माटोलाई आकार दिँदा-दिँदै जसको आफ्नै जीवनको आकार बदलियो

माटोलाई आकार दिँदा-दिँदै  जसको आफ्नै जीवनको आकार बदलियो

मोहन प्रसाद प्रजापति (४५)ले यस वर्षको तिहारमा सबै काम सकिसके। वर्षको सबैभन्दा धेरै व्यस्त हुने उनको समय सकिएसँगै उनी आफ्नो साधारण दिनचर्यामा फर्किएका छन्।

सबेरै उठ्नु, माटो मुछ्नु अनि त्यसको भाँडा तयार बनाउनु उनको ३५ वर्षदेखिको दैनिकी हो। लामो समयदेखि उनले माटोलाई विभिन्न आकारमा ढाले। तर, आफ्नो जिन्दगीलाई भने कुनै आकार दिन सकेनन्। माटोलाई समाउँदा–समाउँदै आफ्नो जिन्दगीलाई पनि त्यसैसँग मुछिदिएका उनी अझै पनि माटोबाट टाढा जान सकेका छैनन्।

तिहारको समयमा सबैमा उल्लास त आउने नै भयो। तर, भक्तपुरको ‘प्रजापति समुदाय’ मा भने यसको छुट्टै महत्त्व छ। यो उनीहरूको लागि मौसम र व्यापारले साथदिने सबैभन्दा उपयुक्त समय हो।

‘वर्षभरि सबैभन्दा बढि व्यस्त हुने नै यहि दशैंतिहारको बीचमा हो। यो एक-दुई महिनामा त सय गुणा नै हाम्रो व्यस्तता र व्यापार हुन्छ,’ उनले भने।

उनका अनुसार यो समयमा समुदायमा माटोको काम गर्ने एकजना प्रजापतिले मात्र २-३ लाखको सामान बिक्री गर्छन्।

तिहारको समयमा माटोको दियो नै प्रयोग गर्नुपर्ने भन्ने मान्यताको कारण दियोबाट मात्र पनि अन्य महिनामा कमाउने बराबरको व्यापार गर्छन् उनी।

‘मौसम पनि राम्रो छ अहिले। यसपछि त फेरि चिसो लाग्छ। चिसो लागेपछि र वर्षा हुने समयमा काम गर्नै गाह्रो हुन्छ’ उनले भने।

गुठिले माटो दिन छाडे, तर प्रजापतिले भाडा दिन छाडेनन्
सामान बनाउनको लागि प्रजापति समुदाय सबैले माटो भने अहिले खानीबाट किनेरै ल्याउने गर्छन्। विशेषगरि यहाँ हरिसिद्धि र साँखुबाट माटो भित्रिने गरेको छ। करिब एक दशकअघि भने यहाँका कुनै पनि प्रजापतिले माटो किन्नु पर्दैनथ्यो।

मोहनका अनुसार उनीहरूलाई आवश्यक सधै र सबै माटो गुठि संस्थानले उपलब्ध गराउँथ्यो। त्यसवापत गुठि संस्थानले गर्ने कुनै पनि पूजामा माटोको भाडाका सामानहरू निःशुल्क उपलब्ध गराउनुपर्थ्यो।

समय बित्दै गयो। गुठिको पनि धेरै जग्गाहरू निजी भए। खाली जग्गाहरू धमाधम प्लटिङ भए अनि प्रजापतिहरू भक्तपुरको माटोबाट बन्चित हुँदै गए। विस्तारै गुठिबाट उनीहरूले माटो पाउनै छाडे। अनि उनीहरू विहान सबेरै उठेर माटो खन्न जानको लागि कुनै पनि ठाउँ नै बाँकी भएन। 

‘पहिला त जग्गाहरू पनि प्राय गुठिकै हुन्थ्यो। अहिले त अब जम्मै निजी भयो। घरहरू पनि बन्यो। त्यस पछि माटोनै पाउन छोड्यो’, उनले दुःखी हुँदै सुनाए।

