कभर स्टोरी

‘नेपाली जीवनशैली बुझ्दैनन् अहिलेका पर्यटक, सबैलाई पुगेर फर्कनै हतार’


काठमाडौं : ‘हेर्ने कथा’ नामको युट्युब च्यानलमा एउटा भिडियो पोष्ट गरियो, ‘हराएको बाटोको कथा’। हेर्ने कथाको ८४औं एपिसोडमा देखाइएको कथा निकै मार्मिक छ।

भिडियोमा बेनीको म्याग्दीदेखि पदमार्ग हुँदै मुस्ताङ पुग्ने बाटो खोजिएको छ। बाटोसँगै हराएका बास बस्दै मुक्तिनाथ पुग्ने पैदलयात्रीहरू, घण्टी बजाउँदै सामान बोक्ने घोडा खच्चरहरू, बाटो छेउमा भएका सानातिना होटल अनि पसलहरू, भरिया र तिर्थालुहरूको रमझम। बाटो हराउँदै जाँदा यी सबै दृश्य हराउँदै गएको भिडियोमा देख्न सकिन्छ।

गाउँ–गाउँमा डोजर पुग्यो, डोजरसँगै सडक बाटोहरू पुगे। सडक बाटोले यात्रा गर्न सजिलो बनायो। मानिसहरू सवारी साधनमा यात्रा गर्न थाले। पुराना पैदल मार्ग संरक्षणको अभावमा कतिपय मेटिए, कति भने काँडाघारीमा परिणत भए।

नेपालमा भएका पुराना पैदलमार्ग प्रायः सञ्चालनमा छैनन्। सात दिन, चौध दिन लगाएर यात्रा गर्ने ठाउँ केहि दिनमै पुगेर फर्कन सकिन्छ। अझै आकाश मार्गको प्रयोग गरेर एकै छिनमा नेपाल पुरै फन्को मार्ने व्यवस्था समेत छ।

यात्रा सजिलो हुँदै जाँदा नेपालका पर्यटन उद्योगले भने न नयाँ गन्तव्यको खोजी गरेको छ, न नयाँ निर्माण नै। केहि निर्माण भएका नयाँ गन्तव्य पनि निकै कम खर्च लाग्ने र सजिलो ठाउँमा मात्रै थुप्रिएका छन्। 

पैदलमार्गीलाई सडक, विकास कि विनास?
विदेशी पर्यटक नेपाल किन आउने? नेपालीले नेपाल किन घुम्ने? यी प्रश्नको उत्तरमा प्रायः पर्यटन क्षेत्रमा काम गर्नेहरूले नेपालको जीवनशैली, कला संस्कृति बुझ्न र प्राकृतिक सुन्दरता हेर्न भन्छन्। विदेशी पर्यटक नेपालको प्राकृतिक सुन्दरतासँग लोभिएको कुरा पनि उनीहरूको भाषण र योजनाहरूमा सुन्न पाइन्छ। तर, त्यसलाई व्यवहारमा उतार्न कुनै पहल गरेको भने देखिँदैन।

नेपालमा कोभिडकै समय अर्थात सन् २०२१ मा मात्रै सात हजार आठ सय ७२ जना विदेशी पर्यटक पदयात्राका लागि निस्केको तथ्यांक छ। नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले निकालेको नेपाल टुरिजम स्ट्याटिस्टिक २०२१ अनुसार यो तथ्यांक सार्वजनिक भएको हो। 

यो भनेको नेपाल घुम्न आउने पर्यटकमध्ये अधिकांश पैदलयात्राका लागि आउने देखिन्छ। २०७७÷७८ को तथ्यांकअनुसार सबैभन्दा धेरै पर्यटकले पैदलयात्रा गरेकोे स्थल अन्नपुर्ण संरक्षित क्षेत्र हो। नेपाल सरकारकै तथ्यांकअनुसार २०७७÷७८ मा अन्नपूर्ण क्षेत्रमा ४ हजार नौ सय २१ जना विदेशी पर्यटक पुगेका छन्।

तर, उनीहरू पहिलेजस्तो प्रशस्त समय भने यात्रामा खर्च नगर्ने ट्रेकिङ गाइड प्रकाश आले बताउँछन्। उनका अनुसार, पर्यटकहरू रोकिने ठाउँ भनेका फोटो, भिडियो खिच्न मात्रै हो। ३० वर्षदेखि ट्रेकिङ क्षेत्रमा रहेका प्रकाश पर्यटकहरूमा पहिलेजस्तो समय बिताउँ भन्ने भावना नभएको बताउँछन्।

