निर्वाचनमा राउटे समुदायको चासो; मुखिया भन्छन्– ‘नागरिकता र भाेट कार्ड सरकारले नै राखोस्, चाहिएको बेलामा देओस्’

निर्वाचनमा राउटे समुदायको चासो; मुखिया भन्छन्– ‘नागरिकता र भाेट कार्ड सरकारले नै राखोस्, चाहिएको बेलामा देओस्’

सुर्खेत : यति बेला शहर होस् या गाउँका बस्ती–बस्तीमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौनक छ।

युवादेखि वृद्धसम्म सबैलाई चुनाव लागेको छ। केन्द्र र प्रदेशमा बसेका नेता कार्यकर्ता आफ्नो कार्यक्षेत्रतर्फ केन्द्रित भएर चुनावी अभियान चलाइरहेका छन्।

राजनीतिक दल र तिनका उम्मेदवारलाई मतदाता फकाउन भ्याइनभ्याइ छ। तर, यता लामो समयदेखि जंगलमा फिरन्ते जीवन बिताएर आफूलाई जंगलको राजा भन्न रुचाउने राउटे समुदायलाई भने चुनावी रौनकताले छोएको छैन।

उनीहरूको न मतदाता नामावलीमा नाम नै छ न नागरिकता नै। त्यसैले उनीहरूको बस्तीमा राजनीतिक दल र उम्मेदवारहरू जाँदैनन्। राउटे मुखियाबाहेक अन्य समुदाय चुनावबारे अनविज्ञ छन्।

यसअघि भगवतीमाई गाउँपालिकामा बसेका उनीहरू अहिले दैलेखको नारायण नगरपालिका–८ लोहोरासाल खर्क नजिक बसोबास गर्छन्।

आसपास चुनावी सरगर्मी बढ्दा उनीहरूको बस्ती भने सुनसान छ। काठका भाँडाकुँडा बनाउने, त्यसलाई बजारमा लगेर बेच्ने तथा त्यसैबाछ दैनिकी चलाउनमै उनीहरूको समय बितेको छ।

बढ्दो चासो
पछिल्लो समय विभिन्न चरणका चुनाव हुँदा राउटे समुदायका मुखिया र अगुवाले भने चुनावप्रति चासो देखाउन थालेका छन्।

आफूहरूलाई चुनावको बारेमा थाह भए पनि नागरिकता नभएकाले भोट हाल्नबाट बञ्चित भएको ४८ वर्षीय राउटे मुखिया सूर्यनारायण शाहीले बताए।

‘पहिला–पहिला हामीलाई चुनावबारे थाहा नाइ। अहिले बाहिरका मान्छेबाट केही कुरा सिक्न पाइयो। भोट हाल्नुपर्छ भन्ने थाहा भो,’ उनले भने, ‘के गर्नु भोट हाल्नलाई न हामीसँग नागरिकता छ न त भोट कार्ड नै!’

कुनै समय मानिसको नजिक बस्न नरुचाउने, पैसा छोए पाप लाग्छ, नागरिकता बनाए अशुभ हुन्छ र पढेपछि स्वर्ग गइँदैन भन्ने मान्यता राख्नेद राउटे समुदाय पछिल्लो समय परिर्वतन हुँदै समुदायसँग पनि घुलमिल हुन थालेको छ।

आफूहरू नागरिकता बनाउन र आफ्नो मताधिकार प्रयोग गर्न तयार भए पनि त्यसतर्फ सरकारले चासो नदेखाएको उनको गुनासो छ।

‘चुनाव भन्ने के हो? पछिल्लो समय बाहिरका मानिसबाट बुझ्दै आएका छौं,’ मुखिया शाहीले भने, ‘यदि सरकारले नागरिकता र भोट कार्ड बनाइदिए, हाम्रो सबै जनतासँग सल्लाह गरेर भोट हाल्न तयार छौं।’

तर, नागरिकता र मतदाता कार्ड बनाए पनि सरकारले नै त्यो राखेर आवश्यक परेको बेला आफूहरूलाई दिनुपर्ने उनको माग छ।

नारायण नगरपालिका–८ लोहोरा साल खर्कमा बसोबास गर्दै आएका उनीहरूको ४० घरधुरी छ। ६८ पुरुष, ७५ महिला गरेर १४३ जनाको समुदाय छ उनीहरूको। यो समुदायमा पुरुष भन्दा महिलाको संख्या धेरै छ।

जसले जिते पनि राउटे समुदायलाई साँझ विहान राम्ररी खान पुग्नेगरी व्यवस्था गरिदिन माग गर्छन् राउटे समुदायका युवा दिपक शाही।

१५ जना नाम लेख्न सक्न् भए
अन्य बस्तीसँग घुलमिल हुँदा राउटे समुदायले चुनावबारे जान्न थालेको सामाजिक सेवा केन्द्र (सोसेक)का जोडी शिक्षक लालबहादुर खत्रीले बताए।

‘पहिले–पहिले चुनावबारे उहाँहरूलाई केही थाहा थिएन। पछि अन्य बस्तीमा हुने चुनावी माहोलले पनि उहाँहरूलाई छोएको छ,’ उनले भने, ‘जब जोडी शिक्षक बनाएर पढाउन थाल्यौं, त्यसपछि उहाँहरूमा केही ज्ञान बढेको छ। अहिले यो समुदायका १५ जना आफ्नो नामसम्म लेख्न सक्छन्।’

नागरिकता बनाउन तयार
राउटे समुदाय फिरन्ते जाती भएको र उनीहरूको स्थायी बसोबास नभएकाले नेपालको जुनसुकै ठाउँबाट नागरिकता बनाउन मिल्ने र निर्वाचन आयोगमा प्रक्रिया पुर्याएको खण्डमा भोटिङ कार्ड समेत बनाउन मिल्ने जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए।

‘निर्वाचनमा सहभागी हुनको लागि पहिलो कुरा नागरिकता बनाउनुपर्याे,’ प्रजिअ हमालले भने, ‘नागरिकता पश्चात निर्वाचन आयोगमा नामावली दर्ता हुनुपर्छ। उहाँहरू नागरिकता बनाउन र भोट हाल्न इच्छुक भए नागरिकता बनाउन हामी तयार छौं।’

२३ कात्तिक, २०७९, ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।