१५ वर्षमा गुल्मी–२ को सडक पूर्वाधारमा देखिएको फड्को

१५ वर्षमा गुल्मी–२ को सडक पूर्वाधारमा देखिएको फड्को

बुटवल : गुल्मीको अति विकट मानिने मालिका गाउँपालिकाको पाटाखर्क पुग्न ०६५ साल सम्म हिड्नुको विकल्प थिएन। त्यहाँका नागरिक हिँडेरै बागलुङकाे बुर्तिबाङ, भिङगिठे बजार गर्न जान्थे। खच्चड र घोडाहरू खाद्यान्न आयातका लागि प्रयोग गर्थे।

कतिपय भने तत्कालीन दर्लिङ गाविसको वडा कार्यालय रहेको स्थान दर्लिङ बजार पुग्थे। सडकको ट्रयाक मुस्किलले २ किलोमिटर मात्र खोलेको भए पनि हिड्नुको विकल्प थिएन। बिरामी हुँदा होस् वा दैनिक उपभोग्य सामान खरिद गर्न, त्यहाँका नागरिक खच्चड र घोडा प्रयोग गर्थे।

तर, अहिले यहाँको दैनिकी फेरिएको छ। खच्चड र घोडाबाट सामान ल्याउने दिन इतिहास भएका छन्। बितेका १५ वर्षमा यो क्षेत्र मात्र होइन, गुल्मीको पश्चिम भाग नै सडक पुर्वाधारले फड्को मारेको छ। ९० भन्दा बढि सडकको योजना गुल्मी–२ मा परेका छन्। कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय बहुवर्षे ठेक्का अन्तर्गत अहिले काम भइरहेका छन्।

मदन भण्डारी राजमार्गले समेत गुल्मी–२ लाई छोएपछि यहाँका नागरिकको जीवनस्तर माथि उठाउन मद्दत मिलेको छ। अहिले पनि सिमलटारी–सौतामारे खण्ड कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत ३ अर्ब ४२ करोडको लागतमा काम भइरहेको छ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको काम अहिले तीव्र भइरहेको छ। ६ अर्ब ५० करोडको लागतमा निर्माणधीन सडक सम्पन्न भएपछि सालझण्डी–बाग्लुङको यात्रा सहज त बन्ने नै छ। गाउँलाई पर्यटनसँग जोडेर होमस्टे समेत सञ्चालन गर्न सकिनेछ।

‘मदन भण्डारी राजमार्ग अन्तर्गत सडक कालोपत्रे भएपछि गाउँका उत्पादन सहज ढंगले सदरमुकाम तम्घाससम्म पुगेका छन्। यहाँका नागरिकको जीवनस्तर माथि उठ्न थालेको छ,’ स्थानीय चन्द्रबहादुर अर्यालले भने, ‘दुध, तरकारी उत्पादनमा यहाँका नागरिकले बढि रुचि देखाएका छन्।'

कतिपय स्थानमा सडकको नयाँ ट्र्याक खोल्न, सडकको स्तरोन्नत्ति गर्न, ग्राभेलिङ गर्न र कतिपय सडकलाई कालोपत्रे गर्न आवश्यक बजेट विनियोजन भएको सडक विभागले जनाएको छ।

भन्ज्याङ–कालीमाटी चुदारीगाउँ, मुसीकोट–भर्जुवावस्ती–पौंदी–अरेवा मोटरबाटो निर्माण गर्न २८ करोड ५७ लाख बजेट विनियोजन भएको र बहुवर्षीय ठेक्का अन्तर्गत राक्सी–अमराई–कल्याहारा–रजस्थल–फुलवारी सडक निर्माण पनि सुरु भएको र त्यसका लागि हाल २५ करोड बजेट विनियोजन गरी काम भइरहेको छ।

त्यसबाहेक बहुवर्षीय ठेक्का अन्तर्गत पौदीअमराई– दोहोली– हाडहाडे सडक, अग्लुङ–बाँझकटेरी–सिमलटारी–अर्खावाङ सडक निर्माण पनि ७ करोडको लागतमा सुरु भएको छ। ६ करोड ५० लाखको लागतमा फूलबारी–चोरकाटे–अर्जै–बोम–लिलिङ्ग–बागलुङ सडक पनि निर्माणधीन अवस्थामा छन्।

पुर्कोट–गगरे बोहोरागाउँ सडकलाई ५ करोड, आराखोला–जैसीपोखरा नेटा सम्मको सडक कालापत्रे गर्न ८ करोड ७६ लाख, पौदि–अरेवा–वालुवा–भर्माचौर–लिलिङ सडक निर्माणका लागि ७ करोड २४ लाख बजेट विनियोजन भइ कार्य अघि बढेको छ।

