‘गेम चेन्जर’ प्रोजेक्ट तिनाउ–दानव कोरिडोरमा दुई अर्ब ११ करोडको काम जारी; सुन्दर हुनेछ नदी, सुरक्षित हुनेछ तटीय बस्ती

‘गेम चेन्जर’ प्रोजेक्ट तिनाउ–दानव कोरिडोरमा दुई अर्ब ११ करोडको काम जारी; सुन्दर हुनेछ नदी, सुरक्षित हुनेछ तटीय बस्ती

बुटवल: बुटवलसहित रुपन्देही जिल्लाकै आर्थिक र पर्यटकीय विकासमा ‘गेम चेन्जर’ प्रोजेक्ट मानिएको तिनाउ–दानव कोरिडोरको काम तीव्र गतिमा अघि बढेको छ।

बुटवलको तिनाउ पुलमुनिको तिनाउ र दानव नदी छुट्टिने बिन्दुबाट सुरु भई तिलोत्तमा र सैनामैना नगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा–लुम्बिनी सडकलाई जोड्ने गरी दुई वैकल्पिक सडक बनाउने उद्देश्यले आयोजना सुरु गरिएको थियो। २०७७ मंसिर १० गते पूर्वअर्थमन्त्री विष्णु पौडेलले आयोजनाको शिलान्यास गरेका थिए।

चार अर्ब १३ करोड रूपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा अहिले दुई अर्ब ११ करोडको ठेक्का लगाएर काम भइरहेको छ।

चुनावलगत्तै दोस्रो प्याकेजको काम सुरु हुने
डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर सागर पन्थीका अनुसार तिनाउतर्फ पहिलो प्याकेजअनुसार बुटवलको देवीनगर पुलदेखि मगरघाट पुलसम्म ३२ हजार घनमिटर जाली लगाउने काम सम्पन्न भएको छ। यसैगरी १२ सय घनमिटर नाली र सात वटा कल्भर्ट निर्माण भइसकेको छ।

किराँतेश्वर, मैनाचुली, अविशा जेभीसँग २०७७ असोजमा ३६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भए पनि पहिलो वर्ष कोरोना महामारी तथा साइट क्लियर नभएको लगायतका कारणले काम अघि बढ्न सकेको थिएन। अहिले भने कामले तीव्रता पाएको इन्जिनियर पन्थीको भनाइ छ।

‘दशैं, तिहार, छठ सकेर ठेकेदार टोली कार्यस्थलमा मुभ भएको छ। अब त्यही नाली निर्माण, कल्भर्ट निर्माण बनेकै ठाउँमा बाँकी काम सुरु हुनेछ। त्यसबाहेक साइट क्लियर भएको केही क्षेत्र बाँकी छ। त्यसमा पनि काम सुरु हुनेछ’, उनले भने। 

तिनाउ करिडोरमा पहिलो प्याकेजअन्तर्गत ५२ करोड ४६ लाख रूपैयाँको ठेक्काअनुसार काम भइरहेको हो।

दोस्रो प्याकेजको भने भर्खर मात्र ठेक्का लागेको इन्जिनियर पन्थीले बताए। यसअन्तर्गत मगरघाटदेखि अमुवा पुलसम्म वारिपारि गरी १९ किलोमिटरका लागि ८८ करोडको ठेक्का लागेको उनले बताए। 

लामा, बानियाँ जेभीले नै दोस्रो प्याकेजको ठेक्का पाएको हो। दोस्रो प्याकेजमा अब चुनावलगत्तै काम सुरु हुने उनले बताए।

दानवमा पनि दुई प्याकेजअनुसार काम हुँदै 
यसैगरी दानव नदीतर्फको करिडोरमा पनि दुई वटा प्याकेजअनुसार काम भइरहेको छ। पहिलो प्याकेजअनुसार बेलबासदेखि नयाँगाउँसम्म दायाँ-बायाँ २/२ किलोमिटरमा वाल लगाउने काम भइसकेको छ।

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार पहिलो प्याकेज १९ करोड ४० लाखमा ठेक्का लगाइएको थियो। सो क्षेत्रमा अहिलेसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। पहिलो प्याकेज लामा, बानियाँ जेभीले ठेक्का पाएको थियो।

सोही खण्डमा हालै मात्र दोस्रो प्याकेजअन्तर्गत नयाँ ठेक्का लागेको छ। ५० करोडको नयाँ ठेक्का दुई खण्डमा छ।

पहिलो खण्डमा मैनाबगरदेखि बेलबाससम्म २.५/२.५ किलोमिटर दायाँबायाँ सडक निर्माण र दोस्रो खण्डमा नयाँगाउँदेखि कर्साघाटसम्म ५ किलोमिटर वारि र १२ सय मिटर पारि काम गर्ने गरी ठेक्का लागेको हो। 

दोस्रो प्याकेजअनुसार अब काम सुरु भएको उनले बताए। दोस्रो प्याकेज निर्माणका लागि पनि लामा, बानियाँ जेभीसँग ठेक्का सम्झौता भएको छ।

