हिमाल चढ्नेदेखि हवाईजहाज उडाउनेसम्मका चिकित्सक डा. विश्वराज जो हवाई दुर्घटनाको खबरले झस्किरहन्छन्

हिमाल चढ्नेदेखि हवाईजहाज उडाउनेसम्मका चिकित्सक डा. विश्वराज जो हवाई दुर्घटनाको खबरले झस्किरहन्छन्

डा. विश्वराज दवाडीको परिचय फेमिली फिजिसियन विशेषका रूपमा मात्रै सीमित छैन।  उनले एभियसन मेडिसिन र माउन्टेन मेडिसिन चिकित्सकका रूपमा समेत पहिचान बनाएका छन्।

डा. विश्वराज विभिन्न स्वास्थ्य समस्या लिएर पुग्ने बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार त गर्छन् नै। उनी हवाई यात्रामा संलग्न व्यक्तिको स्वास्थ्य परीक्षण तथा उपचार र हिमाल चढ्ने व्यक्तिको स्वास्थ्य परीक्षण, उपचार तथा सल्लाह सुझाव दिने काम गर्छन्। यस्ता विषयको उनले ज्ञान लिएका छन्।

पाइलटको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक

डा. विश्वराजले ‘डिप्लोमा इन् एभियसन मेडिसिन’ विषयको समेत अध्ययन गरेका छन्। आफूले यो विषयको अध्ययन अमेरिकाको सिभिल एरोमेडिकल इन्स्टिच्युट, ओक्लोहमा र जर्मनीमा गरेको उनले सुनाए।

एमडीजीपी (जनरल प्राक्टिस) अध्ययनपश्चात् यी विषयको अध्ययन गरेको डा. विश्वराज बताउँछन्।

एभियसन मेडिसिन हवाईजहाज तथा फाइटर हवाईजहाज, रकेटजस्ता यात्रामा संलग्न व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने तथा हुनसक्ने स्वास्थ्य समस्याको पूर्व सतर्कता र उपचार गर्ने विषय हो।

नेपालमा भने एभियसन मेडिसिन अध्ययन गरेका चिकित्सकले पाइलट, एयर होस्टेज, एपिसि टावरमा काम गर्ने जस्ता व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने काम हुने गरेको डा. विश्वराजले सुनाए।  जुन विषयको उनीसँग अनुमति पत्र छ र उनी यो काम गर्छन् पनि।

एभियसन मेडिसिन अध्ययन गरेका चिकित्सकले गरेको पाइलटको स्वास्थ्य परीक्षणको रिपोर्टको आधारमा मात्रै पाइलटले हवाईजहाज उडाउने अनुमति पत्र लिने तथा नवीकरण हुन्छ।

आफू हवाई यात्रासँग सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणका लागि नागरिक उड्यान प्राधिकरणको अनुमतिप्राप्त चिकित्सक भएको डा. विश्वराजले जानकारी दिए।

त्यसैले उनीकहाँ चालक, सहचालक, एयर होस्टेज र एपिसी टावरमा काम गर्ने कर्मचारी स्वास्थ्य परीक्षणका लागि पुग्ने गर्छन्।

‘म नागरिक उड्डयन प्राधिकरणको डेजिग्नेटेड मेडिकल एक्जामिनर हो,’उनले भने,‘नेपालमा प्लेन उडाउने नेपाली नागरिकहरूको मेडिकल चेकअप गर्छु।’

उमेर अनुसार ६ महिना र प्रत्येक वर्ष पाइलटले स्वास्थ्य परीक्षण गराएर शारीरिक तथा मानसिक रूपमा स्वस्थ भएको रिपोर्ट  देखिएपछि मात्रै हवाईजहाज चालक अनुमति पत्र नवीकरण हुने उनी बताउँछन्।

