उकेरा फिचर

१६ वर्ष सेनाको जागिरे हुँदा नमिलेको सन्तुष्टि ठीमीको सडक किनारमा भेटेका सरोज


काठमाडौं : ओखलढुंगा स्थायी घर भएका सरोज खत्री प्रायजसो भक्तपुर ठीमीबाट केही भित्रको एक सडक छेउमा मस्त तरकारी बेचिरहेका भेटिन्छन्।

विहान जाँदा पनि उनको पसलमा भीड हुन्छ भने बेलुकी पनि उत्तिकै ग्राहक हुन्छन्। विहान-बेलुकीको तुलनामा दिउँसो केही फुर्सद मिले पनि हात खाली भने हुँदैन।

तरकारी बेचेर बाँकी रहेको समयमा कहिले उनी पसलसँगैको पार्कमा ध्यान गर्दै गरेका भेटिन्छन् त कहिले व्यायाम गर्दै गरेको। तरकारी र फलफूल पसललाई सँगै राखेका उनको घरपरिवार चलाउनेदेखि दुई छोराहरूलाई इन्जिनियर बनाउने सपना पनि पसलसँग जोडिएको छ।

सानैमा आफ्ना बाले अर्की आमा ल्याएपछि आफू र आमालाई नहेरेको गुनासो गर्ने खत्री आमाले नै तरकारी बेचेर आफूलाई पढाएको र यतिको सक्षम बनाएको गर्वसाथ बताउँछन्। १६ वर्ष  आर्मीमा जागिर खाए पनि सन्तुष्ट हुन नसकेपछि तरकारी व्यापारमा लागेको उनको भनाइ छ।

देशलाई कृषिमा आत्मनिर्भर बनाउन आधुनिक कृषिकरणमा सरकारले जोड नदिएकोमा आफूले धेरै दु:ख भोग्नुपरेको विगत सम्झँदै खत्री भन्छन्, 'गर्न सक्यो भने नेपालमा हरेक थोक गर्न सकिन्छ। पैसा कमाउनकै निम्ति विदेश पलायन हुने युवा देखेर मलाई विरक्त लाग्छ। सीप सिक गर। यहाँ हरेक चीज गर्न सकिन्छ।'

बानेश्वरको सडकपेटीमा समेत तरकारी बेचेर जीविका चलाएका खत्री आफूलाई सबैभन्दा मन पर्ने ठाउँ नै सडक किनारा भएको गर्वका साथ भन्छन्।

आफ्नी आमाले नाङ्लोमा तरकारी बेच्दै गर्दा आफूहरू पनि स्कूल छाडेर भए पनि तरकारी बेच्न आमालाई सघाएको पलहरू सम्झँदा खत्री आफूलाई भाग्यमानी ठान्छन्। निरन्तरको सङ्घर्षले बानेश्वरको सडक पेटीबाट यहाँसम्म आइपुग्नुलाई उनी ठूलो उपलब्धि ठान्छन्।

'तरकारी बेचेर घरजग्गा किन्नु भएको छैन?' भन्दा उनी हाँस्दै भन्छन्, 'मेरो निम्ति यो खुल्ला आकाश नै घर हो। म यही आकाशको छानोमुनि खुशी छु त मलाई घर किन चाहियो?'

'गरिबलाई हटाउने होइन, गरिबीलाई हटाउने' धारणा बोकेका महेश बस्नेतको विचारलाई समर्थन गर्ने उनी महेश बस्नेतकै क्षेत्र भएको कारण महानगरले आफूलाई दु:ख नदिएको बताउँछन्। 'तरकारी बेचेर अहिलेसम्म हासिल गर्नुभएको सबैभन्दा ठूलो उपलब्धि के हो?' भन्ने उकेराकर्मीको प्रश्नमा एकै शब्दमा जवाफ दिन्छन् उनी, 'आत्मसन्तुष्टि।'

