तलेजुका पिएचडी होल्डर पुजारी नाइके, जसले सांसद बन्ने अफर लत्याए...

तलेजुका पिएचडी होल्डर पुजारी नाइके, जसले सांसद बन्ने अफर लत्याए...

यदि तपाईं भक्तपुर दरबार स्क्वायर जानुभएको छ, भने त्यहाँको सबै भन्दा ठूलो घण्टी अर्थात ‘तव गां’ सधै ताल्चा लगाएर राखेको देख्नु भएकै होला। तर, हरेक दिन विहान र साँझ भने त्यो खोलिन्छ, बजाइन्छ र फेरि ताल्चा लगाइन्छ। यसो गर्नुको सिधा अर्थ भने त्यसको ठिक अगाडीको तलेजु मन्दिर हो।

नेपालको तलेजु मन्दिर र तलेजु देवता आफैँमा निकै गोप्य रूपमा रहँदै आएको धार्मिक स्थल हो। त्यसको बारेमा त्यहाँको पूजारी बाहेक अरु कसैलाई थाहा हुँदैन। तव गां पनि त्यहाँको पूजारीले मात्र बजाउन पाउँछन्।

यो घण्टी सामान्यतया विहान र बेलुका बजाउने हो। तर, कुनै–कुनै बेला विशेष पूजा भयो भने दिउँसो पनि बजाउने गरिन्छ। यहाँको तलेजुमा विशेष पूजा वर्षको ३५ पटक हुने गर्छ। उक्त पूजा नित्य पूजा भन्दा एकदमै फरक हुन्छ।

तलेजु आफैँमा गोप्य मन्दिर भएको कारण गोप्य राख्नकै लागि यो घण्टीमा पनि ताल्चा लगाइएको हो। तलेजुमा पूजा गर्नु र पूजा सक्किएको घोषणा गर्नको लागि विगत ६१ वर्षदेखि सिद्दि वीर कर्माचार्यले यो घण्टी बजाउँदै आएका छन्।

वि.सं. २०१८ सालदेखि उनी यहाँ पुजारीको रूपमा छन्। ११ वर्षकै उमेरमा पुजारी भएका उनी वि.सं. २०३६ सालमा भने पुजारी नाइके भए।

विहान ४ बजे उठ्ने। नित्य कर्म सकाएर पूजाको तयारी गर्ने। भूकम्पको कारण क्षति भएर उनको घरमै इष्ट देवता पनि राखिएको छ। पहिला त्यहाँको पूजा गर्ने। अनि तलेजुमा पनि नित्य पूजा सक्काउने। त्यत्तिकैमा ८ बजिसकेको हुन्छ। अनि पढाउन जाने। खाना खाएर सामाजिक कार्यमा लाग्ने र साँझ फेरि पूजा गरेर घर फर्किने उनको दैनिकी हो।

उनी पूजा सक्काएर घण्टी बजाउन आउँदा सधैँ चप्पल र टोपी खोल्छन्। अनि ताल्चा खोलेर ढोगेर घण्टी बजाउन थाल्छन्। करिब एक मिनेट जति बजाएपछि फेरि ताल्चा लगाएर, ढोगेर आफ्नो चप्पल र टोपी लगाउने गर्छन्।

तलेजुको ‘पुजारी नाइके’ भनेपछि उनी आफैँमा साधारण मान्छे भने पक्कै हैनन्। उनीसँग तलेजुको गोप्यता जोगाइराख्ने जिम्मेवारी छ। सामान्य सर्वसाधारणले हेर्न नपाउने र नमिल्ने पूजा भव्यताका साथ गर्न पाउने पुर्ख्यौली अधिकार छ। तर, उनी एकदमै सरल देखिन्छन्। हँसिलो अनुहार, स्फूर्ति शरीर र सादगीपनलाई उनी आफ्नो तागत मान्छन्।

जति गोप्य राख्यो त्यतिनै उत्सुकता र महत्त्व
घण्टीलाई बाँधेर राख्नुको एउटा कारण त्यसको सुरक्षा पनि हो भन्छन् उनी।

‘यो घण्टी जसले पनि बजाउन पाउँदैन र बजाउन हुँदैन पनि, घण्टी बजाउनु भनेको पूजा सक्कियो भन्ने बुझाउनु हो, अब जसले पनि बजायो भने त त्यसको अर्थ रहँदैन नि,’ उनले भने, ‘हरेक कुराको गोप्यता हुन्छ, कुनै पनि कुरा हामीले जति गोप्य राक्न सक्छौं त्यसको महत्त्व पनि त्यतिनै हुन्छ, गोप्य राख्दा मान्छेहरूमा उत्सुकता पनि भैराख्छ, जति उत्सुकता भयो त्यतिनै महत्त्व हुने त हो नि!’

