उकेरा कोलम

डा. विश्वबन्धुको ४० वर्षे उपचार अनुभव : मनोचिकित्सकलाई पागलको डाक्टर भनेर गिज्याइन्थ्यो


मनोचिकित्सक डा. विश्वबन्धु शर्माले करिब ४० वर्ष मानसिक रोगीको औषधि, उपचार र परामर्शमा बिताएका छन्। उनले यो अवधिमा अस्पताल, क्लिनिक र स्वास्थ्य शिविरलगायतमा हजारौं मानसिक समस्या भएका व्यक्तिको स्वास्थ्योपचार गरेका छन्।

उनले उपचार गरेकामध्ये अधिकांश बिरामी ठिक भए भने कयौंले आत्महत्या गरे। आफैंले उपचार गरेका बिरामीले आत्महत्या गरेका सुन्दा निक्कै ग्लानी हुने डा. विश्वबन्धु सुनाउँछन्। बिरामीले आत्महत्या गरेको सुन्दा उनलाई आफ्नै उपचारका त्रुटी भयो कि भन्ठान्छन्।

मानसिक रोगको समस्या भएका बिरामीको राम्रोसँग रोग निको पार्न नसकेको खण्डमा कयौं बिरामीको आत्महत्या या दुर्घटनामा परेर मृत्यु हुने गरेको उनले सुनाए। मानसिक समस्याका रोगीको मृत्युको प्रमुख कारण आत्महत्या भएको उनको अनुभव छ।

आत्महत्या गरेपछि कतिपय बिरामीका आफन्त आएर दुःख पोख्ने गरेको उनले सुनाए। सही उपचार गरेको खण्डमा मानसिक समस्या ठिक हुने भएकाले उपचार गर्न उनको सल्लाह छ।

जिम्मावालका छोरा पढाइमा उतारचढाव
२०१० मा स्याङ्जामा जन्मिएका हुन् डा. विश्वबन्धु शर्मा। त्यो बेला स्याङ्जालाई पश्चिम चार नम्बर स्याङ्जा, नुवाकोट भनिन्थ्यो रे। डा. विश्वबन्धुका बुवा जिम्मावाल मुखिया (जिमु) थिए। त्यसैले गाउँमा उनका बुवाको सान र मान कम थिएन। त्यो बेला उनका बुवालाई ‘जिमु’ नभन्ने र नलेख्ने हो भने बुवा रिसाउँथे रे। 

छोराले राम्रो पढ्न सके विद्वान बन्छ, सामान्य लेखपढ गर्न सके मालपोत उठाउन र रसिद काट्नसक्छ अनि पढ्न नसके खेतीपाती गर्छ भन्ने विश्वबन्धुका बुवाको सोचाइ थियो। बुवाको त्यो सोचाइ उनको बाल मस्तिस्कले त्यो बेला नै बुझिसकेको थियो।

बुवाले पाल्पा, पोखराजस्ता शहरमा लगेर पढाउन सक्ने हैसियत भए पनि आफ्नो प्रारम्भिक शिक्षाले खासै महत्त्व नपाएको डा. विश्वबन्धुले सुनाए। त्यसो त उनले प्रारम्भिक शिक्षा भने घरमा नै गरे। गाउँका केही गुरुसँग अनौपचारिक शिक्षा लिए।

२०१५ सालको आम चुनावको समयमा उनी करिब ५ वर्षका भएका थिए। त्यो चुनावमा जुलुससँगै ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’ भन्ने जस्ता गीत गाउँदै रमाइलो गरेको विश्वबन्धुलाई सम्झना छ। जुन बेलासम्म उनको औपचारिक शिक्षा सुरु भएकै थिएन। 

२०१६ सालमा पर्वतमा फूपुकहाँ बसेर विश्वबन्धुले पढ्न थाले। त्यहाँ संस्कृतिका एक जना जयदेव गुरुकहाँ सुरुमा चार कक्षाको किताब लिएर पढ्न गएको उनलाई याद छ। त्यो बेला ती गुरुले धर्मशाला जस्तो पाटी र शिवालयमा पढाएको उनी सम्झन्छन्।

