१५ वर्षमा बिहे गरेका ज्ञानेन्द्रको अनुभव : आफ्नै श्रीमती देख्दा पनि लाज लाग्थ्यो, पाँच वर्षसम्म बोल्नै सकिएन

१५ वर्षमा बिहे गरेका ज्ञानेन्द्रको अनुभव : आफ्नै श्रीमती देख्दा पनि लाज लाग्थ्यो, पाँच वर्षसम्म बोल्नै सकिएन

काभ्रेको धुलिखेल नगरपालिकाको काभ्रे भन्ज्याङमा आफ्नै घर अगाडी एउटा सानो छाप्रोमा फलामलाई हम्मरले हान्दै ग्राहकको माग अनुसारको सामान बनाउन आकार दिन थाल्छन् ज्ञानेन्द्र बिक (४४)। बिहान उठेदेखि बेलुकासम्म फलामलाई तताउनु, पगाल्नु अनि त्यसलाई कुटेर आकार दिनै उनको वर्षौँ देखिको दैनिकी हो।

गाउँमा अहिले खेतबारी खन्ने चटारोसँगै हँसिया, कुट्टो, कोदालो लगायतका सामानको माग बढी छ। घर बाहिरको सानो छाप्रो नै उनको पसल हो। त्यही छाप्रोले उनीसँगै उनको परिवारको अस्तित्व डुब्न दिएको छैन। घर आफ्नै भए पनि उनको पसल भएको ठाउँ आफ्नो होइन। गाउँमा सडक नआएसम्म छाप्रोमा बस्न पाउने अनुमति पाएका छन् उनले।

धुलिखेल हाइवेबाट आठ किलोमिटर मात्र टाढा भए पनि यस ठाउँलाई गाउँ नै भन्ने गरिन्छ। उनको पसल धेरै सानो भएकाले उनी बाहेक दिनभरि त्यहाँ हुने भनेको तीन वटा मेसिन, केही थान हँसिया हतौडा अनि केही झोला गोलको पोका नै हुन्।

'म एक जनालाई नै बस्न ठाउँ पुग्दैन। कहिलेकहीँ ठुलो-ठुलो हतौडा बनाउन पर्यो भने आँगनमा बसेर गर्नुपर्छ’ उनले भने, ’गाह्रो छ नि। ठुलो हतौडा अनि बन्चरोहरू बनाउन पर्यो भने धेरै गाह्रो हुन्छ। काम गर्ने मान्छे नै बोलाउनु पर्ने हुन्छ।’

उनले ग्राहकको माग अनुसार सामान बनाउँछन् नै मौसम अनुसार माग हुने हतियार बनाएर बेच्छन् पनि। खेतबारीमा आवश्यक पर्ने सबै सामान बनाउन जानेका छन् उनले।

 ’बजारको सामान नक्कली हुन्छ भनेर यहाँ बनाउन आउँछन्। बजारमा सामान लग्यो भने सस्तो खोज्छन्। त्यसैले जति बिक्छ यतैबाट विक्री गर्छु,' उनले भने।

पसल आफ्नै भएकाले फुर्सद निस्किए आमा र श्रीमतीलाई खेतीमा सहयोग गर्न गइहाल्छन्। गाउँमा उनी जस्तै काम गर्ने अरू तीन जना मात्र छन्। त्यै भएर पनि उनकोमा ग्राहक भने भइनै रहन्छन्। करिब १ सय २० घर रहेको उनको गाउँमा विश्वकर्मा समुदायको सङ्ख्या भने एक दर्जन पनि छैन।

’हाम्रो गाउँमा विश्वकर्माहरू ८-९ घर छन्। त्यसमा पनि २-३ घरमा मात्र मान्छे बस्छन्। अरू सबै काठमाडौँतिर गए’ उनले भने।

सानैदेखि फलाम समाएको हात

उनले थाहा पाएसम्म उनीहरूको पुरानो वासस्थान यही काभ्रै नै हो। उनको यो पुर्ख्यौली पेसा नै हो। फलाम समाउन र त्यसलाई आकार दिन उनलाई कसैले सिकाउनै परेन। जति जाने हेरेरै जाने। ज्ञानेन्द्र भर्खरै स्कुल जान थालेको बेला उनको बुबाको मृत्यु भयो। अनि उनको हातमा आइपुग्यो घन।

