फिल्म लाखे : आस्थालाई बेवास्था, पत्याउनै मुस्किल हुने घटनाक्रम

फिल्म लाखे : आस्थालाई बेवास्था, पत्याउनै मुस्किल हुने घटनाक्रम

समीर महर्जन (सौगात मल्ल) दीपशिखा बैंकका पूर्व म्यानेजर हुन्। उनका बुबा लाखे नाच्थे, त्यसैले उनी लाखेका छोरा हुन्। 

बैंक र लाखेको कथा वरपर नै पूरा फिल्म घुमेको छ। कसरी बैंक र लाखे जोडियो? यसको शीर्षक लाखे कसरी रहन गयो? थाहा पाउन फिल्म हेर्नुहोला।

स्पोइलर चेतावनी !
समीरले काम गर्ने बैंकका मालिक हुन् जनक (प्रशान्त ताम्रकार)। बैंक उसको देखाउने दाँत मात्रै हो। उसको मुख्य कारोबार सुन तस्करी हो। जनक लाखेको मुखुण्डोमा लुकाएर सुन तस्करी गर्छन्। जनकको आन्द्राभुँडी थाहा पाएको समीरलाई बैंकिङ कसुरको मुद्दामा जेल चलान गरिन्छ तर ऊ निर्दोष हुन्छ।

नेवार समुदायको आस्थामा प्रहार गरेको देख्दादेख्दै समीर चुप बस्छन् तर ऊ जेलमा हुँदा सपनामा लाखे आउँछ। त्यसपछि समीर जनकसँग बदला लिन जेलका कैदी नाइके रकी (आर्यन अधिकारी), मेटल (अनुपविक्रम शाही) र ह्याकर प्रिन्स (सुशील सिटौला)लाई प्रयोग गर्छन्।

सुगठित शरीर भएका हिरोको जमघट
फिल्ममा शरीर हट्टाकट्टा भएका कलाकारहरूको जमघट छ। सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी र प्रशान्त ताम्राकार। यी सबैको व्यक्तित्वले फिल्मको लय समातेको छ। 

सुशील सिटौला ह्याकरका रूपमा फिल्ममा अटाएका छन्। यो टोलीको सहयोगीका रूपमा रोहित रुम्बा र गुप्तचर प्रहरीको भूमिकामा अर्पण थापा छन्।

सुशीलको बाहेक अन्य कलाकारको अभिनयमा नयाँपन छैन। तर अभिनय मौलिक छ। 

प्रशान्त पर्दामा देखिँदा मात्रै पनि शरीरमा काँडा उम्रन्छ। तर दुःखको कुरा उनको भूमिका राम्रोसँग लेखिएको छैन। संवाद पनि निकै कम छन्। उनको ड्यासिङ पर्सनालिटी देखाउन मात्रै उनलाई फिल्ममा राखिएको भान हुन्छ। 

चार जना शक्तिशाली हिरोहरूसँग फाइट गर्नुपर्ने भिलेनको त्यति कमजोर भूमिका नलेखिदिएको भए हुन्थ्यो।

फिल्मका सबै पात्रहरू ग्रे छन्। आपराधिक पृष्ठभूमिबाट उनीहरू एक ठाउँमा जम्मा भएका छन्। फिल्ममा वर्षा राउत पनि अटाएकी छिन्। तर उनी हुनु र नहुनुले फिल्ममा केही प्रभाव पार्दैन।

मध्यम सिनेमाटोग्राफी र ब्याकग्राउण्ड म्युजिक
फिल्मको द्वन्द्व निर्देशनलाई राम्रो मान्न सकिन्छ। दक्ष जनशक्तिको कमी, प्रविधिको कमी भएको देशमा समेत त्यत्तिको द्वन्द्वको छायाङ्कन गर्नसक्नु ठूलै कुरा हो। 

अन्य फिल्महरूमा जस्तो अप्ठ्यारो लाग्ने भीएफएक्स यसमा छैन। सुहाउँदो छ।

फिल्मको व्याकग्राउण्ड म्युजिक कतै लाउड छ, कतै मध्यम। वाह भन्नेखालको छैन। जनक (प्रशान्त ताम्राकार) पर्दामा आउँदा भने ब्याकग्राउण्ड म्युजिकमा राम्रो काम भएको छ। 

सिनेमाटोग्राफीको काम मध्यम छ।

फिल्ममा एउटा आइटम गीत पनि छ। त्यसले फिल्मलाई मजा दिँदैन। उल्टै 'इरिटेट' गराउँछ। 

इमोसनल बनाउन मात्रै महिला पात्रको प्रयोग गरिएको छ, त्यो पनि दुःख पाउँदा छाडेर हिँड्ने, सुख पाउँदा फर्केर आउने स्वार्थी पात्रको भूमिकामा।

पात्र रुन्छन् तर दर्शकलाई महसुस नै हुँदैन
पर्दामा पात्रहरू भक्कानो फुट्नेगरी रुन्छन्। हामी एक हुन सक्दैनौँ भनेर धर्धरी रोएको ठाउँमा पनि दर्शक त्यो महसुस गर्न सक्दैनन्। उल्टै दिक्क बनाउँछ दर्शकलाई।

