अभियोग पत्रको संक्षिप्त बयानमा सन्दीपको दाबी 'एकै कोठामा बसे पनि म कुर्सीमै निदाए, बलात्कार गरेको छैन'

अभियोग पत्रको संक्षिप्त बयानमा सन्दीपको दाबी  'एकै कोठामा बसे पनि म कुर्सीमै निदाए, बलात्कार गरेको छैन'

काठमाडौँ : नाबालिग बलात्कारको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएका क्रिकेटर सन्दीप लामिछानेले किशोरीसँग होटलमा एकै कोठामा रात बिताएको स्वीकार गरेका छन्।

जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौंले काठमाडौँ अदालतमा सोमबार दर्ता गरेको अभियोग पत्रमा समावेश लामिछानेले प्रहरी सक्षम दिएको बयानको संक्षिप्त ब्यहोरामा उनले युवतीसँग होटलको एकै कोठामा रात बिताएको तर आफू कुर्सीमै निदाएको दाबी गरेका छन्।

अभियोग पत्रमा समावेश बयान पूर्ण हैन। अभियोग पत्रमा गरिएको माग दाबीलाई प्रमाण पुग्ने गरी समावेश गरिएको बयानको संक्षेप मात्र हो। पूर्ण बयान मिसिलमा मात्र समावेश हुन्छ।

उनको संक्षिप्त बयानमा आफूले किशोरीलाई भेट्न नबोलाई किशोरीले नै भेट्न बोलाएको, किशोरीको आग्रहमा नगरकोट गएको, उनले आफ्नो उमेर १९ वर्ष भएको बताएको, होटलमा बस्ने किशोरी राजी भएको र उनको कुरा सुन्दासुन्दै आफू कुर्सीमा निदाएको उल्लेख छ।

अभियोग पत्रमा उनको बयानमा बलात्कार अस्वीकार भए पनि प्रमाण र स्वास्थ्य परिक्षण प्रतिवेदन लगायतले भने बलात्कार गरेको देखिएको दाबी गरिएको छ।

‘म धेरै बेर कुर्सीमा बसेको देख्दा उनले मलाई बेडमा आएर बस्न आग्रह गरेकोमा हैन म यहीँ ठिक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसेँ र निज बेडमै थिइन्’ अभियोग पत्रमा उल्लेख बयानमा छ, ‘मेरो मोबाइलमा बिहानको ६ बजे अलराम लगाएर कुराकानी गर्दा म कुर्सीमै निदाएँ।’

उनले युवतीले आफूलाई बेडमा बस्न आग्रह गर्दा समेत नमानेकाले बलात्कार गर्यो भन्ने आरोप निराधार रहेको दाबी गरेका छन्।

किशोरीले भेट्न बोलाएर नगरकोट जाऊँ भनिन्

दर्ता गरेको अभियोग पत्रमा आफूले युवतीलाई भेट्न नबोलाई उनले नै भेट्न बोलाएको र नगरकोट समेत उनकै करमा गएको समेत दाबी गरेका छन्।

किशोरीको आफ्नो अवस्था दयनीय रहेको भनेर मेसेज गरेपछि आफूले म कसरी सहयोग गर्न सक्छु भनेर म्यासेज गरेको उल्लेख गर्दै किशोरीले नै भेटेर मात्रै यो कुराहरू भन्न सक्छु भनेकाले फुर्सद मिल्यो भने भेटौँला भनेको उल्लेख छ।

लामिछानेको बयानमा किशोरीले भदौ पाँचको साँझ चार बजेतिर फोन गरेर पटक पटक भेट्ने प्रस्ताव गरेपछि साँझ आफ्नो बैठक सकिएपछि ‘होस्टको बाटो हुँदै आउँदै छु’ भनेर जानकारी गराएको उल्लेख छ।

किशोरीले होस्टेलतिर नआउनुस् नजिकैको लिटल काठमाडौं रेस्टुरेन्टमा कुरेर बस्नुस् भनेको र उनी आएर सिधै गाडीको अगाडिको सिटमा बसेको अभियोग पत्रमा समावेश संक्षेप बयानमा उल्लेख छ।

