दाङ निर्वाचन: तीन वटै क्षेत्रमा 'हेभिवेट' पुरुष उम्मेदवारलाई महिला नेतृको 'च्यालेञ्ज'

दाङ निर्वाचन: तीन वटै क्षेत्रमा 'हेभिवेट' पुरुष उम्मेदवारलाई महिला नेतृको 'च्यालेञ्ज'

बुटवल: दाङमा प्रतिनिधि सभातर्फ तीन वटा निर्वाचन क्षेत्र छन्। तीन वटै निर्वाचन क्षेत्रमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। कारण- तीन वटै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग महिला उम्मेदवार चुनावी मैदानमा छन्।

चुनावी अभियानबाट चुनावी प्रतिस्पर्धामा
दाङ क्षेत्र नं. १ मा यस पटक पूर्व सहकर्मीबीच प्रतिस्पर्धा हुँदैछ। एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएका मेटमणि चौधरी यसपटक आफ्नै पूर्वसहकर्मी शान्ता चौधरीविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। ०७४ सालको निर्वाचनमा मेटमणिले माओवादीसँगको तालमेलमा निर्वाचन जित्दा शान्ता चौधरी मेटमणिको चुनावी अभियानमा थिइन्। अहिले शान्ता मेटमणिविरुद्ध चुनावी मैदानमा छिन्।

०७४ सालको निर्वाचनमा कांग्रेसकी सुशीला चौधरीलाई पराजित गर्दै मेटमणि विजयी भएका थिए। अहिले पनि मेटमणि गठबन्धनको बलमा निर्वाचन जित्नेमा ढुक्क जस्तै छन्। हाल शहरी विकासमन्त्री समेत रहेका मेटमणिलाई गठबन्धनले कत्तिको साथ दिन्छ, त्यो भने निर्वाचनपछि नै थाहा हुनेछ।

यता समानुपातिक प्रणालीबाट सांसद बनेकी शान्ता चौधरी कमलरी जीवनबाट उठेकी नेतृ हुन्। पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएकी चौधरीले दाङको विकाससँगै पछाडि परेको समुदायलाई माथि उकास्न आफ्नो उम्मेदवारी रहेको भन्दै मत मागिरहेकी छिन्। 

यो क्षेत्र आदिवासी जनजाति थारु समुदायको बाक्लो बसोवास रहेको क्षेत्र हो। दुवै उम्मेदवार चौधरी समुदाय भएकाले यहाँबाट भोट बाँडिने समेत निश्चित छ। खासगरी दाङ क्षेत्र नं. १ मा मेटमणि केही ढुक्क छन्। गत वैशाखको स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामले पनि उनलाई केही राहत दिएको छ।

वडा अध्यक्षको मतको आधारमा सो क्षेत्रमा उनको पार्टीको मत जम्मा एक हजार ४४९ छ। तर गठबन्धनको बलमा ४० हजार मतले चुनाव जित्ने दावी मेटमणिले गर्दै आएका छन्।

वडा तहको मतलाई आधार मान्ने हो भने कांग्रेस २९ हजार ७५७ मतसहित पहिलो छ भने एमाले २७ हजार ०२५ मतसहित दोस्रो, माओवादी १९ हजार १६१ मतसहित तेस्रो स्थानमा छ।

यता प्रदेशतर्फ एमालेले १ (क)मा गंगाराम भट्टराई र १ (ख)मा कुलबहादुर केसीलाई उम्मेदवार बनाएको छ। गठबन्धनबाट १ (क) मा माओवादीका इन्द्रजीत थारु र १ (ख) मा कांग्रेसका अनुराग खड्का उम्मेदवार छन्।

क्षेत्र नम्बर २, पोखरेल भर्सेस शर्मा
दाङ क्षेत्र नं. २ ‘हेभिवेट’ नेता शंकर पोखरेलको क्षेत्र हो। यहाँबाट सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेखा शर्माबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।

एमालेका महासचिव समेत रहेका पोखरेल यसपटक गठबन्धन भए पनि आफ्नो जित निश्चित जस्तै रहेको बताउँदै आएका छन्। बुटवलमा रहेको अस्थायी राजधानी दाङमा लैजानुले पनि उनलाई यसपटक संसदीय यात्रा सहज भएको धेरैले अनुमान लगाएका छन्। 

