कास्की- २: पूर्वसहकर्मी विद्या-श्रीनाथको भिडन्त, गठबन्धनलाई बागी उम्मेदवारले भोट काट्ने डर

कास्की- २: पूर्वसहकर्मी विद्या-श्रीनाथको भिडन्त, गठबन्धनलाई बागी उम्मेदवारले भोट काट्ने डर

पोखरा:  प्रतिनिधि सभाका तीन वटा क्षेत्र रहेको कास्कीमा चुनावी भिडन्त रोचक बन्ने देखिएको छ। कास्की क्षेत्र नं–१ मा कांग्रेसका किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङबीच चुनावी भिडन्त हुँदैछ।

क्षेत्र नं २ मा गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराल र एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै क्षेत्र नं ३ मा गठबन्धनबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल र एमालेका दामोदर पौडेल (बैरागी) प्रतिस्पर्धामा छन्।

यीमध्ये कास्की क्षेत्र नं २ को प्रतिस्पर्धा रोचक हुनेछ। विगतमा एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीले निरन्तर चुनाव जित्दै आएको यस क्षेत्रमा अहिले उनकी श्रीमती एमालेकी विद्या भट्टराई र एमालेबाटै झण्डै तीन दशक राजनीति गरेर नेकपा समाजवादीमा लागेका श्रीनाथ बराल प्रतिस्पर्धामा छन्।

एमालेको लालकिल्ला जस्तै मानिने यो क्षेत्रमा विरासत जोगाउने संकल्पसहित भट्टराई निर्वाचनमा होमिएकी छिन्। यो क्षेत्रबाट ०६४, ०७० र ०७४ गरी लगातार तीन वटै निर्वाचनमा स्वर्गीय नेता अधिकारी विजयी भएका थिए। तत्कालीन पर्यटनमन्त्री समेत रहेका अधिकारीको हवाई दुर्घटनामा परी निधन भएको थियो।

पछि २०७६ साल मंसिर १४ गते भएको उपनिर्वाचनमा विद्या भट्टराईले नेपाली कांग्रेसका नेता खेमराज पौडेललाई आठ हजार ४०९ मतान्तरले पराजित गरेकी थिइन्। भट्टराईलाई चुनाव जिताउन रातदिन खटिने नेतामध्ये थिए- श्रीनाथ बराल।

०५५ सालमा रवीन्द्रसँग विवाह गरेपछि भने भट्टराई सक्रिय राजनीतिमा कमै देखिएकी थिइन्। रवीन्द्रको निधनपछि विश्वविद्यालयको उपप्रध्यापकको स्थायी जागिर छाडेर उनी पार्टीको दबाबमा सक्रिय राजनीतिमा आएकी थिइन्। 

उनले २४ हजार ३९५ मत ल्याएर विजयी भएकी थिइन् भने कांग्रेस उम्मेदवार पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए। 

एमाले विभाजित भएपछि श्रीनाथ एकीकृत समाजवादीतर्फ लागे। एमालेको संगठन राम्रोसँग बुझेका श्रीनाथ यसपटक गठबन्धनको बलमा संसद् छिर्ने दाउमा छन्। उनी यसअघि पोखरा महानगरपालिकाको मेयरका आकांक्षी थिए।

तर, गठबन्धनबाट एकीकृत समाजवादीकै धनराज आचार्य उठेसँगै मेयर बन्ने बरालको सपना असफल भएको थियो। 

श्रीनाथले कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न चाहेका थिए। तर, गठबन्धनले उनलाई एमालेको लालकिल्ला मानिएको कास्की क्षेत्र नम्बर २ मा चुनाव लड्न भन्यो। र उनी आफैँले जिताएको पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यत्मक अवस्थामा पुगे।

एमालेमा हुँदा पटक–पटक अवसरबाट वञ्चित गरिएका श्रीनाथलाई एकीकृत समाजवादीले उम्मेदवार बनाएसँगै गठबन्धनका दलहरू चुनाव जिताउन लागिपरेका छन्।

उनीहरूले घरदैलो, भेला र कोणसभा लगायतका कार्यक्रमलाई तीव्रता दिएका छन्।

विगतको विरासत जोगाउनै पर्ने चुनौती
यता विद्या भट्टराईले पनि उपनिर्वाचनका कमाण्डर धनराज आचार्य र श्रीनाथको अभावमा आफ्नो चुनावी अभियानलाई अगाडि बढाइरहेकी छिन्। 

तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय उनी अखिलको सचिव हुँदै पार्टी राजनीतिमा आएकी हुन्। भट्टराई ०४९ सालको स्ववियू निर्वाचनमा अनेरास्ववियूबाट पद्मकन्या क्याम्पसको स्ववियू सभापतिकी प्रत्यासी बनेकी थिइन्। 

उनी शंकर पोखरेल अनेरास्ववियूको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी थिइन्। त्यस्तै अनेरास्ववियूमा योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा उनी महिला विभाग प्रमुख थिइन्।

