बिरामीको दाँतको समस्या समाधान भयो। बिरामी डिस्चार्ज भएर घर फर्के।

दाँत सफा गर्दा कमजोर हुन्छ भन्नु झाडापखाला लागेको व्यक्तिलाई पानी खुवाएर झन् बढि पखाला लाग्छ भन्ने भ्रम जस्तै हो भन्छन् उनी।

‘दाँत सफा गर्दा दाँत खिइने, रिरिङ–सिरिङ गर्ने केही हुँदैन। नुहाउँदा त छाला खिइँदैन नी,’ डा. टेकेन्द्रले भने।

जन्म खोटाङ, एसएलसी मोरङबाट
खोटाङमा जन्मिएका टेकेन्द्रको परिवार उनी सानै छँदा मोरङको विराटनगर बसाइँ झर्यो।

त्यसैले उनले एसएलसीसम्मको अध्ययन मोरङमा गरे। मोरङको रंगेलिस्थित त्रिभुवन माविबाट २०६२ मा उनले एसएलसी उत्तीर्ण गरेका हुन्। त्यसपछि टेकेन्द्रले विराटनगरको सिर्जना ज्ञानकुञ्ज उच्च माविबाट प्लस टु गरे।

प्लस टु पछि उनको चिकित्सकीय अध्ययन यात्रा सुरु भयो। टेकेन्द्र २०६४ मा वीरगञ्जस्थित एमबी केडिया डेन्टल कलेजमा चिकित्साशास्त्रको स्नातक तहको बीडीएस अध्ययनका लागि भर्ना भए। २०७० मा उनको बीडिएस अध्ययन पूरा भयो। उनले सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेका हुन्।

छात्रवृत्ति कोटामा अध्ययन गरेवापत उनले दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसैले डा. टेकेन्द्रले विराटनगरको तत्कालिन कोशी अञ्चल अस्पतालमा ६ महिना र हेटौंडाको जिल्ला अस्पतालमा डेढ वर्ष गरी दुई वर्ष करार छात्रवृतिमा काम गरे।

अध्ययन सक्नासाथ सरकारी जागिर
छात्रवृत्ति करारमा कामपछि डा. टेकेन्द्र २०७२ मा लोक सेवामार्फत स्थायी चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश गरे। सरकारी जागिरमा प्रवेश गर्दा उनको तह आठौं र पद डेण्टल सर्जनको थियो।

सरकारी चिकित्सकका रूपमा जागिरे भइसकेपछि डा. टेकेन्द्र पोष्टिङ भएर इलामको जिल्ला अस्पताल इलाममा पुगे। त्यहाँ उनले २०७५ सम्म ३१ महिना काम गरे।

चुरोट खैनी खाने ४० वर्ष नाघेका व्यक्तिले प्रत्येक ६ महिनामा दाँतको परीक्षण गर्दा मुखमा क्यान्सर लाग्नबाट त बचाउन सकिन्छ नै, मुख क्यान्सरमा लाग्ने खर्च समेत घटाउन सकिन्छ।

त्यसपछि चिकित्सा शास्त्रको स्नातकोत्तर तहको एमडिएस (अर्थोडन्टिक्स) विषय अध्ययनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगञ्ज चिकित्सा क्याम्पस) भर्ना भए उनी। २०७८ मा एमडीएस अध्ययन पनि पूरा गरे।

त्यसपछि उनी इलामबाट सरुवा भएर काठमाडौंस्थित कान्ति बाल अस्पतालमा काम गर्न थाले। एक वर्षअघि उनी नवौं तहमा बढुवा भएका छन्। हाल डा. टेकेन्द्र कान्ति बाल अस्पतालमा कन्सल्टेन्ट अर्थोडन्टिक्सको रूपमा कार्यरत छन्।

‘दाँत बताउने मिस्त्री’
दाँतमा तार बाँध्ने, नमिलेको दाँत मिलाउने तथा दाँतको उपचार गर्नु उनको मुख्य काम हो।

विशेषगरी बालबालिकाको नमिलेको मुख, मुखको आकृतिको हड्डी मिलाउने विषयको विशेषज्ञ हुन् उनी। बच्चाको बढ्दो उमेरमा चिउँडो, मुख नमिलेको हुनसक्छ। यस्तो मिलाउनु उनको काम हो।

तर, आफू कन्सल्टेन्ट अर्थोडन्टिक्स (विशेषज्ञ चिकित्सक) भए पनि कान्तिमा स्रोत साधन लगायतको अभावका कारण सामान्य डेन्टिस्ट चिकित्सककै रूपमा काम गर्नु परेको उनले सुनाए।

‘स्पेशलाइजेशन काम धेरै गर्न पाएको छैन, धेरैजसो जेनेरल डेन्टिस्टकै काम गरिरहेको छु,’उनले सुनाए।

