कांग्रेसको भरमा काठमाडौं-२ मा ओनसरीले लिएको जोखिम, स्थानीय नेता उम्मेदवार हुँदा फाइदामा एमाले

कांग्रेसको भरमा काठमाडौं-२ मा ओनसरीले लिएको जोखिम, स्थानीय नेता उम्मेदवार हुँदा फाइदामा एमाले

काठमाडौं: माधवकुमार नेपाललाई सहजै स्वीकार गर्दै आएको काठमाडौं क्षेत्र नम्बर २ ले उही पार्टीका कृष्णगोपाल श्रेष्ठलाई भने स्वीकार गरेन। काठमाडौं र रौतहटमा जितेपछि नेपालले काठमाडौं- २ छाडे। त्यसपछि उपनिर्वाचन भयो।

काठमाडौं अझ एमालेका मतदाताबीच कृष्णगोपाल अपरिचित नेता हुने कुरै थिएन। तर काठमाडौं- ९ मा राजनीति गर्ने उनी काठमाडौं- २ मा आउँदा 'टुरिष्ट' उम्मेदवारको लेबल नै लाग्यो।

नेपालसँग पराजित कांग्रेसका 'लो प्रोफाइल'का स्थानीय नेता दीपक कुईँकेल पहिलो पटक सांसद बने। त्यसयता उनी पनि दोहोरिन सकेका छैनन्।

२०६४ मा यही क्षेत्रबाट झक्कुप्रसाद सुवेदीले माधव नेपाललाई पराजित गरेका थिए। तर माओवादीले त्यो रेकर्ड दोहोर्याउन सकेन।

गठबन्धन दलको बलमा रेकर्ड दोहोर्याउन यस पटक अप्रत्यासित रूपमा माओवादी केन्द्रबाट ओनसरी घर्ती काठमाडौं- २ मा उम्मेदवार बनेकी छिन्। काँठ क्षेत्रको मुड हेर्दा घर्तीका लागि यो परिक्षण झक्कुभन्दा कृष्णगोपालको नियति दोहोरिने जोखिम बढी देखिन्छ। किनकि स्थानीय तहको निर्वाचनको मत हेर्ने हो भने माओवादीसँग यस क्षेत्रमा हाराहारी चार हजार मत देखिन्छ।

सभामुख भइसकेकी घर्ती राष्ट्रिय राजनीतिमा अपरिचित नेतृ हैनन्। तर काठमाडौं- २ का मतदाताका लागि भने उनी पूर्ण अपरिचित नेतृ हुन्।

एक, पार्टीको मत अत्यन्तै कम हुनु। दोस्रो, लामो राजनीतिक यात्रामा कहिल्यै स्थानीय सरोकारसँग भिज्दै नभिजेको क्षेत्र छान्नुको कारण गठबन्धनका दल अझ कांग्रेसका मतदाताप्रति बढी नै भर परेको प्रष्टै देखिन्छ। 

त्यसको झल्को ओनसरी केन्द्रित कार्यक्रममा शेरबहादुर देउवादेखि माधव नेपालसम्म सहभागी हुनु अनि मनले नमाने पनि ओनसरीले भाषण गर्दा अड्की अड्की जय नेपाल भन्नुले नै ओनसरीको संसद यात्रा पूर्णतः कांग्रेसका मतदातामा निर्भर रहेको देखाउँछ नै।

विगतमा संसदीय निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका उम्मेदवारले हार्दा पनि १२ हजारदेखि १४ हजारसम्म निरन्तर मत ल्याइरहेका छन्। २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध कांग्रेस उम्मेदवार कुईँकेलले १४ हजार ९०० मत ल्याएका थिए।

यसले काठमाडौं- २ मा कांग्रेसको पार्टीगत मत १२ हजारदेखि १४ हजार हाराहारी देखिन्छ। बाँकी मत उम्मेदवार स्थानीय हुन् या हैनन् भन्नेमा भर पर्छ यो क्षेत्रमा।

काठमाडौं क्षेत्र नम्बर २ मा माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएका थिए। स्थानीय तहको मत हेर्ने हो भने एकीकृत समाजवादीको मत माओवादीको भन्दा दोब्बर सात हजार हाराहारी छ।

कांग्रेसको निरन्तर १२ हजार मतसँग माओवादी र एकीकृत समाजवादीको जोड्दा ओनसरीको पक्षमा २२ हजार हाराहारी मत आउने देखिन्छ। जुन जितका लागि काफी देखिन्छ। तर उनका लागि ठूलो चुनौती छन् एमालेका स्थानीय उम्मेदवार मणिराम फुँयाल। जसले एकीकृत समाजवादीको स्थानीय मत त सहजै प्रभाव पार्छन् नै कांग्रेसको स्थानीय मत समेत प्रभाव पार्न सक्छन्।