प्राधिकरणले अनुमति दिएका चिकित्सकमध्ये पाइलटले आफैँ छनोट गरेर जो चिकित्सकसँग पनि स्वास्थ्य परीक्षण गर्न नपाउने उनले सुनाए। प्राधिकरणले जो चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्नु भनेको छ त्यही चिकित्सकसँग मात्रै पाइलटले स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। ‘पाइलटले म योसँग जँचाउँछु भनेर पाउँदैन,’उनले सुनाए।

आफूलगायत नेपालमा एभियसन मेडिसिन अध्ययन गरेका ७-८ जना मात्रै चिकित्सक रहेको उनले सुनाए।

नेपालमा आफू र अर्का एक गरी दुई जना चिकित्सक मात्रै अमेरिकन ‘फेडलर एभियसन अथोरिटी (एफएए)’ प्राप्त चिकित्सक रहेको डा. विश्वराजले सुनाए। त्यसैले अन्तर्राष्ट्रिय हवाई जहाजमा यात्रा गर्ने पाइलट तथा जहाजको ‘क्रु मेम्बर’को स्वास्थ्य परीक्षणका लागि नेपालमा दुई जना मात्रै जनशक्ति रहेको उनले सुनाए।

कतिपय अवस्थामा हवाईजहाज चढ्ने समयमा यात्रुको स्वास्थ्यमा समस्या भएको शङ्का लागे त्यस्ता व्यक्ति पनि उनीकहाँ स्वास्थ्य परीक्षणका लागि पुग्छन्।

यो विषय अध्ययन गरेका चिकित्सकमा हवाईजहाजभित्र यात्रुको स्वास्थ्यका लागि आवश्यक वातावरणलगायतका बारेमा ज्ञान समेत हुने उनले सुनाए।

‘प्लेन उडाउनु त पर्दैन। तर, प्लेनसम्बन्धी पढ्दा र काम गर्दा धेरै ज्ञान बटुलियो,’उनले सुनाए,‘अन्य विषयका चिकित्सकका तुलनामा प्लेनसम्बन्धी धेरै ज्ञान मसँग हुन्छ।’

भर्खर छुटेको पाइलटको जहाज दुर्घटनामा मृत्यु भएको खबर सुन्दा...

त्यसो त पाइलटकै स्वास्थ्य परीक्षण गर्ने भएपछि नेपालका अधिकांश पाइलटहरू डा. विश्वराजले चिन्ने नै भए। त्यसैले नेपालमा हवाईजहाज दुर्घटना भए चिनेकै पाइलट दुर्घटनामा पर्छन्।

‘पाइलटको स्वास्थ्य परीक्षण गर्ने भएकाले  देशभरका सबैजसो पाइलट चिनिन्छ,’उनले सुनाए,‘दुर्घटना पर्दा चिनेकै पाइलट पर्नुहुन्छ।’ त्यसैले हवाई दुर्घटनाको खबर सुन्यो उनलाई नरमाइलो लाग्छ। किनकि चालक दलका कुनै सदस्यको मृत्यु भयो कि परिचितै पर्छन्।

केही वर्ष अघि मुस्ताङमा भएको हवाईजहाज दुर्घटनामा चिनेकै पाइलटको मृत्यु भएको खबर सुन्दा अझै उनको छाती भारी हुन्छ। करिब ४०-४५ वर्षका ती पाइलटले दुर्घटनामा पर्नु भन्दा ३-४ दिन अघि मात्रै डा. विश्वराजसँग स्वास्थ्य परीक्षण गराएका थिए। ती पाइलटको स्वास्थ्य ठिक थियो।

ती पाइलटसँग डा. विश्वराजको राम्रो गफगाफ समेत भएको थियो। ती पाइलटले मुस्ताङ जाऊँ है भनेका थिए। ती पाइलटसँग कुनै दिन सँगै मुस्ताङ जाने सल्लाह भएको थियो। तर, आफूसँगै राम्रो गफगाफ भएर छुटेको पाइलटको हवाईजहाज दुर्घटनामा परि मृत्यु भएको त्यो खबर सुन्दा असह्य भएको डा. विश्वराजले सुनाए।

