राष्ट्रपति र प्रधानमन्त्री जिताउँदा पनि दुखी छ साँखु, मतदाता भन्छन् 'बाहिरका उम्मेदवारलाई जिताएर गल्ती गरिएछ कि!'

राष्ट्रपति र प्रधानमन्त्री जिताउँदा पनि दुखी छ साँखु, मतदाता भन्छन् 'बाहिरका उम्मेदवारलाई जिताएर गल्ती गरिएछ कि!'

काठमाडौँ : बज्रयोगिनी मन्दिर जाने गेटबाट भित्र छिर्दै गर्दा देखिन्छ साँखुको पुरानो बजार दुगाहिति। बजार छ तर चहलपहल छैन। व्यापारी छन् तर ग्राहक छैनन्। त्यसैले त व्यापारीहरू एक आपसमा घाम ताप्दै गफ गर्दै दिन कटाउँछन् यहाँ।

७५ वर्षे छलमाया श्रेष्ठ साँखुकी पुरानो व्यापारी। पुस्त्यौनी व्यापार गर्दै आएकी उनको परिवारले अहिले पनि साँखुमै  व्यापार गर्छ। तर पहिले जस्तो रौनक थियो अहिले त्यस्तो छैन साँखु। पहिले परिवारैलाई भ्याई नभ्याई हुन्थ्यो। अहिले उनी व्यापार हैन पसल कुर्छिन्।

‘मैले थाहा पाएदेखि नै हाम्रो किराना पसल नै थियो। ५-७ जनाले काम गर्दा पनि भ्याई नभ्याई हुन्थ्यो,’विगतका दिन सम्झँदै उनले भनिन्, ‘अहिले त किनमेल गर्न आउने मान्छे नै छैनन्।’

साँखुको यो बजार ऐतिहासिक बजार हो। नेपालको तिब्बतसँग व्यापारहुँदा प्रमुख नाका यही थियो। पश्चिममा थली, उत्तर नाङलेभारे, जहरसिंह पौवा, मेलम्ची अनि तालामाराङ क्षेत्रबाट किनमेल गर्न आउने ठाउँ थियो यो। सहरीकरण बढ्यो। बजार जताततै भए। अनि सुक्यो साँखु।

यही बजारमा धर्मनारायण श्रेष्ठको कपडा पसल छ। पसल बाहिरै बसेका श्रेष्ठ ७९ वर्ष भइसके। पुस्त्यौली व्यापार गरेका उनी हेर्दाहेर्दै गुलजार साँखु बजार सुनसान भएको बताउँछन्।

‘अहिले व्यापार नै छैन। पहिले हेरी अहिले त सुनसान हो नि बजार,’उनले भने, ‘ऐतिहासिक बजार यसै सेलायो।’

भूकम्पमा भत्केको बाटो अझै बनेन

धार्मिक तथा व्यापारिक दृष्टिकोणले साँखु ऐतिहासिक क्षेत्र हो। तिब्बतमा काठमाडौँको व्यापार हुँदा दुवैतिरका व्यापारी यही बाटो भएर हिँड्थे। जसै तिब्बतसँग काभ्रेबाट सडक मार्ग जोडियो त्यही बेलादेखि साँखु बजारको गुलजारपन कम हुँदै गयो।

हिन्दुहरूको प्रमुख धार्मिक पर्व स्वस्थानी व्रतको लागि मेला लाग्ने स्थान पनि हो साँखु। शाली नदीमा तिर्थालुहरुको बर्सेनि मेला लाग्ने गर्छ। ऐतिहासिक सहर ऐतिहासिक देखिने स्थल नभएका होइनन् तर जति संरक्षण हुनुपर्ने हो त्यो भएन।

२०७२ सालको विनाशकारी भूकम्पले साँखु क्षेत्रलाई निकै असर गर्यो। धेरैले आफन्त गुमाए। घर भत्कियो। ऐतिहासिक घर तथा हिति, डबली बाटोहरू भत्किएँ। भूकम्प गएपछि संविधान आयो। संविधानपछि स्थानीय तहको निर्वाचन पनि भयो। सङ्घ र प्रदेशको चुनाव पनि भयो।

२०७४ मा साँखुवासीले शंखरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठ विजयी गराएका थिए।प्रतिनिधि सभा चुनावमा काठमाडौँ क्षेत्र नम्बर दुईबाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विजयी भए।

विजय त गराए तर साँखुको अवस्था फेरिएन। बाटो बन्न सुरुवात त भएको छ तर निकै सुस्त। दुगाहिति बजारको भित्री गल्लीमा काम भएको छैन। अलपत्र छन् सडक। नेपाल प्रहरीको पूर्व हवलदार तथा बज्रयोगिनी गाविसको पूर्व उपप्रधानपञ्च जयबहादुर केसी सहर आधुनिक पनि हुन नसकेको अनि पहिलेको जस्तै सांस्कृतिक पनि बन्न नसकेको बताउँछन्।

‘विकासको रफ्तार जुन तरीकाले बढ्नुपर्ने हो बढेन। बाटो त आधारभूत विकास हो नि। यतातर्फ पनि नेताहरूले ध्यान दिएनन्। जित्ने तर गाउँलाई फर्केर नहेर्ने प्रवृत्तिले देश बनेन।’

