महापुरुष : हलमै दर्शकलाई घुँक्क घुँक्क त रुवाउँछ तर कमजोर सम्पादनले किरकिर पनि बनाउँछ

महापुरुष : हलमै दर्शकलाई घुँक्क घुँक्क त रुवाउँछ तर कमजोर सम्पादनले किरकिर पनि बनाउँछ

महिला मर्दा पुरुषले अर्को बिहे गर्ने अरे

पुरुष मर्दा महिलाले चैँ सेतै लाउनुपर्ने अरे।

गायक बद्री पङ्गेनीको आवाजमा माथिको गीत सार्वजनिक भएसँगै एकल पुरुषहरू श्रीमती बिते लगत्तै विवाह गर्न डराए। नत्र श्रीमती बितेको दिनदेखि नै नयाँ दुलही खोज्ने काम सुरु हुन्थ्यो। त्यसमा ब्रेक लाग्यो।

त्यसो त, गीतले महिला मर्दा पुरुषले अर्को विवाह नगर भनेको थिएन, बरु पुरुष मर्दा या एक्लो हुँदा महिलाले पनि विवाह गर भन्ने सन्देश दिएको थियो।

तर नेपाली समाजले महिलाको दोस्रो विवाह स्वीकार गर्नभन्दा बरु पुरुषको दोस्रो विवाहमा औँला उठाउने बनाइदियो। विवाह भनेको यौनका लागि मात्रै हो भन्ने अवधारण बस्यो। यसको सामाजिक र पारिवारिक पक्ष ओझेलमा पारियो।

जीवनसाथी नहुँदा यौनको भोकले मात्र तड्पाउने हैन, बढी तड्पाउने त एक्लोपनाले हो। त्यो एक्लोपना महिला अनि पुरुष दुबैमा समान हुन्छ। पछिल्लो समय छोराको अकस्मात् मृत्युपछि बुहारीलाई छोरी समान केटा खोजेर विवाह गरेर पठाएको समाचार समेत आउन थालेका छन्।

तर अझैँ पनि श्रीमतीको मृत्युपछि श्रीमान्को दोस्रो विवाहलाई समाजले जसरी सहज रूपमा लिन्छ श्रीमान्को मृत्युपछि श्रीमतीले गर्ने दोस्रो विवाहलाई त्यति सहज रूपमा स्वीकार गर्दैन।

समस्या एकल पुरुषमा पनि नभएको हैन। तर एकल पुरुषको दोस्रो घरबार भन्दा निकै जटिल छ एकल महिलाको दोस्रो घरबार।

फिल्म महापुरुषले 'बा'हरुको पनि खुसी हुने अधिकार छ भन्ने कोणबाट एकल पुरुषको बिहेवारिको कथा बोकेर शुक्रवारबाट हलमा लागेको छ। सामाजिक विषयमा बनेको फिल्मले धेरै घरको कथा भनेको छ।

OOO

आदर्शनगर भन्ने एक टोल छ। बा (हरिवंश आचार्य) र कान्छो छोरा विज्ञान केसी (अरुण क्षेत्री) एकाघरमा बस्छन्। जेठो छोरा विदुर केसी (रवीन्द्रसिंह बानियाँ) आफैले कमाएर बनाएको घरमा परिवार सहित बस्छन्।

उनीहरू त्यो टोलकै आदर्श परिवार हुन्। यही परिवारमा आउने आन्तरिक द्वन्द्व र उतारचढाव नै फिल्मको केन्द्रीय कथावस्तु हो।

कुरा सुरु गरौँ फिल्मको अब्बल पाटोबाट।

यो फिल्मको सबैभन्दा बलियो पाटो संवाद लेखन हो। मिठा, टक्क मिलेका अनि सुन्दा मज्जा आउने संवाद र पन्चिङ लाइनहरू फिल्मभरि छन्। कुनै पन्च लाइनले पेट दुख्ने गरेर हँसाउँछ भने कुनै पङ्क्तिले भित्रैदेखि दुखी अनुभव गराउँछ।

फिल्मको नायक हरिवंश आचार्य हुन्। कतैकतै हरिबहादुरको टोन निस्किए पनि सम्पूर्ण 'बा'हरुको अनुभूति दिन हरिवंशले सफल भएका छन्। उनले फिल्म 'दाल भात तरकारी' मा गरेको भुल यो चलचित्रमा दोहोर्याएका छैनन्। अभिनय अब्बल छ।

फिल्मका डेब्यु कलाकार अरुण क्षेत्री सुरुवातमा अलि असुहाउँदो सुनिएका छन्। तर बिस्तारै उनले पात्रलाई न्याय दिँदै गएका छन्। 'बा' बोलको गीतमा देखिएको उनको इमोसन उनको फिल्मभरिकै सबैभन्दा उत्कृष्ट अभिनय हो।

फिल्ममा रवीन्द्रसिंह बानियाको अभिनय दमदार छ। गौरी मल्लको चरित्र पूर्ण छैन तर उनले पाएको भूमिकामा कतै चुक हुन दिएकी छैनन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ मौलिक छन्।