विशेषगरी बालबालिकाको शारीरिक वृद्धि विकासको क्रममा मुखको आकृति नमिल्ने, माथिल्लोपट्टिको चिउँडो धेरै अगाडि आए मिलाउँछन् उनी। मुख सानो भएर बालबालिकालाई स्वास फेर्न नै कठिन भएको अवस्थामा मुख मिलाउने काम गर्छन् डा. टेकेन्द्र।

त्यसैले उनी आफूलाई कहिलेकाहिँ ‘दाह्रा मिस्त्री’ पनि भन्ने गर्छन्।

‘म त पिलास बोकेर हिँड्छु, त्यसैले कहिलेकाहिँ आफूलाई दाह्रा मिस्त्री पनि भन्ने गर्छु,’ उनले सुनाए।

तार बाँधेर दाँत मिलाएकामध्ये ९० प्रतिशत १६ वर्षभन्दा कम उमेरका बालबालिका हुने गरेको उनले सुनाए। 

विदेशमा महंगो पर्ने भएकाले नेपालीहरू घुमघाम तथा भेटघाट पनि गर्ने र दाँतको उपचार पनि गर्ने भनेर नेपालमा आएर दाँतको उपचार गर्ने गरेको उनले सुनाए

अझै दाँतको डाक्टरको काम किरा लागेको दाँत उखेल्ने, दाँत भर्ने, दाँत सफा गर्ने त हो नि भन्ने बुझाइको कारण यो क्षेत्रको विकासमा समस्या रहेको उनले सुनाए। यो क्षेत्रको विकासका लागि नीतिनिर्माण तहबाटै प्राथमिकता दिनुपर्ने उनको तर्क छ। 

दाँतको चिकित्सकलाई सामान्य रुपमा लिने गरिएको उनको अनुभव छ। पहिले–पहिले त अस्पतालमा दाँतको बिरामी आउँदा किन दाँतको बिरामी धेरै आइरहेका छन् भन्ने दृष्टिले हेरिन्थ्यो रे। 

नेपालमा दन्त चिकित्सक धेरै भए पनि सरकारीमा दरबन्दी कम हुँदा धेरै ठाउँमा दाँतको उपचारका लागि सहज सेवा दिन कठिन भइरहेको उनी बताउँछन्।

नेपालमा यो विषय अध्ययन गरेका चिकित्सकले जागिर नपाएर विदेश जाने प्रवृति बढिरहेको उनले सुनाए।

४० नाघेकालाई मुखको क्यान्सरको जोखिम बढि
विशेषगरी दुर्गम क्षेत्रमा बसोबास गर्ने व्यक्तिमा पाको उमेर हुँदै जाँदा मुखको क्यान्सरको जोखिम बढि हुने गरेको डा. टेकेन्द्रले सुनाए। चुरोट खैनी खाने अनि समयमा दाँतको उपचार नहुँदा अल्सर भएर क्यान्सरको जोखिम हुने गरेको उनले सुनाए।

विशेषगरी चुरोट खैनी खाने ४० वर्ष नाघेका व्यक्तिले प्रत्येक ६ महिनामा दाँतको परीक्षण गर्नुपर्ने डा. टेकेन्द्रको सुझाव छ। जसले गर्दा मुखमा क्यान्सर लाग्नबाट त बचाउन सकिन्छ नै, मुख क्यान्सरमा लाग्ने खर्च समेत घटाउन सकिने उनी बताउँछन्।

त्यसैगरी आजकाल करिब ९५ प्रतिशत बालबालिकाको दाँत किराले खाएको देखिने गरेको उनले सुनाए। दाँत किराले खाएका कयौं बालबालिकाले राम्रोसँग चपाएर खानपान गर्न नसक्दा कुपोषित समेत हुने गरेको उनको उपचार अनुभव छ। 

विदेशबाट नेपालमा आएर दाँतको उपचार
विदेशबाट कयौं नेपालीहरू दाँतको उपचार गर्न आउने गरेको डा. टेकेन्द्रले अनुभव सुनाए।

‘विदेशबाट आमाबुवा भेट्ने निहुँमा दाँतको उपचार गर्न नेपाल आउने नेपालीको संख्या धेरै छ,’ उनले सुनाए।

विदेशमा महंगो पर्ने भएकाले नेपालीहरू घुमघाम तथा भेटघाट पनि गर्ने र दाँतको उपचार पनि गर्ने भनेर नेपालमा आएर दाँतको उपचार गर्ने गरेको उनले सुनाए।

विकसित मुलुकमा १०/१२ लाख खर्च हुने दाँतको समस्याको उपचार नेपालमा ४/५ हजार भन्दा कममा हुनसक्ने उनी बताउँछन्।

केही समयअघि मात्रै डा. टेकेन्द्रका साथी दाँत निकाल्न नेपाल आएको र आफूले निकाल्दिएको उनले सुनाए।

२६ कात्तिक, २०७९, १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।