भूपतिन्द्र मल्लको छोरा रणजीत मल्लले यो घण्टी बनाएका हुन्। ठ्याक्कै यस्तै तर, आकारमा सानो घण्टी तलेजु मन्दिरभित्र पनि रहेको उनले बताए।

उनले भने, ‘भित्रको घण्टी र दरबार भने स्वयं भूपतिन्द्र मल्लले नै बनाएका हुन्, यहाँको सुनको गेटचाहिँ फेरि रणजीत मल्लले बनाएका हुन्।’ 

सिद्दि वीरलाई थाहा भएसम्म यस घण्टीमा पहिला देखि नै ताल्चा लगाउँदै आएको छ। वि.सं. २०१८ सालदेखि उनी यहाँ पुजारीको रूपमा छन्। ११ वर्षकै उमेरमा पुजारी भएका उनी वि.सं. २०३६ सालमा भने पुजारी नाइके भए। यहाँको तलेजुमा राज उपाध्याय, जोशी र २ जना कर्माचार्य गरेर जम्मा चारजना पुजारी नाइके हुन्छन्।

‘भक्तपुरको कर्माचार्य, पाटन र काठमाडौंको कर्माचार्यहरूमा बिहेवारी कारोबार चले पनि एक अर्काकोमा जाने आउने चलन नभएको कारण केहि फरक होला !’, भन्छन् उनी।

यहाँको कर्माचार्यहरू र तलेजुको उद्गम स्थल भक्तपुर नै हो। यक्ष मल्लको पाला सम्म त भक्तपुरमा मात्र तलेजु थियो। तर, पछि राज्य विभाजन भए पछि काठमाडौं र पाटनमा पनि रहन गएको उनले सुनाए।

‘कर्माचार्यको पेशा नै पूजा गर्ने हो, हाम्रो कुलदेवता विद्यापीठ सुकुल ढोकामा छ, तलेजु ल्याउनुअघि हामी परम्परा देखिनै पुजारी थियौं,’ उनले थपे, ‘तलेजु ल्याएपछि त्यहाँको कर्माचार्य नाताले हामी यहाँको पनि पुजारी नियुक्त भएका हौं, हाम्रो इष्ट देवता भन्दा तलेजु पछि आएको हो, खासमा हामी आचार्य हौं, कर्म काण्डमा पनि संलग्न हुनुपर्ने भएको कारण कर्माचार्य भएक हौं।’ 

तलब बाहेक अरु धरै कुरा पाएँ !
तलेजुको पुजारी नाइके भए बापत आफूलाई केहि आर्थिक सुविधा नभएको समेत उनले बताए। विशेष पूजाको लागि केहि खर्च तोकिएको हुन्छ। त्यसमा पूजारीले केहि खर्च गर्छन्, र बाँकी भएको आपसमा मिलेर बाढछन्।

उनले सुनाए, ‘तलब भन्ने नै छैन, हामीले पाउने भनेको तलेजुको पुजारी भनेर इज्जत मात्र हो, इज्जत चाहिँ एकदमै छ।’

राज्यले दिने सुविधा बाउ, बाजेको समयमा नभए पनि आफूले पाए हुन्थ्यो भन्ने उनलाई लागेको रहेछ।

उनले थपे, ‘तर, मैले त्यसको माग अहिले सम्म गरेको छैन, नदिए पनि ठिकै छ।’ 

कर्माचार्य उमेरले ७२ पार गरिसके। फरेस्ट इकोलोजीमा बनारस हिन्दु विश्वविद्यालय बाट सन् १९८९ मा पीएचडी गरेका उनी वि.सं. २०५५ देखि २०५९सम्म त्रिचन्द्रको क्याम्पसको ‘क्याम्पस चिफ’ पनि भए।

त्रिचन्द्र क्याम्पस पढ्न आउने विद्यार्थी मिहिनेत नै नगर्ने उनी बताउँछन्। पढ्न भन्दा पनि नेता बन्ने अभ्यास गर्न विद्यार्थी त्रिचन्द्र आउने गरेको उनी स्मरण गर्छन्।

‘अहिलेसम्म भक्तपुरको कोही पनि त्रिचन्द्रको क्याम्पस चिफ भएको छैन, यो पनि कम इज्जतको कुरा त हैन नि!’ उनले खुशी हुँदै भने, ‘मेरो भतिजाले पनि अहिले पूजारीको काम गर्दैछ, छोरा डाक्टर भैसक्यो, त्यसैले पैसा हुँदा र नहुँदा खासै अन्तर छैन, हामी सन्तुष्ट छौं।’