०५५ सालमा रवीन्द्रसँग विवाह गरेपछि भने भट्टराई सक्रिय राजनीतिमा कमै देखिएकी थिइन्। रवीन्द्रको निधनपछि विश्वविद्यालयको उपप्रध्यापकको स्थायी जागिर छाडेर उनी पार्टीको दबाबमा सक्रिय राजनीतिमा आएकी थिइन्। 

उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुनः कास्की क्षेत्र नं २ बाट उम्मेदवार बनाइएको हो। उनी एमालेको यस क्षेत्रको बलियो उम्मेदवार हुन्।

उपनिर्वाचनबाट संसद् छिरेकी भट्टराई ५ वर्ष पूरा गर्न नपाएकाले गर्नुपर्ने काम बाँकी रहेको भन्दै उनी चुनावी मैदानमा उत्रिएकी छिन्। उनी विगतको छोटो कार्यकालको मूल्याङ्कन गरेर जनताले पुनः निर्वाचित गर्ने बताउँछिन्।

उपनिर्वाचनका योजनाकार समेत रहेका पोखरा महानगरका मेयर धनराज आचार्य रवीन्द्रका बालसखा हुन्। विगतमा रवीन्द्र चुनाव लड्दा समेत उनै आचार्यले कमाण्डर बनेर चुनाव जिताएका थिए। आचार्य र अधिकारीको गाउँ समेत एकै हो। 

उनीहरू सानैदेखि स्कुल, कलेज सँगै पढ्दै राजनीति, व्यवसाय र समाजसेवामा सक्रिय थिए। तर अब आचार्य फरक पार्टीमा लागेसँगै र बराल प्रतिस्पर्धी भएसँगै भट्टराईलाई चुनाव जित्न पहिले जस्तो सहज छैन। त्यसमाथि आचार्य अहिले बरालको चुनावी कमाण्डार बनेका छन्।

यता गठबन्धनका उम्मेदवार श्रीनाथ बराल पनि इमान्दार छवि भएका नेता मानिन्छन्। उनी २०५४ सालमा एमालेबाट तत्कालीन जिल्ला विकास समिति कास्कीको उपसभापति समेत भएर जिम्मेवारी निर्वाह गरेका थिए।

२०४१ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका उनी २०४६ सालको जनआन्दोलनमा गण्डकी अञ्चलमा वाममोर्चाका सदस्य थिए। २०४४ सालमा साथीहरू अपहरणमा परेपछि उनी १३ दिन आमरण अनसन बसेका थिए।

विगतमा विकास समितिको उपसभापति भएका बेला यस क्षेत्रमा धेरै काम गरेले अब, सांसद बनेर जनाताका लागि भौतिक विकास गर्ने योजनासहित आफू उम्मेदवार बनेको श्रीनाथ बताउँछन्।

स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको मेयर जितेसँगै हौसिएको एकीकृत समाजवादीलाई यस निर्वाचनमा सहयात्री कांग्रेसको मुख्य भर छ। 

स्थानीय निर्वाचनमा धनराजले लामो समय राजनीतिबाहेक विभिन्न व्यावसायिक प्रतिष्ठान र लायन्स क्लबको गभर्नर भएर काम गरेका कारण पार्टीबाहेकको सहानुभूतिको मतले निर्वाचन जितेका थिए। 

श्रीनाथले पनि एमालेमा लामो समय संगठन निर्माणको काम गरेकाले एमालेबाट समेत सहानुभूतिको मत पाउने अपेक्षा रहेको छ।

कांग्रेसका बागीले बराललाई सकस
बराललाई गठबन्धन दल कांग्रेसका पुराना नेता महादेव गुरुङको बागी उम्मेदवारीले भने चुनौती थपिएको छ। कांग्रेसको पूर्वजिल्ला सभापति र राज्यमन्त्री समेत भएका गुरुङले कास्की २ बाटै प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

महादेवको उम्मेदवारीले गठबन्धनका उम्मेदवार श्रीनाथको भोट काट्ने भएकाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत पोखरा आएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर, उम्मेदवारी फिर्ता लिन गुरुङ तयार भएनन्।

उनले कांग्रेसको केही मत काट्ने अनुमान गरिएको छ। गुरुङले आफ्नो उम्मेदवारी सिद्धान्त र निष्ठाको पक्षमा भएको बताएका छन्। उनको उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवाले फोन समेत गरेको र आफूले उम्मेदवारी फिर्ता नलिने जवाफ दिएको उनको दावी छ।

चार दशकभन्दा लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहँदा उनले तरुण दलको अध्यक्ष, जिल्ला विकास समितिको सभापति र पर्यटन राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।

२०७० सालमा निर्वाचनमा पराजय भएका गुरुङ कास्की क्षेत्र नं ३ भदौरेका बासिन्दा रहे पनि यसपटक उनी क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा होमिएका छन्। 

कांग्रेसमा महादेव अवसर पाउने नेतामै गनिन्छन्। उनी २०४८, ०५६ र ०७० सालमा कास्कीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका थिए। तर, तीन पटक चुनाव लडे पनि २०५६ सालमा मात्र उनी विजयी भए।