तिनै जयदेव गुरुपछि संस्कृतिविद् सत्यमोहन जोशी र सरदार हंसमान समेतका आत्धात्मिक गुरु बने। चार कक्षाको किताब पढेका विश्वबन्धुले त्यसपछि पोखरामा दुई कक्षामा भर्ना भएर पढ्न थाले। त्यो बीचको उनको अध्ययनका केही आरोह अवरोह छन्।

त्यसपछि स्याङ्जाको सदरमुकाममा पाँच कक्षामा भर्ना भएर पढ्न थाले। त्यो बेला स्याङ्जाको सदरमुकामलाई नुवाकोट भनिन्थ्यो। त्यहाँ राम्रोसँग पढ्न नआएपछि विद्यालय नगई बाटैमा अलमलिन्थे उनी। विद्यालय नगई बाटोमा नै खुब खेलेर फर्किएको उनलाई सम्झना छ।

त्यसपछि मामाघरमा अध्ययनका लागि एउटा संस्कृत पाठशालामा ६ कक्षामा के भर्ना मात्रै भएका थिए, बिफरका कारण डेढवर्ष पढाइ नै रोकिएछ। डेढ वर्षपछि स्याङ्जाको चिलाउनेबासस्थित घरभन्दा अलि पर मावली गाउँकै जनप्रदीप हाइस्कुलमा सात कक्षामा भर्ना भएर अध्ययन गर्न थाले उनी।

विश्वबन्धु भर्ना हुँदाको बेलासम्म त्यो विद्यालयको न भवन थियो न विद्यालयले सरकारबाट स्वीकृति नै पाइसकेको थियो। जतिबेला उनको उमेर ११ वर्ष मात्र थियो। त्यसपछि भने उनले निक्कै ध्यान दिएर पढ्न थाले। स्याङ्जाको त्यही जनप्रदिप हाइस्कुलबाट १५ वर्षको उमेरमा एसएलसी गरे। उनी त्यो विद्यालयको दोस्रो ब्याचका एसएलसीका विद्यार्थी हुन्।

नसोचेको डाक्टरी यात्रा
एसएलसीपछि विश्वबन्धु काठमाडौं आए। उनी स्वयम्भूस्थित आनन्द कुटी साइन्स कलेजमा आइएस्सी भर्ना भए। पछि त्यो कलेज अमृत साइन्स कलेजमा गाभिएको उनले सुनाए।

साइन्स पढेपछि डाक्टर नै बन्छु भन्ने त विश्वबन्धुको मनमा थिएन। तर, अरु केही नभए पनि आइएस्सी अध्ययनपछि शिक्षक त बन्न सकिन्छ भन्ने उनको सोच थियो। राम्रो नतिजा ल्याउने सुरमा उनले आइएस्सीको एक वर्ष परीक्षा नदिएर अर्को वर्ष मात्रै दिए।

निक्कै मेहनतपछि विश्वबन्धुले आइएस्सी राम्रो अंकका साथ उत्तीर्ण गरे। तर, आइएस्सीको अध्ययन गर्नेक्रममा नै उनले डाक्टर पढ्ने सपना बुन्न थालिसकेका थिए। उनको मनमा डाक्टरी सोच आउन थालिसकेको थियो। त्यही अनुसारले उनी मानसिक रूपमा तयारी हुँदै गए। विश्वबन्धुले सकेसम्म डाक्टर नै पढ्ने निर्णय लिए।

आइएस्सीपछि विश्वबन्धु सरकारी छात्रवृति कोटामा तत्कालीन सोभियत संघको युक्रेनस्थित खार्कोभ स्टेट युनिभर्सिटिमा सन् १९७२ (२०२९) मा चिकित्साशास्त्र विषयको अध्ययनका लागि पुगे। त्यहाँ करिब एक वर्ष रसियन भाषा अध्ययन गरे। त्यसपछि ६ वर्ष उनले चिकित्साशास्त्र विषयको अध्ययन गरे। 

सन् १९७९ मा विश्वबन्धुले स्नातकोत्तर तहको जनरल मेडिसिन विषयको एमडी अध्ययन पूरा गरे। त्यो चिकित्साशास्त्र विषयको आधारभूत डिग्री भए पनि ६ वर्षको भएकाले त्यहाँ एमडी नै भनिन्थ्यो।

