मध्यपश्चिम विश्वविद्यालयमा हरियाली र सरसफाई कायम गर्न हरेक महिनाको दुई दिन अनिवार्य श्रम गरिने

मध्यपश्चिम विश्वविद्यालयमा हरियाली र सरसफाई कायम गर्न हरेक महिनाको दुई दिन अनिवार्य श्रम गरिने

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालय परिसरमा हरियाली र सरसफाई कायम गर्न अनिवार्य श्रम गराउने भएको छ। सफा शौचालय, विश्वविद्यालय परिसरभित्र विभिन्न प्रजातिका रुखविरुवा, रंगीविरंगी सुगन्धित फूलहरूले भरिएका सुन्दर बगैँचा निर्माण गरी सबैको आकर्षणको केन्द्रविन्दु बनाउन यही कात्तिक महिनादेखि “मध्यपश्चिम विश्वविद्यालय हरियाली, फलफूल तथा सरसफाई अभियान” सञ्चालन गरिएको हो।

यसअन्तर्गत अब हरेक महिनाको दोस्रो र चौथो बिहीबार दिउँसो २:०० बजेदेखि ५:०० बजेसम्म तीन घण्टा अनिवार्य श्रम गरिनेछ।विश्वविद्यालयअन्तर्गतका प्रत्येक निकाय प्रमुखहरूको नेतृत्त्वमा अभियान सञ्चालन गरिने छ।

अभियानअन्तर्गत नै कात्तिक २४ गते सुर्खेतस्थित कुइनेपानी, मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर तथा घण्टाघर लाइनदेखि खुलामञ्चसम्मको फोहोर उठाई सरसफाई अभियानको सुरुवात गरिएको छ। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको नेतृत्त्वमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य र कर्मचारीहरूको सहभागितामा सरसफाई अभियान सुरु भएको हो।

सुरुवाती दिनहरूमा विश्वविद्यालय परिवार र त्यसपछि क्रमश: मध्यपश्चिम विश्वविद्यालयले थालेको हरियाली, फलफूल तथा सरसफाई अभियानमा स्वयंसेवी श्रमदानकर्ताका रूपमा समाजका विभिन्न सरोकारवाला व्यक्ति, समूह, समुदाय तथा संघ, संस्थाहरुलाई सहभागी गराउन आह्वान गर्ने विश्वविद्यालयको तयारी छ। यस्तै अभियानमा नियमित योगदान गर्ने संघ, संस्था तथा व्यक्तिहरूलाई विश्वविद्यालयले विशेष सन्दर्भ पारी कदरपत्रले सम्मान गर्ने योजना पनि छ।

२५ कात्तिक, २०७९, ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।