आधा दर्जन दूतावासमा कुकको काम गरेका नाति कैलाशको अनुभव : जर्मनसँग काम गर्न रमाइलो, अमेरिकी दूतावास साह्रै कडा

आधा दर्जन दूतावासमा कुकको काम गरेका नाति कैलाशको अनुभव : जर्मनसँग काम गर्न रमाइलो, अमेरिकी दूतावास साह्रै कडा

१४ जुलाई २०२१। नेपालका लागि तत्कालीन जर्मनका राजदूत रोलाण्ड सेफरले आफ्नो कार्यकाल सके सँगै ’कुक’ नाति कैलाश महर्जनलाई ’एक्स्पिरियन्स लेटर’ हातमा थमाइदिए। साधारणता कुनै पनि देशको राजदूतको कार्यकाल तीन वर्षको हुन्छ। तर, सेफर चार वर्ष बसे नेपालमा। अनि उनलाई खाना बनाएर खुवाउनमा व्यस्त भए कैलाश।

मासिक पारिश्रमिक थियो ५५ हजार।

सेफरको लागि जर्मन दूतावास नयाँ भए पनि कैलाशको कुनै नौलो थिएन। कारण उनी सेफर भन्दा अगाडीका राजदूत म्याथियास मेयरलाई पनि उनले आफ्नो पाककला चखाइसकेका थिए। कैलाशले करिब ९ वर्ष जर्मन दूतावासमा आफ्नो परिकारको स्वाद फैलाए।

नव नियुक्त राजदूतको कार्यकालमा पनि आफूले नै काम पाउने आसमा थिए उनी। तर, जुलाई अन्तिममा आफ्नो समयावधि सकिएपछि उनलाई त्यहाँ बोलाइएन। अहिले उमेरले ६० दशक छोइसकेका उनले ’बुढेसकालमा आएर बेरोजगार भएको’ अनुभव गर्नु परेको सुनाए।

यस बिचमा उनले धेरै ठाउँमा काम मागे। आफूसँग भएका अनुभवका केही थान कागजात देखाए। धेरैले 'फोन गरौला !’ भन्ने जवाफ दिए। तर फोन आएन।

'आफ्नो कार्यकाल सकेपछि, अब म बिदा हुने बेला भयो। तिम्रो कागज यता राखेको छु। तिमिलाई अर्कोले नि बोलाउलान्। राम्रोसँग काम गर्नु भनेका थिए’ तत्कालीन राजदूत सेफरले भनेको कुरा सम्झँदै उनले भने, ’तर, अहिलेसम्म खबर आएन।’

कैलाशले किन आफूलाई बोलाइएन भनेर त्यहाँको आफ्नो साथीहरूसँग बुझ्न पनि खोजेका रहेछन्। 'अहिलेको राजदूतको श्रीमती बङ्गाली हुन्। उनले कम पैसामा काम गर्ने नयाँ मान्छे पाएछन्,’ उनको साथीले जवाफ दिए।

अर्कै मान्छे राखेको थाहा पाएपछि उनले त्यहाँबाट अब बोलाउँदैन भन्ने भयो। नयाँ राजदूतले पनि बोलाउँछन् जस्तो त लागेको थियो रे। तर, बोलाएन।

उनले अहिले पनि केही एम्बेसी बाहेक डब्ल्युएचओ, युएन, युएसएड लगायतका अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा कामको लागि कुरा गरेका रहेछन्। लगातार काम गरिराखेको बानिले ठ्याक्कै काम बन्द हुँदा तनाव हुने उनको अनुभव छ।  अहिले भने उनी कपनमा रहेको आफ्नो घरमा कसैले काममा बोलाइहाल्छन् कि भनेर दिन बिताई रहेका छन्।

उनी अहिले पनि इमेलमा पहिलाको राजदूत सेफरसँग बेलाबखत कुरा गरिराख्छन्। बिचमा खाली समय केही गीतहरू लेखेर रेकर्ड पनि गराए। तर, त्यसमा ले निरन्तरता दिएनन्। गीत लेखिहाले पनि रेकर्ड गराउन चाहेनन्।