फिल्मको पहिलो हाफ पात्र निर्माणमै खर्च भएको छ। कुन पात्रसँग कसरी भेट भयो र कसरी सँगै काम गर्न तयार भयो भन्ने कुरा देखाउन धेरै समय लाग्दा फिल्मको पहिलो हाफ स्लो हुन पुग्यो। 

दोस्रो हाफमा मात्रै कथा भरिपूर्ण भयो। सस्पेन्स पनि एकैचोटी भन्दा त्यसमा पनि दर्शक कनेक्ट हुन सक्दैनन्।

अपत्यारिलो घटनाक्रम
पात्रहरू एकठाउँमा भेला हुनुको गतिलो कारण पनि दिनसकेको छैन फिल्मले। उदाहरणका लागि रकी र मेटलको सम्बन्ध राम्रो छैन। उनीहरू भेट हुने बित्तिकै एक अर्कामाथि जाइलाग्छन्। तर योजना बनिसकेपछि यी दुईको द्वन्द्व कतै हुँदैन। दुवै लुरुलुरु समीरले भनेको मान्छन्।

ह्याकर प्रिन्ससँगको भेट त्यस्तै अपत्यारिलो छ। समीरले प्रिन्स भनेर बोलाउने बित्तिकै भाग्न थाल्छ ऊ। पछि कारण सोध्दा 'प्रहरी हो कि' भनेर भागेको भन्छ।

ह्वाइट ह्याकर हुँदा काम गरेको भएर प्रिन्सलाई चिनेको र अब गैरकानूनी ह्याकका लागि भेट्न आएको भन्छ। ऊ को हो, के हो नजानेरै प्रिन्स समीरसँग काम गर्न राजी हुन्छ।

कहाँको कांतारा, कहाँको लाखे
फिल्ममा कतै 'लुट'को झ-झल्को आउँछ, कतै 'मनि हाइस्ट'को त कतै 'म्याड म्याक्स फ्युरी रोड'को। तीन वटै सुपरहिट सिरिज र फिल्मको झ-झल्को दिलाउन सफल भए पनि लाखेमा कमजोरीहरू प्रशस्त छन्।

दक्षिण भारतीय फिल्म 'कांतारा'ले प्रर्दशनमा आएको एक महिना पुगिसक्दा पनि हल छाड्न मानेको छैन। लाखे फिल्म पनि कांतारा जस्तै एक समुदायको संस्कृति र आस्थालाई आधार बनाएर निर्माण गरिएको फिल्म हो। 

दुवै फिल्मको विधा लगभग मिल्छ। तर, एक्सन थ्रिलर विधामा बनेको कांतारा र लाखेको स्क्रिनप्लेको तुलना गर्ने हो भने चाहिँ थाहा हुन्छ नेपाली फिल्म के कस्तो कुरामा चुकिरहेको छ भनेर।

आस्थालाई बेवास्था
पर्दाको जीवनबाट वास्तविक जीवनमा आउने हो भने नेवार समुदाय यतिबेला दुखी छ। लाखेलाई होटल उद्घाटनदेखि अपवित्र ठाउँमा समेत नचाएकाले।

फिल्मले पनि उनीहरूको आस्था र संस्कृतिलाई प्रयोग गरेर दुई नम्बरी कार्य भइरहेको विषय उठान गरेको छ। 

‘लाखे हाम्रो रक्षक हो, जसले हाम्रो आस्थालाई चलाउँछ, त्यो सकिन्छ’ जस्ता संवाद समेत फिल्ममा प्रयोग गरिएको छ। तर फिल्मको पटकथामै उनीहरूको आस्थालाई बेवास्था गरिएको छ।

लाखे नाच गठेमंगलबाट सुरु भई इन्द्रजात्रामा सकिन्छ। तर त्यहाँ टाइम फ्रेम उल्लेख गरिएको छैन। उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्नु छ। 

जुनसुकै समयमा पनि लाखे नाच हुने जस्तै गरेर उनीहरूले मास्कको व्यवस्था मिलाएका छन्। सजिलै लाखे नाचिरहेको ठाउँमा अनौठो मास्क लगाएर पात्रहरू उफ्रिँदै गन्तव्यमा पुग्छन्। यसर्थ, फिल्मको पटकथा कमजोर छ।

अन्त्यमा,
सस्पेन्स बनाउने चक्करमा फिल्मको कथा एकतिरबाट अर्कोतिर पुगेको छ। यो न बदलाको कथा हो, न संस्कृतिको आडमा भइरहेको दुई नम्बरी कामको कथा हो। कथाको उद्देश्य नै स्पष्ट हुन सकेको छैन।

फिल्मको अन्त्य एकदमै कमजोर छ। जसले गर्दा क्लाइमेक्समा देखाइएको द्वन्द्व फिक्का हुन्छ।

समग्रमा सस्पेन्स थ्रिलर मन पराउनेहरूका लागि फिल्म 'वान टाइम वाचएबल' (एक चोटी हेर्दा हुने) खालको बनेको छ। मनि हाइस्ट र म्याड म्याक्स फ्युरी रोडको फ्यान हुनुहुन्छ भने फिल्म खासै नौलो लाग्दैन। 

* शीर्षक बदलिएको छ।

 

कात्तिक १९, २०७९ शनिबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।