हिमाल चढ्नेका डाक्टर

डा. विश्वराजलाई सोलुखुम्बुको खुम्दे अस्पतालमा काम गर्दा नै माउन्टेन मेडिसिन विषयको अध्ययन गर्ने भोक जागिसकेको थियो। खुम्दे अस्पतालमा काम गर्दा नै चिसो तथा लेक लागेका कारण कयौँ व्यक्तिहरू अस्वस्थ भएको देखेपछि उनले यो विषय अध्ययन गरेका रहेछन्।

त्यसैले डा. विश्वराजले डिप्लोमा इन् माउन्टेन मेडिसिनको अध्ययन गरेका रहेछन्। काठमाडौंमा यो विषयको अध्ययन गरे पनि उनले यो विषयको प्रयोगात्मक अभ्यास भने एभरेस्ट बेसक्याम्पमा नै गएर गरे।

पहिलो कुरा त नेपालमा यो विषय गर्ने चिकित्सक धेरै हुँदैनन्। त्यसमा पनि नेपालमा यो विषयको अध्ययन गरेका अधिकांश चिकित्सक बिदेसिएको उनले सुनाए।

नेपालमा माउन्टेन मेडिसिन विषय अध्ययन गरेका चिकित्सक १५-२० जना मात्र भएको उनी बताउँछन्। नेपालमा विशेष गरी हिमाली क्षेत्र लगायत यात्राका क्रममा भएका स्वास्थ्य समस्या सम्बन्धी उपचार गर्ने आधा दर्जन पनि विशेष अस्पताल नभएको उनले सुनाए। 

उच्च हिमाली जिल्लाहरूमा कसरी बिरामीहरूलाई सुरक्षित गर्ने भन्ने सवालमा यो विषय अध्ययन गरेका चिकित्सक बढी उपयोगी हुने डा. विश्वराजले सुनाए।

माउन्टेन मेडिसिन चिकित्सकको काम विशेष गरी हिमाली क्षेत्रमा यात्रा गर्दा दैनिक कति किलोमिटर हिँड्ने, कहाँ बास बस्ने, हिमाली क्षेत्रमा यात्रा गर्दा कुन कुन खोप लगाउने, के कस्ता लुगा लगाउने भन्ने लगायतका परामर्श दिनु हो।

सामान्यतया एक दिनमा तीन सय मिटर भन्दा बढी उचाइ चढ्न नहुने उनले सुनाए। त्यसै गरी यसरी यात्राका क्रममा व्यक्ति कुनै दुर्घटनामा परेको खण्डमा तथा स्वास्थ्य समस्यामा परेको खण्डमा त्यस्ता व्यक्तिको उपचार गर्नु माउन्टेन मेडिसिन विषय अध्ययन गरेका चिकित्सकको प्राथमिकतामा पर्छ।

कसरी यात्रा गर्नेदेखि यात्रामा स्वास्थ्य समय भए के गर्ने र स्वास्थ्य समस्या निम्तिएपछि कसरी उद्धार तथा उपचार गर्ने भन्नेलगायत यात्राको सल्लाहकार चिकित्सकका रूपमा चिनिन्छन् माउन्टेन मेडिसिन चिकित्सक। जुन काम गर्छन् डा. विश्वराज।

चिसो लागेर विदेशी नागरिकको मृत्यु भएपछि....

त्यसो त डा. विश्वराज सोलुखुम्बुमा नै बसेर काम गर्दा एक जना विदेशी नागरिक हिमाल चढ्न जानेक्रममा लेक लागेर मृत्यु भएको नजिकबाट देखेका छन्।

हिमाल चढ्न जाँदा एक विदेशी नागरिकलाई चिसोले स्वास्थ्य समस्या भयो। उनलाई धेरैले तल झर्न अनुरोध गरे। तर, उनले झर्न मानेनन्।भोलिपल्ट उनी होटेलमा सुतेकै ठाउँमा बिते।