मैनाबगरदेखि बेलबाससम्म खाली जग्गा नहुँदा दोस्रो प्याकेजअन्तर्गत नयाँगाउँ कर्साघाट क्षेत्रमा भर्खर मात्र काम सुरु भएको उनले बताए। पहिलो खण्डमा भने त्यहाँ बस्ती व्यवस्थापन भएपछि मात्र काम अघि बढ्नेछ।

घरधुरी स्थानान्तरण हुँदै
तिनाउ तथा दानव नदी किनारामा बुटवलका २, ५, ७, ९, ११, १३, १४ र १७ तथा तिलोत्तमा नगरपालिका–३ का मैनाबगर, श्रीरामनगर, सुन्दरनगर, सौभाग्यनगर, पवित्रानगर, सत्यवतीटोल, हात्तिसुँड, प्रगतिनगर, मजुवा, टपमजुवा, दुर्गानगर, ध्रुवनगर, न्यू दुर्गानगर, युद्धनगर, बुद्धनगर, श्रृजनानगर, ताराटोल, पदमपुर, हरियालीटोल, रानीगन्ज टोलका सुकुम्बासी तथा अव्यवस्थित बस्तीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्नुपर्नेछ।

उपमहानगरले ती घरधुरीलाई स्थानान्तरण गर्न दुई बिघा जग्गा व्यवस्थापन गरेको बताए पनि स्थानान्तरणको काम भने सुरु गरेको छैन। 

तिलोत्तमा र सैनामैना क्षेत्रमा खासै धेरै घरधुरी नपरेकाले समस्या नभएको ती नगरपालिकाले जनाएका छन्।

डीपीआरअनुसार सोही कोरिडोरअन्तर्गत ५५६ रुख काट्नुपर्ने, ४५.८४ हेक्टर स्थायी जमीन, ०.४० हेक्टर अस्थायी जमीन, १४७ विद्युत पोल, कृषि कुलो दुई हजार मिटर र मठ-मन्दिर १२ वटा प्रभावित हुनेछन्।

यस्तै हृयुमपाइप कल्भर्ट ९१ वटा, स्लाब कल्भर्ट १४ वटा राख्नुपर्ने र नाली ५० किलोमिटर बनाउनुपर्नेछ। 

नदी कटान रोक्न एक लाख ९७ हजार घनमिटरको ग्याबिन वाल लगाउनुपर्ने, ३१ हजार ८०० घनमिटर माटो उत्खनन् र १६ लाख ६६ हजार घनमिटर माटो पुर्नुपर्ने डीपीआरमा उल्लेख छ।

योजनाबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा लिन्छु: विष्णु पौडेल
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्त्वकांक्षी योजनाहरूको सुरुआत गर्ने मात्र नभई ती योजनाहरूबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन्।

‘रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरूबाट विस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित बसोबासका लागि म गम्भीर छु। विकासविरोधी र अफवाह फैलाउनेहरूका नियोजित भ्रममा नपर्न मेरो सबैलाई आग्रह छ’, उनले भने।

कोरिडोर विकाससँगै बस्ती व्यवस्थापनको विषयमा आफू सचेत र गम्भीर रहेको समेत उनले बताए। 

विशेषगरी तिनाउ–दानव करिडोरका जनतालाई विभिन्न ढंगबाट आतंकित पार्ने काम भएकोमा चिन्ता व्यक्त गर्दै पौडेलले करिडोरका नाममा कुनै पनि जनतालाई घरबारविहीन नबनाइने स्पष्ट पारे।

करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्थामा समेत बुटवलभित्रै अहिलेभन्दा थप व्यवस्थित र विकास पूर्वाधारले सम्पन्न स्थानमा जनताको इच्छाअनुसार नै व्यवस्थापन गरिने उनले बताए।

आर्कषक हुनेछ सडक
संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत बनाउने सडकको दुवै करिडोरमा एकसाथ काम सुरु भइरहेको छ। अहिले तिनाउ र दानव नदीमा छुट्टाछुट्टै चार वटा ठेक्का लागेका छन्।

समग्रमा दुवै नदीको वारि र पारिपट्टी सात मिटरका दरले दुई लेन सडक, दुई मिटर फुटपाथ, तीन मिटर हरियाली र दुवैतर्फ १.५ मिटरको नाली हुनेछ। पर्यटकीय हिसाबले सडकको डिजाइन स्पिड प्रतिघण्टा ४० किलोमिटर मात्र कायम गरिएको छ।

तिनाउतर्फ १५/१५ किलोमिटरका दरले ३० किलोमिटर र दानवतर्फ १०/१० किलोमिटरका दरले २० किलोमिटर सडक बनाउने गरी डीपीआर बनेको छ। 

रिभर रुट निर्माणका लागि दुई वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो। जसमा ५० किलोमिटर सडक निर्माणमा चार अर्ब १३ करोड रूपैयाँ लागत अनुमान गरिएको थियो।

यो सडक निर्माणपछि तिनाउ नदी तटीय क्षेत्रको बस्ती सुरक्षित हुनेछन् भने नदीको सौन्दर्यीकरण समेत हुनेछ। तिनाउ नदीलाई हिउँदको समयमा जलाशय बनाएर आन्तरिक र वाह्य पर्यटकलाई डुंगा शयर गराउने दीर्घकालीन लक्ष्य समेत छ।

डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ। उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ।

२४ कात्तिक, २०७९, ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।