धन्वन्तरि जयन्ती: आयुर्वेदका जन्मदाता जसले सुनबाट अमृत बनाउने वैज्ञानिक प्रयोग गरेका थिए

धन्वन्तरि जयन्ती: आयुर्वेदका जन्मदाता जसले सुनबाट अमृत बनाउने वैज्ञानिक प्रयोग गरेका थिए

आयुर्वेदको अर्थ 'आयु' भन्नाले जीवन र 'वेद' भन्नाले विज्ञान हुन्छ। मानिसको जीवन सम्बन्धी समग्र अध्ययन गरिने विज्ञानलाई नै आयुर्वेद भनिन्छ। यही आयुर्वेद चिकित्सा विज्ञानको प्रवर्तकका रूपमा धन्वन्तरिलाई लिइन्छ। 

त्यसैगरी विश्व जगतमै चिकित्सा विधाका औषधि तथा रोग निदान सम्बन्धी अनुसन्धानकर्ता एवं शल्य चिकित्सकको रूपमा धन्वन्तरिलाई मानिन्छ।

धन्वन्तरिले समग्र आयुर्वेद चिकित्सा पद्धतिको उत्थान तथा विकासका लागि अतुलनीय योगदान पुर्याउनुभएको थियो। तत्कालीन समयमा आयुर्वेदको आठ विभागमा अष्टाङ्ग आयुर्वेदको नाममा विकास भएको देखिन्छ। 

विशेष गरेर धन्वन्तरि सम्प्रदायले भगवान धन्वन्तरिलाई शल्यतन्त्र (विज्ञान) को ज्ञाता तथा समस्त आयुर्वेदकै सर्जकको रूपमा लिने गरेको पाइन्छ। यहाँ पृथक मतानुसार धन्वन्तरिको परिचय गरिएको छ।

समुद्र मन्थनबाट उत्पन्न 
हिन्दू धर्मका पुराणअनुसार श्रीमद्भागवत, महाभारत, विष्णु पुराण, अग्नि पुराण आदिमा जब देवता र दैत्यहरूबीचमा विशाल युद्ध भएको थियो, सोही समयमा समुद्र मन्थन भएको थियो। 

त्यसपछि भगवान विष्णुको २४ अवतारमध्ये एक अवतारको रूपमा स्वयं भगवान विष्णु नै अलग अलग हातमा अमृत घडा, जलौका र जडीबुटीका साथमा अवतरण भएको पौराणिक कथन पाइन्छ।

धन्व पुत्र धन्वन्तरि
प्राचीन समयमा काशी नगरीका निर्माता राजा काशका छोरा धन्व नाम गरेका एक राजा थिए। तिनै राजा धन्वले अज्ज नामका देवतालाई कडा उपासना गरेर प्रसन्न तुल्याए। र, तिनै देवबाट वरदान पाई धन्वन्तरिलाई पुत्रको रूपमा प्राप्त गरेका थिए। 

समुद्र मन्थनबाट उत्पन्न धन्वन्तरिको नै दोश्रो जन्मको रूपमा भएको भनि ब्रम्ह पुराण तथा विष्णु पुराणमा उल्लेख भएको पाइन्छ। 

हरिवंश पुराणका अनुसार राजा काशका छोरा दीर्घतपा, उनका छोरा धन्व, धन्वका छोरा धन्वन्तरि भनि उल्लेख छ।

धन्वन्तरिले सुनबाट अमृत निर्माण गर्ने सम्बन्धी वैज्ञानिक प्रयोग गरेको पाइन्छ। उनको जीवनसँग अमृतयुक्त सुनको कलश जोडिएको छ।

जब समुद्र मन्थन गर्न असुर र देव दुवै पक्षले छाडिसकेपछि पनि समुद्रमा स्वयं मन्थन चलिरहेको थियो, यसै समयमा धन्वन्तरि हातमा सुनको अमृत कलश लिएर प्रकट भए। सोही सयममा थुप्रै जीव कल्याणका लागि औषधिसहित रत्न उपरत्न निस्किनुका साथै अन्तमा अमृत निस्किएको कथन पनि पाइन्छ।

