कास्कीमा चुनावी सरगर्मी तीव्र, मुख्यमन्त्रीका दावेदारलाई अन्तरघातकै डर

कास्कीमा चुनावी सरगर्मी तीव्र, मुख्यमन्त्रीका दावेदारलाई अन्तरघातकै डर

पोखरा : निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा चुनावी सरगर्मी बढेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि कास्कीमा गठबन्धन दल र एमालेले आगामी निर्वाचनमा विजयी हुन चुनाव केन्द्रीत गतिविधिहरूले तीव्र पारेका छन्।

राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको र गण्डकी प्रदेशको राजधानी भएका जिल्ला भए पनि कास्कीले संघीयताको कार्यान्वयनको चरणमा प्रदेशको मुख्यमन्त्री पाउनबाट बिमुख भएको थियो।

प्रजातन्त्रको पुनर्स्थापनामा महत्वपूर्ण योगदान भएका नेपाली कांग्रेसबाट तारानाथ रानाभाट, एमाले नेता रविन्द्र अधिकारी, खगराज अधिकारी, जगत विश्वकर्मा लगायतले छोटो समय महत्वपूर्ण जिम्मेवारी पाए पनि समग्रमा कास्की राजनीतिक लाभबाट उपेक्षित नै रहँदै आएको छ।

यसपटक भने गठबन्धन दल र एमाले दुवैका तर्फबाट मुख्यमन्त्रीका दावेदारका रूपमा कास्कीकै नेताहरू चर्चामा रहेकाले जनतामा पनि चुनावी मोह बढ्दो छ। गठबन्धनका तर्फबाट कांग्रेसका नेताद्वय शुक्रराज शर्मा र विन्दुकुमार थापा मुख्यमन्त्रीका प्रमुख दावेदारका रूपमा देखिएका छन्।

विगतमा संघमा चुनाव लड्दै आएका एमाले नेता खगराज अधिकारी पार्टी अध्यक्ष खड्ग प्रसाद (केपी) ओलीको सल्लाहमा मुख्यमन्त्री बन्ने गरी प्रदेशसभामा निर्वाचन लडेसँगै गठबन्धन वा एमाले जुनसुकै पार्टीले बहुमत ल्याए पनि कास्कीले मुख्यमन्त्री पाउने सम्भावना बढेको छ।

एमाले उप–महासचिव पृथ्बीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको आन्तरिक द्वन्द्वका कारण एकले अर्काको नेतृत्व स्वीकार गर्न नसकेको अवस्था छ। पार्टी अध्यक्ष ओलीमार्फत पृथ्वीसुब्बालाई यसपटक संघीय निर्वाचनमा उठाउन सफल भएपछि अधिकारी एमालेका गण्डकीका भावी मुख्यमन्त्रीका एकल दावेदारका रूपमा देखिएका छन्।

वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सक्रिय राजनीतिबाट बिदा लिएका छन् भने मुख्यमन्त्रीका आकांक्षी गण्डकी प्रदेशका भौतिक योजना तथा यातायातमन्त्री कुमार खड्कालाई टिकट नदिएर रोकेसँगै आगामी मुख्यमन्त्री बन्न कांग्रेसका शुक्रराज र बिन्दु कुमारबीच प्रतिस्पर्धा हुने निश्चित छ।

उनीहरू दुईमध्ये जसले पार्टी अध्यक्ष शेरबहादुर देउवालाई रिझाउन सक्छ उ नै मुख्यमन्त्री बन्ने सम्भावना छ। तर, पार्टीमा शुक्रराज शेखर कोइराला निकटका भएकाले देउवा निकटका बिन्दु थापाले चुनाव जितेको अवस्थामा मुख्यमन्त्री बन्ने सम्भाबना प्रबल रहेको कांग्रेस निकट स्रोतको दावी छ।

आसन्न प्रदेशसभा निर्वाचनपछि गण्डकीमा नयाँ अनुहार मुख्यमन्त्री बन्ने पक्का भएकाले प्रदेशमा भावी मुख्यमन्त्रीको चर्चा हुन थालेको छ। विगतमा एक्लाएक्लै चुनाव लड्दा गण्डकीका अधिकांश निर्वाचन क्षेत्रमा एमालेले झिनो मतान्तरले धेरै ठाउँ जितेको थियो। यसपटक दलहरूबीच गठबन्धन भएकाले सजिलै एमालेलाई हराउने गठबन्धनको दावी छ।

