कर्णालीमा मुख्यमन्त्री बन्न केन्द्रीय नेतृत्त्वको 'आशीर्वाद' निर्णायक, आकांक्षीलाई चुनाव जित्न कति सहज ?

कर्णालीमा मुख्यमन्त्री बन्न केन्द्रीय नेतृत्त्वको 'आशीर्वाद' निर्णायक, आकांक्षीलाई चुनाव जित्न कति सहज ?

सुर्खेत: कर्णाली प्रदेशको भावी मुख्यमन्त्री को बन्ला? यो विषय अहिले चौतर्फी चर्चामा छ। यसबीच कतिपय उम्मेदवार भने आफूलाई भावी मुख्यमन्त्रीको रूपमा उभ्याउँदै कार्यकर्ता र मतदातासँग भोट माग्न थालेका छन्।

कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फ २४ सिट र समानुपातिकतर्फ १६ गरी ४० सिटका लागि मतदान हुँदैछ।

यतिबेला कर्णालीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। प्रदेशको मुख्यमन्त्री बन्ने आकांक्षासहित कतिपय नेताहरू पुनः प्रदेशमै उम्मेदवार बनेका छन् भने कतिपयले प्रतिनिधि सभाको टिकट त्यागेर प्रदेशमा झरेका छन्।

भावी मुख्यमन्त्री बन्ने दौडमा मुख्यतः कांग्रेस, माओवादी र एमालेका उम्मेदवारहरू छन्। पुनः मुख्यमन्त्रीमा दोहोरिने आकांक्षासहित वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाको प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका छन्।

पहिलो पटक 'भाग्य'ले मुख्यमन्त्री बने, दोस्रो पटक 'बहुमत'ले मुख्यमन्त्री बन्ने दौडमा शाही
नेकपाको दुईतिहाइ बहुमत हुँदा समेत नेकपा विभाजनका कारण मुख्यमन्त्री बन्ने अवसर पाएका कांग्रेस नेता शाही यसपटक सत्ता गठबन्धनको बलमा निर्वाचन लड्दैछन्। गठबन्धनको बहुमत आए पुनः मुख्यमन्त्री बन्ने उनको सोच छ।

तर, उनलाई निर्वतमान स्वतन्त्र सांसद छक्कबहादुर लामाले चुनौती दिँदै छन्। प्रदेश सभा सदस्यमा शाही र लामाको भिडन्त हुने पक्का भएको छ।

२०७४ को प्रदेश सभा निर्वाचनमा चार हजार ५१९ मत ल्याएर जीवनबहादुर निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी माओवादीका विजय भण्डारीले तीन हजार ९९५ मत ल्याएका थिए।

यस्तै २०४८ सालमा तत्कालीन जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा चक्रबहादुर शाहीलाई आठ मतले पराजित गरेका लामाले  २०७४ सालमा मंगलबहादुर शाहीलाई ४७ मतान्तरले पराजित गरेका थिए। 

संविधान सभाको दोस्रो निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका लामा पार्टीभित्रकै असहयोगका कारण मुख्यमन्त्री जीवनबहादुर शाहीसँग पराजित भएका थिए।

वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीको केन्द्रीय राजनीतिमा राम्रो प्रभाव छ। उनको कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग राम्रो सम्बन्ध भएकै कारण चुनाव जितेको खण्डमा उनलाई मुख्यमन्त्री बन्न सहज छ।

लामा २०७० मा भएको संविधान सभा सदस्य निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाहीसँग व्यहोर्नुपरेको हारको बदला लिने दाउमा छन्। लामा नेकपा माओवादीको हेटौँडा माहधिवेशनबाट माओवादीमा समाहित भएका थिए।

कांग्रेसका अरू आकांक्षी
शाही पुनः मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशमा उम्मेदवार बनिरहँदा उनको पार्टी कांग्रेसभित्र मुख्यमन्त्रीका आकांक्षी अरू पनि छन्। 

कांग्रेस स्रोतका अनुसार जुम्लाको प्रदेश सभा (क) बाट उम्मेदवार बनेका ललितजंग शाही पनि मुख्यमन्त्रीका आकांक्षी हुन्। उनी हाल कांग्रेसको कर्णाली प्रदेश समितिका सभापति हुन्। 

पार्टीको प्रदेश सभापति भएकाले पनि स्वाभाविक रूपमा प्रदेशमा कांग्रेसले सरकारको नेतृत्त्व गर्ने अवसर पाउँदा आफू नै मुख्यमन्त्री बन्ने महत्त्वाकांक्षासहित उनी प्रदेश सभाको उम्मेदवार बनेका हुन्। 

