गणित पढाउने सरको व्यवहार सम्झ्यो कि अहिले पनि रिस उठ्छ कलाकार मञ्जुलाई

गणित पढाउने सरको व्यवहार सम्झ्यो कि अहिले पनि रिस उठ्छ कलाकार मञ्जुलाई

'निकै सोझी र लजालु स्वभाव थियो मेरो' कलाकार मञ्जु श्रेष्ठले विगतबाट कुरा सुरु गरिन्।

'सानो प्रश्न सोध्न समेत गाह्रो हुन्थ्यो। त्यो समयमा देखेका मानिस अहिले यति धेरै परिवर्तन भएको मलाई देख्दा अचम्म मान्छन्,' उनले आँखा अगाडी आएको कपाल मिलाउँदै भनिन्।

'तितो सत्य' नामक हास्य टेलिश्रृङ्खलामा बिजुली पात्रबाट चर्चित भएकी उनले यसबिचमा सय बढी फिल्महरूमा सहायक चरित्र निर्वाह गरिसकिन्। नाटकबाट करियर सुरु गरेकी मञ्जु पुराना दिन सम्झिँदै भन्छिन्, 'सपनामा समेत आफू कलाकार बन्छु भन्ने सोचेको थिइन।'

साना कक्षाहरूमा उनी सधैँ प्रथम हुने। उनका बुबा छोरी रातो मसीले सही गर्ने भए हुन्थ्यो भन्थे। बुबाको सपना पछ्याएर सरकारी जागिर खाने अनि रातो मसीले हस्ताक्षर गर्ने पदमा पुग्ने उनको लक्ष्य थियो। तर सोचेजस्तो केही भएन। उनी कल्पनै नगरेको कला क्षेत्रमा आइपुगिन्।

रातो मसीले हस्ताक्षर गर्ने उनको बाबुको सपना साकार हुन सकेन।

सरकारी जागिरे बन्ने लक्ष्य कसरी कलाकारितातिर मोडियो भन्ने जिज्ञासामा मञ्जुले छोटो जवाफ दिइन्, मेरो स्वभाव।

चोभारको विद्यालयमा सात कक्षासम्म पढिन् मञ्जुले। त्यहाँ पढ्दा उनको पढाइ राम्रो थियो, सधैँ फस्ट हुन्थिन्। सबै शिक्षकले उनको स्वभाव बुझेका थिए, जानेका थिए।

सात कक्षासम्मको पढाई सकेर बाँकी पढाइका लागि नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा भर्ना भइन्। त्यहाँको नयाँ माहौल, धेरै विद्यार्थी। ३०-३५ जनामा पढिरहेकी उनी ६० भन्दा बढी विद्यार्थीमाझ पढ्नु पर्यो। गाउँमा पढेको यता सहर भयो।

डराउने, लजाउने र प्रश्न सोध्न धकाउने बानीले शिक्षक-शिक्षिकाले पढाएको नबुझे पनि चुप बस्थिन्। उनको पढाई बिग्रँदै गयो।

'मेरो पढाई बिग्रनुमा गणित विषय पढाउने शिक्षकको हात छ, 'मञ्जुले आँखा ठुलो पार्दै भनिन्' सम्झँदा अहिले पनि रिस उठ्छ।'

कृष्ण गौतम नामका सरले बुझेन भन्यो भन्ने गाली गर्थे। कक्षा आठसम्म गणित राम्रो थियो उनको। नौ कक्षामा कृष्ण सर आइपुगे। अर्को वर्ष एसएलसी दिने मानिसको हालत यस्तो भनेर जहिल्यै गाली गर्ने। साप्ताहिक परीक्षा लिने। त्यसमा धेरै आए पनि गाली गर्ने। थोरै आउँदा त गाली खाने नै भइन्।

गणित विषय कमजोर भएपछि बिस्तारै अन्य विषयतिरबाट पनि पढाइको मोह हट्यो मञ्जुलाई। रातो मसीले हस्ताक्षर गर्ने सपना बिस्तारै धमिलो हुँदै गयो। त्यसैमाथि एसएलसीमा उनलाई दुई विषय लाग्यो, एउटा गणित र अर्को इतिहास।

पछिपछि त एसएलसीको ब्याक पेपर तीन महिना भित्रै दिन पाइने बन्यो। तर मञ्जुले एसएलसी दिएको समय २०४७ सालतिर फेल भएपछि एक वर्ष कुर्नुपर्थ्यो। दोहोर्याएर एसएलसी दिनै उनले घरमा सङ्घर्ष गर्नुपर्यो।

रातो मसीले हस्ताक्षर गर्ने छोरीको पारा नदेखेपछि उनका बाबुले बाँकी नपढाउने निधो लिए। अनुहार मलिनो बनाउँदै मञ्जुले भनिन्, 'बुबा अहिले बितेर जानुभयो तर उहाँले भनेको कुराले अहिले पनि मन नमिठो गरेर कोक्याउँछ। त्यो समयमा पुनः फर्म भर्न ६० रुपैयाँ जति लाग्थ्यो। आउन जान सबै गरेर मैले बुबासँग सय रुपैयाँ मागेँ। बुबाले भइहाल्यो, फेरि फेल भइस् भने सय रुपैयाँ खेर जान्छ भन्नुभयो। मलाई सय रुपैयाँ भन्दा म कमसल रहेछु भन्ने फिल भयो।'