यसपटकको मुख्यमन्त्रीको लागि गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट केही आकांक्षीहरू देखिएका छन्। जसमध्ये प्रमुख दाबेदारमा शुक्रराज र थापाको नै बढी सम्भाबना देखिएको हो। 

२०४६ सालपछिका निर्वाचनमा हाल गण्डकी प्रदेश कायम भएका अधिकांश जिल्लामा कांग्रेसले निर्वाचन जितेको थियो। तर, पछिल्लो समय अधिकांश क्षेत्रमा निर्वाचन एमालेले जितेकाले आगामी निर्वाचनमा आफ्नो पार्टीको सरकार बन्ने एमाले संगठन विभाग प्रमुख अधिकारी दाबी गर्छन्।

गत निर्वाचनमा एमाललेले गण्डकीका ११ जिल्ला अन्तर्गत प्रतिनिधि सभाका १८ र प्रदेश सभाका ३६ स्थानमध्ये अधिकांश क्षेत्रमा एमालेले विजय हासिल गरेको थियो। गण्डकी प्रदेश एमालेमा पनि अझ ‘केपी ओली पकड क्षेत्र’का रूपमा परिचित छ। पार्टी विभाजनका बेला प्रदेशमा तत्कालीन एमालेका २८ सांसदमध्ये बागलुङका इन्द्रलाल सापकोटा बाहेकका सबै ओली पक्षका थिए। 

पार्टी विभाजन अगाडि माधव नेपाल पक्षमा रहेका सापकोटा पनि पछि ओली पक्षमै लागेका थिए। अहिले एमालेले त्यही वर्चश्व कायम गर्दै गण्डकीका अधिकांश स्थानमा विजय हासिल गर्ने दावी गरिरहेको छ।

विशेषतः कास्कीबाट विगत लामो समयदेखि राजनीतिक र प्रशासनिक क्षेत्रमा कमजोर उपस्थिति रहेकोमा यस पटक भने मुख्यमन्त्री पाउने राजनीतिकर्मी आशावादी देखिन्छन्। कास्कीका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू गरी ४६ जनाले उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारमा जुटेका छन्।

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका मनबहादुर गुरुङ र सत्ता गठबन्धनबाट कांग्रेसका किशोरदत्त बरालबीच मुख्य प्रतिस्पर्धा हुनेछ। गुरुङ कास्की एमालेका जिल्ला अध्यक्ष हुन्।

गत वर्ष भएको अधिवेशनमा पृथ्वीसुब्बा निकट गुरुङले नेता खगराज निकटका दामोदर पौडेल बैरागीलाई हराएर निर्वाचित भएका थिए। गण्डकीमा एमालेबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार अधिकारीको क्षेत्र कास्की १ को ‘क’ भएकाले पनि पृथ्वीसुब्बा निकट गुरुङलाई उन्तर्घात हुने डर देखिन्छ।

पृथ्वीसुब्बाले केही दिनअघि लमजुङमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि गण्डकीको मुख्यमन्त्री लमजुङका जमिन्द्रमान घलेलाई बनाउने अभिव्यक्ति दिएपछि प्रदेशमा फेरि दुई नेताबीचको गुटगट राजनीति हावी हुने देखिएको छ। विगतका निर्वाचनमा नेता अधिकारीले जित्दै आएका यस क्षेत्रमा उठेका मनबहादुरलाई अन्तरघात भएको अवस्थामा गठबन्धनका तर्फबाट उमेदवार बनेका किशोरदत्त बरालको जितको सम्भाबना प्रवल छ।

गत निर्वाचनमा खगराजले कांग्रेसका उम्मेदवारभन्दा झण्डै ६ हजार बढी मतले निर्वाचन जितेका थिए। विगतमा माओवादी केन्द्रको साथ पाएर ६ हजार मतले खगराजले जितेकामा अहिले फेरि माओवादीको साथ किशोरदत्तलाई रहेकाले उनको सम्भावना अधिक छ। गठबन्धनबाट उमेदवार बनेका बराल पछिल्लो समय कांग्रेसका युवापुस्तामा लोकप्रिय रहेका छन्।