‘पहिले भरिया लगाएर लामो समयसम्म त्यहाँको जीवनशैली बुझ्दै विदेशी पर्यटकले समय बिताउँथे,’ उनले भने, ‘अहिले पर्यटकहरू मानव बस्ती भएसम्म सवारी साधनमा जान्छन्, त्यहाँबाट गन्तव्य पुग्न हतारो पर्छ, पुगेपछि हतार–हतार फर्कनै खोज्छन्।’

यहि कुरामा सहमति जनाए पर्यटन व्यवसायी राम सापकोटाले पनि। अन्नपूर्ण सर्किटको यात्राका लागि १५ दिन अनिवार्य यात्रा गर्नुपर्ने भए पनि समयको व्यस्तताका कारण मानिसहरू छोटो समय, कम खर्चमा यात्रा गर्न चाहनले उनको भनाइ छ।

‘आधा बाटो सवारी साधनको यात्रा र आधा पैदलमार्गको यात्रा गराउँदा सात दिनमै यात्रा सकिन थालेको छ,’ उनले भने, ‘छिटो हिड्ने मानिसले त पाँच दिनमा काठमाडौं टेक्न भ्याउँछ।’

आधुनिक विकासकै कारण गोसाइँकुण्ड, पाँचपोखरी जस्ता रमाइला कुण्डहरू जाने पैदलयात्री कम भएको पनि सापकोटा बताउँछन्।
‘पैसा छ भने हेलिकोप्टरमा एकै छिनमा त्यस्ता गन्तव्य पुग्न त सकिन्छ,’ उनले थपे, ‘आकाशबाट उडेर गन्तव्य पुग्दा नेपाली जीवनशैली कसरी बुझिन्छ त?’

नेपाल नबुझेरै फर्कन्छन् पर्यटक
गन्तव्य छोट्टिँदै जानु, नयाँ गन्तव्यको खोजी नहुनु, गाउँहरू रित्तिदै जानु, सबै शहरमा थुप्रिनु र पुराना कला संस्कृति लोप हुँदै जानु। यी र यस्ता धेरै कारण नेपाल नबुझेरै विदेशी पर्यटक फर्कने गरेको बताउँछन् पर्यटनको क्षेत्रमा काम गरिरहेका तथा त्रि.वि. नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्राध्यापक डा. पशुपति न्यौपाने।

न्यौपानेका अनुसार, विनायोजना पर्यटकलाई नेपाल घुम्न बोलाइरहेको छ सरकारी निकायहरू। २०२० लाई भिजिट नेपालको रूपमा मनाउने तयारी थियो।

‘नेपालै नबुझेका मानिसहरू त्यसको तयारीमा लागेका थिए,’ न्यौपानेले भने, ‘यदि नेपाल बुझेका थिए भने भ्रमण वर्ष भन्दै यतिको मुर्ति बनाएर चोक–चोकमा राख्दैनथे होलान्।’

न्यौपानेकै कुरामा सहमति जनाए पाटन संग्रहलयका प्रमुख सुरेश लाखेले पनि। नेपालकै पर्यटन उद्योगी व्यवसायीले नेपाल नचिनेको भन्दै उनले विदेशलाई उनीहरूले नेपाल चिनाउन नसक्ने बताए।

नेपाल घुम्न आउने पर्यटकलाई उनीहरूको रुचिअनुसारको प्याकेज दिलाउनुपर्ने उनी बताउँछन्।

‘पैदलयात्रामा रुचि हुनेहरू मौसम अनुसार कुन समयमा हिमाल कस्तो देखिन्छ, पहाड कस्तो देखिन्छ भन्नेबारे जानकारी दिन सक्नुपर्यो,’ उनले भने, ‘साहसिक पर्यटनमा रुचि भएकाहरूलाई कुन समय के खेलका लागि उपयुक्त हो भनेर भन्नुपर्‍याे।’