धन्वन्तरि आयुर्वेदका जन्मदाता 
धन्वन्तरिलाई आयुर्वेदको जन्मदाता, ज्ञाता तथा प्रणेताका रूपमा चिनिन्छ। उनले नै वनस्पतिहरूमाथि अध्ययन एवं अनुसन्धान गरेर तिनका रूप, गुण, प्रभाव, दुष्प्रभाव, प्रयोग आदिका बारेमा पत्ता लगाएको मानिन्छ। 

धन्वन्तरिका हजारौँ ग्रन्थहरू थिए। तर, अहिले केवल धन्वन्तरिसंहिता मात्र उपलब्ध छ, जुन आयुर्वेदको मूल ग्रन्थ हो। 

आयुर्वेदका आचार्य सुश्रुतले धन्वन्तरिबाटै यस विद्याको ज्ञान प्राप्त गरेका थिए। चरकादि आचार्यहरूले पनि यसै परम्परालाई अनुशरण गर्दै अगाडि बढाएको पाइन्छ। 

आयुर्वेदको इतिहासअनुसार धन्वन्तरिको समय ईशापूर्व ७००० वर्ष पहिले भएको मानिन्छ। धन्वन्तरिलाई चिकित्साशास्त्रकै पहिलो चिकित्सकका रूपमा मानिन्छ।

धन्वन्तरिका अनुसार मृत्यु १०० प्रकारका छन्। जसमध्ये काल एक हो भने बाँकी ९९ अकाल मृत्यु छन्। सबै प्रकारका मृत्युलाई रोक्ने प्रयास नै आयुर्वेदको निदान एवं चिकित्सा हो। 

धन्वन्तरिले शल्यशास्त्रमा (चिरफारद्वारा गरिने उपचार) विशेष एवं महत्त्पूर्ण अनुसन्धान गरेका थिए। उनकै नाति देवदासले त्यसलाई परिमार्जित गरी सुश्रुत आदि शिष्यहरूलाई प्रशिक्षित गराएका थिए।

धन्वन्तरिले सुनबाट अमृत निर्माण गर्ने सम्बन्धी वैज्ञानिक प्रयोग गरेको पाइन्छ। उनको जीवनसँग अमृतयुक्त सुनको कलश जोडिएको छ।

अमृत भन्नाले दीर्घ जीवन वा अजम्बरी बनाउने पदार्थ हो जसको सेवनका कारणले देवताहरू मृत्युलाई जित्न समेत सफल भएका थिए भन्ने पौराणिक भनाइहरू पाइन्छ। धन्वन्तरिका अनुसार बुढ्यौली र मृत्युलाई परास्त गर्न ब्रह्मादि देवताहरूले सोमरस नामक अमृत आविष्कार गरेका थिए। 

धन्वन्तरिका अनुसार मृत्यु १०० प्रकारका छन्। जसमध्ये काल एक हो भने बाँकी ९९ अकाल मृत्यु छन्। सबै प्रकारका मृत्युलाई रोक्ने प्रयास नै आयुर्वेदको निदान एवं चिकित्सा हो। 

आयुको विस्तृत तवरबाट न्युनाधिक्यको सूक्ष्म अध्ययन गरी त्यसको एक–एक मापका बारेमा धन्वन्तरिले बताएका छन्। 

पञ्चाङ्ग तीथिका अनुसार धन्वन्तरिको जन्म कात्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात काग तिहार-धनतेरसका दिन भएको थियो। 

धन्वन्तरिलाई आरोग्य, स्वास्थ्य, आयु , तेजका अराध्यदेव साथै भगवान विष्णुका २४ अवतारमध्ये १२औँ अवतारको रूपमा मानिन्छ। आयुका छोरा तथा अन्य विभिन्न समय, कालखण्डका आयुर्वेदाचार्यहरूले पनि आफ्नो नाम धन्वन्तरि राख्ने गरेको पाइन्छ। 