गिरिजाप्रसाद कोइरालानिकट महादेव कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासी थिए। तर, उनी सफल भएनन्।

महादेवको उम्मेदवारीले गठबन्धनका उम्मेदवार श्रीनाथको भोट काट्ने भएकाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत पोखरा आएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर, उम्मेदवारी फिर्ता लिन गुरुङ तयार भएनन्। अहिले गुरुङ 'पुतली' चिह्न लिएर चुनाव प्रचार प्रसारमा घरदैलोमा व्यस्त छन्।

प्रदेशतर्फ
कास्की क्षेत्र नं २ को प्रदेश सभा (क) बाट गठबन्धनका तर्फबाट माओवादीका विश्वप्रकाश लामिछाने उम्मेदवार बनेका छन्। उनी पूर्व पोखरा नगरविकास समितिका अध्यक्ष समेत हुन्। 

उनी अध्यक्ष भएको बेला उनको संयोजकत्वमा फेवातालको मापदण्ड निर्धारण समितिको जिम्मेवारी पूरा गरेका थिए। लामिछानेको प्रतिस्पर्धीका रूपमा एमालले भीमबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ।

कास्की- २ को प्रदेश सभा (ख) बाट कांग्रेसले विन्दुकुमार थापालाई उम्मेदवार बनाएको छ। थापा गण्डकी प्रदेशका न्याय तथा कानूनमन्त्री समेत हुन्। 

थापा गण्डकीमा भावी मुख्यमन्त्रीका समेत दावेदार हुन्। गत निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट चुनाव जितेका थिए। 

एमालेले थापासँग प्रतिस्पर्धाका लागि मीना गुरुङलाई उम्मेदवार बनाएको छ। यसअधिको कार्यकालमा गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्।

यस्तो छ चुनावी अंकगणित
विगत तीनदशकदेखि कास्की–२ कम्युनिष्ट किल्लाको रूपमा परिचित छ। पार्टी विभाजनपछि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि कास्की–२ मा एमालेले राम्रो मत पाएको छ। 

पोखराको मेयरमा एमाले पराजित भए पनि क्षेत्र नं २ अन्तर्गतका ११ वटा वडाध्ये ६ वडामा नेपाली कांग्रेसले जितेको थियो भने ५ वटा वडामा एमाले विजयी भएको छ।

यो क्षेत्रमा वडा तहमा एमालेका वडाअध्यक्षहरूले पाएको कुल मत २१ हजार १६४ रहेको छ। कांग्रेसका वडा अध्यक्षले १९ हजार ८ मत पाएका छन्। 

मेयर जितेको नेकपा एकीकृत समाजवादीका वडाअध्यक्षहरूले दुई हजार ५३ र माओवादीका वडाअध्यक्षले एक हजार १९८ मत पाएका छन्। त्यसैगरी राप्रपाले दुई हजार ७९ मत पाएको छ।

स्थानीय निर्वाचनमा पोखराको मेयरमा मात्र समाजवादीले प्राथमिकता दिएको थियो। महानगरका ३३ वडामध्ये दुईटा वडामा मात्र समाजवादीले उम्मेदवारी दिएकाले वडास्तरको उसको मत कम देखिएको हो। 

अन्य वडामा गठबन्धन दल कांग्रेसका उम्मेदवारलाई सघाएको थियो।

एमालेको राजनीति लामो समयदेखि एउटै परिवारमा केन्द्रित भएकामा पछिल्लो समय नेता कार्यकर्ता समेत असन्तुष्ट देखिएका छन्। यसले पनि विद्यालाई चुनाव जित्न सकस हुने देखिन्छ।

स्थानीय तहको मत हेर्दा एमालेभन्दा गठबन्धका दलहरूको एक हजार ३०० मत मात्र बढी देखिन्छ। त्यसमा पनि बागी उम्मेदवारी दिएका महादेव गुरुङले कांग्रेसको मत काट्ने भएकाले एमालेकी विद्यालाई हराउन श्रीनाथले ठूलै परिश्रम गर्नुपर्ने छ।

तर, लामो समय एमालेको संगठनमा काम गरेका पोखराका मेयर धनराज र श्रीनाथ समाजवादीमा छन्। उनीहरूले सँगै काम गरेका एमालेका सहयात्रीहरूको सहानुभूतिको मत पाउने सम्भावना छ।

कास्कीमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच गुटको लडाइँ चर्को छ। यही कारण कास्कीका नेता कार्यकर्ता समेत दुई गुटमा लागेकाले विद्यालाई चुनाव जित्न पनि चुनौती नै छ। 

एमालेको राजनीति लामो समयदेखि एउटै परिवारमा केन्द्रित भएकामा पछिल्लो समय नेता कार्यकर्ता समेत असन्तुष्ट देखिएका छन्। यसले पनि विद्यालाई चुनाव जित्न सकस हुने देखिन्छ।

२५ कात्तिक, २०७९, ०७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।