यति गफ गर्न नभ्याउँदै उनको पसलमा ग्राहक झुम्मिसकेका हुन्छन्। आफ्नो पसलमा आउने ग्राहकलाई नमस्ते गर्दै गरेका उनी ती ग्राहकलाई सञ्चो बिसञ्चोदेखि घरको हालखबरसम्म सोध्न भ्याउँछन्। कोही उनलाई 'नमस्ते' गर्छन् त कोही ग्राहकलाई उनी आफैँ 'नमस्ते' गर्छन्। यो बाहेक उनले आफ्नो ग्राहकका निम्ति सधैँ ओठमा मुस्कान पनि बोकेका हुन्छन्।

आफ्नो पसलमा लाइन बसेर भए पनि तरकारी किन्ने ग्राहकमा आफ्नो खुशी भेट्छन् खत्री। कहिल्यै अरूको अन्डरमा बसेर काम गर्न नरूचाउने भएकाले पनि व्यवसायमा स्वतन्त्रता रहेको बताउँछन् उनी।

किसान तरकारी संकलन केन्द्र बनाउने योजनासमेत बोकेका खत्री बजारबाट मात्र नभएर किसानको बारी-बारी सम्म नै पुगेर तरकारी ल्याउने इच्छा व्यक्त गर्छन्। अहिले पनि उनी बजारबाट भन्दा किसान मार्फत् नै तरकारी ल्याउँछन्। त्यसो गर्दा किसान पनि मर्कामा नपर्ने र आफूलाई पनि उनीहरूसमक्ष पुग्दा खुशी मिल्ने बताउँछन् खत्री।

'देशलाई समृद्ध बनाउने हो भने कृषिमा आधुनिकिकरण जरूरी छ, 'तरकारी खेती, गाईपालनदेखि कुखरापालनसम्मको अनुभव बटुलेका खत्री भन्छन्, 'भारतलगायतका मुलुकबाट आयात हुने फलफूल र तरकारीलाई देशभित्रैको उत्पादनले प्रतिस्थापन गर्न सके अरबौं विदेशी मुद्रा बाहिर जानबाट रोकिन्छ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

रातिको १२ बजेको थियो। एक्कासी गड्याङगुडुङ आवाजसँगै छिमेकीहरू कराएको हल्ला चल्यो। महेन्द्र ब्यूँझिए, यस्सो घरबाहिर हेर्दा पहिरोले घरलाई दायाँबायाँबाट घेरा हालिसकेको थियो। बल्लतल्ल झ्यालबाट हाम....

गाउँमै व्यवसाय गर्न पनि सरकारसँग जुधिरहेका हरिबहादुर दम्पती

सिरीरी चलिरहेने सिरेटो र वरपरको सुन्दर दृश्यले जोकोहीलाई लोभ्याउँछ नै। यहि होम स्टे चलाउने हरि बहादुर घिमिरे र उनी श्रीमती स्वस्तिकाको भने आफ्नै दुःख छ।....

साँखुमा डाेकाे बुन्ने जयनारण भन्छन्- 'नेतालाई भोट हाल्नु र खोलामा ढुङ्गा हान्नु एकै हाे'

एक्लो सन्तान भएको र आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण उनले विद्यालय पढ्न जान समेत पाएनन्। गाउँघरमा खेती किसानीको काम गर्दा-गर्दा दिक्क भएका राईकाे दिमागमा....

३० वटा माटाका गिलासबाट सुरू भएकाे ‘दाह्री भाईको चिया पसल’, जहाँ मुख्यमन्त्री र मन्त्रीले चिया पिउँछन्

सुर्खेतमा प्रख्यात बनेको मट्का चियाको ‘ब्राण्ड’सँगै विभिन्न योजना र कुराकानी समेत हुन्छ यहाँ। चुनावी सरगर्मी चलिरहेका बेला अहिले उनको पसलमा राजनीतिका गफ पनि टन्नै हुन्छन्।....

१५ वर्षदेखि आँगनमै भाषण गर्दा पनि कुनै नेताले देखेनन् धर्मबहादुरको घर

कार्यक्रममा उनकै घरतिर माइक फर्काएर नेताहरू ठूल्ठूला स्वरमा भाषण गर्छन्– ‘हामी गरिबलाई धनी बनाउँछौं। बाटो, खानेपानी र बिजुली ल्याउँछौं। गरिबका खरले छाएका झुपडीमा टिन हाल्छौं।....