महाभारत, रामायण, हरिवंश पुराण, विष्णु पुराण, अग्नि पुराण, श्रीमद्भागवत, चरकसंहिता, सुश्रुतसंहिता, काश्यपसंहिता, अष्टाङ्ग हृदय, भाव प्रकाश, शारङ्गधर लगायतमा धन्वन्तरिका बारेमा उल्लेख भएको पाइन्छ।

आयुर्वेदका आठ अङ्ग 
मानव स्वास्थ्यको रक्षा गर्नु वा शरीरमा रोग लाग्नबाट बचाउनु र रोग लागि हालेमा सो रोगबाट मुक्ति दिलाउनु नै आयुर्वेदको प्रमुख उद्देश्य हो। यिनै उद्देश्य प्राप्त गर्न आरोग्यमय, दीर्घायु सम्पन्न, शारीरिक तथा मानसिक कष्ट अर्थात् रोगबाट मानव जीवनलाई बचाउनका लागि ब्रह्माबाट आयुर्वेदलाई आठ अङ्ग (भाग)मा विभक्त गरिएको पाइन्छ।

शल्यतन्त्र (सर्जरी) 
विभिन्न प्रकारका शरीरमा रहेको अनावश्यक वस्तु निकाल्न अपनाइने विधि एवं अग्नि, क्षार, यन्त्र, शस्त्र, आदिको प्रयोगको बारेमा अध्ययन गरिने चिकित्सा विज्ञानलाई शल्यतन्त्रमा आधारित चिकित्सा भनिन्छ।

व्यक्तिको शरीरमा व्रण (घाउ) भएको स्थानबाट फलामलगायत धातुका टुक्रा, ढुंगाका स–साना टुक्रा, माटोका कण, हड्डीका टुक्रा, काठका मसिना छेस्का, नङ, अशुद्ध रक्त, पीप, लगायत निकाल्न तथा निदानका लागि यन्त्र शस्त्रको प्रयोग गरिने चिकित्सा विधि यस शास्त्रमा वर्णन गरेको पाइन्छ।

त्यसैगरी व्यक्तिको शरीरमा अङ्ग भङ्ग भएको खण्डमा सो स्थानमा अङ्ग प्रत्यारोपण, युद्धका समयमा लागेका चोट पटकको रोपण उपचार, विद्रधि (एव्सेस), अर्श (हेमोराइड) लगायत रोगमा शल्यक्रिया गरी शीघ्र निको गर्ने भएकाले शल्यतन्त्रलाई प्रमुख तथा पहिलो अङ्ग मानिएको छ। 

शरीरमा वाधा उत्पन्न गर्ने जुनसुकै दोषको निर्हरणका लागि शल्य कर्म गरिन्छ। तत्कालीन शल्य चिकित्सक अश्विनीकुमारद्वारा संधाकर्म (प्लाष्टिक सर्जरी), अङ्ग प्रत्यारोपण (ट्रान्सप्लान्टेसन) सफलतापूर्वक सम्पन्न गरेको बारेमा वर्णन पाइन्छ। 

गुप्तकालमा शल्य चिकित्सा शास्त्रको उत्कर्ष विन्दूमा विकास भएको आयुर्वेदको इतिहासमा वर्णन गरेको पाइन्छ।

सुश्रुतसंहितालाई शल्यतन्त्रको आधार ग्रन्थको रूपमा लिएको पाइन्छ। यसमा व्रणको व्यवस्था, व्रणको प्रकार, व्रण चिकित्साको षष्टि उपक्रम, दग्ध, आठ प्रकारको शस्त्रकर्म उपयोगी यन्त्र शास्त्र, जलौका, क्षारकर्म, अग्निकर्म, सिरावेध, अर्श, अश्मरी (पत्थरी), भगन्दर आदिमा शस्त्र आदिमा शस्त्रद्वारा गरिने उपचार विधिका साथै काटिएका वा चिरिएका नाक, कान, ओठको सन्धान (प्लाष्टिक सर्जरी)का बारेमा विभिन्न उपायहरू समेत बताइएको छ। 