मञ्जु एक्ली सन्तान। ११ सन्तान जन्माउँदा समेत कोही नबाँचेपछि उनी जन्मिएकी। बच्चा बेलामा भुईँमा नझरेरै हुर्किइन्। बिस्तारै समाजले छोरा जन्माउन नसकेको, सम्पत्ति कसले खान्छ जस्ता कुरा उनका बाबुलाई सुनाइदिन थाले।

सुखी परिवारमा द्वन्द्व सिर्जना हुन थाल्यो। मञ्जुका बुबा रक्सी पिएर दिनरात आमासँग झगडा गर्न थाले। उनलाई लाग्छ, सायद घरको माहौल बिग्रँदै गएकाले पनि उनले पढाइमा ध्यान दिन सकिन्न कि।

गायक बन्न हिँडेको तर कलाकार बनिन्

गान्टे मुला मै ठुलो हुँला, जागिर खाउँला बा आमा पालुँला। बच्चा बेलामा मञ्जु गीत गाउँदै हिँड्थिन्।

आफू एक्लो सन्तान भएकाले पनि बाउ आमाको जिम्मेवारी बहन गर्ने सोच थियो उनको। तर बाबुले छोरी अर्काको घरमा जाने जात जसरी व्यवहार गर्न थाले।

घरको माहौलका कारण मञ्जुको पढाइबाट ध्यान हट्दै थियो। खाली समयमा कुनै रुचि पुरा गरौँ भन्ने सोचले उनले नेपाल सांस्कृतिक प्रतिष्ठानमा गायन सिक्न थालिन्। त्यहाँ उनले राम्रो मानिसलाई गुरुको रूपमा भेट्टाइन्। ती थिए मुकुन्द सर।

गीत सिक्न गएपछि त्यहाँ नाटकका साथीभाइसँग पनि राम्रो सम्बन्ध हुन्थ्यो। मञ्जु नाटकका संवाद छिट्टै याद गर्न सक्थिन्।

'नाटक गर्ने समयमा कलाकार पुगेन। नाटकको विषय थियो, टेस्ट फेल भएपछि छोरीलाई घरले गर्ने व्यवहार' मञ्जुले खुसी हुँदै भनिन्, 'त्यसमा आफ्नो अनुभूति र अनुभव दुवै काम लाग्यो। मैले एकदमै मौलिक अभिनय गरेछु।'

मञ्जुको मौलिक अभिनय देखेर मुकुन्द सरले पहिले पनि नाटक गरेको थियो भनेर सोध्नुभयो। विद्यालयमा दसैँको समयमा बोलेर नाटक गरेको उनले बताइन्। मञ्जुको क्षमता देखेर मुकुन्द सरले उनलाई अभिनय सिकाउन थाले।

अभिनय सिकाउन पोखरा

मुकुन्द सरकै करकापले मञ्जुले फेरि एसएलसी परीक्षा दिइन्। अभिनयको कक्षा जारी थियो। यो २०४८ सालतिरको कुरा हो। उनको अभिनय कक्षा पुरा भएको थिएन।

पोखरामा बसेर अभिनय सिकाउने मानिस चाहिएको रहेछ। मञ्जु जसरी हुन्छ घर छाडेर हिँड्न चाहन्थिन्। यो कुरा राम्रोसँग बुझेका मुकुन्द सरले एक दिन नजिक बोलाएर सोधे, 'अभिनय सिकाउन पोखरा जान्छेस्। उतै खाने बस्ने व्यवस्था सहित पैसा पनि दिन्छ।'

मञ्जुले नसोचेरै जवाफ दिइन्, 'जान्छु।'

अभिनयको पढाइ पुरा भएको थिएन। मुकुन्द सरले उनलाई विशेष कक्षा दिए। १५ दिनमा उनले अरूलाई अभिनय सिकाउन सक्ने बनाए। मञ्जु खुसी हुँदै पोखरा लागिन्।

पोखरा गएको २०४८ असार ७ गते, एसएलसीको रिजल्ट उनी पोखरा गएपछि मात्रै आयो। दोस्रो पटक उनको प्रयास सफल भयो, मञ्जु पास भइन्।

पोखरामा अभिनय सिकाउने मानिस भनेको बुढी मानिस सोचेका रहेछन्। तर उनी भर्खर १९ वर्ष पुग्दै थिइन्। रेखा अधिकारी भन्ने विद्यार्थीले पहिलो दिनको कक्षा लिन जाँदा चिच्याउँदै 'ए आमा कस्तो योङ मिस' भनेको उनलाई हिजो जस्तै लाग्छ।

केटाहरूले जिस्काउँथेत्यसैले सारी लगाउँथिन्

घरमा पढ्न नदिने भए काम गर्न दिनुपर्ने सर्त थियो मञ्जुको। बुबाप्रति सम्मान कम हुँदै गएको समयमा उनी जसरी हुन्छ काठमाडौँबाट भाग्न चाहन्थिन्। पोखरा राम्रो मौका मिल्यो।