‘इज्जत पाइन्नथ्यो, पागलको डाक्टर भनेर गिज्याइन्थ्यो’ 
त्यसो त डा. विश्वबन्धुलाई एमडी अध्ययन गर्दा नै मनोचिकित्सा विषय अध्ययन गर्ने रुचि बढिसकेको थियो।  समग्र व्यक्ति र व्यक्तिको मन पढ्न पाइने विषय भएकाले यो विषयप्रति आफ्नो रुचि बढेको उनले सुनाए।

डा. विश्वबन्धुलाई लाग्यो– ‘मनोचिकित्सा विषयको अध्ययन गर्दा व्यक्तिको शारीरिक तथा मानसिक अवस्था, मनोवैज्ञानिक तथा आध्यात्मिक पक्ष र सामाजिक भूमिका लगायत बहुआयामिक पक्षको अध्ययन गर्न पाइन्छ।’

त्यसैले उनी मनोचिकित्सा विषय नै पढ्ने करिब निष्कर्षमा पुगे। तर, नेपालमा मनोचिकित्सा विषयको अध्ययन गरेर फर्कँदा कामै पाउन कठिन हुने लगायतका चिन्ताले उनका सिनियरहरूले यो विषय अध्ययन नगर्न सल्ला दिएका थिए।

त्यो बेला नेपालमा मनोचिकित्सा विषयको अध्ययन गरेर फर्कँदा इज्जत हैन, पागलको डाक्टर भनेर उल्टै गिज्याउने जस्ता व्यवहारको सामना गर्नुपर्ने चुनौती उनीसामु थिए।

त्यो बेला सरकारी जागिरका लागि दरबन्दी नभएको र क्लिनिक चलाएर काम गर्ने वातावरण पनि राम्रो थिएन। त्यो बेला वीर अस्पतालमा पाँच बेडको मनोचिकित्सा युनिट थियो। जहाँ मनोचिकित्सक डा. विष्णुप्रसाद (वीपी) शर्मा थिए। 

मनोचिकित्सा विषय पढेर नेपाल फर्कँदा अलपत्र पर्ने स्थिति भएकाले अन्य विषय अध्ययनका लागि धेरैले उनलाई सुझाव नदिएका हैनन्। तर, डा. विश्वबन्धुलाई नेपालमा मनोचिकित्सा विषयको भविष्य छ भन्ने मनमनै लागेको थियो। उनले नेपालमा यो विषय अध्ययन गरेका चिकित्सकको आवश्यकता पनि देखेका थिए।

उनलाई यो विषयमा रस पनि पसिसकेको थियो। त्यसैले एमडी अध्ययनपछि डा. विश्वबन्धुले नेपाल नफर्की तत्कालीन सोभियत संघमा नै मनोचिकित्सा विषयको अध्ययन गर्न थाले। उनले छात्रवृति कोटामा नै मनोचिकित्सा विषयमा पोष्ट ग्राजुएशन अध्ययन गरे। त्यहाँ उनले मानसिक रोगसम्बन्धी गहिरो अध्ययन गर्ने मौका पाए।

२०३८ मा डा. विश्वबन्धु युवा जोस र सेवाभावका साथ सोभियत संघ पुगेको करिब दश वर्षमा मनोचिकित्सा विषयसम्मको अध्ययनपछि नेपाल फर्किए। उनी नेपाल फर्कँदा वीर अस्पतालमा डा. वीपी शर्मा र सैनिक अस्पतालमा डा. देशराज कुँवरगरी दुई जनामात्रै मनोचिकित्सक थिए। अर्का एकजना डा. धुर्वमान श्रेष्ठ उनीभन्दा केही महिनाअघि यो विषय पढेर फर्केका थिए। डा. विश्वबन्धुसहित नेपालमा चार जना मनोचिकित्सक भए।

तर, साँच्चै नेपाल फर्किएपछि उनलाई काम पाउन निक्कै सकस भयो। कामै पाइएन। धेरैले क्लिनिक चलाउन सुझाव दिए। तर, क्लिनिक चलाएर बिरामीसँग पैसा लिन उनको मनले मान्दैनथ्यो। सरकारी जागिर नै पाए हुन्थ्यो भन्ने उनको मनमा थियो। जागिरका लागि निक्कै भौंतारिए। तर, पाएनन्। त्यसो त आफूले सहज रूपमा काम नपाएपछि छटपटी तथा तनाव हुन्थ्यो रे उनलाई। जुन डिप्रेशनको लक्षण भएको सम्झन्छन् उनी। 

