सुर्खेतको समानुपातिक सूची : नौ जनाको सम्भावना बलियो, अरुको अवस्था कस्तो ?

सुर्खेतको समानुपातिक सूची : नौ जनाको सम्भावना बलियो, अरुको अवस्था कस्तो ?

सुर्खेत : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कर्णाली प्रदेशका अन्य जिल्लाको भन्दा सुर्खेतबाट समानुपातिका सांसदहरूको संख्या बढ्ने देखिएको छ।

कर्णालीका १० जिल्लामध्ये समानुपातिकतर्फ प्रतिनिधि सभा र कर्णाली प्रदेश सभाको लागि प्रमुख दलहरूले बुझाएको सूची विश्लेषण गर्दा सुर्खेतबाट मात्रै कम्तीमा ९ जना सांसद हुने बलियो सम्भावना छ।

सबैभन्दा बढी कांग्रेसबाट ४ वा ५ जना, एमालेबाट २ जना, माओवादी केन्द्रबाट १ जना र राप्रपाबाट १ जना सांसद बन्ने बलियो सम्भवना देखिन्छ।

कर्णाली प्रदेश सभाको लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको १६ जनाको सूचीमा ४ जना सुर्खेतका छन्। चारै जना आ–आफ्नो क्लस्टरबाट पहिलो नम्बरमा छन्। झकबहादुर डाँगी खर्सआर्य (पुरुष), जानकी सिंह खर्सआर्य (महिला), बलिमाया ओली आदिवासी जनजाति (महिला) र सन्जुसिंह विश्वकर्मा दलित (पुरुष)को पहिलो नम्बरमा रहेका छन्।

आगामी प्रदेश सभामा कांग्रेसले समानुपातिकतर्फ ४ देखि ६ सिट पाउने अनुमान गरिएको छ। कांग्रेसले प्रदेश सभामा प्रत्यक्षतर्फ १२ जना उम्मेदवार उठाएको छ। ती सबै पुरुष हुन्। प्रत्यक्षतर्फ सबै उम्मेदवार विजयी भएको खण्डमा भने डाँगी र विश्वकर्मा नपर्न सक्छन्।

प्रदेश सभामा पार्टीको तर्फबाट प्रतिनिधित्त्व गर्ने कूल सदस्यको ३३ प्रतिशत महिला हुनुपर्ने बाध्यताका कारण सबै महिला हुन सक्छन्। यस्तो अवस्थामा समानुपातिकबाट महिलाको सम्भावना बढ्छ।

एमालेमा पनि ३ जनाको नाम समानुपातिक सूचीमा रहेको छ। तीमध्ये २ बालाराम शर्मा र नन्दा गुरुङको सांसद बन्ने लगभग निश्चित छ। शर्माको नाम खसआर्य (पुरुष) तर्फ १ नम्बरमा र गुरुङको नाम आदिवासी जनजाति (महिला) तर्फ १ नम्बरमा रहेको छ।

एमालेले यसपटक समानुपातिकमा ५ सिट पाउने अनुमान गरिएको छ। प्रत्यक्षतर्फ सबै पुरुष उम्मेदवार उठाएको छ। सत्ता गठबन्धनको कारण २०७४ मा जस्तो सबै उम्मेदवार नजित्ने भएकोले शर्माको सम्भावना देखिएको हो।

माओवादी केन्द्रले बुझाएको १६ जनाको सूचीमा सुर्खेतबाट देवीसरा सुनारमात्र परेकी छन्। उनको नाम दलित (महिला)तर्फ २ नम्बरमा छ। माओवादीले यसपटक समानुपातिकतर्फ ४ सिट पाउने अनुमान गरिएको छ। चारै जना महिला पर्ने अवस्थामा मात्र सुनारको सांसद हुने सम्भावना छ।

प्रदेश सभामा कम्तीमा एक सिट पाउने अनुमान गरिएको एकीकृत समाजवादीमा सुर्खेतबाट समानुपातिकर्फ सांसद हुने संभावना निकै न्यून रहेको छ। उक्त पार्टीले बसन्त विकको नाम दलित (पुरुष)तर्फ १ नम्बरमा र अनु आँकुराको नाम दलित (महिला) तर्फ २ नम्बरमा राखेको छ। प्रदेश सभामा अन्य दलबाट समावेशी सन्तुलन मिलेको सन्दर्भमा विक सांसद बन्ने सम्भावना रहन्छ।