आफ्नो बाल्यकालको बारेमा सम्झिन खोज्दा उनको आँखा सधैँ रसाउँछ।

'पढ्ने भन्दाभन्दै बाबा बित्नुभयो। एक कक्षा पनि पुरा पढेको छैन। घरमा बहिनीहरू पनि थिए। आमा एक्लैले के मात्र गर्ने’, उनले भावुक हुँदै सुनाए, ’काम नगरी खान नपाउने भएपछि काम त गर्नु नै पर्यो।’

धेरै श्रम र थोरै आम्दानी हुने आफ्नो पेसाको कारण उनले आफ्नो बहिनीहरूलाई पनि पढ्नको लागि केही मद्दत गर्न सकेनन्। बरु बहिनीहरूको चाडै विवाह भयो।  ५-७ कक्षा मात्र पढ्न पाइएको भए पनि अलि टाठोबाठो भइन्थ्यो कि भन्ने लाग्ने रहेछ उनलाई।

'सानैमा बिहे गरेको भएर होला, मलाई त दुलही देखेर सारै लाज लाग्थ्यो। बिहे भएको पाँच वर्ष सम्म त म उनीसँग धेरै बोल्दा पनि बोलिन’ विवाहको समय सम्झँदै उनले भने।

उनी अहिले भने आफ्नो नाम लेख्न सक्ने भएका छन्। गाउँमा प्रौढ शिक्षा पढाउने कार्यक्रम चलेको समयमा उनले बेलुका-बेलुका गएर पढ्न थाले। नाम लेख्न जान्ने भए उनी। अनि प्रौढ शिक्षा पढाउने योजना नै बन्द भयो।

सानैमा तातो फलामसँग खेल्न सुरु गरेका उनको हातमा अहिले पनि आगोले पोलेको र डामेको डामहरू टन्नै छन्। एकचोटी त खुट्टामा फलाम उछिट्टिएर लाग्दा टाँका नै लगाउनु परेको सुनाए उनले

'सानोमा खुब डर लाग्थ्यो। गोलहरूको अगाडी बस्नै सक्दिन थिए। तर, के गर्नु बाध्यता भयो। काम नगरे बेलुका खान पाइँदैन थ्यो। फलामको काम गर्न एकदमै गाह्रो हुने भन्दै उनले भने, ’कहिलेकहीँ त यो कामनै छोडौँ जस्तो त लाग्छ। तर, के गर्नु परिवार पाल्नै परिहाल्यो। अरू काम पनि छैन। यसो सजिलो काम पायो भने त हुन्थ्यो नि। तर, कसैले पत्याउँदैन।’

खर्च बढ्यो, आम्दानी बढेन

उनीसँग मेसिन भए पनि आगो फुक्न हातकै प्रयोग गर्छन्। त्यसो गर्दा गोल छिटो सकिँदैन रे। पहिला-पहिला आफै गोल बनाउने गरेका उनले अहिले भने बजारबाट किनेर ल्याउँछन्। एक बोरा गोलको अहिले  पाँच सय रुपैयाँसम्म पर्छ।

'पहिला त वनहरू खुल्ला थियो। त्यता गएर दाउरा लिएर घरमै तयार हुन्थ्यो गोल। पछि बनहरुनै रोक्का भयो। अनि अहिले रक्सी पारेको ठाउँहरूबाट अनि बजारबाट गोल किन्ने गर्छु’ उनले भने।

सबै भन्दा महँगो सामान भनेको बन्चरो हो उनकोमा। पाउको दुई सयसम्म पर्छ। अनि एउटा बन्चरोको तौल आठ-नौ पाउ सम्मको हुन्छ। त्यसको लागि चाहिने फलाम कवाडीबाट ल्याउँछन्। अनि त्यहाँ नपाएको बेला बनेपाबाट ल्याउने गर्छन्। राम्रो फलामको अहिले डेढ सयसम्म तिर्ने गर्छन् उनी।

पहिला गाउँमा पनि दलित समुदायका मानिसहरू पनि धेरै थिएनन्। त्यै भएर पनि उनले सानोमा आमा बासँगै आफूले पनि विभेद भोगे।

