उकेरा कोलम

डा. केएनको उपचार अनुभव : एउटै गाउँमा दश जना मरेको खबर आएपछि हुम्ला जान डर लाग्यो


कोरोना भाइरस महामारी सुरु हुनु केही वर्षअघि हुम्लामा फैलिएको महामारीको प्रसङ्ग इन्टरनल मेडिसिन विशेषज्ञ डा. खेचरनाथ (केएन) पौडेल कहिल्यै भूल्दैनन्। जतिबेला उनी कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा काम गरिरहेका थिए।

त्यो बेला महामारीका कारण एकै गाउँमा दश जना व्यक्तिको मृत्यु भएको खबर आयाे। खबर  पाएपछि डा. केएनलाई रोगको प्रकोप नियन्त्रणका लागि हुम्ला खटाइयो।

रोग नियन्त्रणका लागि डा. केएन नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली हुम्ला हिँड्यो। उनलाई याद भएसम्म छ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गएकाे थियाे। स्थलमार्गबाट ढिला पुग्ने भएकाले स्वास्थ्य सामाग्रीसहित उनीहरूलाई हेलिकप्टरमा हुम्ला पठाइएको थियो।

सुरुमा डर समेत नलागेको हैन। कस्तो किसिमको महामारी हो भन्ने जिज्ञासा थियो मनभरी। अर्कातर्फ नियन्त्रण गर्न सकिँदैन की भन्ने चिन्ता थियो। कतै त्यो महामारीले आफैँलाई त केही हुँदैन भन्ने चिसो पनि मनमा नपसेको कहाँ हो र !

डा. केएन सहित चिकित्सकको टोली हुम्ला पुगेर बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचारको काम गर्‍याे। त्यसपछि मात्रै मौसमी रुघाखोकीको प्रकोप फैलिएको थाहा भयो। बिरामीको स्वाब लिएर परीक्षणका लागि विदेश समेत पठाइयो। स्वाब परीक्षणपछि मौसमी इन्फ्लुइन्जा नै फैलिएको पुष्टि भएको उनले सुनाए।

‘हुम्लाको ताजाकोट भन्ने गाउँमा महामारी फैलिएको थियो, गाउँभरी बिरामी थिए, धेरै थला परेका थिए,’ उनले भने, ‘परीक्षणपछि मौसमी रुघा खोकी (इन्फ्लुइन्जा) भएकाे भन्ने पुष्टि भयो।’

हुम्ला पुगेपछि रोग प्रभावित क्षेत्रका गाउँ–गाउँ छिरे चिकित्सक तथा स्वास्थ्यकर्मी। टोल–टोलमा स्वास्थ्य शिविर राखियो। चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली विभिन्न ठाउँमा बाँडियो। ठाउँ–ठाउँमा स्वास्थ्य शिविर थपियो। रोग प्रभावित क्षेत्रमा चिकित्सकको टोलीले उपचार गर्दै गयो।

त्यो बेला हुम्लामा चिकित्सकको टोली पुगेपछि अब बाँचिने भइयो भनेर बिरामीको ओठमा छाएको खुसी अहिले पनि झल्झली सम्झन्छन् डा. केएन।

चिकित्सकको टोलीले एकै पटक फरक–फरक ठाउँमा पुगेर द्रूत गतिमा औषधि उपचार गर्‍याे। त्यहाँ चिकित्सकको टोली पुगेर औषधि उपचार तथा रोगको पहिचान गरेपछि मात्र इन्फ्लुइन्जाको प्रकोप नियन्त्रण भएकाे उनले सुनाए। प्रकाेप नियन्त्रणपछि चिकित्सकको टोली फर्केको सम्झन्छन् उनी।

त्यो बेला ५० वर्ष कटेका र आर्थिक अवस्था कमजोर भएका व्यक्ति त उपचारका लागि अस्पताल समेत नपुग्ने गरेको उनले नजिकबाट देखे। पीछडिएको क्षेत्र भनेको के हो भन्ने कुरा आफू हुम्ला पुगेपछि नै नजिकबाट नियालेको डा. केएनले सुनाए।

माया मारेको २९ वर्षीय युवाको स्वास्थ्य सुधार
तीन वर्ष अघिको बिरामीको एउटा प्रसङ्ग पनि उनी कहिल्यै भुल्दैनन्। करिब २९ वर्षका पुरुष बिरामी डा. केएनकहाँ पुगे। बिरामी पुरुष काठमाडौंको एक अस्पतालमा मुटुसम्बन्धी रोगको उपचारका लागि गएका रहेछन्। तर, अस्पतालले बचाउन पनि कठिन हुने अनि खर्च पनि धेरै हुने देखिएपछि ती बिरामी बाँच्ने आशा मार्दै घर फर्किएछन्। 