प्रोफेसरको रूपमा अहिलेसम्म पनि उनी बागीश्वरी कलेज र खोपा इन्जिनियरिङ कलेजमा अध्यापन गराउने गर्छन्। उनी दुवै कलेजमा रिसर्च कमिटीको सभापतिको रूपमा छन्। सन् १९९५ मा उनले इन्जिनियरमा एमएससी पनि गरे। आफूलाई बायोइञ्जिनियरिङ्ग पनि भन्न रुचाउँछन् उनी।

सांसद बनाइदिने त्यो प्रस्ताव...
एमएससी गर्ने बित्तिकै उनी रामपुरमा पढाउन गए। त्यहाँ काम गर्दा धेरै मिहेनत गर्न सिकेको उनी अहिले पनि सम्झिन्छन्। त्यहाँ हुँदा उनले पुष्प कमल दाहाल ‘प्रचण्ड’, रामबहादुर थापा ‘बादल’ लगायतको धेरै माओवादीे विद्यार्थीलाई पढाउने मौका पाए।

आफ्नो विद्यार्थीहरू अहिले देशको ठूलो–ठूलो पदमा भएका कारण उनीहरूलाई पढाउन पाएकोलाई उनी ‘सौभाग्य’ नै भन्न रुचाउँछन्।

माओवादी भूमिगत भएको बेलाको एक घटना अहिले पनि उनी सम्झन्छन्। सिद्दि वीर सिनामंगलबाट रत्नपार्क जाँदै थिए। जहाँ पनि हिँडेरै जाने उनको बानी छ। त्यसबेला एउटा गाडी सरर... आएर ढ्याक्क उनको अगाडी रोकियो। अनि ढोका खोलेर भनियो, ‘सर आउनु।’ 

उनी अगाडी बसे। गाडी भित्रको मान्छेले कहाँ जाने भन्यो। उनले आफू रत्नपार्क जान लागेको बताउँदै, ‘मैले त चिनिन नि तपाईंलाई’ भने। जवाफमा माओवादीको कुरा गर्दै तपाईको विद्यार्थी कहाँ–कहाँ छ, थाहा छ? भन्ने प्रश्न पनि सँगै आयो।

सिद्दि वीरलाई केहि थाहा थिएन। अनि उनले जवाफ फर्काए, ‘मेरो विद्यार्थी भएको कारण उनीहरू जहाँ भए पनि नराम्रो काम नगर भन्दिनु, जो–जहाँ छन्, राम्रो राम्रो काम गर भन्दिनु।’

त्यहि एकपटक मात्र हो उनले त्यस व्यक्तिलाई भेटेको। पछि उनलाई रत्नपार्कसम्म छोडिदिए।

त्यो करिब पाँच मिनेटको कुरा अहिले पनि सम्झिँदा उनी दङ्ग पर्छन्। त्यस्तै अर्को घटना पनि उनले सम्झे।

एक दिन सर्लाहीको मान्छे उनको घरमा आए र भने, ‘प्रचण्डकोमा जाउँ तपाईंलाई सांसद बनाइदिन्छु।’

‘ऊ पनि रामपुरकै विद्यार्थी हो, श्याम नारायण मण्डल रहेछ उसको नाम,’ सिद्दि वीरले ती यादहरू ताजा गर्दै भने, ‘मैले उसलाई म जाँदिन। मलाई राजनितीमा जाने इच्छा छैन भनेर पठाइदिएँ। दुईपटक सम्म आए। त्यसपछि आएको छैन।’

त्यो बेलाको त्रिचन्द्र !
त्रिचन्द्र क्याम्पस पहिले देखिनै जीर्ण हुँदै आएको भन्दै उनले क्याम्पस चिफ हुनुभन्दा अगाडी कोहि पनि स्थायी क्याम्पस चिफ हुन नसकेको सुनाए।

‘०४६ सालपछि म त्रिचन्द्र क्याम्पसको यस्तो चिफ भएँ, जसले पूरै चारवर्ष बिताएँ, आफ्नो कार्यकालमा ५ पटक त सफलतापूर्वक विद्यार्थीको चुनाव गराएँ, त्यतिबेला गगन थापा सभापति नै थिए।’

क्याम्पसमा भएको हरियो छाना सबै उनकै कार्यकालमा बनाइएको उनले स्मरण गरे। माइक्रो बायोलोजी, केमेस्ट्री र जिओलोजी डिपार्टमेन्टमा भएको टेबुल र डेस्क आगलागी नभए पाँच सय वर्षसम्म केही नहुने गरी बनाएको उनले सम्झिए।

‘मुख्य कुरा भनेको इमान्दारिता हो। मिहिनेत हो। अनि सन्तुष्टि हो। तर, इमान्दार हुन एकदमै गाह्रो छ। जो पाए त्यहि मान्छेले बुझ्दा पनि बुझ्दैन।’ 