यसरी बने एम्बेसीको कुक

कैलाशले आफ्नो जिन्दगीको ३० वर्ष भन्दा बढी समय करिब आधा दर्जन दूतावासमा काम गरे। जर्मन दूतावास भन्दा अगाडी उनले करिब १० वर्ष अमेरिकन एम्बेसीमा काम गरे। त्यस बाहेक ब्रिटिस, डेनिस र थाई एम्बेसीमा पनि उनले काम गरिसके। थाई दूतावासमा कुकको हेल्पर भए काम गरेका थिए। अन्य दूतावासमा भने हेड कुक भए।

'अमेरिकन एम्बेसीमा चैँ एम्बेसडरको लागि होइन। त्यहाँ हरेक छ-छ महिनाको अन्तरालमा अमेरिकन आर्मीहरू आउँछन्। उनीहरूलाई ब्रेकफास्ट, लन्च सबै बनाउनु पर्थ्यो,’ उनले भने।

उनीहरूको ट्रेनिङ जहाँ-जहाँ हुन्छ त्यही गएर काम गर्थे उनी। उनले अहिले फेरी पनि अमेरिकन दूतावासमा कुककै लागि आवेदन दिएका छन्। तर जवाफ आइसकेको छैन।

उनको अनुभवमा अन्य दूतावासभन्दा अमेरिकन दूतावास निकै कडा। सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील हुने उनको अनुभव छ।

'त्यस्तो नराम्रो त हैन। तर, एकदमै स्ट्रीक्ट हुने। ड्युटीको टाइम टेबल पनि छैन। सेक्युरिटीको हिसाबले एकदमै टाइट छ। त्यहाँकै स्टाफ भए पनि कडा निगरानीमा बसेर काम गर्नु पर्छ’ अमेरिकी एम्बेसीमा काम गर्दाको अनुभव सुनाए उनले।  

ब्रिटिस एम्बेसीमा भने उनले एक वर्ष भन्दा बढी काम गरेनन्। उनीहरूको आफ्नै कुक थियो। उ बिरामी भइराख्ने भएर पछि उनले काम गर्ने मौका पाएका थिए। त्यही भएर त्यहाँ थोरै समय मात्र काम गर्न पाए। त्यसपछि उनले अमेरिकी दूतावासमा आवेदन दिए र बोलाए पनि।

आफूले काम गरेको दुतावासहरुमध्ये सबै भन्दा रमाइलो जर्मन दूतावासमा लागेको रहेछ। त्यहाँ टाइम टेबल थियो। बिहान ९ देखि ४ नत्र १० देखि ४ बजेसम्म। अक्टोबर ३ मा जर्मनहरूको नेशनल डे। त्यस बेला सबै खाना बनाउनु पर्ने। खाना होटेलबाटै आउँथ्यो। आफ्नो इच्छा अनुसार कुकिजहरु बनाउने जिम्मा उनको। सात-आठ सय जनाको कुकिज रेडी गर्नु पर्थ्यो उनले।

थाई दूतावासमा उनले कुक हेल्पर भएर ६ वर्ष काम गरे। त्यहाँ सानैमा काम गरेका थिए। त्यहीबाट हो उनले भान्सामा काम गर्न जान्ने भएको।

किताब हेरेर खानामा फैलाएको जादु

खानेकुराको कुरा गर्दा अहिले पनि उनको अनुहारमा एउटा छुट्टै चमक देखिन्छ। उनले आफूलाई ’एप्पल पाई’हरू एकदम राम्रो बनाउन आउने बताए।

दूतावास र राजदूत अनुसार खानाको परिकारहरू त फरक-फरक हुने नै भयो। एम्बेसीमा राजदूतहरूलाई उनीहरूकै खानाको स्वाद चखाउन कैलाशको लागि कम चुनौतीको काम भने थिएन।

उनले पाक विधि वा खानाको परिकार सम्बन्धी अहिलेसम्म कुनै तालिम लिएका छैनन्। तर, सानै देखि अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभवले उनको अङ्ग्रेजी भाषा राम्रो छ। अनि दूतावास अनुसार खानाको रेसिपीका किताब पढेर उनले खानाहरू बनाउन सिके।

