माओवादीको गढ–गठबन्धनको भर, पूर्व मुख्यमन्त्रीलाई बागीको डर ! 

माओवादीको गढ–गठबन्धनको भर, पूर्व मुख्यमन्त्रीलाई बागीको डर ! 

सुर्खेत : कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन्।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका उनी सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। माओवादीको गढ मानिने कालिकोट र सत्ता गठबन्धनको साथ भएपछि उनका लागि चुनाव जित्न सहज हुनुपर्ने हो।

तर, गत निर्वाचनको जति सहज उनलाई यसपाली छैन। उनकै पार्टीका नेता कासीचन्द्र बरालले शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएर चुनावी प्रचारमा छन्। बराल माओवादीको केन्द्रीय लेखा आयोगको सदस्य एवं निवर्तमान रास्कोट नगरपालिकाका मेयर हुन्।

बरालले पुतली चिह्न लिएर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका छन्। कालिकोटमा स्वतन्त्र उम्मेदवार विजयी भएर इतिहास लेख्ने भन्दै प्रचारलाई तीव्रता दिएका छन् उनले।

जिल्लामा बराललाई शाहीलाई टक्कर दिने उम्मेदवारका रूपमा हेर्न थालिएको छ। यद्यपि पार्टीबाट बाहिरने मत रोक्न सके शाहीलाई चुनाव जित्न सहज भएको स्थानीय जानकार बताउँछन्। तर, बागी उठेका बरालको जनमत पनि कम भने छैन।

बराल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको फुकोट गाविसबाट ९० प्रतिशत मत ल्याएर विजयी भएका गाविस अध्यक्ष हुन्। २०७४ मा रास्कोट नगरपालिकामा माओवादीभन्दा एमाले बलियो भए पनि भारी मत ल्याएर विजयी भएका हुन् उनी।

बरालकै नेतृत्त्वमा रहेको हिमचुली कृषि सहकारी संस्थामा मात्र १४ हजार सेयर सदस्य आबद्ध छन्। यसबाट पनि शाहीलाई असर पर्नसक्ने देखिन्छ।

दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका शाही २०७४ मा मुख्यमन्त्री बन्ने भएपछि प्रदेशमा झरेका थिए। संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी संविधान निर्माणपछि शेरबहादुर देउवा नेतृत्त्वको तत्कालीन सरकारमा ८३ दिन ऊर्जा मन्त्री भएका थिए।

प्रतिनिधि सभामा एमालेका तर्फबाट नगिन्द्र शाही उठ्दा साना दलका उम्मेदवारहरूले पनि भोट प्रभावित बनाउन सक्ने अवस्था छ यहाँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धनबहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खड्गराज शाही चुनावी अभियानमा छन्।

प्रदेश सभाको अवस्था
कालिकोटको प्रदेश सभा (क) र (ख) मा पनि प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

प्रदेश सभा (क) मा सत्ता गठबन्धनबाट दुर्गबहादुर रावत चुनावी मोर्चामा छन्। उनी यसअघि संघीय संसद थिए। उनीसँग एमालेका कुर्मराज शाही भिडेका छन्।

उनीमाथि कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेर एमालेको सरकार बन्न नदिएको र पुनः सांसद पदका लागि समाजवादीले टिकट नदिँदा एमालेमा फर्किएको आरोप छ।

यही क्षेत्रमा राप्रपाबाट सूर्यबहादुर शाही पनि उम्मेदवार छन्।

प्रदेश सभा (ख)मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता हिक्मतबहादुर बिष्ट चुनावी मोर्चामा उत्रँदा उनीविरुद्ध माओवादी केन्द्रका नेता एवं पलाँता गाउँपालिका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले बागी उम्मेदवारी दिएका छन्।

एमालेबाट विरेन्द्र बोगटी र सत्ता गठबन्धनबाटै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बमले पनि बागी उम्मेदवारीसहित चुनावी मैदानमा छन् यो क्षेत्रमा।

सत्ता गठबन्धनमा रहेका दलहरूबीच एकता हुन नसकेर बागीको सामना गर्नु परेपछि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने दाउमा एमाले पनि छ। प्रतिनिधि सभातर्फ माओवादीबाटै बागी उम्मेदवारी पर्दा उसलाई केही सहज भएको छ।

२०७४ लाई फर्केर हेर्दा
२०७४ मा प्रतिनिधि सभातर्फ माओवादीका दुर्गबहादुर रावत २१ हजार ११२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका थिए।

प्रदेश सभातर्फ भने वाम गठबन्धनबाट (क) मा एमालेका कुर्मराज शाही ११ हजार ९३५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका टेकबहादुर शाहीले ४ हजार ४८९ मत प्राप्त गरेका थिए। (ख) मा माओवादीका महेन्द्रबहादुर शाही १२ हजार १५३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कालिबहादुर सहकारीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए।

स्थानीय निर्वाचनको अंकगणित
यद्यपि, वैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा जिल्लाबाट एमालेलाई चुनाव जित्न निकै सकस छ। स्थानीय तहको मत परिणामअनुसार जिल्लामा माओवादी केन्द्र १९ हजारसहित मतसहित पहिलो हुँदा कांग्रेस र एमालेले क्रमशः १४ हजार र १३ हजार मत छ।

कालिकोटका नौ पालिकामध्ये प्रदेशसभा (क) मा खाँडाचक्र र तिलागुफा नगरपालिका तथा शुभकालिका र महावै गाउँपालिका पर्दछन्। (ख) मा रास्कोट नगरपालिका, नरहरीनाथ, पलाता, पचालझरना, सान्नी त्रिवेणी पाउँपालिका पर्दछन्।

२० कात्तिक, २०७९, ०७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।