सिमलटारी–सिर्सेनी–बांझकटेरी–अग्लुङ सडक निर्माणका लागि ४ करोड ७० लाखमा सडक निर्माण भइरहेको छ भने राङदल–अर्जै–हिले –दर्लिङ सडक पनि निर्माणको अवस्थामा छ। मच्छी–सौतामारे–पुर्कोटदह २५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नत्तिका लागि पनि ४ करोड बजेट विनियोजन भएर काम भइरहेको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत रातचौर–ताल्तुङ्ग–हर्पुकोट, इस्मामैदान–नेटा–कोटकोटेरी भिमगिठे सडक पनि ४ करोडको लागतमा निर्माण भइरहेको छ। छल्दी पनाहा–चौरासी सडक पनि ४ करोडको लागतमा निर्माण भइरहेको छ।

त्यस बाहेक सेउवा–सिमाघाट–पुर्कोटदह सडक, हुलाके–वस्तु विचित्र गुफा सडक, इस्मामैदान–चेयाहुल अम्राई बाग्लुङ्ग सडक, गहते–बस्नौटा–चोरकाटे–अमरपुर २, ३, ४ र ८ जोडने सडक पनि निर्माण भइरहेको छ। यी सडकका लागि १४ करोड बढि रकम विनियोजन भएको छ।

यसैगरी तम्घास–चेक्मी–मरेङखोला–नयाँगाउँ–मैदान–भुजेलधारा–अरौदी–कटौजे सडक पनाहा–पालुखा–बस्तु–वाग्ला–द्वानेटा सडक, हुलाके–नयाँपोखरा–मुसिकोट–कुर्घा–बाग्लुङ सडक, तम्घास–भाडगाउँ–इन्द्रेगौडा–दिगामचौर–लिलिङ ढोरपाटन सडक, इश्मा–कोटकटेरी सडक, हुलाके–चापटारे–अर्जे सडक पनि निर्माणको क्रममा रहेका छन्। यी सडकका लागि २० करोड बढि रकम विनियोजन भएको छ।

मदाने–६ दिपक मावि सूर्यटारी डाँडाखर्क नेटाखर्क कृषिसडक स्तरोन्नत्ति पनि हुने गरी बजेट विनियोजन भएको छ। हुलाके–दोबाटा इस्मा मैदान सडक निर्माणका लागि १ करोड विनियोजन भएको छ। सहिद खिमविक्रम नेपाली मार्ग निर्माण, सोइरेपोखरा–दर्लिङ्ग–भिङ्गिठे सडक, तम्घास नयाँगाउँ पिपधारा खनदह सडक, चापटारी–कुखुरेखोला–चोरकाटे सडकका लागि बजेट विनियोजन गरेर काम अघि बढेको छ।

अर्ब बढिका योजनाकाे टेण्डर आव्हान हुँदै
हाल राक्सी–अमराई कल्याहारा–रजस्थल–फूलबारी पुर्कोटदह सडक बहुवर्षीय ठेक्कामा काम भइरहेको छ। त्यसको थप काम गर्न टेन्डरको तयारी भएको छ। सिलादि घमिर–अर्खवाङ्ग मोटरबाटो ग्राभेल योजना बहुवर्षीय ठेक्कामा काम भइरहेको र थप कामको लागि २६ करोडको टेण्डर हुन लागेको छ।

त्यसैगरी बहुवर्षीय ठेक्का अन्तर्गत काम भइरहेको तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडकको पनि थप कार्यका लागि २५ करोड ७० लाख रुपैयाँको टेण्डर हुन लागेको छ। यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार–दरमखोला–काँडेबास–गल्कोट–बागलुङ सडक पनि बहुवर्षीय ठेक्कामा काम भइरहेको र थप कामको लागि १९ करोडको टेण्डर हुन लागेको सडक विभागले जनाएको छ।

छल्दी–ठाडढुङ्गा–अर्खबाङ्ग ह्वाङ्ग्दी–नेटा–इस्मा–रजस्थल–हुलाके–बर्बोट–द्वानेटा–मलागिरी सडकको थप कामका लागि ४७ करोडको टेण्डर निकाल्ने तयारी भइरहेको सडक विभागका सूचना अधिकारी श्याम कुमार यादवले बताए। त्यसैगरी छल्दी–इन्द्रेगौडा सडकको थप कामका लागि ३६ करोडको टेण्डर हुन लागेको उनले जानकारी दिए।

रातडाँडा–मुसिकोट–पौदिअमराई–नेटा–दर्लिङ–ह्वाङ्दी सडकको काम पनि बहुवर्षीय ठेक्कामा भइरहेको र थप कामको लागि ३३ करोड २७ लाखको टण्डर हुन लागेको उनले बताए।

१५ कात्तिक, २०७९, १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।