'अमेरिकन एम्बेसीमा चैँ धेरैजसो ब्राउनी र अम्लेटहरू खान्थे। भेज अम्लेट, चिज अम्लेट अनि टोस्टहरू हुन्थ्यो। अनि एप्पलपाई पनि खुब बनाउनुपर्थ्यो’ उनले भने।

 जर्मन दूतावासमा भने इटालियन परिकार रजानिया उनले खुब बनाए। 'बनाउन पनि सबै भन्दा मज्जा अनि आफैलाई पनि मिठो रजानियानै लाग्छ’ उनले हाँस्दै भने।

उनले काम गरेका राजदूतहरूमध्ये सबै भन्दा धेरै खानाको लागि सोखिन भने सेफरनै रहेछन्। उनलाई सबै भन्दा मन पर्ने परिकार रिसोत्तो।

'त्यो भेज पनि गर्न मिल्ने, नन भेज पनि गर्न मिल्ने। त्यसको लागि टाईचिन चामललाई भिजाएर राख्ने। प्याज, लसुन सानो-सानो काटेर फ्राई गर्दिने। अनि चामल पनि फ्राई गर्ने। त्यस पछि वाइन एक गिलास राख्दिने। त्यहाँ चिकेन राख्ने कि अरू केही स्टक राख्ने। तयार भइहाल्यो । यसलाई युरोपमा एकदमै राम्रो खाना मानिन्छ। स्वास्थ्यको हिसाबले पनि अनि स्वादको हिसाबले पनि’ उनले रेसिपी नै सुनाए। जर्मनी राजदूतले गाइको मासु अनि भेडाको मासु धेरै खाने। माछा फिस चैँ उसिनेको मात्र खान रुचाउने।

अहिलेसम्म आफूले कति प्रकारका परिकारहरू बनाए भनेर उनलाई थाहा पनि छैन। तर, उनीहरूले दिएको सबै मेनु अनुसार बनाएको उनले सुनाए। विदेशी कुकहरूसँग बसेर पनि आफ्नो र अरूको खानाको परिकार उनले साटासाट गर्ने मौका पाएका छन्।

'एक दिन आलुको सुप बनाइदिएको। आलुमा त स्टार्च हुन्छ नि। त्यो सबै फालेर बनाएको 'हाउ डीड यु डु दिस?’ भन्यो।  अनि मैले सिकाए पनि’ उनी खुसी हुँदै भने।

मौका पायो कि उनी राजदूतहरूलाई नेपाली खाना खुवाइहाल्थे। उनीहरूले नेपाली खाना भनेर धेरै मन पराउने म:म। अनि नेवारी खाना पनि खुवाइराख्थे रे। बारा, आलु तामा मज्जाले खान्थे। उनीहरू खुसी भएर खाँदा उनलाई आनन्द आउँथ्यो।

कमाउने भए पछि किन पढ्नु पर्यो भन्ने सोच आयो !’

काठमाडौँको ताहाचलमा बाल्यकाल बितेको कैलाशले सानैदेखि कमाउन थाले। स्कुले शिक्षा पनि राम्रै भयो। उनी सात कक्षामा पढ्दा युवराज दीपेन्द्र पनि त्यही स्कुलमा भर्ना भए। दीपेन्द्र, श्रुति, पारस सबै जना त्यहिनै पढेका थिए।

’नेपाल शिशु विद्यालय’ नामको स्कुलमा उनको आमा बच्चाहरूको रेखदेख गर्ने काम गर्थिन्। त्यै भएर कैलाशले पनि त्यही स्कुलमा सहजै रूपमा भर्ना हुन पाएका रहेछन्।

पछि त्यो स्कुल ’कान्तिइश्वरी विद्यालय’को नाम सञ्चालन भयो। तर, उनले एसएलसीपछि भने आफ्नो पढाइलाई निरन्तरता दिएनन्।

'त्यो स्कुलमा पढेपछि सेन्टजेभियरमा भर्ना हुन पाउँथ्यो। कमाउने भए पछि किन पढ्नु पर्यो भन्ने सोच आयो। अलिअलि लेखापढी गर्न जानेको छ भइहाल्यो नि भनेर नपढेको,’ उनले पढाई छाड्नुको कारण खुलाए।

