गण्डकीको ऊर्जामन्त्रीबाट  बर्खास्त भएका आचार्य भन्छन्' ज्ञानेन्द्र शाहको शैलीमा 'कु' गरे, मुख्यमन्त्रीले फोन उठाएनन्'

गण्डकीको ऊर्जामन्त्रीबाट  बर्खास्त भएका आचार्य भन्छन्' ज्ञानेन्द्र शाहको शैलीमा 'कु' गरे, मुख्यमन्त्रीले फोन उठाएनन्'

पोखरा : बर्खास्तीमा परेका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले ज्ञानेन्द्र शाहको शैलीमा आफूमाथि कु भएको दाबी गरेका छन्।

एमालेलाई भोट मागेको र प्रचण्डलाई भोट नदेऊ भनेको भन्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले मङ्गलवार उनलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मा आफैँले लिएका थिए।

आचार्यले विना आधार आफूलाई आरोप लगाएको र बर्खास्त गर्नुपर्नाको कारण औपचारिक रूपमा कसैले नभनेको बताए। यसबारे कुरा गर्न आफूले पटक-पटक मुख्यमन्त्रीलाई फोन गरे पनि उनले फोन नै नउठाएको उनले बताए।

उनले भने,‘भोलि के हुन्छ थाहा छैन। अहिलेसम्म मैले एमालेलाई भोट मागेको र प्रचण्डबिरुद्ध लागेको प्रमाणित होस्। म त्यसको जबाफ दिन म तयार छु।’

उनले मुख्यमन्त्री पोखरेल र नेपाल समाजवादी पार्टीले कुनै जानकारीबिनै मन्त्रीबाट बर्खास्त गरेको आरोप समेत लगाए।

'मलाइ अहिलेसम्म कुनै औपचारीकरुपमा के कारण बर्खास्त गरिएको हो भन्ने जानकारी आएको छैन। म अहिले पनि मन्त्रालयकै काममा व्यस्त छु। बर्खास्त भएको मिडियाबाट सुनेको छु। तर, कतैबाट मलाइ बर्खास्तको जानकारी छैन’ उनले भने।

 आचार्यले आफूले मुख्यमन्त्री पोखरेला सम्पर्क गरिरहे पनि सम्पर्क नभएको बताए।

मन्त्रीबाट बर्खास्त गरिएको सुनेपछि के कारण बर्खास्त गरिएको हो भनी सोध्न मुख्यमन्त्रीसँग टेलिफोन सम्पर्क गर्ने प्रयास गरिरहेको तर उनले फोन रिसिभ नगरेको आचार्यले बताए।

'मलाई औपचारीकरुपमा टेलिफोन, पत्र केहीबाट पनि जानकारी आएको छैन’ उनले भने।

उनले पार्टीबाट समेत आफूमाथि लगाएको आरोपबारे नसोधिएको बताए।

उनले भने, ‘मलाइ पार्टीले पनि के कारण कारबाही गर्न खोजिएको भनेर कुनै सोधखोज पनि गरेको छैन। पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग मेरो फोनमा कुराकानी नभएको दुई महिना भयो। उहाँसँग यस विषयमा कुराकानी भएकै छैन।’

गोरखा–२ घर भएका आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए। यस पटकको निर्वाचनमा पनि उनी गोरखा २ को ‘क’बाट उम्मेदवारको आकाङ्क्षी देखिएका थिए। तर नेपाल समाजवादी पार्टीले उनलाई टिकट नदिएर फणीन्द्र देवकोटालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

पछि उनले पार्टीको दबाबमा उम्मेदवारी फिर्ता लिएका थिए। आचार्य २०७८ जेठ २९ मा बिना विभागीय मन्त्रीमा नियुक्त भएका थिए। उनलाई पछि असार ११ मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

२२ कात्तिक, २०७९, १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।