पोखरामा सानो उमेरको मिस थिइन् उनी। एसएलसी पास भएपछि पिएन क्याम्पसमा भर्ना भएर पढ्न थालिन्। उनका बिद्यार्थीहरु क्याम्पसमा साथी हुन आइपुगे।

उमेर सानो भएकाले केटाहरू जिस्काउने, हेप्ने गर्थे। अलि पाको उमेरको देखिन उनी पसल जाँदासमेत साडी लगाएर जान्थिन्।

उनले सम्झिइन्,' अरू कसरी हुन्छ योङ बन्न मेकअप गर्थे, राम्रो लुगा लगाउँथे। म भने कसरी हुन्छ पाको देखिन चाहन्थेँ।'

नव प्रतिभा कला समूह भन्नेमा उनले नाटक सिकाइन्। ६ महिनाका लागि गएकी उनी २ वर्षसम्म पोखरामै रमाइन्। उनलाई पोखरामा कोठा भाडा तिर्न पर्थेन। पैसा ३८ सय दिन्थ्यो। यति भए उनलाई घरमा आमा बालाई दिन समेत खर्च पुग्थ्यो।

पोखरमा दुई वटा नाटक निर्देशन गरिन् मञ्जुले। एउटा नाटकको काम सबै आफैले गरेर नाम  अर्कैको राखियो। 'चाँदीको खप्पर' नामको नाटकमा भने उनकै नाम गयो।

काठमाडौँमा शून्यबाट सुरु

पोखरा दुई वर्ष बसेर काठमाडौँ फर्किइन् मञ्जु। काठमाडौँमा करियर सुरु हुनुभन्दा पहिले पोखरामा करियर बनाएकी मञ्जुले यता शून्यबाट काम सुरु गर्नुपर्ने भयो।

सुरुमा केही समय खाली बस्नुपर्यो। त्यहीबिचमा उनले बिहे गरिन्। काठमाडौँको करियर बिहेपछि नै सुरु भयो।

लय सङ्ग्रौलाले नेपालको पहिलो मेगा सिरियल 'देवी' बनाउन लागेका रहेछन्। उनी आफै मञ्जुलाई खोज्दै आइपुगे। 'टेलिफिल्म खेल्ने हो' भनेर सोधे। उनले नाइँ भन्ने कुरै थिए।

त्यो सिरियलमा उनको तीन वटा भूमिका थियो। दुई वटा छिट्टै सकिने छोटो समयको अनि एउटा भाउजूको भूमिकाको। 'मिस्टर फन्टुस', 'मुक्ति', 'तिरिमिरी झ्याइँ' लगायतका धेरै टेलिश्रृंखलामा काम गरिन्।

त्यहाँबाट उनको करियरले गति लियो। 'तितो सत्य' नामको हास्य टेलिश्रृंखलामा बिजुलीको भूमिका निर्वाह गरेपछि भने उनले स्टेज कार्यक्रमहरू पनि मौका पाउन थालिन्।

सबैले पल्पसा डङ्गोल भन्छन्

कलाकारिताको दुनियाँमा मञ्जुका दुई वेस्ट फ्रेण्ड छन्। एउटा पल्पसा डंगोल उर्फ चम्सुरी र बहिनी सुनिता श्रेष्ठ।

'मेरी बास्सै'मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चा कमाएकी पल्पसा डंगोल र 'तितो सत्य'मा बिजुलीको भूमिकाबाट चर्चित भएकी मञ्जुको ब्याक ग्राउन्ड उस्तै छ। तर न अनुहार मिल्छ, म शरीर नै। तर धेरै फ्यानहरू यी दुईमा झुक्किन्छन्।

मञ्जुले हाँस्दै भनिन् 'हामी टुइले गरेर एउटा जोडीको झगडा समेत परेको छ।'

विशालबजारमा सपिङ गर्न मञ्जु र पल्पसा सँगै गएका थिए। पल्पसा बाइक पार्क गर्न गएको समयमा मञ्जु एक्लैले बाटो काटिन्। गर्लफ्रेन्डले ब्वाइफ्रेण्डलाई 'उ हेर्नुस् त बिजुली' भनेर भनिन्। ब्वाइफ्रेण्डले हेर्ने समयमा बाटोमा पल्पसा थिइन्। एउटा भन्ने चम्सुरी, अर्को भन्ने बिजुली।

कतिपय फ्यानहरू भने दुवै सँगै बस्दा समेत पल्पसालाई बिजुली र आफूलाई चम्सुरी भन्ने गरेको उनको अनुभव छ।

उनी भर्खर शिल्पी थिएटरको 'मुक्त रङ्गमञ्च'मा तराइका गाउँ डुलेर काठमाडौँ फर्किएर आराम गरिरहेकी छिन्। तर उनको आरामको समय धेरै छैन। अन्य थुप्रै काम छ उनको। धेरै प्रोजेक्टहरूमा जोडिएकी छिन्।

२४ कात्तिक, २०७९, १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।