प्रजापति समुदायले गुठिबाट माटो पाउन छाडे पनि गुठिको लागि आफूले बनाएको सामान भने सित्तैमा दिन छाडेका छैनन्। तलेजुको पूजा लगायतको विभिन्न ठूल्ठूला पूजामा निस्वार्थ आफ्नो सामान दिन्छन्।

‘देउताको काम भयो नि त, त्यै भएर दिने गरका छौं। गुठिले माटो दिएन भनेर हामीले पनि देउतालाई सामान नदिने भन्ने त हुँदैन नि !’ गम्भीर हुँदै उनी भन्छन्, ‘अहिले त अलि कम भयो। नत्र त हरेक वर्ष यहाँबाट दशौं लाखको सामान जान्थ्यो।’

पहिला सामानहरू तोकेरै लिने गरेको अनि अहिले माटो दिन नसकेपछि जति दियो त्यतिनै मात्र लिने गरेको समेत उनले सुनाए, ‘अहिले पनि यति नै दिनुपर्छ भनेर माग हुँदैन। माटो नदिएपछि त उनीहरूले यति नै चाहिन्छ र हामीले पनि यतिनै दिनुपर्छ भन्ने ‘कर’ चाहिँ हट्यो।’

खानीबाट माटो किन्नुपर्ने भएपछि अचेल एक कल फोनमा भरमा माटो मगाउन थालिएको छ। पहिलाको जस्तो आफैँले माटो खनेर ल्याउन पर्दैन अहिले। माटो खनेर बोकेर ल्याउनुपर्दाको दुःख सम्झेर अहिले पनि मोहनको अनुहार अँध्यारो हुनेगर्छ। अहिले वर्षमा सात टिपसम्म माटो किन्छन् उनी। एक टिप माटोको १० देखि १५ हजारसम्म पर्छ।

सजावटमा सीमित भए माटाका भाँडा
माटोको भाडाको बजार नै नभएको भने हैन। बजारमा आएको परिवर्तन भने आकाश पातालको अन्तर छ। ग्राहकहरूको फरक मागले गर्दा पनि मोहनले अहिले व्यस्त भइरहने बाटो पाएका छन्।

‘माटोको कपहरू, मट्का चिया, हाडी बिरयानी भनेर अर्डर आइरहेको छ। पुरानो सामानहरूको माग त एकदमै घटेको छ। काम गर्न सक्यो भने अहिले मार्केट फेरि राम्रो हुँदैछ।’

बीचमा प्लाष्टिकको भाँडाले त मोहनसँगै पूरै प्रजापति समुदायको पेशा नै लगभग ठप्प हुने अवस्थामा पुगेको  सुनाउँदै उनी भन्छन्, ‘ पछि फेरि ग्राहकहरू स्वास्थ्यको हिसाबले माटोको भाँडा नै राम्रो हुन्छ भनेर खोज्दै आए।’

पहिला–पहिला विभिन्न जातजातिहरूले आफ्नो संस्कार र परम्पराअनुसार जन्मदेखि मृत्यु सबै कार्यहरूमा माटाका भाँडा नै प्रयोग गर्थे। त्यसैकारणले उनले पनि त्यस्ता सबै सामान बनाए, जुन ग्राहकले सजिलै किनेर लाने गर्छन्।

उनले सुनाए, ‘खुत्रुके बाहेक अहिले धेरै अर्डर आउने भनेको त सजावट र रेष्टुरेन्टमा प्रयोग हुने भाँडा हो।’

माटोको भाडा बनाउँदा परिश्रमअनुसारको आम्दानी नहुने भएकाले नयाँ पुस्ता यो पेशामा आकर्षित हुन नसकेको उनको अनुभव छ। तर, पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै मानिसले गर्ने काम अधिकांश मेसिनले गर्ने हुँदा पहिलाको तुलनामा कम परिश्रम गरे पनि हुने उनी बताउँछन्।