त्यसपछि उनी बाँच्ने अन्तिम र झिनो आश लिएर सुर्खेतस्थित डा. केएनकहाँ पुगे। उनीकहाँ पुग्दा बिरामीको स्वास्थ्य अवस्था नाजुक भइसकेको थियो। बिरामी अब कहिले मर्ने हुँ भनेर शारीरिक पीडा मात्रै होइन मानसिक रूपमा समेत विच्छिप्त बनिसकेका थिए।

बिरामीको मुटु सुन्निने लगायत समस्याका कारण स्वास बढ्ने, खुट्टा सुन्निने जस्ता समस्या थिए। सामान्य दैनिक काम गर्न सक्ने अवस्थामा थिएनन् बिरामी।

डा. केएनले बिरामीको स्वास्थ्य परीक्षणपछि औषधिको मात्रा मिलाएर दिए साथमा स्वास्थ्यको ख्याल गरेर औषधि उपचार गरे सुधार हुने सल्लाह पनि। जीवन जीउन सकिने तथा खानपान लगायत अपनाउनुपर्ने जीवनशैलीको परिवर्तनबारे राम्रोसँग परामर्श दिए उनले। त्यसपछि बिरामीमा केही आशा पलायो।

ती बिरामीले डा. केएनको सल्लाह बमोजिम नै औषधि उपचार गर्दै गए। २/३ महिनापछि उनको स्वास्थ्यमा सुधार हुँदै गयो। बिरामी दैनिक काम गर्न सक्ने अवस्थामा पुगे। त्यसपछि बिरामीमा झन् बाँच्ने आशा जाग्यो। त्यतिबेला नै आस मारिसकेका ती युवा अहिले पनि फलोअपमा रहेको र स्वास्थ्य अवस्था धेरै सुधार भएको डा. केएनले सुनाए।

दीर्घ रोगको उपचारमा संलग्न चिकित्सकले बिरामीलाई कसरी परामर्श दिन्छ भन्ने विषय निक्कै महत्वपूर्ण हुने उनको विश्लेषण छ। चिकित्सकले बिरामीलाई दिने औषधि र आत्मबलले स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उनले सुनाए।

‘तिमी धेरै बाँच्दैनौ भन्नु र राम्रो औषधि उपचार गर्दा स्वास्थ्य अवस्थामा सुधार हुन्छ’ भन्नुमा धेरै फरक हुने उनले सुनाए। डा. केएनले भने, ‘राम्रो परामर्श दिँदा बिरामीलाई हौसला मिल्छ।’

त्यसो त कहिलेकाहीँ काठमाडौंबाट समेत स्वास्थ्य समस्या ठिक हुँदैन भनेर फर्किएका बिरामी झिनो आशा लिएर उनीकहाँ पुग्छन्। आशा मारेर ५/६ वर्ष अघि उनीकहाँ पुगेका केही बिरामी अझै स्वास्थ्य अवस्था सुधार भएर आफूकहाँ फलोअपमा आउने गरेको उनले सुनाए।

‘६ महिना, एक वर्ष भन्दा बाँच्दैनस् भनेर घर फर्किएका बिरामीको स्वास्थ्य सुधार भएको छ।’

अस्पतालले माया मारेका तर आफूकहाँ आएपछि बाँचेका धेरै बिरामीका साक्षी हुन् उनी। रोगले गाँजेर मृत्युको अन्तिम घडिमा पुगेका व्यक्तिलाई समेत राम्रोसँग परामर्श दिँदा आत्मबल बढ्ने उनले सुनाए।

बिरामीको मृत्युपछि समेत बिरामीका आफन्तलाई राम्रो परामर्श दिनुपर्ने उनी बताउँछन्। अस्पतालमा मृत्यु भएका कयौं मृतकका आफन्तलाई राम्रोसँग सम्झाइबुझाइ गरेपछि चित्त बुझाएर फर्कने गरेको उनले सुनाए।

कोरोनामा अक्सिजन नपाउँदा
त्यसैगरी सन् २०१९ डिसेम्बरको अन्यमा कोरोना भाइरस संक्रमण फैलिएपछि प्रदेश अस्पताल सुर्खेतले पनि छुट्टै भवनमा कोभिड–१९ अस्पताल सुरु गर्‍यो। डा. केएनले कोभिड अस्पतालको इन्चार्जको जिम्मेवारी पाए। विशेषगरी कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरमा उनी दिनरात जस्तै अस्पतालमा खटिए।

दोस्रो लहरको समयमा अक्सिजनको अभाव भयो। त्यसैले दोस्रो लहरको कठिन परिस्थितिमा अक्सिजन व्यवस्थापन गर्न निक्कै कठिन अवस्था झेल्नु परेको उनी सम्झन्छन्। त्यो बेला बिरामीले अक्सिजन नपाएर छटपटाएको नजिकबाट उनले देखेका छन्। केही व्यक्ति त अक्सिजनकै अभावका कारण मृत्यु भयो। 

