नेताहरू देखेर नजिकै स्थानीय मतदाता राजु तामाङ आफ्ना कुरा सुनाउन उभिएका थिए। धमला सो क्षेत्रका लागि नयाँ उम्मेदवार। तर, चुनाव प्रचारमा उनलाई मतदातासँग दोहोरो कुराकानी गर्ने फुर्सद देखिएन। उनीसहितको समूह राजुको कुरा नसुनी अगाडि बढिन्।
उनी रिसाए।
राजुले अदालतको फैसला सिरानीमा राखेको ११ वर्ष भइसक्यो। तर, उनको समस्या समाधान भएको छैन। ११ वर्षमा दुई पटक चुनाव भइसक्यो।
२०७० मा सो क्षेत्रबाट नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितले जिते। २०७४ मा एमालेका कृष्णगोपाल श्रेष्ठले। श्रेष्ठ अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। पाँच दलीय गठबन्धनबाट धमला उम्मेदवार छिन्। साझा पार्टीबाट मिलन पाण्डे उम्मेदवार बनेका छन्।
हरेक निर्वाचनमा राजुले आफ्नो समस्या सुनाउन खोज्ने रहेछन्। तर, समस्या सुनाउने अवसरै नपाएको गुनासो गरिन् राजु तामाङकी आमा साइली तामाङले।
‘हाम्रो समस्या के छ भनेर कुनै नेताले कहिल्यै सुन्न खोज्दैनन्। हामीले भोट हाल्ने मात्रै हो। जित्छन् अनि जान्छन्। फेरि ५ वर्षपछि आउँछन्। हाम्रो कुरा कस्ले नै पो सुन्छ र?’
राजु अझै रिसाइरहेका थिए उम्मेदवारको पारा देखेर।
‘चुनाव आएपिच्छे आफ्नो नाम र पार्टीको चुनाव चिन्ह भन्दै मत माग्न आउँछन्। हाम्रो समस्या के हो कहिल्यै सुन्दैनन्। चुनावपछि न हार्ने फर्कन्छन् न जित्ने। आज पनि ह्वारह्वार्ती आए, कुरै नसुनी गए।’
उनको समस्या नेताले नसुने पनि उकेराकर्मीले सुन्ने बताउँदा उनी राजी भए।
११ वर्षसम्म पनि कार्यान्वयन नभएको फैसला
तामाङको पुस्त्यौली थलो नागार्जुन नगरपालिका वडा नम्बर ८ मजुवा गाउँ हो। एक छोरा, एक छोरी अनि श्रीमती छन् घरमा।
अदालतको फैसला कार्यान्वयन भएको भए राजुसँग कमसेकम पाँच आना जग्गा हुन्थ्यो। अदालतबाट उनकै पक्षमा फैसला आएको ११ वर्ष भयो। तर, राजनीतिक दाउँपेचले अझै कार्यान्वयन हुन सकेको रहेछन् फैसला।
सवारी चालकको काम गर्ने उनको केही जमिन छ। छानो हाल्नेसम्मको पाखो बारी छ। तल बेसीमा पनि उनको पुर्ख्यौली २ रोपनी नौ आना जग्गा छ। तर, अहिले अर्कैको नाममा।
उनका बुबा काजी तामाङले परिवारलाई थाहै नदिई चितवनका श्यामकुमार डल्लाकोटीलाई २०६६ असार २३ मा तत्कालिन भिमढुङ्गा गाविस वडा नम्बर ३(च) को कित्ता नम्बर १ सय १७ को दुई रोपनी ९ आना जग्गा पास गरिदिएका थिए।

दुई रोपनी ९ आनामध्ये पाँच भाग फिर्ता गर्न अदालतबाट आएको फैसला जुन ११ वर्षदेखि अलपत्र छ।
एक वर्षपछि तामाङ र उनका आमा साइलीमाया, दुई दाजुभाई अनि एक बहिनीले पुस्त्यौली जग्गा अर्कैको भइसकेको चाल पाए। अनि उनीहरू परिवारको सहमति नै नलिई पूर्ख्यौली सम्पत्ति बेचेको भन्दै काठमाडौं जिल्ला अदालत गए।