’पहिला-पहिला कामी भनेर धेरै घृणा गर्थे। बोली अनि व्यवहारमा उस्तै,' उनले भने' अहिले त्यस्तो छैन। मेरो यहाँ सबै जना साथी छन्।’

उनको गाउँमा पनि चुनाव आएसँगै नेताहरू पस्न थालेका छन्। तर, ज्ञानेन्द्रलाई भने चुनावको मतलवनै छैन। मलामी र किरिया बस्नेहरूको लागि बसेर खानको लागि खोला नजिकै पाटी बनाइदिनु भनेर माग राखे पनि अहिलेसम्म नबनाएकोमा उनले गुनासो पनि पोखे।

'मल नभएर यसपालि आलु हाल्न पाइएन। सानो पाटी बनाइदेऊँ न भन्दा पनि नेताले सुनेनन्। अनि के भोट हाल्नु भन्ने लाग्छ' उनले भने।

धेरथोरै भए पनि अहिलेसम्म उनको काम भने निरन्तर भइराखेको छ। फरक यत्ति हो, सुरुको दिनहरूमा काम गर्दा दिनमा पाँच रुपैयाँ कमाउने उनL अहिले एक हजार सम्म कमाउँछन्। त्यै भएर अहिले पनि खान-लाउनेमै आफ्नो काम सीमित भएकोमा उनको दुखेसो छ।

उनका अनुसार उनले सबै भन्दा धेरै कमाएको भनेको ३० वर्षको उमेरमा रहेछ। त्यतिखेर घर खर्च कटाएर नै उनले वर्षमा एक लाखसम्म जोगाउन सकेका रहेछन्। परिवार सङ्ख्या बढ्दै गयो। उनको खर्च पनि बढ्यो। तर आम्दानी बढेन। अहले पनि दैनिक कमाई खान-लाउनमै सकिने बताए उनले।

सन्तानलाई पनि राम्रो शिक्षा दिन सकेनन्

सनै उमेरमा विवाह भयो उनको। १५ वर्षको हुँदा उनले मागी विवाह गरेका रहेछन्।

'सानैमा बिहे गरेको भएर होला, मलाई त दुलही देखेर सारै लाज लाग्थ्यो। बिहे भएको पाँच वर्ष सम्म त म उनीसँग धेरै बोल्दा पनि बोलिन’ विवाहको समय सम्झँदै उनले भने।

विवाहको समयमा उनको श्रीमती भने जम्मा १४ वर्षकी रहिछन्। सानै भएकाले उनी प्राय माइतमै बस्थिन्।

'त्यो बेला छिट्टै बिहे गरिहाल्नु पर्छ भन्ने थियो। तर कहिल्यै सँगै हिँडेनौ। म अगाडी गयो भने उ पछाडि जान्थी’ उनले भने।

अहिले भने उनको तीन जना सन्तान छन्। ठुली छोरीको विवाह भइसक्यो। अर्को छोरा र छोरी काम गर्छन्। आर्थिक अवस्था कमजोर भएकाले उनले आफ्नो बच्चाहरूलाई पनि चाहेर पनि पढाउन सकेनन्। छोरा काठमाडौँ गएर फर्केर आएन। १५ वर्षकी छोरीले आफैले काम खोजेर कमाउन थालिन्।

धेरै समयदेखि गोलको रापमा बस्दा बस्दा उनको आँखा पनि कमजोर भइसके। तर, चस्मा लगाएका छैनन्।

'आँखा हेर्न हुँदैन पुरै पोल्छ। चस्मा लगाउन पनि गाह्रो छ फेरी। हम्मरले ड्यामड्याम हान्नु पर्छ चस्मा लाएर साध्य नै छैन’ उनले भने।

जिन्दगीभर यसमै समय बिताएका उनको आगामी योजनाहरू पनि खासै केही छैन। सकुन्जेल यही काम गर्ने उनको इच्छा छ। पछि गाउँमा सडक बनेर टहरा छाड्नु परे खेतीपाती गरेर बस्ने योजनामा छन् उनी।

२१ कात्तिक, २०७९, १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।