प्रधानमन्त्री र राष्ट्रपति जन्माउने क्षेत्र

२०४८ सालमा यो क्षेत्रमा भएको चुनावमा क्षेत्र नम्बर एकबाट विजयी भएका थिए तत्कालीन एमाले महासचिव मदन भण्डारी। यो क्षेत्र त्यति बेला क्षेत्र नम्बर एकमा पर्थ्यो। मदन भण्डारीको जिप दुर्घटनाको कारण मृत्यु भएपछि यस क्षेत्रमा उनकी श्रीमती विद्यादेवी भण्डारी विजयी भइन्। त्यति बेला सेतो साडीमा आएर भोट मागेकी विद्यालाई सबैले मिलेर जिताएको तर राष्ट्रपति भएपछि भने फर्केर नहेरेको साँखुवासीको गुनासो छ।

स्थानीय रामप्रसाद चौलागार्ई भन्छन्, ‘एक पटक त हामीले जिताएका हौँ नि उहाँलाई। हिजो भर्खरै जस्तो लाग्छ सेतो साडी लगाएर मत माग्न आएको। तर उहाँ राष्ट्रपति भए पनि यो ठाउँको लागि केही गरौँ भन्ने भावना राख्नु भएन।’

कांग्रेसको भरमा काठमाडौं-२ मा ओनसरीले लिएको जोखिम, स्थानीय नेता उम्मेदवार हुँदा फाइदामा एमाले

राज्य पुनर्संरचना हुँदा यो क्षेत्र अहिले काठमाडौँ क्षेत्र नम्बर दुई मा पर्छ। यस क्षेत्रबाट तत्कालीन एमालेका नेता माधवकुमार नेपाल विजयी हुँदै आएका थिए। उनी प्रधानमन्त्री समेत भए। अघिल्लो पटक पनि साँखुवासीले उनलाई जिताए तर यस क्षेत्रको लागि काम गर्न नसकेको यहाँका बासिन्दाको दुखेसो छ।

सुकमान तामाङ भन्छन्, ‘यो क्षेत्रबाट जित्नेहरू मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै भए तर यो क्षेत्र काठमाडौँको अन्य क्षेत्र भन्दा पिछाडि नै छ। हामी बेरोजगार छौँ,’उनले भने, ‘जसलाई जिताएर जे बनाए पनि हुने त केही हैन रैछ।’ निमार्ण सम्बन्धी काम गर्ने सुकमान सिजनमा मात्रै काम हुने बाँकी समय खेर जाने बताउँछन्।

गाडीमा आउँछन्, नमस्कार गर्छन्, जान्छन् उम्मेदवार

दुगाहितिकै महिलाहरू दिउँसो तान बुनिरहेका थिए। महिलाहरूले उकेरासँग कुराकानी गर्दै भने, ‘भोट के मा आमामा रे। गाडिबाट झर्दा पनि झरेनन्। त्यो गाडीसम्म गएर नमस्कार कसले गरिदिने? हामीले त गरेनौँ।’

स्थानीय महिलाले बिहान-बेलुकी सिलाई बुनाइ तथा दिउँसो खेतबारीमा काम गर्छन्। यसलाई व्यावसायिक बनाउन कसैले सहयोग नगरेको उनीहरू बताउँछन्। तान बुन्दै गरेकी केशरी श्रेष्ठले भनिन्, ‘यो हाम्रो पुस्त्यौली पेसा हो। हामीले घरायसी प्रयोजनका लागि बुन्दै आयौँ। पहिले-पहिले त व्यावसायिक नै थियो। बजारको आएपछि हामीले माग धान्न सकेनौँ अनि हाम्रो सिप खेर गयो,’उनले भनिन्, ‘जसले जिते पनि हाम्रो पेसालाई व्यावसायिक बनाउनु पर्छ भनेर कसैले सहयोग गरेनन्। अब हामी पछि को पुस्ताले त के गर्ला र यो काम।’

नेताहरू एकोहोरो गल्ली गल्ली आउने नमस्कार गर्दै भोट माग्दै हिँड्ने तर दोहोरो बोल्दा पनि नबोल्ने गरेको बताउँछन् रमेश मल्ल।

‘म यहीको स्थानीय हुँ । २०५१ सालदेखि भोट दिँदै आएको छु। कुनै पनि उम्मेदवारले हामीसँग दोहोरो कुरा गर्दैनन्। हाम्रो समस्या के हो सुन्नै खोज्दैनन्। जुन जोगी आए नि कानै चिरेका। भोट हाल्नु र नहाल्नुको कुनै अर्थ देख्दिन म त।’

नयाँ आउनेले पनि के नै पो गर्लान् र ?

सत्ता गठबन्धनको तर्फबाट यसपालि उम्मेदवार बनेकी छन् पूर्व सभामुख ओनसरी घर्ती मगर। त्यस्तै एमालेबाट मणिराम फुयाँल उम्मेदवार छन्। राप्रपाबाट कुन्तीदेवी उपाध्याय उम्मेदवार बनेकी छिन्। स्थानीय तहमा शंकरापुरको मेयर राप्रपाले जितेको छ यसपालि।

राप्रपाको बलियो इलाका मानिन्छ यो क्षेत्र। स्थानीय बिहारीलाल श्रेष्ठ भने जहिले पनि बाहिरका उम्मेदवार जिताएका कारण यो क्षेत्रको विकास नभएको बताउँछन्।

‘हामीले जहिले पनि बाहिरका नेता जितायौँ। स्थानीय नेता राष्ट्रिय नेता बन्न सकेनन्,’श्रेष्ठ भन्छन्, ‘कहिलेकहीँ त लाग्छ त्यही भएर पो हाम्रो क्षेत्र पछि परेको हो कि।’

२५ कात्तिक, २०७९, १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।