यही राजधानीको विषयले एमाले उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही–२ मा अप्ठ्यारो पार्दा पोखरेललाई जनताले पत्याउन सक्ने दाङका एमालेजनहरू बताउँदै आएका छन्। त्यसबाहेक गठबन्धनको उम्मेदवार माओवादीबाट भएकाले पनि पोखरेललाई सहज हुने आकलन यतिबेला एमालेले गरेका छन्।

माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा निर्वाचनमा उठ्ने भनेर चर्चा गरिए पनि महरा उठेनन्। सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र माओवादीलाई दिएपछि त्यही बेलै एमालेले शंकर पोखरेलले ‘वाक ओभर’ पाएको चर्चा चलाएका थिए।

०७४ सालको निर्वाचनमा यही क्षेत्रको प्रदेश सभा (क) बाट निर्वाचित भई प्रदेशको पहिलो मुख्यमन्त्री बनेका पोखरेल अहिले आफ्नो कार्यकालमा गरेका काम देखाएर भोट मागिरहेका छन्।

०५१ सालमा दाङ– २ बाट निर्वाचन जितेर पहिलो पटक प्रतिनिधि सभाका सदस्य भएका पोखरेल ०६४ सालमा संविधान सभा निर्वाचनमा समानुपातिकबाट सांसद बने। त्यसपछि ०७० सालमा भएको संविधान सभाको निर्वाचनमा क्षेत्र नं. ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पोखरेल पराजित भएका थिए।

यता गठबन्धनको बलमा रेखा शर्माले चुनाव जित्ने दावी गठबन्धनका दलहरूको छ। पहिलो पटक प्रत्यक्ष निर्वाचनमा लड्न लागेकी शर्मा स्थानीय तहको निर्वाचनमा प्राप्त गठबन्धनको मतका कारण निर्वाचन जित्नेमा ढुक्क छिन्।

यद्यपी स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकामा गठबन्धनबाट माओवादीका उम्मेदवार हेमराज शर्मा पराजित भएका थिए। एमालेका नरुलाल चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३३८ मत प्राप्त गरेका थिए। 

स्थानीय तहको मतअनुसार घोराहीमा एमाले गठबन्धनभन्दा पाँच हजार मतले अगाडि छ। क्षेत्र नं. २ मा पर्ने बगलाचुली गाउँपालिकामा भने माओवादीको उम्मेदवार तुलसीराम पुन विजयी भएका थिए। पुनले पाँच हजार ७०० मत प्राप्त गर्दा एमालेका भेषराज खत्रीले तीन हजार ६७८ मत प्राप्त गरेका थिए। 

क्षेत्र नं. २ मै पर्ने तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडामध्ये १७ मा एमाले र १८, १९ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए। १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।

क्षेत्र नम्बर ३, कोमल वलीविरुद्ध दीपक गिरी
दाङ क्षेत्र नं. ३ मा यसपटक एमालेकी कोमल वलीले कांग्रेसका दीपक गिरीसँग चुनावी प्रतिस्पर्धा गर्दैछिन्। वलीभन्दा गिरी यो क्षेत्रमा बलियो मानिन्छन्।

२०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी वली राष्ट्रिय सभा सदस्य समेत बनिन्। कोमल वली यसपटक महिलाहरूको सशक्तिकरण, पछाडि परेको समुदायलाई माथि उठाउन र विकासको मार्गचित्र कोर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै आएकी छिन्।

सो क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका दीपक गिरीको जित सहज भएको आकलन कांग्रेसहरूले पनि गर्दै आएका छन्। गिरीले विगतमा शंकर पोखरेलविरुद्ध पनि चुनाव लडेका थिए। पूर्व सिँचाईमन्त्री समेत रहेका गिरीले विगतमा आफूले ल्याएका योजनाहरूको पूर्णता र नयाँ पूर्वाधार विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए।

सोही क्षेत्रमा पर्ने चार पालिकामध्ये तुलसीपुरबाहेक स्थानीय तह निर्वाचनमा शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा कांग्रेस विजयी भएको थियो।

१४ कात्तिक, २०७९, ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।