कसरी तयार हुन्छन् माटोका भाँडा?
भाँडा बनाउन खानीबाट माटो ल्याएर मुछ्नुपर्ने हुन्छ। अहिले यसका लागि मेसिन आएकाले सहिज भएको मोहनको अनुभव छ। 

‘पहिला भए माटोलाई खुट्टाले कुल्ची–कुल्ची मुछ्नुपर्थ्यो, अहिले त मेसिन आएको छ,’ उनी भन्छन्, ‘त्यसपछि गिर्खा केलाएर माटोलाई चक्कामाथि राखी डिजाइनअुनसारको भाँडा बनाउन सकिन्छ, त्यसलाई घाममा सुकाएपछि भट्टीमा पोल्नुपर्ने हुन्छ।

अहिले यहाँका प्रजापति समुदायले भाँडा भट्टीमा पोल्नका लागि ‘भट्टी व्यवस्थापन समिति’ बनाएका छन्। ‘पोटरी स्क्वायर’ भनेर पनि चिनिने यस क्षेत्रमा प्रजापतिहरूको लागि तीन वटा भट्टी राखिएको छ। मोहन पनि समितिको सदस्यको रूपमा छन्।

भट्टीमा भाडा पोलेबापत सबैले केहि रकम समितिलाई बुझाउनुपर्ने हुन्छ। त्यसकारण कडा शारीरिक परिश्रम बाहेक खर्च पनि टन्नै हुने उनको अनुभव छ।

‘माटोको काम गरेर खान लाउन नै ठिक्क हुन्छ। काम छैन भनेर बसिरहनुभन्दा यसो भाँडा बनाए ठिकै हुन्छ।’ 

मोहनका अनुसार अहिले ‘पोटरी स्क्वायर’ मा २५० प्रजापति परिवार छन्। त्यसमध्ये ७० जना यसमा काम गरिरहेका छन्। उनीहरू सबैको यो पुर्ख्यौली पेशा नै हो। 

‘पहिलोपटक ९ वर्षको हुँदा माटो समातेँ, बुवा बाजेहरूले पनि यहि काम गर्नुहुन्थ्यो, हेर्दाहेर्दै सबै जानियो,’ उनले भने, ‘सबै ब्यालेन्सको कुरा हो, एकपटक ब्यालेन्स भएपछि सजिलै हुन्छ, त्यै भएर मैले पनि अझै सम्म निरन्तरता दिइरहेको हो।’

बिजुलीबाट चल्ने चक्का नआउँदा लठ्ठी प्रयोग गरेर हातैले घुमाउनुपर्ने उनले सुनाए। त्यसो गर्दा एकदमै गाह्रो हुने उनको अनुभव छ। 

‘बत्तिबाट चल्ने मेसिन आएको त ४५ साल तिर हो, बत्ति गएको बेलामा त हातैले गर्नुपर्थ्यो,’ उनले भने, ‘जेनेरेटर चलाएर गर्नको लागि त लागत नै उठ्दैनथ्यो।’

मोहनको परिवारबाट अहिले ४ जना माटोकै काम गर्छन्। उनले बनाउने सामान र सामान बनाउँदा प्रयोग गर्ने प्रविधिमा धेरै नयाँपन आए पनि आम्दानीमा फरक नआएको उनको अनुभव छ।

‘अहिले पनि खाना लाउनलाई ठिक्क छ,’ उनी भन्छन्, ‘मेरो घर अझ यहिँ हो, कोठा भाडामा बसेर गर्नुपरेको भए त सकिँदैन नि!’

