ज्यान दिन तयार पूर्व लडाकुले प्रचण्डलाई जुत्ताको माला लगाउन खोजेपछि...

ज्यान दिन तयार पूर्व लडाकुले प्रचण्डलाई जुत्ताको माला लगाउन खोजेपछि...

सुर्खेत : व्यस्त कार्य तालिका लिएर कर्णाली आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्डले´ केही जिल्लामा चुनावी सभालाई सम्बोधन गरे। गोरखाबाट सिधै सुर्खेत आउने उनको कार्य तालिका भए पनि प्रतिकूल मौसमले प्रचण्ड सल्यानको सदरमुकाम खलङ्गा उत्रिए।

उनले त्यही क्रममा सल्यानमा गठबन्धनबाट उम्मेदवार बनेका नेताहरूलाई भेटेर सुर्खेत विमानस्थल आंशिक रूपमा मौसम खुलेपछि मङ्गलवार बिहान सुर्खेत विमानस्थलमा उत्रिए। त्यसपछि उनी गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई लिएर जुम्ला गएका थिए।

जुम्लामा आयोजित सभालाई सम्बोधन गरेपछि उनी हुम्ला र त्यसपछि कालिकोटमा आयोजित गठबन्धनकै चुनावी सभालाई सम्बोधन गरे। अनि खड्कालाई  छोड्न प्रचण्ड चढेको हेलिकोप्टर सुर्खेतको चिंगाड गाउँपालिकाको ठाँटीबजारस्थित मटेलामा अवतरण गरेको थियो।

प्रचण्ड सुर्खेतको चिंगाड पुग्दा साँझको पाँच बजी सकेको थियो। उनले चिङ्गाडमा भएको भेलालाई  सम्बोधन गर्दै थिए। त्यही बेला पूर्वमाओवादी लडाकुसमेत रहेका कमल खत्रीले जुत्ता प्रहार गर्न खोजे। तर उनले जुत्ताले हान्न भ्याएनन्। प्रहरीले नियन्त्रणमा लिइहाल्यो।

प्रहरीले ती पूर्व लडाकुलाई नियन्त्रणमा लिएर उनको झोला जाँच गर्दा जुत्ताको माला समेत फेला पारेको छ। मटेला प्रहरीले नियन्त्रणमा लिएका उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय अवलचिंगमामा पठाएको छ।

२२ कात्तिक, २०७९, २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।