प्राचीन शल्यतन्त्रका अधिकतर ग्रन्थ हाल उपलब्ध छैनन्। सुश्रुतसंहितालाई नै आधार मानेर शल्यतन्त्र समुच्चय, सौश्रुती, शल्यसमन्वय, शल्यप्रदीपिका, नामका ग्रन्थका साथै अन्य शल्य चिकित्साका वरदान, सर्जिकल इथिक्स इन आयुर्वेद, शल्य तन्त्रमा रोगी परीक्षा, भग्न चिकित्सा,आधुनिक शल्य चिकित्साका सिद्धान्त, क्लिनिकल शल्य विज्ञान आदि आयुर्वेदका शल्य चिकित्साको सम्बन्धमा लेखिएका पुस्तकहरू पाइन्छन्।

शालाक्यतन्त्र (अप्थ्याल्मोलोजी–ईएनटी)  
शरीरको नाक, कान, घाँटी, मुख, आँखा अर्थात् घाँटीभन्दामाथिको अङ्गमा उत्पन्न रोगको निदान चिकित्साका बारेमा यसअन्तर्गत वर्णन गरेको पाइन्छ। 

सुश्रुतसंहितालाई शालाक्यतन्त्रको प्रमुख आधार ग्रन्थ ठानिन्छ। सुश्रुतमा नेत्र शरीरको सूक्ष्म अध्ययन गर्नुका साथै तिनिहरूमा हुने रोगका बारेमा र तिनीहरूबाट मुक्ति पाउन गरिने सेक, लेप, नेत्र पूरण, अञ्जन, वर्ति, आदि उपायका बारेमा वर्णन गरिएको छ। साथै विभिन्न औषधि तथा शस्त्रकर्मसहित उपचार विधिहरूको बारेमा बताइएको पाइन्छ।

विदेहतन्त्र, निमित्ततन्त्र, शौनकतन्त्र, करालतन्त्र, सात्यकितन्त्र, कान्कायानतन्त्र आदि शालाक्यतन्त्र सम्बन्धी सन्दर्भित ग्रन्थ मानिन्छन्। 

शालाक्यविज्ञान, नेत्ररोग विज्ञान, नेत्रचिकित्सा, नेत्रचिकित्सा विज्ञान नेत्र विज्ञान, शालाक्य शास्त्र आदि यस सबन्धी पाठ्यग्रन्थहरू पनि हाल उपलब्ध छन्।

काय चिकित्सा (जनरल मेडिसिन)
आयुर्वेदको सबै अङ्गमध्ये काय चिकित्सालाई प्रमुख मानिन्छ। यो दुई अलग अलग शब्द मिलेर बनेको छ। 

कायको अर्थ शरीर हुन्छ। अतः समस्त शरीरमा उत्पन्न हुने रोगको उपचारात्मक विधि अपनाउनुलाई काय चिकित्सा भनिन्छ। 

रोगका उत्पत्ति, निदान, उपचार, रोगीको प्रकृति, मनको स्थिति, दोषावस्था, देश, काल, बल, शरीर सात्म्य (हितकर), असात्म्य (अहितकर), नाडी, मल, मूत्र, जिव्हा, शब्द, स्पर्श, नेत्र, रूप, आवाज सुनेर, हेरेर, छामेर, प्रश्न गरेर लगायत विधिवाट रोगीको परिक्षण गरिन्छ। 

रोगको कारण विनिश्चय गरेर शारीरिक तथा मानसिक रोगको यकिन गरी औषधि, आहार, विहार, दिनचर्या, रात्रिचर्या, ऋतुचर्या लगायतका बारेमा बिरामीलाई दिइने परामर्श तथा उपचार गरिने विधिका सन्दर्भमा यस अन्तर्गत वर्णन गरिएको पाइन्छ।

