माछापुच्छ्रे बैंक रकम हिनामिना प्रकरण: राष्ट्र बैंकले थाल्यो स्थलगत अनुसन्धान, पीडित भन्छन्- आरोपितलाई पूर्वमन्त्री शुक्लाको छ संरक्षण

माछापुच्छ्रे बैंक रकम हिनामिना प्रकरण: राष्ट्र बैंकले थाल्यो स्थलगत अनुसन्धान, पीडित भन्छन्- आरोपितलाई पूर्वमन्त्री शुक्लाको छ संरक्षण

बुटवल: माछापुच्छ्रे बैंकको शाखारहित बैकिङ केन्द्रमा भएको रकम हिनामिनाबारे राष्ट्र बैंकले स्थलगत अनुसन्धान सुरु गरेको छ। उक्त शाखारहित बैकिङ केन्द्र बन्द गर्न निवेदन दिएको बारे बुझ्न नेपाल राष्ट्र बैंकको टोलीले बैंक रहेको स्थल रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ५ रोइनिहवा पुगेर स्थानीय पीडितसँग सोधपुछ गरेको छ।

एक हजारभन्दा बढी स्थानीयको रकम बैंक खातामा जम्मा गर्नुपर्नेमा स्थानीय एजेन्ट र व्यवस्थापकको योजनामा रकम जम्मा नभएको आरोप स्थानीयले लगाउँदै रकम फिर्ताका लागि दबाब दिइरहेका छन्। 

त्यसपछि स्थलगत अनुसन्धानका लागि पुगेका नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख उप–निर्देशक दीपक अधिकारी, नेपाल राष्ट्र बैंक भैरहवाका उप–निर्देशक जीवन प्रकाश पाण्डे र सह–निर्देशक विवेक बुढाथोकी, माछापुच्छ्रे बैंकका प्रादेशिक प्रमुख नारायण केसीसहितको टोलीले पीडित र एजेन्ट तथा व्यवस्थापकसँग सोधपुछ गरेको छ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख उप–निर्देशक दीपक अधिकारीले माछापुच्छ्रे बैंकले शाखारहित बैंकिङ केन्द्र बन्द गर्न दिएको निवेदनको विषयमा बुझ्न आफू रोइनिहवा आएको बताए।

पीडितको दावी- सर्वेन्द्रनाथ शुक्लाका कारण हामीले न्याय पाएनौँ
एक हजार बढी स्थानीयको करोडौँ रुपैयाँ हिनामिना प्रकरणमा पीडितहरूले राजनीतिक आडमा आफूहरूले न्याय नपाएको आरोप लगाएका छन्।

एजेन्ट निरञ्जन पाठक, व्यवस्थापक सिकेन्दर ठाकुर र बैंकका कर्मचारीको मिलेमतो भएको आशंका गर्दै आएका पीडितहरूले राजनीतिक पहुँचकै कारण उनीहरूलाई कारबाही नभएको आरोप लगाएका हुन्। 

पाठक र ठाकुरको राजनीतिक ‘कनेक्सन’ पूर्व शिक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लासँग भएकाले घटनाका दोषीमाथि कारबाही नभएको एक पीडितले बताए।

यो पनि,

माछापुच्छ्रे बैंकको व्यवस्थापन र एजेन्टको कर्तुत: हातमा पैसा जम्मा गरेको भौचर छ, खाता भने रित्तै

‘सर्वेन्द्रनाथले चाहेको अवस्थामा हामीले यो रकम पाउन कठिन थिएन। तर यहाँका जनताको भन्दा पनि आफ्ना मान्छेलाई बचाउनतर्फ शुक्ला लाग्दा हामीले न्याय पाएका छैनौँ’, एक पीडितले भने।

एजेन्ट पाठक ०७४ र ०७९ को निर्वाचनमा लोसपाबाट सम्मसरीमाई गाउँपालिकाकाको अध्यक्षको प्रत्यासी थिए। शुक्ला क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन्।

घटनामा संलग्नलाई कानूनी प्रक्रियामा ल्याउन सुरु गरियो: प्रवक्ता
यता बैंकले एक विज्ञप्ति जारी गर्दै शाखारहित बैंकिङ केन्द्रबाट स्थानीयको रकम हिनामिना गर्नेहरूमाथि अनुसन्धान सुरु भएको र सम्बन्धित क्षेत्रका प्रहरी कार्यालयबाट कानूनी उपचार खोज्न स्थानीयलाई आग्रह समेत गरेको छ। 

बैंकको अनलाइन सिस्टममार्फत रकम जम्मा नै नगरी आफैँ रकम राख्ने गरेकोले घटनामा संलग्नहरूलाई कानूनी प्रक्रियामा ल्याउन सुरु गरिएको बैंकका प्रवक्ता सुनिल खतिवडाले बताए।

बैंकले रुपन्देहीको सम्मरीमाईस्थित रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुजहानामा स्थानीय सर्वसाधारणहरूलाई सर्वसुलभ तरिकाले बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखारहित ग्राहक सेवा केन्द्रमार्फत करिब ५ वर्षअघिबाट सेवा सुरु गरेको थियो। 

पाठक भन्छन्–घटनलाई राजनीतिक रङ्ग दिइँदैछ, रकम हिनामिनामा मेरो संलग्नता छैन
माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा संचालनका लागि बैंकसँग सम्झौता गरेका स्थानीय निरञ्जन पाठकले भने आफू उक्त घटनामा संलग्न नरहेको दावी गरेका छन्। अहिले पीडितहरूले आफूलाई सर्वेन्द्रनाथ शुक्लासँग जोडेर विभिन्न आरोप लगाएको पनि उनले बताए।

पीडितहरूले सर्वेन्द्रनाथका विश्वासपात्र भएकै कारण राजनीतिक संरक्षणको आडमा पाठकमाथि कारबाही नभएको बताएका छन्। 

यता पाठकले भने रकम हिनामिना भएको विषयमा छानबिन र कानूनी कारबाही प्रक्रिया अघि बढाएर स्थानीयले जम्मा गरेको एक–एक रुपैयाँ पाउनुपर्ने समेत बताए।

स्थानीयलाई बैंकिङ सेवा उपलब्ध गराउन आफूले बैंकसँग २०७४ सालमा शाखारहित बैंकिङ सेवा संचालनका लागि सम्झौता गरेको र २०७६ सालपछि उक्त सम्झौता नवीकरण नगरी उक्त कारोबारबाट अलग रहेको उनको भनाइ छ। 

आफूले सम्झौता गरेपछि सेवा कार्यालय संचालनका लागि स्थानीय सिकन्दर ठाकुरलाई बैंकको रोहबरमा नियुक्त गरेको र सबै कारोबार उनीबाटै हुने गरेको उनले बताए। 

उक्त सेवा कार्यालयबाट केही रकम हिनामिना भएको थाहा पाएपछि विगत तीन महिनाअघिदेखि नै छानबिन गर्न आफूले समेत माग गरेको उनले बताए।

२ कात्तिक, २०७९, ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।