राप्रपाबाट भने सन्तोषी शाही सांसद बन्ने सम्भावना छ। शाहीको नाम खसआर्य (महिला) तर्फ १ नम्बरमा छ। राप्रपाले कर्णालीमा १ सिट पाउने अनुमान गरिएको छ। यो अवस्थामा उनी सांसद हुन सक्छिन्। उक्त पार्टीबाट सूर्यबहादुर शाही खसआर्य (पुरुष) तर्फ २ नम्बरमा, झहरे सुनार दलित (पुरुष) तर्फ २ नम्बरमा र हरिकला तारामी आदिवासी जनजाति (महिला) तर्फ २ नम्बरमा रहेकी छन्।

कांग्रेस र एमालेले समानुपातिकमा सिट बढाएको अवस्थामा भने एकीकृत समाजवादी वा राप्रपामध्ये एक दलको समानुपातिकतर्फ प्रतिनिधित्व नहुन पनि सक्छ।

यस्तै प्रतिनिधि सभामा सुर्खेतबाट लोकबहादुर विश्वकर्माबाहेक अन्यको समानुपातिकतर्फ सांसद हुने सम्भावना निकै कम देखिन्छ। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको सूचीमा विश्वकर्माको नाम दलित (पुरुष) तर्फ २ नम्बरमा छ।

सुर्खेतबाट उनीसहित शिवराज जोशी र उपेन्द्रबहादुर थापा (नागरिता अछाम) पनि सूचीमा परेका छन्। तर, जोशीको नाम खसआर्य (पुरुष) तर्फ १४ नम्बर र थापाको १६ नम्बरमा छ। थापा पिछडिएको क्षेत्रतर्फ पनि सूचीकृत भएकाले जोशीको भन्दा उनको सम्भावना बढि हुन्छ। तर, पिछडिएको क्षेत्रमा उनीभन्दा अगाडि हुम्लाका जयपति रोकाया, जुम्लाकी कान्तिका सेजुवाल तथा जाजरकोटकी मैना रावल छन्।

रोकाया खसआर्य पुरुषतर्फ ८ नम्बर र पिछडिएको क्षेत्रमा पुरुषतर्फ १ नम्बर, सेजुवाल खसआर्य महिलातर्फ ८ नम्बर र पिछडिएको क्षेत्रमा महिलातर्फ १ नम्बर र रावल खसआर्य महिलातर्फ ९ नम्बर र पिछडिएको क्षेत्रमा महिलातर्फ २ नम्बरमा छन्। त्यसैले थापा पिछडिएको क्षेत्रबाट सांसद हुने झिनो सम्भावना छ।

एमालेबाट गेहेन्द्रप्रसाद दाहालको नाममात्र सूचीमा परेको छ। उनी खसआर्य (पुरुष) तर्फ ९ नम्बरमा छन्। यसपटक प्रत्यक्षतर्फ एमालेका उम्मेदवार कम विजयी भएमा समानुपातिकतर्फ पुरुषको प्रतिनिधित्व बढ्न सक्छ। यस्तो अवस्थामा दाहाल सांसद बन्ने अनुमान छ।

माओवादी केन्द्रमा पनि हरिमाया शर्मामात्र बन्दसूचीमा परेकी छन्। उनको नाम खसआर्य (महिला) तर्फ ७ नम्बरमा छ। माओवादी केन्द्रले समानुपातिक सिटको संख्या हेर्दा शर्माको सांसद बन्न सक्छिन्।

एकीकृत समाजवादीबाट पनि एकजना मात्र सीताकुमारी शर्मा परेकी छन्। उनको नाम खसआर्य (महिला) तर्फ १७ नम्बरमा छ। राप्रपाको सुर्खेतबाट मुकुन्दश्याम गिरी पनि समानुपातिक सूचिमा छन्। उनको नाम खसआर्य (पुरुष) तर्फ ३ नम्बरमा छ।

राप्रपाबाट सुर्खेतका गिरीसहित कर्णकुमारी श्रेष्ठ आदिवासी जनजाति (महिला) तर्फ १२ नम्बरमा र सुनिता शाह खसआर्य (महिला) १० नम्बरमा रहेका छन्। तर, समाजवादी र राप्रपाले सांसद् पाउने सम्भावना भने न्यून छ।

२९ असोज, २०७९, १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।