भोलिपल्ट डा. विश्वराज काम गर्ने खुम्दे अस्पतालमा ती विदेशीको मृत शरीर ल्याइयो। त्यो घटनाले उनको मन अमिलो भयो।

सोलुखुम्बुमा काम गर्दा चिसो लागेर स्वास्थ्य समस्या भएका यस्ता धेरै घटना नजिकबाट देखेपछि आफूले माउन्टेन मेडिसिन विषय अध्ययन गरेको सुनाए।

चिसो ठाउँको यात्रा गर्दा टाउकोमा पानी जम्ने समस्या (हेस) र फोक्सोमा पानी जम्ने समस्या (हेप) भएर कयौँ व्यक्तिको स्वास्थ्य समस्या भएको नजिकबाट देखेका छन् उनले। चिसोका कारण हुने यी दुई स्वास्थ्य समस्या निक्कै जोखिम हुने उनले सुनाए।

हिमाल चढ्ने क्रममा व्यक्ति बिरामी परेको खण्डमा तल झर्नै पर्ने उनी बताउँछन्। अटेरी गरेको खण्डमा मृत्युको समेत जोखिम हुने उनले सुनाए।

जन्म लमजुङ, एसएलसी बुढानीलकण्ठबाट

२०३४ मा लमजुङको साबिक विचोर दूध पोखरी गाविसमा जन्मिएका विश्वराजले तीन कक्षासम्म स्थानीय विद्यालयमा अध्ययन गरे। त्यहाँबाट काठमाडौंको बुढानीलकण्ठ स्कुलमा अध्ययनका लागि छनोट भए।

त्यसपछि चार कक्षामा भर्ना भएर बुढानीलकण्ठमा उनले अध्ययन गर्ने मौका पाए। विश्वराजले २०४९ मा बुढानीलकण्ठबाट एसएलसी उत्तीर्ण गरे। उनले काठमाडौं विश्वविद्यालयबाट आइएस्सी गरे।

विश्वराजले सन् १९९६ मा बङ्गलादेशको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (युएटीसी), चिटगोंगमा पुगेर एमबिबिएस अध्ययन गर्न थाले। सन् २००३ मा एमबिबिएस सकेर उनी नेपाल फर्के। नेपालका वीर अस्पताल, सैनिक अस्पताललगायतका अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे।

त्यसपछि विश्वराजले काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) मा करिब नौ महिना करार जागिरेको रूपमा काम गरे। त्यहाँ उनले अधिकांश समय अर्थोपेडिक्स विभागमा काम गरे।

सोलुको त्यो सकस

नौ महिना काम गरेपछि डा. विश्वराजलाई सोलुखुम्बुमा काम गर्ने अवसर मिल्यो। उनले पनि त्यो अवसरलाई गुमाउन चाहेनन्। दुर्गममा गएर काम गर्ने अनुभव बटुल्न मन लाग्यो उनलाई। त्यसैले उनी सोलुखुम्बुको साबिक खुम्जुङ गाविसको सर एडमन्ड  हिलारीले स्थापना गरेको खुम्दे अस्पतालमा काम गर्न पुगे।

लुक्ला एयरपोर्टबाट ओर्लेर दुई दिन पैदल यात्रापछि खुम्दे अस्पताल ओहोर दोहोर गर्दाको अनुभव उनलाई अझै रोचक लाग्छ। हवाईजहाज नउडेको समयमा एक हप्ता लगाएर ओहोरदोहोर गरेको सम्झन्छन् उनी। त्यो बेला बाटोमा हिँड्दा सरकारी सुरक्षा फौज र माओवादीको शङ्कालाई छिचोल्दै हिँड्नुपर्दाको यात्रा कम सकसपूर्ण थिएन।

‘बाटोमा आर्मीका चेकिङ, सशस्त्रका चेकिङ, माओवादीका चेकिङ सबै हुन्थे,’डा. विश्वराजले सुनाए। धेरै ठाउँमा सञ्चार विच्छेद थियो। सोलुखुम्बुमा उनले करिब एक वर्ष काम गरे।