पढेर फर्केको तीन महिनासम्म पनि जागिर नपाएपछि डा. विश्वबन्धुले पुतलीसडकमा डा. अवनीभूषण उपाध्यायको क्लिनिकमा खाली समयमा उनकै सल्लाह अनुसार बिरामी जाँच्न थाले। अध्ययनका क्रममा धेरै बिरामी जाँचेको भए पनि नेपालमा पहिलो पटक बिरामी जाँच्नुपूर्व निक्कै असहजता महसुस भएको उनले सुनाए। त्यसपछि विभिन्न क्लिनिकमा उनले काम गर्दै गए।

त्यसो त उनको प्राथमिकतामा सरकारी जागिर नै थियो। एक दिन वीर अस्पतालमा डा. वीपी शर्माको सम्पर्कमा पुगे उनी। डा. वीपीले वीर अस्पतालमा डा. विश्वबन्धुलाई  २०३९ मा दैनिक ज्यालादारीमा मनोचिकित्सकका रूपमा काममा लगाए।

एक वर्षसम्म उनले ज्यालादारीमा नै काम गरे। त्यसपछि एक वर्ष अस्थायी जागिरेका रूपमा त्यहाँ काम गरे। त्यो बेला अस्थायी चिकित्सकले मासिक करिब साढे आठ सय तलब भत्तासहित पाइन्थ्यो रे। डा. विश्वबन्धुले डा. वीपीको निगरानीमा धेरै कुरा सिक्ने मौका पाए।

त्यही बीचमा उनले २०४० तिर बागबजारमा आफैँले क्लिनिक सुरु गरे। अहिले पनि उनी क्लिनिकमा नै बिरामी हेर्छन्। 

भोजभतेरमा जाँदा समेत मान्छे तर्किन खोज्थे
त्यो बेला मनोचिकित्सकलाई क्लिनिकमा भेट्न पुग्ने व्यक्तिलाई समेत सकारात्मक रूपमा नहेरिने गरेको डा. विश्वबन्धुको अनुभव छ। भोजभतेरमा जाँदा परिचित व्यक्तिहरू समेत अरुले के भन्लान् भन्ने सोचेर उनीसँग तर्किन खोज्थे रे।

पढेलेखेकैले समेत पागलको डाक्टर भन्ने सोचले मनोचिकित्सकलाई फरक दृष्टिकोणले हेरिएको अनुभूति छ उनीसँग। त्यसैले अन्य चिकित्सकको तुलनामा मनोचिकित्सकलाई हेर्ने दृष्टिकोण नै त्यो बेला फरक भएको उनले भोगेका छन्। 

त्यति मात्रै कहाँ हो र! कसैले देख्ला की भनेर मनोचिकित्सककहाँ बिरामी सुटुक्क आउने चलन थियो। त्यो चलन कम हुँदै गए पनि अझै हटिसकेको छैन।

सरकारी जागिरबाट राजीनामा
२०४२ मा भने डा. विश्वबन्धु बल्ल लोकसेवा परीक्षामार्फत सरकारी स्थायी चिकित्सक भई मानसिक अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गर्न थाले।

सरकारी पद मेडिकल अधिकृत भए पनि उनी मनोचिकित्सक भएकाले मनोचिकित्सककै रूपमा काम गर्थे। निक्कै भौंतारिएपछि दुःखले त्यो सरकारी जागिर खान पाउँदा उनी खुसी नहुने कुरै भएन। करिब चार वर्षपछि सहायक सचिवको दरबन्दीमा बढुवा भए उनी।

सहायक सचिव भएको केही समयपछि उनी उप–सचिवमा बढुवा भए। उप–सचिवमा बढुवा भएपछि काठमाडौंमा उनको दरबन्दी खाली थिएन। त्यसैले उनी पोष्टिङ भएर काठमाडौंबाहिर जानुपर्ने थियो। सरकारले खटाएको ठाउँमा जान पनि उनी तयार थिए।

