मिर्गौला प्रत्यारोपण प्रकरण : विज्ञसमूह बनाउने तयारीमा काउन्सिल, स्वास्थ्यमन्त्रीले भने– ‘छानबिन गर्छु’

मिर्गौला प्रत्यारोपण प्रकरण :  विज्ञसमूह बनाउने तयारीमा काउन्सिल, स्वास्थ्यमन्त्रीले भने– ‘छानबिन गर्छु’
मिर्गौला र बोतलको तस्बिर सांकेतिक प्रयोग गरिएको हो।

काठमाडौं : कात्तिक एक गते कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा मिर्गौला प्रत्यारोपणमा लापरबाही भएको विषयमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले छानबिन गरिने बताएका छन्।

धादिङको गल्छि गाउँपालिकाकी ३२ वर्षीया महिलाको मिर्गौला प्रत्यारोपणका लागि उनकी ५८ वर्षीया सासुबाट मिर्गौला झिकिएपछि मिर्गौला अयोग्य भएको भन्दै चिकित्सकको टिमले प्रत्यारोपण गरेका थिएनन्। 

मिर्गौला प्रत्यारोपणमा वीर अस्पतालका युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठको टिम संलग्न थियो।

यसै विषयमा पीडितका आफन्तले मिर्गौला प्रत्यारोपण प्रक्रियामा नै लापरबाही भएको भन्दै छानबिनको माग गरेर स्वास्थ्य मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाएका थिए।

मन्त्री खापुङले आफूकहाँ बुधबार निवेदन आएकाले छानबिन गरिने बताएका हुन्।

‘मिर्गौला झिकेपछि मिलेन भने रे,’ उकेरासँगको कुराकानीमा मन्त्री खापुङले भने, ‘मकहाँ निवेदन आएको छ। त्यसको छानबिन गर्छौं हामी।’

निवेदन नै पाइसकेकाले के भएको भन्ने विषयमा मन्त्रालयको कर्मचारीको टिमसँग छलफल गरेर छानबिन गरिने उनले जानकारी दिए।

उनले थपे, ‘पीडितले निवेदन दिएपछि हामीले के भएको रहेछ भनेर छानबिन गर्छौं।’

बुधबार स्वास्थ्यमन्त्री खापुङलाई भेटेर मिर्गौला प्रत्यारोपणमा लापरबाही गर्ने चिकित्सकमाथि छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने माग राख्दै उजुरी दिएको मिर्गौला लिनुपर्ने ३२ वर्षीया महिलाका एक आफन्तले बताए।

भेटमा स्वास्थ्यमन्त्री खापुङले गम्भीर विषय भएकाले गम्भीर भएर छानबिन प्रक्रिया अगाडि बढाइने जानकारी दिएको पिडितका एक आफन्तले उकेरालाई बताए।

बुधबार नै नेपाल मेडिकल काउन्सिलमा पनि मिर्गौला प्रत्यारोपणमा लापरबाही भएको विषयमा उजुरी दिएको पीडितका आफन्तले जानकारी दिएका छन्। मेडिकल काउन्सिलका कर्मचारीले कागजपत्र मगाइसकेकाले छानबिन प्रक्रिया अघि बढाउने जवाफ दिएको पीडितका आफन्तले बताए।

पीडितका आफन्तले भने, ‘तपाईंहरूलाई फलोअप गरेर हामी छानबिन अगाडि बढाउँछौं भनेर हाम्रो नम्बर राख्नुभयो।’

विज्ञ समूह बनाएर काउन्सिलले छानबिन गर्ने
मेडिकल काउन्सिलले कात्तिक ६ गते आइतबार नै छानबिन प्रक्रिया अगाडि बढाइसकेको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद  अधिकारीले जानकारी दिए।

काउन्सिलका सदस्य तथा काउन्सिलका इथिकल समिति संयोजकलाई प्रतिनिधिका रूपमा जाँचबुझको लागि वीर अस्पताल पठाएको उनले बताए। अस्पतालबाट कात्तिक ५ गते आएको अनुरोधपछि घटनाको विषयमा अध्ययनका लागि काउन्सिलले प्रतिनिधि पठाएको उनको भनाइ छ।

रजिष्ट्रार डा. अधिकारीले कागजपत्र संकलनलगायत छानबिनको प्रक्रिया अघि बढिरहेको जानकारी दिए। काउन्सिलका इथिकल समिति संयोजकले कागजपत्र संकलन गरिसकेपछि विज्ञ समूहमार्फत छानबिन हुने उनले बताए। यद्यपि संयोजकले निर्णय र छानबिन भने नगर्ने उनले स्पष्ट पारे।

‘उहाँले निर्णय गर्ने पनि हैन, छानबिन गर्ने पनि हैन,’ डा. अधिकारीले भने, ‘उहाँ तथ्य संकलन गर्न जानुभएको हो।’

घटनाको आवश्यकता अनुसार चिकित्सकको विज्ञ समूह गठन हुने रजिष्ट्रार डा. अधिकारिले जानकारी दिए।  रजिष्ट्रार डा. अधिकारीका अनुसार घटनाको विषयमा कसैले उजुरी दिएपछि काउन्सिलका इथिकल समितिले विषयको अध्ययन गर्छ। आवश्यक कागजात संकल नगरी अध्ययनपछि छानबिन प्रक्रिया अगाडि बढाउनु पर्ने वा नपर्ने भन्ने विषयमा छलफल हुन्छ।

इथिकल समितिको छलफलपछि छानबिन प्रक्रिया अगाडि बढाउनुपर्ने भए घटनाको छानबिनका लागि आवश्यकता अनुसार विज्ञ समूह बन्छ। सामान्यतया छानबिनका लागि तीन सदस्यीय विज्ञ समूह हुन्छ। विज्ञ समूहका काउन्सिलका सदस्यबाहेकका चिकित्सक हुने डा. अधिकारीले जानकारी दिए। विज्ञको त्यो समूहलाई सम्भव भएसम्म बिरामीको नाम ठेगाना लगायत गोप्य नै राखिएको हुन्छ।

छानबिनपछि विज्ञले घटनाका विषयमा काउन्सिलको इथिकल समितिलाई राय सुझाव सहितको रिपोर्ट दिन्छ। त्यसपछि समितिले विज्ञले दिएको रिपोर्टको आधारमा छलफल गरी काउन्सिलको पूर्ण बैठकमा पेश गर्छ। रिपोर्ट पेश भएपछि काउन्सिलको पूर्ण बैठक (फुलहाउस) बसेपछि मात्रै अन्तिम निर्णय हुने रजिष्ट्रार डा. अधिकारीले जानकारी दिए।

वीर अस्पतालले समेत घटनाको विषयमा छानबिनका लागि एक आन्तरिक समितिगठन गरे पनि काउन्सिलले छानबिन गर्ने भएपछि त्यो समिति भने निष्क्रिय भएको अस्पताल स्रोतले जानकारी दियो।

१७ कात्तिक, २०७९, १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।