कर्णालीमा किचलो : गठबन्धनका उम्मेदवारविरुद्ध क्षेत्रैपिच्छे बागी नै बागी

कर्णालीमा किचलो : गठबन्धनका उम्मेदवारविरुद्ध क्षेत्रैपिच्छे बागी नै बागी

सुर्खेत : कर्णाली प्रदेशमा गठबन्धन दलभित्रै किचलो सुरु भएको छ।

एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको केन्द्रीय निर्णयविपरीत उम्मेदवारी दिएपछि किचलो भएको हो। प्रतिनिधि सभामा तीन र प्रदेश सभामा जम्मा दुई सिट भागमा परेपछि पार्टीको नेतृत्त्व तहमै रहेका नेताहरूले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएर विद्रोह गरेका छन्।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा एकीकृत समाजवादीले दलबाट उम्मेदवार उठाएको छ। चुनावी चर्चा सुरु भएदेखि नै उसले सुर्खेतको क्षेत्र नम्बर २ प्रदेश (ख)को भाग मागेको थियो। तर, गठबन्धनको केन्द्रीय संयन्त्रले कुनै क्षेत्र पनि भागमा नदिएपछि नेताहरूले मनमौजी उम्मेदवारी दिएका हुन्।

यद्यपि उम्मेदवारहरूले भने सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा पार्टीकै निर्णयअनुसार उम्मेदवारी दर्ता गराएको दाबी गर्दै आएका छन्। अहिले समाजवादीका नेताहरू चुनावी अभियानमा जनताको घरदैलोमा समेत पुगेका छन्।

गठबन्धनको निर्णयअनुसार प्रदेश सभातर्फ सुर्खेत–२ (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बने पनि एकीकृत समाजवादीले (क) मा जिल्ला इञ्चार्ज शिवप्रसाद उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवालले उम्मेदवार बनाएर चुनावी अभियान चलाइरहेको छ।

दुई प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा कांग्रेसलाई दुई प्रतिनिधि सभासहित दुई प्रदेश सभा र माओवादीलाई दुई प्रदेश सभा भाग लगाइएको हो। क्षेत्र नम्बर १ को (क) गठबन्धनका साझा उम्मेदवार माओवादीका कृष्ण जिसी छन्।

यो क्षेत्रमा कांग्रेस केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्का प्रतिनिधि सभातर्फ चुनाव लड्दैछन्। प्रतिनिधि सभातर्फको क्षेत्र नम्बर २ मा भने कांग्रेसकै पूर्व केन्द्रीय सदस्य हृदयराम थानी लड्दैछन्।

गठबन्धन दलहरूको निर्णय अनुसार प्रतिनिधि सभातर्फ सल्यान, दैलेख–१ र डोल्पा तथा प्रदेश सभातर्फ मुगु (क) र जुम्ला (ख) नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। एकीकृत समाजवादीका नेताहरूले रुकुमपश्चिम बाहेक आफ्नो उम्मेदवार नभएको क्षेत्रमा गठबन्धनकै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्।

गठबन्धनको केन्द्रीय निर्णयअनुसार एकीकृत समाजवादीका उप–महासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार छन् भने डोल्पामा धनबहादुर बुढा, दैलेख क्षेत्र नम्बर १ बाट प्रदेश अध्यक्ष अम्मरबहादुर थापा उम्मेदवार छन्।

यस्तै प्रदेशसभा सदस्य पदका लागि जुम्ला (ख) बाट पदमबहादुर रोकाया र मुगु (क) बाट गोपाल बम गठबन्धनका साझा उम्मेदवार बनेका छन्। कर्णालीमा प्रदेश सभातर्फका ५ वटा निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका नेताहरूले गठबन्धन दलको निर्णयविरुद्ध उम्मेदवारी दिएका छन्।

गठबन्धनको केन्द्रीय संयन्त्र र स्वयं एकीकृत समाजवादीको केन्द्रीय कमिटीले समेत गठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन र उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिँदासमेत उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्।

सुर्खेतका दुई वटा निर्वाचन क्षेत्र, हुम्ला र कालिकोटका बागी उम्मेदवार पार्टीकै चुनाव चिन्हबाट चुनावी मैदानमा होमिएका छन् भने अन्यले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। सुर्खेतका उपाध्याय र बडुवाल दुवैले एकीकृत समाजवादीकै चुनाव चिह्न ‘कलम’ लिएर चुनावी मैदानमा होमिएका हुन्।

समाजवादीका दैलेख इञ्चार्ज टेकबहादुर खानले पनि गठबन्धनकै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन्। उनी स्वतन्त्रबाट निर्वाचन लड्दैछन्। उनले गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कृष्णकुमार विसीविरुद्ध उम्मेदवारी दिएका हुन्।

दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश अध्यक्ष अम्मरबहादुर थापा गठबन्धनका साझा उम्मेदवार हुँदा–हुँदै पनि प्रदेश सभा निर्वाचन क्षेत्र १ (ख) मा एकीकृत समाजवादीका जिल्ला इञ्चार्जले नै बागी उम्मेदवारी दिँदा कांग्रेसलाई असर पर्ने नेताहरूको अनुमान छ।

यस्तै, एकीकृत समाजवादीका जाजरकोट जिल्ला अध्यक्ष कमानबहादुर खड्काले पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वेदराज सिंहविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले जाजरकोट (क) बाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य हस्तबहादुर शाहीले हुम्ला (क) बाट गठबन्धनको साझा उम्मेदवार माओवादीका रनसिंह परियारविरुद्ध उम्मेदवारी दिएका छन्। कांग्रेसका मंगलबहादुर शाहीले पनि यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

एकीकृत समाजवादीका कालिकोट जिल्ला अध्यक्ष विश्वराज बमले प्रदेशसभा (ख) मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनका साझा उम्मेदवार कांग्रेसका हिक्मत बहादुर विष्टविरुद्ध बमले उम्मेदवारी दिएका हुन्।

यता गठबन्धन दलभित्रका कांग्रेस र माओवादीका नेताहरूले भने समाजवादीका नेताहरूले राजनीतिक इमानदारिता नदेखाएको भन्दै आपत्ति जनाएका छन्।

पार्टीको निर्णय नमाने कारबाही हुन्छ : अध्यक्ष थापा
एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले गठबन्धन दलहरूको निर्णयविरुद्ध उम्मेदवारी दिनेलाई कारबाही गरिने जानकारी दिए।

दलको चुनाव चिन्ह लिएर उम्मेदवार बनेकाहरूलाई तीन दिनभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन गरिसकेको उनले बताए।

‘पार्टीको प्रदेश अध्यक्षको हैसियतले उम्मेदवारी फिर्ता गर्नका लागि निर्देशन दिइसकेको छु, त्यसको बोधार्थ केन्द्रमा पनि पठाइसकिएको छ,’ अध्यक्ष थापाले भने, ‘पार्टीको निर्णय नमानेर स्वतन्त्र वा पार्टीकै चुनाव चिन्ह लिएकाहरूले तीन दिनभित्र उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्छौं।’

केन्द्रस्तरबाट गठबन्धन दलहरूका शीर्ष नेताहरूले गरेको निर्णय सबै पार्टी कार्यकर्ताले मान्नुपर्ने थापाको भनाइ छ।

थापा आफैँ दैलेख–१ बाट प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन्।

१ कात्तिक, २०७९, १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।