पाला र भिउँट बनाउन व्यस्त भक्तपुरका प्रजापति, भन्छन्– ‘गुठीले माटो दिन छाडे पनि हामीले सामान दिन छाडेका छैनौं’

पाला र भिउँट बनाउन व्यस्त भक्तपुरका प्रजापति, भन्छन्– ‘गुठीले माटो दिन छाडे पनि हामीले सामान दिन छाडेका छैनौं’

काठमाडौं : हरेक घरभित्र बनिरहेको विभिन्न आकृतिका भाँडा। आँगन नै भरिने गरी सुकाइएका पाला। माटाका भाँडा भट्टीमा पकाइँदै। दङ्ग परेर हेर्दैछन् पर्यटक। कतिपय त आफैँ बनाउन पनि हाैसिन्छन्। तर पुगेन ढङ्ग। आजकल यस्तै दृश्य देखिन्छ, भक्तपुरको ‘पोटरी स्क्वायर’मा।

पुर्ख्यौली पेशा अंगालेका यहाँका प्रजापति समुदाय अन्य समयभन्दा असोज र कार्तिक एकदमै व्यस्त हुने गर्छन्। एक अर्कासँग कुरा गर्ने फुर्सद पनि हुँदैन। यो दुई महिना उनीहरूको लागि सिजन हो। अन्य समयभन्दा यो समयमा तेब्बर बढि व्यापार हुन्छ। मौसमसँगै चाडबाडका कारण पनि यो समय सामान बनाउन र बिक्रि गर्न उपयुक्त समय हो।

शरद ऋतुलाई विशेष गरि रोपाइँ सक्काएर किसानहरू आराम गर्ने समय मानिन्छ। तर, प्रजापति समुदाय भने यो समयमा आराम गर्न पाउँदैनन्। धेरै वर्षा नहुने र जाडोको समयमा जस्तो घाम नै नदेख्ने मौसम नभएकाले उनीहरू जति सक्दो खटेर काम गर्छन्।

यहाँका प्रजापतिहरूलाई आवश्यक पर्ने माटो सबै पहिले गुठी संस्थानले उपलब्ध गराउँदै आएको थियो। त्यस बापत उनीहरूले गुठी सस्थांनले गर्ने पूजाहरूमा माटोको भाडा दिनुपर्थ्यो। तर, गुठीका जग्गा निजी हुँदा र माटो पाइने ठाउँमा घर बन्दा अहिले आफैँले माटो किन्नुपर्छ।

तर, भक्तपुरमा हुने विशेष जात्रा र पुजामा भने अहिले पनि उनीहरू माटोको भाँडा सित्तैमा दिने गर्छन्।

‘हाम्रो परम्परा नै पूजामा दिनुपर्ने हो,’ एक व्यापारीले भने, ‘गुठीले माटो दिएन भन्दैमा हामीले पनि त्यहाँ आवश्यक माटाका सामान नदिने भन्ने त हुँदैन नि!’ अहिले भाँडा बनाउन यहाँ साँखुबाट माटो ल्याइने गरेको उनले बताए।

‘पोटरी क्लब’ क्षेत्रमा अहिले ४० भन्दा बढि प्रजापतिका घर छन्, जसले माटोको भाडा बनाउने काम गर्दै आएका छन्।

र्ख्यौली पेशा गर्नेहरूको संख्या केही समय घट्दै गरेको भए पनि अहिले भने बिस्तारै बढ्न थालेको उनीहरूको भनाइ छ। माटोको भाडा बनाउने नयाँ प्रविधि भित्रिएसँगै पेशा छोडेकाहरू पनि पुनः फर्किएका छन्।

भाडा बनाउन विशेष गरी उनीहरूले तीनवटा प्रविधि भित्र्याएका छन्। माटो पेल्ने, आकारमा ढाल्ने र भाँडा बनाएपछि पोल्न÷पकाउन भट्टीको प्रयोग गरिन्छ।

माटो पेल्ने र आकारमा ढाल्ने मेसिन प्रत्येकको आ–आफ्नै छ भने पोल्नका लागि भट्टी भने समुदायले मिलेर प्रयोग गर्छन्। भट्टी प्रयोग गरे बापत उनीहरूले समितिमा पैसा बुझाउनुपर्ने हुन्छ।

आफैँ परालको आगो बालेर भाडा पकाउँदा धेरै घाटा बेहोरेपछि समुदायकै पहलमा नयाँ प्रविधिको भट्टी ल्याइएको स्थानीय मोहन प्रजापतिले जानकारी दिए।

‘पराल सल्किँदै गएपछि भाँडाहरू पनि खस्ने हुन्थ्यो, कति त चलाउँदा पनि फुट्थे,’ उनले भने, ‘तर, अहिले भाँडा फुट्ने समस्या धेरै कम भएको छ।’

उनीहरूले ११ सदस्यीय समिति बनाएका छन्। जसमा भट्टीको प्रयोग कहिले र कसले गर्ने भनेर छलफल हुन्छ। समितिको निर्णयअनुसार समय मिलाएर पालैपालो सबैले भट्टी प्रयोग गर्छन्। त्यसै अनुसारले समितिमा केहि पैसा पनि तिर्नुपर्छ।

त्यस बाहेकको खर्च र आम्दानी भने प्रत्येक प्रजापति परिवारले व्यक्तिगत रूपमै गर्छन्। सामान अर्डर अनुसार बनाउने र बजारमा पुर्याउने काम पनि उनीहरू आ–आफैँ गर्छन्।

तिहारमा यहिँबाट सामानहरू अन्य शहरमा निर्यात हुने भएकाले अहिले उनीहरू अन्य सामानलाई थाँती राखेर पाला, भिउँट, ठेकी, धुपौरो बनाउन थालेका छन्। तिहारमा यी सामानको माग उच्च हुने गर्छ।

बाँकीको महिना भने उनीहरू अर्डर अनुसारको सबै प्रकारको भाडा बनाउँछन् । यहाँका प्रजापतिहरूलाई ‘कुमाले’ भनेर पनि चिनिन्छ। तर, उनीहरू आफूलाई कुमाले भन्दा पनि भक्तपुरका ‘प्रजापति’ नै भन्न रूचाउँछन्। 

२८ असोज, २०७९, १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।