हुम्ला प्रदेश सभा निर्वाचन: दलभन्दा व्यक्तिको प्रभाव महत्त्वपूर्ण, मुख्यमन्त्री शाहीलाई गठबन्धनको भर तर छक्कबहादुरको डर

हुम्ला प्रदेश सभा निर्वाचन: दलभन्दा व्यक्तिको प्रभाव महत्त्वपूर्ण, मुख्यमन्त्री शाहीलाई गठबन्धनको भर तर छक्कबहादुरको डर

सुर्खेत: कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही सत्ता गठबन्धनका तर्फबाट हुम्लाको प्रदेश सभाको (ख) बाट उम्मेदवार छन्। २०७४ मा कांग्रेसबाट प्रदेशभरिको एक्लो प्रत्यक्ष निर्वाचित उम्मेदवार शाही फेरि कर्णालीको मुख्यमन्त्री हुने लक्ष्यका साथ चुनावी मैदानमा छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कार्यसम्पादन समितिका सदस्य शाहीले गत कात्तिक १५ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

यद्यपि, यसपटक उनलाई ०७४ को जस्तो निर्वाचन जित्न भने सहज छैन। प्रतिनिधि सभाका निवर्तमान स्वतन्त्र सांसद् छक्कबहादुर लामा यसपटक एमालेबाट प्रदेश सभा (ख)मा उठेर शाहीलाई चुनौती दिँर्दैछन्।

२०७४ को प्रदेश सभा निर्वाचनमा चार हजार ५१९ मत ल्याएर शाही निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी माओवादीका विजय भण्डारीले तीन हजार ९९५ मत ल्याएका थिए। उनीहरूबीच ५२४ मतको अन्तर देखिन्छ।

यता २०४८ सालमा तत्कालीन जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा चक्रबहादुर शाहीलाई आठ मतले पराजित गरेका लामाले २०७४ सालमा मंगलबहादुर शाहीलाई ४७ मतान्तरले पराजित गरेका थिए।

संविधान सभाको दोस्रो निर्वाचनमा भने तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका लामा पार्टीभित्रकै असहयोगका कारण मुख्यमन्त्री जीवनबहादुर शाहीसँग पराजित भएका थिए।

लामा २०७० मा भएको संविधान सभा सदस्य निर्वाचनमा कांग्रेसका उनै जीवनबहादुर शाहीसँग व्यहोर्नुपरेको हारको बदला लिने दाउमा छन्। लामा नेकपा माओवादीको हेटौँडा माहधिवेशनबाट माओवादीमा समाहित भएका थिए।

शाहीलाई गठबन्धनको साथ भए पनि जिल्लामा प्रभावशाली नेताको रूपमा मानिँदै आएका लामाको पनि डर छ। विगतदेखिकै चुनावी परिणामलाई हेर्दा हुम्लाका मतदाताले दलभन्दा पनि उम्मेदवारको व्यक्तिगत प्रभावलाई मूल्याङ्कन गर्दै आएका छन्।

२२ दिनदेखि शाही हुम्लामा
मुख्यमन्त्री शाही पनि हुम्लामा राम्रै प्रभाव भएका नेता मानिन्छन्। शाहीले ल्याएको कुल मतको २० प्रतिशत मत मात्रै छक्कबहादुर लामाले ल्याउनसक्ने कांग्रेस कार्यकर्ताहरू दावी गर्छन्।

अहिले मुख्यमन्त्री शाही २२ दिनदेखि गृहजिल्ला हुम्लाका विभिन्न स्थानमा चुनावी अभियानमा छन्।

१० कात्तिकमा एक कार्यक्रमका लागि काठमाडौं गएका उनी १२ कात्तिकमा काठमाडौंबाट सिधै हुम्ला पुगेका थिए। १२ देखि २२ कात्तिकसम्म शाहीले जिल्लाका २८ भन्दा बढी गाउँ तथा बस्तीमा घरदैलो कार्यक्रम गरिसकेका छन्।

प्रदेश सभा () स्वतन्त्र उम्मेदवारीले गठबन्धनलाई प्रभाव पार्ने
यस्तै हुम्ला प्रदेश सभा (क) मा गठबन्धनका साझा उम्मेदवार माओवादीका रणसिंह परियारविरुद्ध कांग्रेसका मंगल शाही र एकीकृत समाजवादीका हस्त शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यसले गर्दा गठबन्धनका साझा उम्मेदवार परियारलाई केही असर पर्ने देखिन्छ।

प्रतिनिधि सभामा भने गैरसांसदबाट कर्णाली प्रदेश सरकारका निवर्तमान पर्यटन, वन तथा उद्योग मन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’ माओवादीबाट उम्मेदवार छन्।

हुम्लामा एक प्रतिनिधि सभा र प्रदेश सभा (क) गरी दुई वटा माओवादीको र प्रदेश सभा (ख) कांग्रेसको भाग परेको छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतअनुसार हुम्लामा एमालेको तुलनामा सत्ता गठबन्धन २५ सयभन्दा बढी मतले अगाडि छ।

२३ कात्तिक, २०७९, १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।