तिहारमा साढे २४ लाख फूलका माला खपत हुने, गोदावरी र मखमलीको मूल्य वृद्धि हुँदा सयपत्रीको स्थिर

तिहारमा साढे २४ लाख फूलका माला खपत हुने, गोदावरी र मखमलीको मूल्य वृद्धि हुँदा सयपत्रीको स्थिर

यो वर्षको तिहारमा करिब साढे २४ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोशिएशन नेपाल (फान) का अनुसार गत वर्षको तिहारमाभन्दा यस पटक दुई लाखले बढेर साढे २४ लाख फूलको माला खपत हुने भएको हो।

तिहारभर (पाँच दिन) मा करिब २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान छ।

नेपालमा तिहारका लागि गत वर्ष करिब १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो। यो वर्ष करिब साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ।

सयपत्रीको मालाको मूल्य ५५, कारोबार ११ करोड
तिहारको समयमा विशेषगरी शहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको छ। यस्तै १५ प्रतिशत सयपत्री फूल आयात गर्नुपर्ने अवस्था छ। 

ग्रामिण क्षेत्रमा भने शत प्रतिशत नै आन्तरिक उत्पादनले धान्ने गरेको छ।

गत वर्षको तिहारको तुलनामा यो वर्ष करिब १० प्रतिशत सयपत्रीको मालाको कारोबार बढ्ने अनुमान गरिएको छ। गत वर्षको तिहारमा करिब १० करोडको सयपत्री फूलको कारोबार भएको थियो भने यो वर्ष ११ करोडको कारोबार हुने अनुमान छ।

फानका अनुसार गत वर्षको तिहारमा १८ लाखभन्दा बढी व्यावसायिक सयपत्रीका माला खपत भएका थिए। यो वर्षको तिहारका लागि आवश्यक सयपत्री फूलको मागको आपूर्तिका लागि खासै समस्या नहुने फानले जानकारी दिएको छ।

यस्तै गत वर्ष सपपत्रीको प्रतिगोटा मालाको मूल्य औसत ५५ रुपैयाँ थियो। यो वर्ष सयपत्रीको मालाको मूल्य नबढ्ने देखिएको छ। 

तिहारमा सबैभन्दा बढी सयपत्री फूलको खपत हुन्छ।

मखमलीको माला प्रतिगोटा ४०, कारोबार एक करोड ७० लाख
त्यसैगरी गत वर्षको तिहारमा करिब साढे एक करोडको मखमली खपत भएको थियो भने यो वर्ष एक करोड ७० लाखको कारोबार हुने अनुमान गरिएको छ।

सयपत्रीपछि दोस्रो बढी खपत हुने फूल मखमलीको माला भने नेपालबाट निर्यात समेत हुने गरेको फानले जनाएको छ। यो वर्ष करिब एक लाख मखमलीका माला निर्यात हुने अनुमान छ।

नेपालमा भने करिब साढे तीन लाख मखमलीका व्यावसायिक रूपमा उत्पादित माला खपत हुन्छन्। गत वर्ष मखमलीको प्रतिगोटा मालाको औसत ३५ रुपैयाँ मूल्य परेको थियो। यो वर्ष ४० पर्ने अनुमान छ।

गोदावरी मालाको चार सय
गत वर्षको तिहारमा करिब ५२ लाख मूल्य बराबरको गोदावरी कारोबार भएको थियो भने यो वर्ष करिब ८० लाख मूल्यको गोदावरी फूलको कारोबार हुने अनुमान गरिएको छ। खपतको हिसाबले तिहारमा तेस्रो सर्वाधिक खपत हुने फूल हो, गोदावरी। 

त्यसो त अन्य फूलको तुलनामा गोदावरीको माला महँगो पर्छ। गत वर्ष प्रतिगोटा ३५० परेको गोदावरीको माला यो वर्ष चार सय पर्ने देखिएको छ।

जावलाखेलमा गोदावरी मेला
त्यसैगरी तिहारअघि कात्तिक ३ गतेदेखि चार दिने गोदावरी फूलको प्रदर्शनी (मेला) हुने भएको छ। फानको आयोजना र पुष्प विकास केन्द्रको सहयोगमा ललितपुरको जावलाखेलस्थित खेल मैदानमा गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी हुने भएको हो।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ प्रतियोगितात्मक प्रदर्शन हुन लागेको मेलाका संयोजक सीताराम पन्तले जानकारी दिए।

फानले तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाएको छ। प्रदर्शनीमा व्यावसायिक स्टल ४९ वटा, प्रतियोगितात्मक स्टल दुई वटा र सूचनामूलक स्टल ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरू रहने पन्तले जानकारी दिए।

यो वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र करिब ८० लाखसम्मको व्यावसायिक कारोबार हुने फानको अनुमान छ।

नेपाली फूलको प्रतिस्पर्धा भारतीय फूलसँग
नेपाल ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर रहेको फानका अध्यक्ष मीनबहादुर तामाङले बताए। कोरोना महामारीका समयमा अन्य क्षेत्रमा जस्तै पुष्प व्यवसायमा पनि प्रभाव परेको थियो। विस्तारै पुष्प व्यवसाय तङ्ग्रिदै गएको र अहिले भने करिब दश प्रतिशतभन्दा बढीले फूलको माग र उत्पादन बढेको तामाङले बताए। 

नेपाली फूलले भारतीय फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए।

फैलँदो पुष्प व्यवसाय
नेपालमा २०११ बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय सातै प्रदेशमा व्यावसायिक खेती गर्ने क्रम बढिरहेको छ। विशेषगरी शहरी क्षेत्रमा फूलका पारखीको संख्या बढ्दो छ। 

हाल नेपालका ४८ जिल्लामा करिब १७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भएको फानले जनाएको छ। त्यसैगरी ७३२ भन्दा बढी पुष्प व्यवसायी रहेका छन्। पुष्प व्यवसायमा साढे ६ अर्बभन्दा बढीको लगानी छ।

आर्थिक वर्ष २०७८/०७९ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्याततर्फ करिब ९९ लाख र आयाततर्फ करिब ३६ करोड बराबरको कारोबार भएको फानले जानकारी दिएको छ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा परोक्ष रूपमा ४३ हजार ५०० भन्दा बढी जनशक्तिहरू आबद्ध छन्। तर, कोरोना भाइरस सङ्क्रमणका कारण करिब १० प्रतिशतले यो पेशाबाट रोजगारी गुमाउनुपरेको फानको तथ्याङ्क छ।

१ कात्तिक, २०७९, ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।