विराटनगर, पोखरा, जनकपुर, वीरगञ्ज, भरतपुर, बुटवल, नेपागञ्ज, धनगढी लगायतका ठाउँमा उप–सचिव तहका दरबन्दी खाली थिए। उप–सचिवमा बढुवा भएपछि डा. विश्वबन्धुलाई कहाँ जाने भनेर स्वास्थ्य मन्त्रालयले साधेको पनि थियो। उनले पोखरा वा भरतपुरमध्ये एक ठाउँमा पोष्टिङ मागे।

मन्त्रालयमा भएको मौखिक सल्लाह अनुसार उनी भरतपुर पोष्टिङ भएर जाने निर्णय भयो। उनले भरतपुर जाने तयारी थाले। भरतपुरमा कसरी मानसिक रोगसम्बन्धी उपचारको व्यवस्था गर्ने भन्ने लगायतको योजनासमेत बनाइसकेका थिए उनले। तर, उनलाई धनगढी पोस्टिङको चिठ्ठी आयो।

‘भन्ने बेलामा भरतपुरको चिठ्ठि तयार गरिदिन्छौं भनेका थिए,’ उनले भने, ‘आउने बेलामा धनगढीको आयो।’

हुन त काठमाडौं उपत्यका बाहिर सबैतिर मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक थियो। तर, सबै ठाउँमा एकैपटक विस्तार गर्न न जनशक्ति थिए न पूर्वाधार नै। त्यसैले सुरुमा काठमाडौं बाहिर पोखरा वा भरतपुरमा भए मानसिक स्वास्थ्यको सेवा सुरु गर्न सकिन्छ भनेर त्यहाँ जान चाहेका थिए डा. विश्वबन्धु। 

अन्य विकल्प हुँदा–हुदै आफूलाई नै रोजाएपछि अकस्मात धनगढी पोस्टिङ गरेपछि उनलाई त्यहाँ जान मन लागेन। पूर्वसल्लाह विपरीत पोस्टिङ गरिएकाले धनगढी नजाने भन्दै अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा राजीनामा पत्र पठाए उनले।

‘म जान्न भन्दिएँ। त्यसपछि कहीँ नगई अटेरी भएर बसेँ,’उनले सुनाए, ‘कि त पहिल्यै धनगढी जाउ भनेको भए म जान्थें होला।’

त्यसपछि डा. विश्वबन्धुलाई सरकारी जागिर नै खान मन लागेन। मौखिक रूपमा समेत उनलाई धनगढी जान अनुरोध नगरिएको हैन। तर, उनी त्यहाँ नगई वास्तै नगरी बसे। उनले त्यो विषयलाई धेरै खोतलेनन्। न त त्यस विषयमा चासो नै लिए।

२०५० मा सरकारी जागिर छाडेका उनले अहिलेसम्म पनि सरकारी जागिर खाएका छैनन्। जागिर छाडेको केही समयपछि तत्कालिन स्वास्थ्यमन्त्री पद्यमरत्न तुलाधर हुँदा सरकारी जागिरलाई निरन्तरता दिनका लागि उनलाई खबर आएको थियो। तर, डा. विश्वबन्धुले सरकारी जागिर खान इच्छा नभएको भन्दै राजीनामा स्वीकृत गरिदिन अनुरोध गरे। जागिर छोडेको लामो समयपछि मात्रै आफ्नो राजिनामा स्वीकृत भएको उनले सुनाए।

निक्कै दुःखले खाएको सरकारी जागिर छाड्नुपर्दा उनलाई असहजता त महसुस भयो नै। तर, पहिलो गाँसमै ढुंगा लागेपछि उनलाई फेरि कहिल्यै सरकारी जागिरप्रति मोह जागेन। 

मनोचिकित्सक डा. विश्वबन्धु निरन्तर मानसिक समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण, उपचारमा तथा मनोपरामर्शमा सक्रिय छन्। पेशागत तथा जीवनको भोगाइको अनुभवलाई समेटेर उनले ‘मान्छेको मन’ पुस्तक समेत प्रकाशित गरेका छन्।

मानसिक रोगको समस्यामा परेका व्यक्तिको उपचार गरी बचेको समयमा डा. विश्वबन्धु दर्शनशास्त्र, इतिहास, उद्‍ विकास, मानवशात्र, समाजशास्त्र, भाषा विज्ञान जस्ता विषय अध्ययन गर्न रुचाउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....