उनले सानैमा ’डब्ल्युएचओ’ मा किचेन हेल्पर भएर पनि काम गरे।  त्यस बेला गोविन्द गौतम भन्ने कुक थिए। उनले फोनबाटै यसो यसो गरिदिनु भन्थे। तीन वर्ष त्यहाँ काम गरेका उनले मासिक दुई सय रुपैयाँ बुझ्थे।

’मलाई त्यहाँ बिफ स्टिक’ बनाउन लगायो। गाइको मासु त हामीले खाँदैनौ। खानु हुँदैन भन्ने छ’ काम गर्दाको आफ्नो अनुभव सुनाउँदै उनले भने, ’कट गरेको गाइको मासु भाडामा राखेर यसो यसो पल्टायो। रोजमेरी ब्ल्याक पेपर साल्ट अलिअलि राख्दियो। पल्टाउने बित्तिकै निकालिहाल्नु पर्छ। एक मिनेट पनि लगाउनु हुँदैन। प्लेटमा हालेर दिने बेलामा रगत बगेकै हुनुपर्छ।’

त्यतिबेला डब्ल्युएचओमा फ्रेन्च मूलका निर्देशक थिए। उनले त्यो खुब मन पराउने।

कैलाशले १९ वर्षको उमेरमा मागी विवाह गरे। तर, उक्त विवाह त्यति टिकाउ भएन। ११ वर्ष पछि छुट्टियो। अनि पहिलो विवाह छुट्टिएको केही समय पछि उनले दोस्रो विवाह गरे।

कोकाकोला फ्याक्ट्री ब्रिटिस नागरिकले किने। उनलाई कुक चाहिएको रहेछ। त्यति बेलासम्म उनीसँग कुकको अनुभव थिएन। उनले बोलाएर पढ्न आउँछ भनेर सोधे। उनले आउँछ भने। किताब हेरेर रेसिपी बनाऊ न त भने। उनले त्यसै गरे अनि कुक भए।

'अहिलेको चैँ ’लभ म्यारिज’ हो। भरतपुरमा भएको कोकाकोला फ्याक्ट्रीमा काम गर्दा भेटेको। उनी त्यहाँ मार्केटिङमा काम गर्थिन्’ दोस्रो श्रीमतीसँगको भेटबारे उनले खुलाए।

त्यहाँ केही वर्ष काम गरेर भने उनी काठमाडौँ फर्किए। अनि डेनिस एम्बेसी अन्तर्गतको एउटा एनजिओको ’चिफ एड्भाइजर’ को कुक भएर काम गरे। त्यसपछि नै हो उनले लगातार विभिन्न एम्बेसीहरूमा आफ्नो खानाको स्वाद पस्किन थालेको।

एम्बेसी भित्र जाँदा अर्कै देशमा गएको जस्तै अनुभव हुने पनि उनले सुनाए ।

मलेसियाका लागि नेपाली एम्बेसडरले राखेको त्यो प्रस्ताव ...

मलेसियाको लागि नवनियुक्त एम्बेसडर दिल्लीराज पौडेलले पनि आफूलाई कुकको लागि मलेसिया लाने भनेको उनले सुनाए। उनी जान तयार भए। अनि बालुवाटार गए। भेटघाट पनि गरे। जर्मन एम्बेसीमा कति दिन्छ भनेर सोधेका थिए। उनले ५५(हजार) भने। त्यति त होइन ३५ मा गर्न सक्नुहुन्छ होला नि भने।

'धेरै काम गर्नुपर्दैन भन्नुभयो,’ उनले भने,’ अस्ति मैले बुझ्दा उहाँ मलेसिया जानुभैसकेछ। तिहारपछि एक चोटि खबर गर्नु भन्नु भएको रहेछ। खै  ! हेरौँ अब के हुन्छ।’

दूतावासमा काम गर्दा उनले उपराष्ट्रपति, मन्त्री, विभिन्न पार्टीका शीर्ष नेता अनि विदेशी पाहुनाहरूलाई पनि आफ्नो स्वाद चखाइसकेका छन्।

'एम्बेसीमा धेरै आउने त परराष्ट्रमन्त्री हो। अनि कुनै बेला पार्टीको नेताहरू आउँछन्। नेपाली पाहुना भए पनि खाना त बिदेसिनै धेरै खान रुचाउँछन्।’ 

१४ कात्तिक, २०७९, १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।