ल्याबमा धेरै पानी चाहिने र पानी किन्नुपर्ने भएपछि आफूले इनार बनाएको उनी अहिले पनि झलझली सम्झन्छन्। पछि त्यहाँको पानी बेचियो पनि। आफूले छाडेको लामो समयसम्म पनि त्रिचन्द्र क्याम्पसले पानी बेच्ने गरेको उनलाई याद छ।

त्रिचन्द्र क्याम्पस पढ्न आउने विद्यार्थी मिहिनेत नै नगर्ने उनी बताउँछन्। पढ्न भन्दा पनि नेता बन्ने अभ्यास गर्न विद्यार्थी त्रिचन्द्र आउने गरेको उनी स्मरण गर्छन्।

‘पढ्छु भनेर आउने भन्दा पनि नेता बन्ने धेरै आउन थाले, कलेज आयो झगडा गर्यो,’ उनले भने, ‘नेतागिरी गर्यो, आगो बाल्यो, नेताको प्राक्टिस मात्र भइरहेको छ।’

‘बि सिम्पल, बि स्याम्पल’ 
आफ्नो बाल्यकाल निकै मिहिनेत गरेर बितेको उनले सुनाए। घरका जेठा छोरा भएकाले सानोमा बुवासँगै तलेजुमा जाने गर्थे। अहिले बेला–बेला उनी आफ्नो नातीलाई सँगै ल्याउने गर्छन्।

बुवा हुँदा उनीहरूको पूजाको सामान पाइने पसल पनि थियो। तर, बुवा नभएपछि पसल बन्द गरिदिए उनले। सामानहरू भने अहिले सम्म पनि राखिरहेका छन्। कसैलाई केहि सामान चाहियो भने तुरुन्त सामान दिइहाल्छन् उनी। त्यहि पनि निःशुल्क। त्यसले गर्दा समाजमा घुलमिल हुने मौका भइरहेको छ भन्छन् उनी।

२५ वर्षमा मागी विवाह गरेका सिद्दि वीर अहिले सुकुल ढोक नै बस्छन्। उनका श्रीमती, छोराबुहारी र नाती नातिनी भने कमलविनायकमा छन्। इष्ट देवताको मन्दिर पुनिर्निमाणको क्रममा भएकाले उनी सुकुल ढोकामा बसेको भन्छन् उनी।

जीवनको सात दशक काटिसक्दा उनले जीवन जिउनका लागि चार सिद्धान्त बनाएका छन्। ‘बि सिम्पल, बि स्याम्पल’ (साधारण बन, उदाहरणीय बन), ‘बि गुड, डु गुड’ (राम्रो बन, राम्रो गर), ‘नो इफोर्ट, नो लक्’ (परिश्रम छैन, भाग्य छैन), ‘अनेस्टी इज डिभिनिटी’ –इमान्दरी देवत्त्व हो)। यी चार वटा कुरा उनि सधै पछ्याउँछन्।

आर्थिक, सामाजिक, सांस्कृतिक र अन्य धेरै कुरामा आफू एकदमै सन्तुष्ट भएको उनले सुनाए। ‘मुख्य कुरा भनेको इमान्दारिता हो। मिहिनेत हो। अनि सन्तुष्टि हो। तर, इमान्दार हुन एकदमै गाह्रो छ। जो पाए त्यहि मान्छेले बुझ्दा पनि बुझ्दैन।’ 

अहिलेसम्म पनि निरन्तर काम गर्न सकिरहेकोमा उनी इष्ट भगवानलाई धन्यबाद दिन्छन्। उनको अब खासै धेरै सपना पनि छैन। उनलाई त्यहि इष्ट देवीको मन्दिरको निर्माण पूरा गर्नुछ। एउटा भजन घर बनाउनको लागि नगरपालिकामा प्रक्रिया अघि बढाएका छन्। त्यसलाई पूरा गर्न चाहन्छन् अनि अन्य थुप्रै सामाजिक कार्यमा सकेसम्म बढि सहभागी हुन।

जब सम्म शरीरले साथ् दिन्छ तब सम्म चलिरहेको कामनै निरन्तरता दिन चाहन्छन्।

‘आर्थिक पाटोमा जान मलाई आवश्यक छैन, यसो भनिरहँदा बाटोमा पैसा भेट्यो भने लिने कि नलिने?’ ठट्टा गर्दै उनले भने, ‘मलाई यहि नै चाहिन्छ भन्ने नै छैन। केहि कुराको लागि मरिहत्ते गर्नुपर्ने छैन।’

२४ असोज, २०७९, १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।