किरण खरेल, अनुराधा कोइराला र वासुदेव त्रिपाठीलाई भारती खरेल स्मृति पुरस्कार

किरण खरेल, अनुराधा कोइराला र वासुदेव त्रिपाठीलाई भारती खरेल स्मृति पुरस्कार

काठमाडौं : कोभिड–१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार तीन स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरिएको छ।

भारती खरेल प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालका संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिने निर्णय गरेको सदस्य सचिव प्रयागराज भट्टराई वाशिष्ठले जानकारी दिए।

सम्मानपत्र सहित ५१ हजार रूपैयाँ राशीको पुरस्कार स्व. खरेलको ८५औं जयन्तीका अवसरमा आगामी मंसिर १६ गते वितरण गरिने छ।

२०४९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्म जयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्ति लगायत विभिन्न क्षेत्रमा आवद्ध विशिष्ठ व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ।

२०४९ सालमा भारती खरेल प्रतिष्ठान स्थापना भएदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कार स्वामी प्रपन्नाचार्य, दयारवीर सिंह कंसकार, भीमबहादुर अधिकारी, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घले लगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्संग परिवार, अद्वैत संस्था, महेश गुरुकुल सन्याश्रम लगायत संस्थाहरुलाई समेत प्रदान गरिसकिएको छ।

२९ असोज, २०७९, २२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।