आफूमाथि टिप्पणी गरेपछि ओलीमाथि हर्कको कटाक्ष– ‘कठै बरा... गफाडी !’

आफूमाथि टिप्पणी गरेपछि ओलीमाथि हर्कको कटाक्ष– ‘कठै बरा... गफाडी !’

काठमाडौंः आफूमाथि खानेपानीको विषयलाई लिएर टिप्पणी गरेपछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत ओलीलाई गफाडीको संज्ञा दिँदै उठेर भाषणा गर्न नसक्नेले आफूलाई चुनौती दिन नसुहाउने बताए।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ१ कठै बरा... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइजस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्नेसम्म नबुझ्ने अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने ?’

शुक्रबार धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले कोशीको पानी धरान ल्याइने बताएका थिए।

उनले भनेका थिए, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकून् बिचरा। कसको घरमा खानेपानी पुर्याउने ?’

ओलीले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताएका थिए।

‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,’ ओलीले भने, ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’

यही भनाइलाई लक्षित गर्दै हर्कले ओलीमाथि व्यंग्य कसेका छन्।

२५ कात्तिक, २०७९, १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।