हिजो आजका कुरा: धेरै पात्र र धेरै विषयलाई एकसाथ देखाउँदा गञ्जागोल भएको फिल्म

हिजो आजका कुरा: धेरै पात्र र धेरै विषयलाई एकसाथ देखाउँदा गञ्जागोल भएको फिल्म

नामै नोस्टाल्जिक बनाउने- 'हिजो आजका कुरा'।

करिब तीन दशकअघि प्रशारण भएको यो नामको टेलिश्रृङ्खलालाई मानिसहरू टेलिभिजनमा पर्खेर हेर्थे। 'आमाभन्दा छोरी तरुनी' जस्ता थेगोदेखि सन्तोष पन्तको ढाडमा राखिएको टीबी (टुभरक्लोसिस) निस्केको पोको देखेरै मानिसहरू हास्थे।

तर, फिल्म हिजो आजका कुरा र टेलिश्रृङ्खला हिजो आजका कुराबीच आकाश-जमीनको अन्तर छ, सन्तोष पन्त र रमा थपलियाको सम्बन्धबाहेक।

अरू त अरू, फिल्म कमेडी विधामा बनेको पनि होइन। विषयवस्तु नै फरक छ।

फिल्मकै कुरा गरौँ।

उच्च वर्गका परिवारले भोगिरहेको समस्यामा आधारित फिल्म हो हिजो आजका कुरा। निश्चित वर्गको कथा भएकाले यो फिल्मले मध्यम र निम्न वर्गका परिवारलाई खासै छुँदैन।

फिल्मको बलियो पाटो पटकथा हो। धेरै पात्रहरू भए पनि फिल्मले गन्तव्यमा पुर्याएरै छाड्छ, भड्किँदैन।

फिल्ममा भविष्य खोज्दै युरोप पुगेका नयाँ पुस्ता र घर कुरेर नेपाल बसेका बाबुआमाको कथा छ। जसरी हुन्छ युरोप जाने सपना बोकेका नयाँ पुस्ताको कथा छ। अर्काको देशमा पुगेर आफ्नै देशमा सेटल हुने सपना बोकेका युवाको कथा छ। र, देश नछाड्ने चक्करमा घरबार त्यागेर बसेकाहरूको कथा छ।

रोजगारीको सिलसिलामा भारत र खाडी मुलुक पुगिरहेकाहरू, भविष्य सपार्न गाउँमा बा-आमा छाडेर शहर हिँडेका युवाहरूको परिस्थिति फिल्मको कथा जस्तै भए पनि त्यहाँको उच्च वर्गीय रहनसहनका कारण अपनत्व महसुस हुँदैन। 

बाबुछोरा महँगो रक्सीमा चिर्यस् गर्नु, महिला पात्र घरमै बस्दा पनि सधैँ भारतीय टेलिसिरियलमा जस्तै चटक्क मेकअप र गहना लगाएर बस्नु, फिल्ममा घरको काम गर्न बसेको मानिस समेत महँगो बाइकमा गर्लफ्रेण्ड घुमाउने हैसियत राख्नु लगायत धेरै कारणले फिल्मले निम्न र मध्यम वर्गका दर्शकलाई छुँदैन।

तर, उच्च वर्गका दर्शकलाई स्टोरीवर्ल्डमा लैजान भने सफल छ फिल्म। यो हिसाबमा फिल्म अब्बल छ।

फिल्मको बलियो पाटो पटकथा हो। धेरै पात्रहरू भए पनि फिल्मले गन्तव्यमा पुर्याएरै छाड्छ, भड्किँदैन।

श्रीमान् विदेशमा, श्रीमती नेपालमा। लङ डिस्टेन्स रिलेसनसिपले निम्त्याएका गम्भीर समस्याहरू यतिबेला भोगिरहेको छ नेपाली समाजले। तर, फिल्ममा डकुमेन्ट पूरा भएर पनि विदेश जान नपाएको पात्रका रूपमा मात्रै देखाइयो यो पक्षलाई। डिपेन्डेन्टमा विदेश जाने चक्करमा भान्सामा थुनिनुपरेको पीडा मात्रै सुनाइयो।

यद्यपि, धेरै कलाकारहरू भएकाले कुन पात्र केका लागि त्यहाँ छन् भन्ने छुट्याउनै समस्या पर्छ। फिल्मको कथा कसको आँखाबाट भनिएको हो थाहा पाउन सकिँदैन। केही पात्रहरू यस्ता छन्, जसको पर्दाका आउनु, जानुको कुनै अर्थ छैन।

कमजोरीका कुरा

फिल्मका कमजोरीमा पात्रहरूको घुँइचोलाई नै पहिलो नम्बरमा राख्नुपर्छ। माइकल (विनायक कुँइकेल) को असली परिचय के हो? उनी घरको काम गर्ने मानिस हुन्, या परिवारको सदस्य? यदि बुढा बा-आमा हेर्ने उनको काम थियो भने निस्फिक्री बाहिर हिँड्दा पनि किन जागिर जाँदैन?