चरकसंहिता काय चिकित्साको प्रमुख ग्रन्थ मानिन्छ। त्यसैगरी अन्य ग्रन्थहरूमा भेलसंहिता, जतुकर्णसंहिता, क्षारपाणीसंहिता ,हारीतसंहिता आदि हुन्।

भूतविद्यातन्त्र (साइकोथेरापी)
आयुर्वेदमा यस अङ्गलाई त्यति महत्त्व दिइएको पाइन्न। यसको कुनै स्वतन्त्र प्राचीन ग्रन्थ पाइन्न। 

यसमा देवता, पिशाच, पितृ तथा ग्रहद्वारा हुने विकारको चिकित्सा विधिका बारेमा बताइएको छ। रोगवाट छुट्कारा पाउन बलिकर्म, उपहारकर्म, तथा पूजाकर्मद्वारा गरिने चिकित्सा भूतचिकित्सा पद्धतिमा पर्दछ। 

सुश्रुतको अनुसार भूतोन्माद, अमानुषोपसर्ग, तथा बालग्रह तथा मानस रोगमा देवता, राक्षस, ग्रह आदिका लागि बलि पूजा, होम तथा जप आदिबाट गरिने शान्तिकर्म विधीको प्रयोगबाट मनलाई स्थिर शान्त, निर्भय तथा निर्विकार बनाउनका लागि ज्ञान, धैर्य, स्मृति, समाधि, पवित्रता, सन्तोष तथा ईश्वरको आराधनाबाट गरिने सम्पूर्ण उपायका बारेमा भूतविद्याअन्तर्गत वर्णन भएको मान्यता छ।

यस रोगको कारण अदृश्य भएकोले यो एक रहस्यात्मक विद्या मानिन्छ। चरकसंहिता, सुश्रुतसंहिता, अष्टाङ्गहृदय, माधव निदान, मानस रोग विज्ञान आदिमा यससँग सम्बन्धित विषयवस्तुमा वर्णन गरिएको पाइन्छ।

कौमारभृत्य (पेडियाट्रीक साइन्स)
कौमारभृत्यलाई बालरोग चिकित्सा पनि भनिन्छ। यस अन्तर्गत बालकको भरण पोषण तथा रोगका चिकित्साका सम्बन्धी अध्ययन गरिन्छ। 

यसलाई आधुनिक मतानुसार पेडियाट्रीक साइन्स पनि भनिन्छ। यसमा गर्भिणी स्त्री, गर्भ विज्ञानको साथै बालकको जन्मपश्चात उसको रक्षाका लागि अपनाइने संस्कार, बालकको क्षिरप (स्तनपानको उमेर), क्षिरान्नाद (स्तनपान तथा अन्नसेवनको उमेर), अन्नाद (अन्न मात्र सेवन गर्ने उमेर) क्रमशः विकास हुँदै जाने उमेरअनुसार बालकमा हुने रोगका प्रकार तथा रोगको निदान, उपचारको वर्णन अध्ययन गरिन्छ। 

नेपालका तत्कालीन राज वडागुरु पण्डित हेमराज शर्माद्वारा रचित काश्यपसंहिता यसको प्रमुख संहिता हो। 

यसैगरी चरकसंहिता, सुश्रुतसंहिता, अष्टाङ्ग हृदय, बालचिकित्साम्रित, कुमारतन्त्र, कौमारभृत्य आदि ग्रन्थहरूमा बाल रोग, निदान, चिकित्सा उपक्रम, दुग्धपान, आहारविहार लगायत विभिन्न विषयवस्तुमा विस्तृत व्याख्या गरेको पाइन्छ।

अगदतन्त्र (टक्सिकोलोजी)
सर्प, कीट–पतंग, लूता आदिको दंश वा टोकाइबाट हुने स्वाभाविक, कृत्रिम वा संयोगबाट मानिसमा हुने असर र तिनीहरूबाट बच्न गरिने उपायका साथै विभिन्न प्रकारका विष–उपविश वर्गमा वर्गीकरण गरी वनस्पति, रासायनिक वस्तुसहित समग्र विषजन्य पदार्थको विशद अध्ययन अगदतन्त्र अन्तर्गत गरिन्छ। 