अदालतमा उनीहरूले ६ अंशियारहरूमा भाग लाग्ने सो जग्गाको बाबुको एक भाग बाहेक ५ भाग हकहिस्सा माग्दै जग्गा पासको निर्णय बदर गर्न माग गरे।
परिवारको मञ्जुरीविना र कुनै साक्षी नराखी जग्गा पास भएको उनीहरूले गोरखापत्रमा सूचना समेत जारी गराए। तर, श्यामकुमार डल्लाकोटीले वास्ता गरेनन्।
जिल्ला अदालतले राजुकै पक्षमा फैसला गर्यो। अदालतले ‘वादीहरूका पिता तथा श्रीमान् काजिमानको सगोलका अंशियारहरू भएकोमा विवाद नभएको र सगोलको सम्पत्ति अशियाराहरूको मञ्जुरी लिनुपर्नेमा मन्जुरी नलिई अर्कोलाई बिक्री गरेको भन्दै जालसाजी मुद्दामा बादी दावी पुग्ने ठहर गरेको थियो।
काठमाडौं-१० : प्रचण्ड र राजन केसीलाई सांसद बनाएर मुहार फेरिदिएको थैसीका मतदाताको उपलब्धि, १५ वर्षमा एक लेन कच्ची सडक
अदालतले २ रोपनीबारे त फैसला गर्यो। तर जग्गा फिर्ता भएन। राजुको परिवारले फागुन ३० मा फैसला कार्यान्वयनका लागि मालपोत कार्यालय कलंकीमा निवेदन दिए। तर काम भएन। तामाङ फैसला लिएर मालपोत कार्यलयमा धाउँदा-धाउँदा थाकिसके। यो विचमा उनको नाममा रहेको चार आना पनि अर्कैको नाममा पो पास भयो।
‘जग्गा आफ्नो बनाउन ४-५ वर्ष धायौँ। डल्लाकोटी हाम्रो सम्पर्कमा छैनन्। आफ्नो जग्गा अर्काको नाममा छ। अदालतले न्याय त दियो तर जग्गा दिएन। यो कुरा हामीले कस्लाई सुनाउने? हाम्रो को नै पो छ र?’ निराश हुँदै राजुले भने।
चार आना जग्गा पनि खोसियो
राजु तामाङ निरास हुनु अदालतको फैसला कार्यान्वयन नभएर मात्र होइन, आफ्नो जग्गा अर्कैको नाममा हुनु पनि हो। उनीसँग लालपुर्जा त छ तर जग्गा अर्कैको नाममा गइसकेको छ। यो कसरी भयो उनलाई पनि थाहा छैन।
त्यो जग्गा आफ्नो बनाउन के गर्नुपर्छ समेत उनलाई थाहा छैन। उनले दराजबाट लालपुर्जा देखाउँदै भने, ‘यो ४ आना जग्गा मेरो थियो। अहिले त अर्कैको भइसकेछ। कसरी भयो मलाई थाहा छैन। अब त यो जग्गा मेरो हुँदैन होला है?’

राजु र उनको आमा।
लालपुर्जा हेर्दा २०५३ मा सात हजार ५ सयमा डाँडापौवाको ४ चार आना जग्गा हरिहरप्रसाद भट्टराईले उनलाई बेचेको देखियो। मालपोत कार्यालय कंलकीको राजिष्ट्रेशन नम्बर १२ सय ४१ दर्ता भएको देखिन्छ।
राजुको नाममा सो जग्गा पास पनि २०५३ असोज ९ गते भएको देखिन्छ। उनले खेती गरिरहेका थिए। अकस्मात् त्यो जग्गा अर्कैको नाममा पास भइसकेको चाल पाए। कस्को नाममा पास भएको उनैलाई थाहा छैन। अहिले भोगचलन अर्कैले गरेको बताउँछन् राजु।
‘मैले मालपोतमा गएर पनि हेर्न खोजेँ तर देखाएनन्। अब के गर्ने मलाई थाहा छैन’ उनले उकेराकर्मीसँग भने।
मंसिरपछि कसको सरकार ?