माइकल आष्ट्रेलिया लैजाने भन्दै केटी पट्याउन मात्रै फिल्ममा राखिएको पात्र जस्तो देखिएका छन्। 

केकी अधिकारीको केमियो भूमिका छ। उनलाई चाहिनेभन्दा निकै कम समय दिएको देखिन्छ।

श्रीमान् विदेशमा, श्रीमती नेपालमा। लङ डिस्टेन्स रिलेसनसिपले निम्त्याएका गम्भीर समस्याहरू यतिबेला भोगिरहेको छ नेपाली समाजले। तर, फिल्ममा डकुमेन्ट पूरा भएर पनि विदेश जान नपाएको पात्रका रूपमा मात्रै देखाइयो यो पक्षलाई। डिपेन्डेन्टमा विदेश जाने चक्करमा भान्सामा थुनिनुपरेको पीडा मात्रै सुनाइयो।

'डाइपर भिसा'मा अमेरिका पुगेर एक महिनामै नेपाल फर्केको पात्रको कथा, बुढेशकालमा श्रीमान् श्रीमती छुट्टिनुपर्दाको पीडा, बुढा भएका बाउ आमालाई छाड्न नसक्नु र विदेशमा बसाएको अर्को संसार पनि छोड्न नसक्नुको पीडा, विदेश बसेकाहरूको सोच र पुरानो सोचबीचको फरक, 'जेनेरेशन ग्याप' हुँदा आएका फरक सोचाइ। फिल्ममा पीडाहरू धेरै छन्। आन्तरिक द्वन्द्व धेरै छन्। त्यसैले अलमल पनि धेरै छ। 

धेरै विषय एकसाथ देखाउन खोज्दा फिल्म गञ्जागोल भएको छ। धेरै गुलियो भएर तीतो भएजस्तो!

एउटा दृश्य छ, भर्खर किशोरावस्था पार गरेकी युवती र ३८ वर्षको केटोको विहे। उमेर अन्तरका कारण यी दुईको सम्बन्धविच्छेद हुने समयसम्म फिल्म अगाडि बढ्छ र अन्त्यमा त्यसलाई सपना भनिन्छ। यो निकै अपत्यारिलो र समयको बर्बादी मात्र देखियो।

'रिडिमा काली मिसाको' भन्ने गीत अटाउन मात्रै यति लामो सपना देखाइएको थियो भने यो फिल्म एडिटरको निकै फितलो काम हो।

फिल्मको ब्याकग्राउण्ड म्युजिकमा खासै मेहनत देखिँदैन। कलाकारको रोदन देखाउने समयमा बज्ने सङ्गीत भने राम्रो छ।

फिल्मले निकै गम्भीर विषयवस्तु उठान गरेको छ- उमेर अन्तरका कारण बदलिएको सोचाइ, आधा पश्चिमा आधा पूर्वीय संस्कारमा रुमल्लिएको नेपाली समाज, बा-आमालाई वृद्धाश्रममा छाड्न हुँदैन भन्ने संस्कार तर देश छाडेर सात समुद्र पारी जानुपर्ने बाध्यताबीचको ऐंठन।

क्यामेराको काम कलात्मक छैन, सामान्य छ। स्टिल फ्रेम, एक्सन र कट। दृष्यको भाषा यत्तिमै सीमित छ।

केही विवादित विषय पनि छ फिल्ममा। जस्तो आईएनजीओले क्रिष्टियन धर्म फैलाएको कुरा। यस्ता विषयलाई फिल्मले नसमेटेको भए राम्रो हुन्थ्यो होला। 

त्यस्तै महिलालाई अवसरवादसँग जोडेर देखाइएका छन् कतिपय दृष्यमा। विदेश लैजान्छ भन्दै प्रेमको नाटक गर्ने केटी मात्रै होइन, केटा पनि उत्तिकै छन्। फिल्मले एकतर्फी स्टेटमेन्ट दिँदा लेखकमा पुरातन सोच हावी भएको देखिन्छ।

सबल पक्षका कुरा

फिल्मको अन्त्य सुन्दर छ। अद्वेत (दिव्य देव) र शिखा (ऋचा शर्मा)को प्रेम र विवाह स्वाभाविक देखाउनुका साथै अन्य फिल्महरूमा जस्तो अन्त्यलाई अपुरो छाडिएको छैन। 

फिल्मले निकै गम्भीर विषयवस्तु उठान गरेको छ- उमेर अन्तरका कारण बदलिएको सोचाइ, आधा पश्चिमा आधा पूर्वीय संस्कारमा रुमल्लिएको नेपाली समाज, बा-आमालाई वृद्धाश्रममा छाड्न हुँदैन भन्ने संस्कार तर देश छाडेर सात समुद्र पारी जानुपर्ने बाध्यताबीचको ऐंठन।

त्यसैले फिल्म कमेडी होला भन्ने उद्देश्यले तपाईं हल छिर्नुभयो भने तपाईंलाई फिल्म रमाइलो नलाग्न सक्छ।

फिल्म हास्यप्रधान होइन, गम्भीर छ। चुुक पात्र ब्यवस्थापनमा मात्र हो। अभिनय खोट लगाइहाल्नुपर्ने देखिदैन। पहिलो हाफमा अझेै सम्पादनको स्थान टन्नै देखिन्छ। 

२९ असोज, २०७९, ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।