भोट चाहिएपछि जाँतो चलाउन पनि तयार एमाले नेता, वृद्धभत्ताको भ्रम फैलाएर मत माग्दै गरेको भिडियो भाइरल

भोट चाहिएपछि जाँतो चलाउन पनि तयार एमाले नेता, वृद्धभत्ताको भ्रम फैलाएर मत माग्दै गरेको भिडियो भाइरल

सुर्खेत: मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा गएर मत मागिरहेका छन्। उम्मेदवारहरू कोही चुनावी अजेण्डा सुनाउँदै मत माग्दैछन् भने कोही चाहिँ मतदातको खेतबारीमा गएर कोदालो समाउँदै मतदाता फकाउँदै छन्।

यसबीच यतिबेला एउटा भिडिओ सामाजिक सञ्चालमा भाइरल बनेको छ। भिडियोमा पश्चिम सुर्खेत्को चौकुने गाउँपालिका–४ पुच्मा पुगेर नेकपा एमाले चौकुने गाउँ कमिटीका अध्यक्ष हरि अधिकारीले स्थानीय महिलासँग मत मागिरहेको देखिन्छ।

त्यहाँ अधिकारीले जाँतो पिस्दै गरेकी महिलासँगै आफू पनि जाँतो घुमाउँदै एमालेलाई मत हाल्न भनिरहेका छन्। उनले भनेका छन्– ‘अरूले जिते भने भत्ता कटौती गरिन्छ। एमालेले जितेपछि पाँच हजार रुपैयाँ वृद्धभत्ता पाइन्छ, प्रत्येक महिना घर-घर ल्याएर खान पाइन्छ।'

उनले एमालेका ताराकेशर गौतम र अमृत बिसीलाई भोट हाल्न जाँतो चलाउँदै महिलालाई फकाउँदै गरेको भिडियोलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ। कतिपयले यसरी नागरिकलाई वृद्धभत्ताको भ्रम फैलाएर मत माग्नु गलत भएको भनेका छन् त कतिपयले प्रचारको नयाँ तरिका समेत भनेका छन्।

यद्यपि हरि अधिकारीले भने मतदातासँगै बसेर काम गदै आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्दा आत्मीयता बढ्ने भएकोले यस्तो गरेको बताए।

१९ कात्तिक, २०७९, ०९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।