‘प्रजापति नै भनौं न !’
पोटरी स्क्वायरलाई तालाक्व, भोलाछे र घट्खा भनेर पनि चिनिँदै आएको छ। पछिल्लो समय यस टोललाई ‘कुमाल टोल’ पनि भनेर चिनिन्छ। तर, मोहन भने कुमाल टोल भन्दा पनि प्रजापति समुदायनै भनेर चिनाउन चाहन्छन्।

‘हामी यहाँ त सबैलाई प्रजापति नै भन्छौं। कुमाल भनेर त बाहिरकाले भन्ने गर्छन्,’ उनी थप्छन्, ‘हाम्रो सामान फुट्यो कि सक्यो, फेरि प्रयोग गर्न मिल्दैन, त्यहि भएर माटोको भाडा बनाउनेलाई कुमाल भनिएको हो।’

उनी आफूलाई कुमाल भनेकोमा होच्ष्याएको भन्ने त सोच्दैनन्। तर, प्रजापतिनै भनेर चिनिन चाहन्छन्।

‘नेपालमा जातीय विभेद भनेको जोसँग पैसा छैन, उसैले भोग्ने त हो! जो सँग अलि पैसा छ उनीहरूले त भोग्नु पर्दैन,’ उनी भन्छन्, ‘जो–जो सँग पैसा छ, उनीहरू पण्डित पनि भए। पैसा नभएको जति कुमाल अझ कुमाले भयो।’

हाडी बिरयानी, मट्का चियाको लागि अर्डर आउनुअघि त माटाका भाँडाका बजार सक्किसकेको उनले सुनाए।

‘हाडी बिरयानी, मट्का चियालगायतका रेस्टुरेन्टका सामानका अर्डरले माटाका भाँडाको बजार जोगिएकाे छ,’ उनी भन्छन्, ‘अहिले चाहिँ अलि–अलि आफ्नो परम्परालाई जोगाउनुपर्छ भन्ने हिसाबले पनि काम गर्न थालेको छ।’

दशैंतिहार बाहेक अन्य महिना भने उनले ५०–६० हजार कमाइ गर्छन्। एक रूपैयाँदेखि लाखौं रूपैयाँसम्म पर्ने माटोका भाँडाहरू बनाएका छन् उनले। बुट्टाहरू भरिएको सामानको लागि धेरै समय लाग्ने र पैसा पनि धेरै पाउने हुन्छ।

‘मुर्ति पनि बनाउने गर्छु तर, एउटा बनाउनलाई महिनौं लाग्ने गर्छ,’ उनले सुनाए, ‘त्यसरी महिनौं लगाउनुभन्दा सानो–सानो बनाएर धेरै बेच्न फाइदा छ, फेरि महंगो मुर्ति धेरैले किन्दैनन्।’

सानैदेखि माटोसँग खेलेका मोहनले आइए सम्म पढेका छन्। त्यसपछि पढाइलाई निरन्तरता दिएनन् र जागिर पनि खाएनन्।

‘पेशागत हिसाबले त अरु भन्दा यो नै ठिक छ। जागिरमा अलि कमाइ कम हुन्छ भन्ने भयो।’ उनले हाँस्दै सुनाए, ‘हाम्रो जनजातीमा कसैको अन्डरमा बस्न नपरोस भन्ने मान्यता छ। अनि थोरै गर्ने तर आफ्नै गर्ने भन्ने पनि छ। सानैदेखि यहि काम गर्दै आएकाले अरूमा जाने भनेर सोच्न पनि भ्याइएन।’

माटो बाहेक मोहनले न अरु कुरा सोच्न पाए न केहि गर्नै पाए। जिन्दगी झन्डै आधा शताब्दी यसमा बिताइसकेका उनको अब थोरै भए पनि काम निरन्तर भइरहोस् भन्नेबाहेक अरु केहि सपना छैन।

२३ वर्षको हुँदा सुर्यमारीको प्रजापतिसँग मागी विवाह भएका मोहनले परिवारमा अहिले आमा–बाबासहित ८ जना छन्।

७ कात्तिक, २०७९, १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।