अक्सिजन नपाएर बिरामीको छटपट देख्दा उनको मनमा खटपटि नहुने कुरै भएन। अक्सिजन जुटाएर अस्पतालसम्म ल्याउँदा युद्धनै जितेको जस्तो हुन्थ्यो। अबचाहिँ बिरामी बचाउन सकिन्छ भन्ने आशा जाग्थ्यो। 

तर, कयौं बिरामीलाई धेरै अक्सिजन चाहिन्थ्यो। जसले गर्दा ल्याएको अक्सिजन धेरै दिन पुग्दैनथ्यो। त्यसैले रातदिन जसो अक्सिजन व्यवस्थापन तथा कोरोना संक्रमित बिरामीको उपचारमा खटिँदा कयौं दिन खानपान गर्न र निदाउन भूलेको अनुभूति सुनाए उनले। त्यो कहाली लाग्दो अवस्था सम्झँदा अझै उनलाई सपनाबाट ब्यूँतिए झैँ महशुस हुन्छ।

जन्म काठमाडौं, कर्म सुर्खेत
काठमाडौंमा २०३९ जन्मिएका केएन पौडेलले मैतिदेवी बोर्डिङ हाइस्कुलबाट २०५४ मा एसएलसी उत्तीर्ण गरे। अस्कल क्याम्पसबाट उनले आइएस्सी गरे। चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा सन् २००२ मा एमबीबीएस अध्ययनका लागि भर्ना भएका केएनले सन् २००८ मा एमबीबीएस अध्ययन पूरा गरे।

डा.केएनले सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गरेका हुन्। अध्ययन गरेवापत दुई वर्ष उनले छात्रवृति करारमा काम गर्नुपर्ने थियो। त्यसैले पाल्पास्थित खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र र पाल्पा जिल्ला अस्पतालमा गरी दुई वर्ष छात्रवृति करारमा काम गरे।

त्यसपछि डा. केएन स्नातकोत्तर तहको इन्टरनल मेडिसिन विषयमा एमडी अध्ययनका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगे। सन् २०११ मा भर्ना भएका उनको सन् २०१३ मा एमडी अध्ययन पूरा भयो।

त्यसपछि भरतपुको चितवन मेडिकल कलेजमा सहायक प्राध्यापकका रूपमा करार जागिरे भएर काम गर्न थाले। जहाँ उनले करिब डेढ वर्ष काम गरे। भरतपुरपछि २०७२ मा डा. केएन सुर्खेत पुगे। त्यहाँ पुगेर करिब चार महिना एक निजी अस्पतालमा काम गरे।

त्यसपछि मध्यपश्चिम क्षेत्रीय अस्पतल सुर्खेतमा भोलियन्टरका रूपमा करिब दुई महिना काम गरे। दुई महिना काम गरेपछि उनले करार नियुक्ति पाए। करिब दुई वर्ष उनले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा नै काम गरे।

२०७४ मा लोकसेवामार्फत डा. केएन नवौं तहको स्थायी चिकित्सकका रूपमा सरकारी जागिरे भए। त्यसपछि पोष्टिङ लिएर तत्कालीन क्षेत्रीय अस्पताल सुखेत नै पुगे उनी। जुन अस्पतालको नाम परिर्वतन भएर अहिले प्रदेश अस्पताल कर्णाली प्रदेश, सुर्खेत भएको छ।

दुई वर्ष करारसहित जोड्दा २०७२ देखि करिब सात वर्ष भयो डा. केएनले सुर्खेतमा नै काम गरिरहेको। हाल उनी सुर्खेत अस्पतालमा दशौं तहका सिनियर कन्सल्टेण्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुखको रूपमा कार्यरत छन्।

सुर्खेतसँग आत्मियता
काठमाडौंमा जन्मे हुर्केका उनलाई सुरुमा त सुर्खेतमा बस्छु भन्दा निक्कै असहज भयो। परिवारबाट सुर्खेतमा बस्नका लागि सहमति लिन कठिन थियो। अहिले भने उनको परिवार नै सुर्खेतमा छ।

डा. केएनका छोराछोरी पनि सुर्खेतमा नै जन्मिए। उनका छोरा चार वर्ष र छोरी छ महिनाकी भइन्। उनका बुवाको स्वर्गारोहण भइसकेको छ। अहिले उनी आमा, श्रीमती र छारोछारी लिएर सुर्खेतमा बसेका छन्।

अब सुर्खेत र डा. केएनबीचको आत्मियता धेरै प्रगाढ भइसक्यो। सुर्खेतले उनलाई चिन्छ अनि उनले सुर्खेतलाई। त्यहाँ धेरै बिरामीको स्वास्थ्य उपचार गरेर बचाएका छन् उनले। डा. केएनलाई झ्वाट्टै सुर्खेत छोडेर हिँड्न मनले मान्दैन।

परिवार, काम गर्ने संस्था र ठाउँको वातावरण ठिक हुँदासम्म सुर्खेतमा नै बस्ने उनको सोच छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....