यसलाई विषतन्त्र (टक्सिकोलोजी) पनि भनिन्छ। विष लेपन–निर्हरण, विष युक्त आहार शुद्धिकरण, विष कन्याको वर्णन, अग्नि दाह, पानीमा डुब्नु, झुण्डिनु तथा विषजन्य खानाको सेवनबाट बच्न गरिने यावत उपाय तथा उपचारका बारेमा यसमा व्याख्यासहित वर्णन पाइन्छ। 

कास्यपसंहिता, चरकसंहिता, सुश्रुतसंहिता, अगदतन्त्र, विषचिकित्सा आदि यस विषयका सन्दर्भित ग्रन्थहरू हुन्।

रसायनतन्त्र (जेरियाट्रीक्स)
चिरकाल पर्यन्त वृद्धावस्थाको लक्षणबाट बचाउन उत्तम स्वास्थ्य, बल, पौरुष, दीर्घायुका निमित्त एवं बुढेसकालका कारण उत्पन्न लक्षण एवं विकार दूर गर्नका लागि गरिने आहार, विहार, औषध,जीवनशैली आदि उपायका बारेमा यस तन्त्रमा वर्णन गरेको पाइन्छ।

रसायन पदार्थको सेवनबाट मानिसमा दीर्घायु, स्मृति, मेधा, आरोग्य, यौवन, प्रभा, वर्ण, स्वरको निर्मलता, शरीर इन्द्रियमा बल, वाक सिद्धि, वीर्यमा वृद्धि तथा कान्ति, पोषण तत्व, अग्नि वर्धन, श्रोत शोधन, धातु वृद्धि, व्याधि निवारण, एवं शक्ति प्राप्त हुने कुराहरू उल्लेख भएको पाइन्छ। 

ऋग्वेद– सोमरसका बारेमा उल्लेख, अथर्व वेद–सूर्य किरण–आयुदाता, जल अमृत भेषज, चरक सुश्रुत–दिव्य औषधि, भावप्रकाश–रसायन त्रिदोश नासक शक्ति वर्धक तथा नेत्र रोगमा हीतकारी, अष्टाङ्ग हृदय–शिलाजित रसायनको गुण तथा वर्णन गरिनुका साथै रसायनखण्ड, रसायनतन्त्र, रसायनदर्शन आदिमा पनि वृहत्तर व्याख्या गरेको पाइन्छ।

वाजीकरण (एफ्रोडेस्क एण्ड सेक्सोलोजी)
यसलाई वृष चिकित्सा पनि भनिन्छ। यस चिकित्सामा शुक्रको ह्रास भएको खण्डमा शुक्र बढाउन वा बनाउनका लागि आवश्यक विधिको बारेमा अध्ययन गरिन्छ। 

शुक्र धातुको उत्पत्तिमा पुष्टता एवं उसको क्षय–अधिक वृद्धिका कारण तथा शुक्र उत्पन्न प्रक्रियामा शरीरमा हुने विकृति लक्षणको उपचार तथा वीर्यहीन पुरुषलाई वीर्यवान् बनाउनुका साथै उत्तम स्वस्थ सन्तानोत्पत्ति सम्बन्धी यसअन्तर्गत उपायहरू बताइएको पाइन्छ। 

परवर्ती ग्रन्थ–औपनैषदिक (रहस्यात्मक), कुचमारतन्त्र, अनङ्गरङ्ग, कामसूत्र, पञ्चसायक, चरकसंहिता, सुश्रुतसंहिता, अष्टाङ्ग हृदय आदि ग्रन्थहरूमा विस्तृत वर्णन गरेको पाइन्छ।

(सिंहदरबार वैद्यखानाका पूर्व प्रवन्ध निर्देशक भइसकेका खरेल आयुर्वेद विभागको वरिष्ठ आयुर्वेद चिकित्सक हुन्।)

६ कात्तिक, २०७९, ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।