मणिराम एमालेका बागमती प्रदेश कमिटी सदस्य हुन्। २०७४ को निर्वाचनमा बागमती प्रदेश सभामा निर्वाचित भएका उनी स्थानीय मतदातामाझ 'हेडसर'को रूपमा परिचित छन्।

उनी काठमाडौंको मूलपानीमा रहेको सरकारी विद्यालय राष्ट्रिय माविको प्रधानाध्यापक भइसकेका स्थानीय हुन्।

पहिलो, उनी एमालेका उम्मेदवार भए नै। दोस्रो, उनको सार्वजनिक छविले कांग्रेसको मत ओनसरीमा सार्न कठिन देखिन्छ।

जसरी एकै पार्टी र चिह्न हुँदा पनि माधव नेपालको मत कृष्णगोपालमा सर्न सकेन, त्यसको प्रमुख कारण कुईँकेल स्थानीय नेता हुनु र उनको पृष्ठभूमि शैक्षिक क्षेत्र हुनु प्रमुख थियो। कृष्णगोपालसँग प्रतिस्पर्धा गर्दा अन्य दलका मतदाताले समेत कुईँकेल जिताउन रुखमा मत हालेका थिए।

फुँयालको हकमा यही दोहोरिने सम्भावना बलियो छ। पार्टीका लागि समानुपातिक मत र प्रत्यक्षमा स्थानीय नेता भन्ने ह्विम चलेमा ओनसरीको नतिजा कृष्णगोपालझैँ हुने जोखिम उच्च देखिन्छ।

ओनसरीको दोस्रो रहर

काठमाडौं- २ मा ओनसरीको नाम निकै ढिला आएको हो। जुन क्षेत्रमा जुन पार्टीले जितेको उसैलाई भन्ने आधारमा सो क्षेत्रमा एकीकृत समाजवादीकै दावी बलियो देखिन्थ्यो। तर माधव नेपालले सहजै माओवादीलाई छाडिदिए।

कतै कुलमान घिसिङ पो आउने हुन् कि! भन्ने अनुमानकै बीचमा ओनसरी आइन् उम्मेदवार बनेर। निर्वाचनकै अनुभव हेर्ने हो भने यो दोस्रो हो उनको।

२०७० सालमा उनी रोल्पाबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। २०६४ सालको पहिलो संविधान सभा र २०७४ मा  समानुपातिक सांसद बनेकी उनी उपसभामुख हुँदै सभामुख भएकी थिइन्।

यो क्षेत्रमा राप्रपाको पनि राम्रै मत देखिन्छ। जोगमेहर श्रेष्ठ जीवित रहेसम्म आफू नजिते पनि कुन दलको कसलाई जिताउने उनकै निर्णय हावी देखिन्थ्यो। अहिले पनि काठमाडौं- २ मा राप्रपासँग आफू जित्ने मत नभए पनि प्रत्यक्षमा आफूले चाहेकोलाई हराउनसक्ने मत भने छ।

स्थानीय तहको निर्वाचनमा राप्रपाले समाजवादी हाराहारी सात हजार मत पाएको थियो। क्षेत्र नम्बर २ मा  राप्रपाले कुन्तिदेवी पोखरेल (उपाध्याय) लाई उमेदवार बनाएको छ।

स्थानीय तहको अंक गणित

स्थानीय तहको नतिजाअनुसार काठमाडौं- २ मा एमाले बलियो देखिन्छ। यस क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौं महानगरपालिकाका २ वटा वडा पर्छन्।

वडागत आएको मतपरिणामअनुसार यो क्षेत्रमा एमालेले २० हजार ६५५ मत पाएको थियो। कांग्रेसले १७ हजार ३६९, समाजवादीले सात हजार ९७८ र माओवादीले तीन हजार १७४ मत पाएको थियो।

अर्को निर्णायक राप्रपाले सात हजार ३६० मत पाएको थियो।

स्थानीय तहको सत्ता गठबन्धनको भोट कतै नहल्लिए ओनसरीले २८ हजार ५२१ पाउने देखिन्छ। यति आए एमालेको उम्मेदवारभन्दा सात हजार बढी मतले उनी विजयी हुनेछिन्।

प्रतिनिधि सभाको मतदानमा काँठको उम्मेदवारको प्रभाव पर्ने गरेकाले स्थानीय तहको मत जोगाउन गठबन्धनलाई सहज देखिँदैन।

५ कात्तिक, २०७९, ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।