लामो समय प्राध्यापन पेशामा आबद्ध बराल पनि कास्की कांग्रेसको जिल्ला सभापति हुन्। उनी पहिलो पटक प्रतिनिधिसभामा निर्वाचनमा उमेदवार बनेका हुन्। नेता बराल कास्की कांग्रेसका स्वच्छ छवि भएका इमान्दार नेताका रूपमा चिनिन्छन्।

तर, कास्की कांग्रेसका पुर्वसभापति कृष्ण केसी, पुर्वमन्त्री यज्ञबहादु थापा, पुर्वसभामुख तारानाथ रानाभाट लगायतका नेताहरूले पार्टीले टिकट नदिएको झोकमा अन्तर्घात गरेको अवस्थामा बराललाइ चुनाब जित्न कठिन देखिन्छ। यदि सबै नेताहरूको साथ र सहयोग रहेको अवस्थामा बराल गठबन्धनका बलिया उमेदवारका रूपमा देखिएका छन्। 

त्यसैगरी क्षेत्र न.ं १ को प्रदेशसभा ‘क’ बाट एमालेले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई उमेदवार बनाएको छ। विगतका निर्वाचनहरूका प्रतिनिधिसभाको निर्वाचनमा विजयी बन्दै आएका अधिकारी आगामी निर्वाचनमा प्रदेशसभामा उमेदवार बनेका छन्। यसअघि गृहमन्त्री समेत बनेका अधिकारी यस पटक गण्डकीको मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभामा झरेका हुन्। उनले गत निर्वाचनमा यही क्षेत्रको प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

त्यस्तै गठबन्धनले माओवादीका दीपक कोइरालालाई उम्मेदवार बनाएको छ। कोइराला गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति हुन्। उनले गत निर्वाचनमा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए। विगतमा एमालेसँगको सहकार्यमा निर्वाचन जितेका कोइराला यस पटकको निर्वाचनमा भने उही एमालेका अधिकारीसँग प्रतिस्पर्धा गर्दैछन्।

त्यस्तै प्रदेशसभा ‘ख’ बाट गठबन्धनले कांग्रेसका दीपक गुरुङलाइ उमेदवार बनाएको छ। उनी गत स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नं. १२ वडा सदस्यमा पराजय भएका थिए। त्यसैगरी एमालेले प्रदेशसभाका लागि बेदबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ। उनी २०७४ को निर्वाचनमा मादी गाउँपालिको अध्यक्ष बनेका थिए। अहिले उनी प्रदेशसभाको निर्वाचनमा गठबन्धनका उमेदवार दीपकसँग प्रतिस्पर्धामा छन्।

यस क्षेत्रमा प्रतिनिधिसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्र माक, जनता समाजवादी पार्टी नेपालका शर्मिला नेपाली मंग्राती, हाम्रो नेपाली पार्टीका प्रमोद आचार्य र नेकपा माओवादी समाजवादीका टुकबहादुर सिंजाली पनि प्रतिस्पर्धामा उत्रिएका छन्।

२ स्वतन्त्रसहित १४ जना उम्मेदवार रहेको यस क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसनका यज्ञबहादुर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका सीता श्रीसमगर, एकीकृत शक्ति नेपालका सविना वेगम, आमूल परिवर्तन मसिहा पार्टी नेपालका शिवप्रसाद अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई तथा स्वतन्त्र उम्मेदवार सौगात जिसी र दिलबहादुर राना पनि चुनावी मैदानमा उत्रिएका छन्। उमेदवार मध्ये यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा गठबन्धनका किशोरदत्त र एमालेका मनबहादुरबीच नै हुनेछ।

त्यस्तै, कास्की निर्वाचन क्षेत्र नम्बर २ मा तत्कालीन एमालेका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुँदैछ। विगतमा एमालेका चर्चित नेता रवीन्द्र अधिकारीले निर्वाचन जित्दै आएको यस क्षेत्रमा एमालेबाट विद्या भट्टराई र एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीका श्रीनाथ बरालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

विद्या तत्कालीन पर्यटनमन्त्री रवीन्द्र भट्टराईकी धर्मपत्नी हुन् भने बराल पुराना वाम नेता हुन्। भट्टराई रवीन्द्र अधिकारीको हलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सम्पन्न भएको निर्वाचनमा त्यही क्षेत्रबाट निर्वाचित भएकी थिइन। सँगै विद्यार्थी राजनीति गरेको उनीहरूबीच विवाहपछि भट्टराई सक्रिय राजनीतिबाट टाढा भएकी थिइन्। रवीन्द्रको स्वर्गारोहणपछि विश्वविद्यालयको उप–प्राध्यापकको स्थायी जागिर छाडेर उनी सक्रिय राजनीतिमा छिन्।

