एक शिर्षक, दुई कथा : शंका

एक शिर्षक, दुई कथा  :  शंका

एकजना किसान एकदिन जंगलमा दाउरा काटन गएको बेलामा बञ्चरो जंगलमै छाडेर आए । उनीसँगै उनको छिमेकी पनि सँगै जंगल गएका थिए । किसानले छिमेकीले बञ्चरो लग्यो होला भनेर शंका गरे । उनले छिमेकीलाई बञ्चरो भेट्यौ कि भनेर सोधे । तर छिमेकीले बञ्चरो आफुले नभेटेको कुरा गरे । किसानले छिमेकीको कुरा नपत्याएपनि मुख फोरेरै चोरको आरोप लगाउन सकेनन् । छिमेकी अरुकसैसँग कुरा गरेको देख्दा पनि चोरले कुरा गरेको जस्तै माने । छिमेकीको अनुहार देख्दै चोरकोजस्तो लाग्न थाल्यो उनलाई । बोलेको सुन्दा पनि चोर नै बोलेको जस्तो मान्न थाले ।

भोलीपल्ट फेरी दाउरा काट्नको लागि दुबैजना जंगल गए । त्यहाँ जाँदा त्यो बञ्चरो उनले जहाँ छाडेका थिए त्यहीँ भेटियो । उनले छिमेकीलाई हेरे, छिमेकी मुस्कुरायो ।

उनलाई आफ्नो छिमेकी निकै असल मान्छेजस्तो लाग्यो ।

परिस्थितिले मान्छेको अरुलाई हेर्ने नजर पनि बदलिदिन्छ ।

 

गाउँमा कुनै गाउँलेको घरको भित्ता दिनभरी परेको वर्षाले गर्दा भत्कीन लागेको थियो । उनको १० वर्षको छोराले बाबालाई त्यो भित्ता मर्मत गर्न सुझाव दियो । नत्र कुनै चोर घरमा घुस्न सक्छ भनेर सचेत पनि बनायो । गाउँलेले वास्ता गरेनन् ।

यत्तिकैमा त्यहाँ गाउँलेको छिमेकी आए । उनले पनि त्यो भित्ता मर्मत गर्न सुझाव दिए अनि गाउँलेको छोराले जस्तै चोर आउन सक्छ भनेर सचेत पनि गराए तर रात पर्नै लागेकोले गाउँलेले खासै वास्ता गरेनन् ।

राती साँच्चिकै घरमा चोरी भयो । गाउँलेले छोराले सचेत गराएकोमा छोरालाई बुद्धिमान ठान्यो तर छिमेकीले सुझाव दिएकोमा कतै चोरी गर्ने उही छिमेकी नै पो हो कि भनेर उल्टै छिमेकीमाथी शंका गर्यो ।

सुझाव भन्नेकुरा दिने व्याक्तिमा पनि भर पर्छ ।

२० कात्तिक, २०७९, १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।