विभिन्न विशेष समयको अवसर पारेर पर्यटकलाई नेपाल बोलाउनुपर्ने लाखेको भनाइ छ।

उनले थपे, ‘कला संस्कृतिको कुरा त झनै गहिरो छ, मच्छिन्द्रनाथको जात्रा हेर्ने मानिसलाई त्यस समयमा नेपाल बोलाउनुपर्यो, हिमालको याक महोत्सव हेर्न रुचि भएकाहरूलाई त्यहि समयमा आऊ भन्नुपर्‍याे।’

अन्य देशमा नभएका धेरै कुराहरू नेपालमा भएको तर त्यसलाई देखाउन, चिनाउन सरकार चुकेको लाखे बताउँछन्।

‘हाम्रा केहि कल्चरहरू यस्ता छन्, जसलाई जुनसुकै समयमा देखाउन सकिन्छ तर त्यस्ता केहि भने त्यहि समय कुर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो कुरा पर्यटकलाई जानकारी दिने निकायले विचार पुर्याउनुपर्यो नि!’

‘नाफा कमाउने ध्यान भो, नयाँ गन्तव्य खोजिएन’
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष पिताम्बर शर्मा पर्यटन व्यवसाय निजी क्षेत्रमा पुगेको र उनीहरूको ध्यान नाफा कमाउनेतिर मात्रै भएकाले पर्यटन क्षेत्रको विकास नभएको बताउँछन्।

उनले भने, ‘नयाँ गन्तव्य किन खोजिएन भने, त्यहाँ स्थानीयसँग नाफा बाँड्नुपर्ने हुन्छ। अरुलाई किन कमाउन दिने, आफू मात्रै कमाउँछु भन्ने सोचका कारण नयाँ ठाउँहरू बन्न सकेन।’

जहाँ सस्तो छ, सजिलो छ त्यहाँ मात्रै लगानी गर्न व्यवसायी लागिपरेको शर्माले एक अन्तवार्तामा बताएका छन्। उनका अनुसार पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा कम इच्छाशक्ति भएको क्षेत्र निजी क्षेत्र हो।

अहिले पर्यटन क्षेत्रको सबै जिम्मा निजी क्षेत्रले लिएको छ। लगानी गर्न डराउँछ, त्यसैले बनिसकेको ठाउँमा नाफा कमाउन खोज्छ, नयाँ ठाउँ खोज्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दाको पेशी २४ गते, पूर्ण सफाईको माग गर्दै आफैँले पनि हाले पुनरावेदन

यसअघि मल्ललाई काठमाडौं जिल्ला अदालतले भने २०७८ चैत ७ गते जम्मा ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। जिल्ला सरकारी वकिलको....

भरतपुर अस्पतालको ३२ करोडको एमआरआई खरिदमा सप्लायर्सको स्वार्थमा स्पेसिफिकेशन बदलेकै बदल्यै

निश्चित कम्पनीको एमआरआई मेसिनसँग मिल्नेगरी लक्ड प्राविधिक स्पेसिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएपछि टेण्डर नपाउने केही सप्लायर्स विरोधमा उत्रिए। एउटा मात्रै निश्चित कम्पनीको....

रविको कामले पाँच कानून आकर्षित, हुनसक्छ पाँच वर्ष कैद

उनले नेपाली राहदानी प्रयोग नगरेको दावी गरेका छन्। तर, अध्यागमन विभागको रेकर्डले उनले झुट बोलेका पुष्टि हुन्छ। उनले अमेरिकी नागरिककै हैसियतमा २०७२ जेठ १३ मा....

नागरिक उन्मुक्तिका सांसद अरुण आगजनीमा ६ महिना कैद सजाए पाएका दोषी, १३ वर्षदेखि 'फरार'

उकेराको खोजविनमा अदालतले दोषी ठहर गरेका अरुण र कैलाली २ का सांसद अरुण एकै व्यक्ति भएको पुष्टि भएको छ। निर्वाचन आयोगमा बुझाएको विवरणमा उनको स्थायी....

सहयोगको आवरणमा विकास बोर्डको बदमासी, आफू निकटलाई बाँड्छ हरेक वर्ष ५० लाख

उकेराले सूचनाको हक प्रयोग गरेर मागेको पाँच वर्षसम्मको कागजातअनुसार बोर्डले विभिन्न अवार्ड र महोत्सवका लागि कराेडौं रकम वितरण गरेकाे देखिन्छ। अधिकांश नामै नसुनिएका संस्था छन्। एकाध....