कांग्रेसभित्र जाजरकोटको प्रदेश सभा (क)बाट उम्मेदवार बनेका राजीवविक्रम शाहलाई पनि भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिएको छ।

पार्टीका केन्द्रीय सदस्य रहेका शाह यसअघि जाजरकोटबाट संविधान सभामा निर्वाचित भएका थिए। तर, वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीको केन्द्रीय राजनीतिमा राम्रो प्रभाव छ। उनको कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग राम्रो सम्बन्ध भएकै कारण चुनाव जितेको खण्डमा उनलाई मुख्यमन्त्री बन्न सहज छ।

माओवादीमा मुख्य दुई आकांक्षी
कर्णालीलाई आफ्नो आधार क्षेत्र दावी गर्दै आएको माओवादी केन्द्रमा पनि भावी मुख्यमन्त्रीको रूपमा मुख्यगरी दुई जनालाई हेर्न थालिएको छ। रुकुमपश्चिमको प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका राजकुमार शर्मा र सुर्खेत क्षेत्र नं २ (ख) बाट उम्मेदवार बनेका विन्दमान विष्टलाई माओवादीभित्र भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिएको हो।

विष्टलाई आफ्नै निर्वाचन क्षेत्रमा गठबन्धन दलको समाजवादीले ‘च्यालेञ्ज’ दिएको छ। गठबन्धनको निर्णयअनुसार प्रदेश सभा (ख) माओवादीलाई भाग परे पनि समाजवादीले पार्टीका जिल्ला अध्यक्ष मोहनसिंह बडुवाललाई उम्मेदवार बनाउँदा विष्टलाई अप्ठ्यारो परेको छ। 

शर्मा माओवादीको कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष हुन्। माओवादीको आधार ईलाका र गठबन्धनको साथकै कारण पनि उनलाई निर्वाचन जित्न सहज छ।

शर्माको प्रतिस्पर्धा एमालेका उम्मेदवार कर्णबहादुर घर्ती मगरसँग हुनेछ। २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट माओवादीले जित हात पारेको थियो। 

माओवादीका गोपाल शर्मा १८ हजार ५८७ मत प्राप्त गरी विजयी भएका थिए। कांग्रेसका खडकबहादुर डाँगीले आठ हजार १२७ मत प्राप्त गरेका थिए।

माओवादी नेता जनार्दन शर्मा निकट भएकाले पनि कर्णालीमा सरकारको नेतृत्त्व पाउँदा शर्मा नै भावी मुख्यमन्त्री बन्ने उनी निकट स्रोतको दावी छ। 

तर, यसअघि प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका विष्ट मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन्। उनी माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत निकट मानिन्छन्।

तर, विष्टलाई आफ्नै निर्वाचन क्षेत्रमा गठबन्धन दलको समाजवादीले ‘च्यालेञ्ज’ दिएको छ। गठबन्धनको निर्णयअनुसार प्रदेश सभा (ख) माओवादीलाई भाग परे पनि समाजवादीले पार्टीका जिल्ला अध्यक्ष मोहनसिंह बडुवाललाई उम्मेदवार बनाउँदा विष्टलाई अप्ठ्यारो परेको छ। 

एमालेमा मुख्यगरी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल र प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ। 

कांग्रेस र एमालेका मत बडुवालले काटेको खण्डमा यो क्षेत्रमा एमालेलाई फाइदा हुने देखिन्छ। यसअनुसारको नतिजा आए विष्ट मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित हुनेछन्।

विष्ट २०७४ को प्रदेश सभा निर्वाचनमा वामगठबन्धनको तर्फबाट १५ हजार ६४८ मत ल्याएर निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका स्वर्गीय तप्तबहादुर विष्टलाई पराजित गरेका थिए। तप्तबहादुरले १२ हजार ४७७ मत प्राप्त गरेका थिए।

कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल छ। कतिपय ठाउँमा समाजवादीबाट बागी उम्मेदवार पनि छन्।

एमालेबाट पनि दुई आकांक्षी
त्यस्तै एमालेमा मुख्यगरी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल र प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ। 

कँडेल यसअघि २०७४ मा मुख्यमन्त्रीको आकांक्षासहित सुर्खेत क्षेत्र नं २ (क) बाट प्रदेश सभामा चुनाव लडेका थिए। कँडेलले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरेका थिए। कँडेलले २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए। जसबेला कांग्रेस एक्लै चुनावी मैदानमा थियो भने एमाले र माओवादीले वाम गठबन्धन गरेका थिए। 