२०७६ मंसिरमा भएको प्रतिनिधिसभा उपनिर्वाचनका बेला भट्टराईको चुनावी कमाण्डर बनेका रवीन्द्रका बालसखा धनराज आचार्य समेत अहिले समाजवादी पार्टीतर्फ लागेका छन्। आचार्यले गत वैशाखमा भएका स्थानीय निकायको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा जमाजवादीबाट निर्वाचित भए।

विगतमा रवीन्द्र र पछि विद्याको चुनावी कमाण्डर बनेका आचार्य अहिले आफ्नै पार्टी समाजवादीबाट उमेदवार बनेका बरालको चुनाबी कमाण्डर बन्ने भएकाले पनि भट्टराईले चुनाव जित्न कडा परिश्रम गर्नुपर्ने देखिन्छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बराल एमालेमा लामो समयसम्म सक्रिय राजनीतिमा रहेका असल र इमान्दार छवि बनाएका छन्। राजनीतिमा उनको प्रभाव राम्रो छ।

२०५४ मा एमालेबाट तत्कालीन जिल्ला विकास समिति, कास्कीको उपसभापति समेत भएर जिम्मेवारी निर्वाह गरेका थिए। त्यसपछि पार्टीमा माधवकुमार नेपालको शक्ति कमजोर भएकाले ओलीले सँधै बराललाई अवसरबाट बन्चित गराए। अन्नतः पार्टीमा माधव नेपाल लगायतका नेताहरूको बिद्रोहसँगै उनी पनि समाजवादी तर्फ लागेका थिए।

त्यस क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएकाले बराललाई जाने केही मत उनले काट्ने अनुमान गरिएको छ। कास्की–२ मा बागी उम्मेदवारी दिएका गुरुङले आफ्नो उम्मेदवारी बार्गेनिङका लागि नभई, सिद्धान्त र निष्ठाको पक्षमा भएको बताएका छन्। उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवाले फोन गर्दासमेत आफूले अडिग भएर फिर्ता नलिने जवाफ दिएको उनले बताउँदै आएका छन्।

कास्की क्षेत्र नं २ को प्रदेशसभा ‘क’मा गठबन्धनका तर्फबाट माओवादीका विश्वप्रकाश लामिछाने उम्मेदवार बनेका छन्। पोखरा नगरविकास समितिका अध्यक्ष भएका बेला उनले गरेको फेवातालको मापदण्ड निर्धारण समितिको जिम्मेवारी पूरा गरेका थिए। लामिछानेको प्रतिस्पर्धीका रूपमा एमालले भिमबहादुर कार्कीलाइ उमेदवार बनाएको छ। यस क्षेत्रबाट निर्वाचनमा लामिछाने र कार्कीबीच प्रतिस्पर्धा हुने छ।

त्यस्तै कास्की २ अन्तरगतको प्रदेशसभा ‘ख’मा कांग्रेसले बिन्दुकुमार थापालाई उमेदवार बनाएको छ। थापा गण्डकी प्रदेशका न्याय तथा कानुन मन्त्री समेत हुन्। थापा गण्डकीमा भावी मुख्यमन्त्रीका समेत दावेदार हुन्। गत निर्वाचनमा पनि कास्कीका ६ वटा प्रदेशसभा मध्ये थापाले यही क्षेत्रबाट मात्र चुनाव जितेका थिए। एमालेले थापासँग प्रतिस्पर्धाका लागि मिना गुरुङलाई उमेदवार बनाएको छ। यस अघिको कार्याकालमा गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्।

कास्की २ बाट ५ स्वतन्त्र सहित १६ जना अन्यले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभामा भट्टराई र बरालबाहेक जनता समाजवादी पार्टी नेपालका बुद्धिकुमारी गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्त, नेपाल मजदुर किसान पार्टीका पशुपति प्रजापति, जनमत पार्टीका महेन्द्र शर्मा, हाम्रो नेपाली पार्टीका शिरीष गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका ज्ञानराज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका बालकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टी ईश्वरबहादुर राना, आमूल परिवर्तन मसिहा पार्टीका गिताबहादुर रोका, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल लगायत उम्मेदवार रहेका छन्। त्यस्तै स्वतन्त्रतर्फ तारानाथ सुवेदी, जमुना शर्मा, गितानाथ र ऋगेन्द्र गिरीले पनि उम्मेदवारी दिएका छन्।