सन्दीपले किशोरीले नै नगरकोट जान प्रस्ताव गरेको उनको दाबी छ। उनले बिहानैदेखि नै नगरकोट जाने मुड बनाएको भनेपछि आफूले सम्भव छैन भनेको तर उनले एक छिन भए पनि नगरकोट गएर आउनुपर्छ भनेर कर गरेको गर्यै गरेपछि खाजा खाएर फिर्ता आउने सर्तमा चित्त नदुखोस् भनेर नगरकोट गएको उनको दाबी छ।

किशोरीको उमेर १९ वर्ष

गाडीमा कुराकानीकोक्रममा किशोरीले आफू १९ वर्ष पुगेको बताएको भन्दै उनले उनी नाबालिग नभएको दाबी गरेका छन्।

‘भक्तपुरको दरबार स्क्वायर पुग्दा उनलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टल पनि बन्द हुन्छ, यतै कतै खाजा खाएर फर्किऊँ भन्दा उनले होइन, होस्टल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ, मलाई नगरकोटबाट साँझको भ्यु अवलोकन गर्न इच्छा छ भनेकी थिइन्’, सन्दीपको बयानमा उल्लेख छ।

नगरकोटको बोजिनी रिसोर्टमा गीत गाउँदै रमाइलो गरेको र खाजा खाएपछि भ्यु हेर्ने क्रममा किशोरीले आफ्नो काँधमा टाउको अड्याएर उभिएको उनको दाबी छ।

‘त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भइसक्यो, रात पर्यो। तिम्रो होस्टल पनि बन्द हुन्छ भन्दा उनले ढिला भएको छैन भनेकी थिइन्’ बयानमा उल्लेख छ।

उनले आफूले ढिला हुन्छ भन्दा किशोरीले ‘ढिला भए यतै बसौँला’ भनेको दाबी गरेका छन्।

फर्किएर आउने क्रममा राति ११ : १५ तिर ‘होस्टल बन्द भइसकेको’ भन्दै किशोरीले ‘धेरै कुरा गर्नुछ, व्यक्तिगत कुरा गर्न पनि बाँकी छ’ भनेको र आफूले हायात होटलमा बसेकाले त्यतै जान आग्रह गर्दा त्यहाँ सबै खेलाडी हुन्छन् भनेको उनको दाबी छ।

त्यसपछि ‘होटल काठमाडौं इनमा फोन गरेर एउटा कोठा बुक गरिदिन्छु, म पनि एक छिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टलसम्म पुर्याइदिनका लागि बिहानै उठेर आउँला’ भनेको सन्दीपको बयान छ।

कोठा नम्बर ३०५ मा कुराकानी गर्न आफू कुर्सीमा बस्दा किशोरीले ढोका भित्रबाट लक गरेको सन्दीपले प्रहरीसँगको बयानमा दाबी गरेको देखिन्छ।

‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन भन्दै जवाफ फर्काइन्’, उनले भनेका छन्, ‘मैले यो कुरालाई सामान्य लिएर कुर्सीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा फ्रेस हुनका लागि बाथरुम गएर फेरि कुर्सीमा आएर बसेँ ।’

व्यक्तिगत जीवनबारे कुरा गर्दा मेरो गर्ल फ्रेण्ड छ भनेको र छिट्टै एक दुई वर्षमा विवाह गर्ने योजना बनाएको उनले दाबी गरेका छन्। कुराकानीका क्रममा किशोरी उदास देखेपछि आफूले केही गीत सुनाएको र उनको अनुहारमा खुसी देखेर आफूलाई पनि खुसी लागेको सन्दीपको बयानमा उल्लेख छ।

करिब ४ बजेसम्म कुराकानी भएको र त्यसपछि आफू कुर्सीमै निदाएको उनको दाबी छ। उनले कुराकानीमा किशोरीले उमेर घटाएर अर्को जन्म दर्ता बनाएको भनेपछि शङ्का लागेको दाबी गरेका छन्।

उनले अर्को कोठा लिन्छु भन्दा किशोरीले नै कोठा लिन नदिएको, किशोरीले एक्लै बस्न डर लाग्ने बताएको, बेडमा आएर बस्न आग्रह  गरेको तर आफू कुर्सीमै बसेको र निदाएको दाबी गरेका छन्।

बिउँझिदा किशोरी सुतिरहेको र उनलाई उठाएर बिहान ६ : ४५ तिर होटेलबाट निस्किएर दुवै जना होस्टेलतिर गएर होस्टल नजिक छाडिदिएको उनको बयानमा उल्लेख छ।

१४ कात्तिक, २०७९, १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।