तर, यसपटकको चुनावमा कँडेलसँग प्रतिस्पर्धाका लागि वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका पुराना नेता कालीप्रसाद शाक्य मैदानमा छन्। 

यो क्षेत्रमा कँडेलका पुराना प्रतिस्पर्धी शाक्य पनि उत्तिकै लोकप्रिय छन्। त्यसैले पनि यो पटको नतिजा ०७४ को भन्दा फरक हुने देखिन्छ।

०७४ मा एमाले र माओवादीबीचको गठबन्धनमा भागबण्डा हुँदा कर्णालीमा सरकारको नेतृत्त्व माओवादीको भागमा परेपछि कँडेल मुख्यमन्त्री बन्न पाएनन्। नेकपा विभाजन र एमालेकै सांसदहरूले फ्लोरक्रस गरेका कारण बहुमत हुँदाहुँदै पनि कँडेल मुख्यमन्त्री बन्न सकेनन्। यसपाली पनि प्रदेशमा बहुमत हासिल गरेर मुख्यमन्त्री बन्ने उनको आकांक्षा मसिंर ४ ले निर्धारण गर्नेछ। 

एमालेभित्रै पार्टीका प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह र पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज गुलाबजंग शाह पनि भावी मुख्यमन्त्री बन्ने चर्चा छ।

विनोद दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका छन् भने गुलाबजंग सल्यान प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका छन्।

एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेर टिकट हात पारेका योगेन्द्र शाहीले विनोदसँग भिडन्त गदैछन्। विनोद एक्लै चुनाव लड्दा शाहीलाई भने वामलोकतान्त्रिक गठबन्धनको साथ छ।

२०७४ मा वाम गठबन्धन हुँदा माओवादीको साथ पाएको एमालेले प्रदेश सभाका २४ क्षेत्रमध्ये १४ वटा सिट जितेको थियो। माओवादीले प्रदेश सभामा नौ सिट प्रत्यक्ष जितेको थियो। यस्तै कांग्रेसले एक सिट जितेको थियो। प्रत्यक्षतर्फ एक सिट जितेर कर्णालीको मुख्यमन्त्री पाएको कांग्रेस यो पटक भने धेरै सिट जित्ने दाउमा छ। यो निर्वाचनमा एमालेलाई भने आफ्नो विरासत जोगाउने चिन्ता छ।

यस्तै गुलाबजंगको प्रतिस्पर्धा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सुरेश अधिकारीसँग हुँदैछ। २०७४ को निर्वाचनमा शाह वाम गठबन्धनको तर्फबाट सल्यान प्रदेश सभा (क) बाट १९ हजार ६५८ मत ल्याएर निर्वाचित भएका थिए। उनले कांग्रेसका एकराज डाँगीलाई पराजित गरेका थिए। डाँगीले १० हजार ६१२ मत ल्याएका थिए।

०००
सुर्खेत र दैलेखमा चार–चार तथा जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा दुई–दुई गरी प्रदेश सभामा २४ वटा निर्वाचन क्षेत्र छन् भने प्रतिनिधि सभातर्फ सुर्खेत र दैलेखमा दुई–दुई र अन्य जिल्लामा एक–एक गरी १२ वटा निर्वाचन क्षेत्र छन्। 

प्रदेश सभातर्फको २४ निर्वाचन क्षेत्रमध्ये कांग्रेस १२, माओवादी १० र समाजवादी दुई गरेर वामलोकतान्त्रिक गठबन्धनले भागबण्डा गरेका छन्। 

यस्तै प्रतिनिधि सभाअन्तर्गतको १२ निर्वाचन क्षेत्रतर्फ माओवादी ५, कांग्रेस ४ र समाजवादीले ३ निर्वाचन क्षेत्र भागबण्डा गरेका छन्।

२०७४ मा वाम गठबन्धन हुँदा माओवादीको साथ पाएको एमालेले प्रदेश सभाका २४ क्षेत्रमध्ये १४ वटा सिट जितेको थियो। माओवादीले प्रदेश सभामा नौ सिट प्रत्यक्ष जितेको थियो। यस्तै कांग्रेसले एक सिट जितेको थियो। प्रत्यक्षतर्फ एक सिट जितेर कर्णालीको मुख्यमन्त्री पाएको कांग्रेस यो पटक भने धेरै सिट जित्ने दाउमा छ। यो निर्वाचनमा एमालेलाई भने आफ्नो विरासत जोगाउने चिन्ता छ।

७ कात्तिक, २०७९, ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।