त्यसैगरी कास्की क्षेत्र नं. ३ मा पनि एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा एमालेका दामोदर पौडेल वैरागी र माओवादीका रामजी प्रसाद बराल (जीवन)बीच प्रतिस्पर्धा हुने भएको छ। माओवादीका बराललाई कांग्रेससहितका गठबन्धन दलको समर्थन रहेका छ।

एमालेबाट उम्मेदवार बनेका बैरागी यसअघि पार्टीको जिल्ला सचिव भएर पार्टी संगठनको भूमिका निर्वाह गरेका थिए। गतवर्षको पार्टी अधिवेशनमा उनी जिल्ला अध्यक्षको उमेदवार बनेकामा मनबहादु गुरुङसँग पराजित भएका थिए। खगराज निकट नेताका रूपमा चिनिने बैरागी एमाले प्रदेश कमिटी सचिवालय सदस्यको समेत जिम्मेवारीमा रहेका छन्।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट बामगठबन्धनका उमेदवार जगत बिश्वकर्माले निर्वाचन जितेका थिए। तर, अहिले कास्की लगायत गण्डकी प्रदेशमै पृथ्वीसुब्बा र खगराजको गुटगत राजनीति हावी भएकाले उनीहरू निकट नेता कार्यकर्ताको घात अन्तर्घातमै निर्वाचनको नतिजा निर्भर गर्नेछ।

विगतको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार कृष्णबहादुर थापालाई हराउन पृथ्वीसुब्बा गुरुङको टिम खुलेरै लागेको भन्दै अडियो समेत सार्वजनिक भएको थियो। विगतका निर्वाचनहरूमा ठूलो मतान्तरले विजयी हासिल गर्दै आएका एमालेले वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा झण्डै ६ हजार मतले मेयरमा पराजित भएको थियो।

त्यसैगरी गठबन्धनबाट यस क्षेत्रको उमेदवार बनेका माओवादी केन्द्रका रामजीप्रसाद बराल पनि कमजोर उमेदवारका रूपमा देखिएका छन्। कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका उनी सरकारमा गएसँगै प्रदेशका सबैभन्दा विवादित बनेका मन्त्री हुन। मन्त्रिपरिषद् निर्णयलाई समेत लत्याएर बजेट ल्याएको भन्दै त्यतिबेलाका गठबन्धनभित्रका अन्य दलका मन्त्रीहरूसमेत उनीसँग असन्तुष्ट बनेक थिए।

त्यसैगरी क्षेत्र नं. ३ ‘क’ बाट माओवादीका दुर्गादत्त भण्डारी उमेदवार बनेका छन्। एमालेले गणेशमान गुरुङलाइ उमेदबार बनाएको छ। गुरुङ केही समय पहिले जनता समाजवादी त्यागेर एमाले प्रवेश गरेका थिए। त्यस्तै ३ को ‘ख’ बाट कांग्रेसका प्रकाश बराल उमेदवार बनेका छन्। उनी लामो समयसम्म खेलकुद क्षेत्रको जागिर छाडेर राजनीतिमा सक्रिय भएका हुन्। त्यस्तै बरालसँगको प्रतिस्पर्धामा एमालले राजिब पहारीलाइ उमेदवार बनाएको छ। पहारीले २०७४ को निर्वाचनमा त्यही क्षेत्रबाट चुनाब जितेका थिए।

यी बाहेक यो क्षेत्रमा जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि हितकाजी गुरुङ, राप्रपाका जगतप्रसाद सुवेदी, नेमकिपाले बलराम बन्जार, हाम्रो नेपाली पार्टीका विवेक कुमार पौड्याल, मंगोल नेशनल अर्गनाइजेसनका गंगाकुमारी खपाङगी तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेललाइ उमेदवार बनाएको छ। स्वतन्त्रतर्फ ७ जनाले उम्मेदवारी दिएका छन्।

५ कात्तिक, २०७९, १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।