थोरै भूमिका भए पनि सिरु विष्टको पात्र दमदार छ। उनको चरित्र लेखन पनि राम्रो छ। जस्तै कठोर मन हुनेहरू पनि उनको अभिनयमा आँखा रसाउन बाध्य हुन्छन्। फिल्मकी डेब्यु नायिका अञ्जना बराइलीको अभिनय भने मध्यम छ। उनको पात्र लेखनमा झारा टारिएको प्रस्टै अनुभव हुन्छ फिल्म हेर्दा।

बाबु छोराको सम्बन्ध क्यामराले उत्कृष्ट ढङ्गले देखाएको छ। पुरानो थोत्रो बाइक र नयाँ बाइक। छोरा उज्यालोमा हुँदा 'बा' अँध्यारोमा। बिचमा अवरोध देखाउने पिलर।

छोराले सेतो कपडा लगाउँदा 'बा'ले लगाएको कालो कपडा। 'बा'को जीवनमा आएको परिवर्तनसँगै फेरिएका ट्युवलाइट र ऐना र रङ्गहरू। फिल्ममा क्यामरा सामान्य तरिकाले चलाइएको छ र प्रत्येक दृश्यले कथा भन्छ।

फिल्मको ब्याकग्राउड म्युजिकमा मध्यम काम भएको छ। दुई गीत छन्, त्यसको टाइमिङ र इमोसनले फिल्मलाई अगाडी बढाउन मद्दत गरेको छ। बेमौसमीमा प्रेमको रङ्ग र बा गीतमा करुण रङ्ग भरिभराउ छ। दुवै गीतले फिल्मलाई न्याय गरेको छ।

अब कुरा गरौँ कमजोरीको।

फिल्म अब्बल हुँदाहुँदै पनि मुख्य कुरामा चुक्न पुग्यो। त्यो हो दर्शकको सेन्टिमेन्ट। हरेक घरमा घटिरहेको घटनालाई आदर्शनगरमा आदर्श तरिकाले प्रस्तुत गरिदिँदा त्यो कथाको संसारमा दर्शकलाई छिर्न गाह्रो पर्यो। वास्तविक पात्रको ठाउँ आदर्श पात्रले लिइदिँदा दर्शकको इमोसन र फिल्मको कथाको सम्बन्ध स्थापित हुन सकेन।

पटकथा फितलो हुने बित्तिकै जति नै मेहनत गरे पनि फिल्म कमजोर बन्छ। महापुरुष पनि यसबाट टाढा रहन सकेन। नाटकमा अभिनय गरेकी एकल महिलाको भूमिका निर्वाह गरेकी गौरी मल्लको दोधारे चरित्र, मेहनत तर आर्थिक रूपमा कमजोर देखाइएकी पात्रको भूमिका निर्वाह गरेकी अञ्जना बराइलीको चरित्र लेख्न अल्छी गरिएको छ।

मदनकृष्णको जिन्दगीको ट्वीस्टले फिल्म झनै किरकिरे बनाइदिएको छ। आफूलाई छोराले सर्पोट नगरेर बसाइँ सरेको बाउको त्यो खालको तर्क विश्वासिलो देखिएन।

फिल्मको सम्पादनमा रहेको समस्या सामान्य दर्शकले पनि अनुभव गर्न सक्ने तहको छ। पहिलो हाफमा जम्पकट धेरै गरिएको छ। करुण रसमा दर्शक पस्नै आँटेको बेला झ्वाट्ट हास्य रसमा दृश्य जम्प हुँदा फिल्म हेरिरहँदा जति मज्जा आउनुपर्थ्यो त्यति आउँदैन। जर्क लाग्छ। कतिपय दृश्य दोहोरिएका र लामा छन्। दृश्य छोट्टाएको भए फिल्म अलि कसिलो बन्थ्यो।

क्लाइमेक्स सबैभन्दा झुर पाटो हो फिल्मको। सललल बगिरहेको कथालाई अन्तै मोडेको भान हुन्छ। निस्कँदा दर्शक हाँस्दै त निस्कन्छन् तर कता के नपुगेको भान भने अवश्य हुन्छ।

हास्य कलाकार, हास्य फिल्म निर्देशन गरेका निर्देशक, हास्य कलाकारको संस्था मह सञ्चारको फिल्म। फिल्मले हाँसो मात्रै देला भनेर सोच राख्नुभएको छ भने त्यो गलत हुन जान्छ। फिल्मले रुवाउँछ। कुनै दृश्यमा त घुँक्क घुँक्क नै बनाउँछ।

समग्रमा, फिल्म हेर्न लायक बनेको छ। अति राम्रो पनि छैन र खत्तम पनि छैन। फिल्म मध्यम छ। निर्देशक प्रदीप भट्टराईबाट यो भन्दा धेरै आशा गरेकाले पनि मध्यम लागेको हुनसक्छ। हलबाट बाहिर निस्कँदा आफ्ना बुढा भएका बा र आमालाई भने अवश्य सम्झाउँछ फिल्मले।

१२ कात्तिक, २०७९, २०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।