त्यसपछि डा. विश्वराजले चीनमा पढाउन जाने मौका पाए। चीनको सानडुङ प्रदेशको थाइसेनमा  चिकित्सा शास्त्रका विद्यार्थीलाई ६ महिना पढाएर उनी नेपाल फर्के।

छनोटमा फेमिली फिजिसियन

चीनबाट फर्किएपछि डा. विश्वराजले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (महाराजगन्ज क्याम्पस) मा सन् २००७ मा स्नातकोत्तर तहको जनरल प्राक्टिस विषयमा एमडी (एमडीजीपी) अध्ययन गर्न थाले।

एमडीजीपी विषयलाई फेमिली फिजिसियन भनेर चिनिन्छ।  यो विषय अध्ययन गर्ने विद्यार्थीले दुर्गमका जिल्लामा गएर काम गर्नुपर्थ्यो। त्यसैले एमडीजीपी अध्ययनको अन्तिम वर्ष विश्वराजले ६ महिना तत्कालीन क्षेत्रीय अस्पताल सुर्खेत पुगेर काम गरे। अध्ययनकै क्रममा उनको विवाह भयो।

एमडीजीपी अध्ययनपछि डा. विश्वराज डडेलधुराको टिम अस्पतालमा काम गर्न पुगे। त्यो अस्पताल विशेषगरी कुष्ठरोगको उपचारका लागि क्रिश्चियन मिसनरीले चलाएको अस्पताल थियो। पछि त्यो अस्पताल सरकारीकरण भएर डडेलधुरा अस्पतालमा परिणत भएको उनले सुनाए। करिब ६ महिना त्यहाँ काम गरेर उनी काठमाडौं फर्के।

काठमाडौं फर्केपछि फेरी डा. विश्वराजले चीनको नाम्चाङ सहरमा चिकित्साशास्त्रका विद्यार्थीलाई पढाउन जाने मौका पाए। ६ महिना पढाएर नेपाल फर्के।

चीनबाट फर्केपछि डा. विश्वराजले नेपाल मेडिकल कलेजमा लेक्चररको रूपमा एक वर्ष काम गरे।

त्यसपछि उनी वीर अस्पतालको जनरल प्राक्टिस विभागमा करार जागिरेको रूपमा रजिस्ट्रार पदमा रहेर एक वर्ष काम गरे। जुन विभाग आकस्मिक कक्षको उपचार व्यवस्थापनमा नै बढी केन्द्रित हुन्छ।

वीर अस्पतालको जागिरपछि डा. विश्वराज त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा काम गर्न पुगे। त्यहाँ रजिस्ट्रारको रूपमा काम गर्न थाले। त्यहाँ केही समय उनले काम गरे।

अमेरिकन स्वयंसेवकको स्वास्थ्यको हेरचाह गर्दा....

त्यसपछि डा. विश्वराजले अमेरिकन स्वयंसेवकहरूको पिस कोर टिममा रहेर पाँच वर्ष काम गर्ने  मौका पाए। ती अमेरिकन स्वयंसेवकहरू नेपालका विभिन्न गाउँमा गएर त्यहाँको धर्म संस्कृति तथा जीवन शैलीका बारेमा अध्ययन गर्थे। आफूले पनि केही सिकाउँथे।

स्वयंसेवकहरू प्रायः जिल्ला सदरमुकाममा नबसी सदरमुकाम भन्दा केही वरपरका गाउँ गाउँमा पुगेर बस्थे। त्यहीँ कार्यक्रम गर्थे। डा. विश्वराजको काम उनीहरूको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नुपर्ने थियो। पाँच वर्ष उनीहरूसँगै हिँडेर काम गर्दा उनी नेपालका धेरै ठाउँमा पुगे।

त्यो कामपछि डा. विश्वराज पाँच वर्ष अघि ग्राण्ड अस्पताल पुगे। हालसम्म उनी त्यही अस्पतालमा नै कार्यरत छन्। 

१२ कात्तिक, २०७९, १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।