सस्तो गन्तव्य बन्दै नेपाल : एयरपोर्टबाटै बार्गेनिङ थाल्छन् पर्यटक, खर्चको मापदण्ड नबन्दा उकासिएन अर्थतन्त्र

सस्तो गन्तव्य बन्दै नेपाल : एयरपोर्टबाटै बार्गेनिङ थाल्छन् पर्यटक, खर्चको मापदण्ड नबन्दा उकासिएन अर्थतन्त्र

काठमाडौं : कम पैसामा मस्तको घुमघाम। बार्गेनिङ गर्न पाइने, सस्तोमा खानबस्न सकिने। प्रायः विदेशी पर्यटक यहि कुरा सुनेर नेपाल भ्रमणमा आएका हुन्छन्। यो कुरा नेपालमा आउने चर्चित युट्युबरहरूको भिडियो हेरेर पनि थाहा हुन्छ।

केहि समयअघि नेपाल आएका युट्युबर हराल्र्ड बल्डर होस् या डेल फिलिप। दुवैले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै बार्गेनिङ गरेको भिडियो पोष्ट गरे। कसैले विमानस्थलको ट्याक्सीमा बार्गेनिङ गरिरहेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् त केहिले विमानस्थलको गेटभन्दा बाहिर निस्केर ट्याक्सी चढेको दृश्य क्यामरामा कैद गरेका छन्।

नेपाली जनतामा पनि त्यस्तैखाले छाप छ। नेपालमा आउने विदेशी पर्यटकहरू गरिब हुन्छन् भन्ने। कलंकी निवासी एक ७० वर्षीय मनकुमारी श्रेष्ठ भन्छिन्, ‘विदेशमा जसरी पनि घुम्न निस्कनैपर्छ अरे, पैसा कम खर्च गर्ने देश भनेर नेपाल निस्कन्छन् रे।’

उनले भनेजस्तै संवाद बजारमा धेरै सुनिन्छ नै। पर्यटन व्यवसायीहरू पनि यो कुरामा सहमत छन्। पर्यटन व्यवसायी राम अधिकारी नेपाल आउने प्रायः पर्यटक गरिब नै हुने बताउँछन्।

‘अहिले त एक महिनाका लागि आएका छन् भने १५ दिन उतैबाट विपाश्यनाको फारम भरेर आउँछन्, विपाश्यनामा खान बस्न पैसा लाग्दैन। १५ दिन निःशुल्क बिताएपछि कुनै सस्तो होटलमा दिनभर सुतेर १५ दिन बिताउँछन्,’ उनीहरू भन्छन्, ‘कतिपय भने भारतको बाटो हुँदै नेपाल छिरेर बस्ने पनि गर्छन्। नेपाल भनेको एक पैसा खर्च नगरेरै जीवन धान्न सकिने देश हो भन्ने छाप उनीहरूमा छ।’

रामकै अनुसार, नेपालमा धार्मिक पर्यटकहरू प्रायः भारतको बाटो हुँदै आउँछन्। उनीहरू धार्मिक भेषमा नेपाल छिर्नुको कारण खर्चसँग समेत जोडिएको उनको भनाइ छ।

भन्छन्, ‘हामी विदेशीले हाम्रो धर्म जोगायो भनेर मख्ख पर्छौं, उल्टै दान दक्षिणा दिएर पठाउँछौं। खान बस्न निःशुल्क हुँदा–हुँदै उनीहरूलाई प्लेन भाडा समेत दिएर पठाउँछौं। त्यसैले नेपाल पैसा जोगाउन र फोकटमा खान समेत पर्यटकहरू आउने गर्छन्।’

किन भयो सस्तो गन्तव्य
पर्यटन व्यवसायी राजेश थपलियाले एक नमिठो संयोग सुनाए। केही होटल व्यवसायीका कारण पनि पर्यटकले नेपालीलाई बार्गेनिङ गर्ने देशको रूपमा चिन्न थालेको उनको अनुभव छ।

‘एकपटक हामी अफ सिजनमा गोसाइकुण्ड पर्यटक लिएर गयौं, होटलहरू सुनसान थिए, पाहुन तान्न होटल व्यवसायीहरूले खानाको पाँच सय र सुत्न निःशुल्क गराएका रहेछन्,’ उनले आफैँले भोगेको घटना सुनाउँदै भने, ‘हामी कम्पनीबाट खान बस्नकै पैसा काटेर लगेका हुन्छौं, यसरी होटल व्यवसायीले बसेको पैसा नलिने बित्तिकै हामीले उनीहरूलाई लुटेको भान पर्नजान्छ।’

होटल व्यवसायीका कारण पर्यटकले आफूहरूसँग झगडा गरेको र अन्त्यमा कम्पनीले उनीहरूलाई बस्नका लागि लिएको पैसा फिर्ता गर्नुपरेको उनले सुनाए। स्थानीय ब्यवसायी र पर्यटन व्यवसायीको तालमेल नमिल्दा पर्यटकलाई नेपाल बार्गेनिङ गर्ने देश हो भन्ने पर्न गएको उनको भनाइ छ।

राजेशले भने, ‘हिमालमा ओड्ने ओछ्याउने पुर्याएको छ। जाडो नहोस् भनेर कोठामा हिटर जोडेको छ। बत्तीको व्यवस्था गरिदिएको छ। त्यो निःशुल्क किन गर्ने? मिहिनेत गरिसकेपछि फल किन नखाने? हामी नेपाली प्रतिस्पर्धा भन्दै यस्तै विषयमा चुकिरहेका हुन्छौं।’

स्थानिय व्यवसायी विभिन्न प्रलोभनमा परेर पर्यटकलाई छुट दिन्छन्।

‘कसैलाई सँगै विदेश लैजाला भन्ने लोभ हुन्छ, कसैलाई छोरा छोरीलाई छात्रवृत्ति देला भन्ने लोग हुन्छ,’ राजेशले भने, ‘लोभकै कारण स्थानीय व्यवसायी गोरो छाला भएकाहरूलाई सस्तोमा खाना खुवाउने, निःशुल्क सुताउने गर्छन्, त्यसकारण उनीहरूले आफ्नो देश भएर नेपालको बारेमा सस्तो देश भन्छन्।’

नेपाल आउने पर्यटकले स्थानीयसँग बार्गेनिङ गर् भनेर सिकाएर पठाउने उनको भनाइ छ। कसैले बार्गेनिङ गर्दा पैसा घटाएन भने जथाभावी गर्ने गरेको घटनाको प्रत्यक्ष उदाहरण चार वर्षअघि अन्नपूर्ण सर्किटमा एक विदेशीलाई नेपाली महिलाले लौरीले झट्टी हानेको बताए।

नेपाली महिलाले विदेशीलाई लौरी लिएर लखेटेको झण्डै सात मिनेटको भिडियो युट्युवमा सजिलै हेर्न सकिन्छ। ‘क्रेजी नेपाली ओमन अट्याक ब्रिटिस फ्यामिली ओन अन्नपूर्ण सर्किट नेपाल’ भन्ने शिर्षक राखेको भिडियोमा एक महिलाले मोटो लौरीले दुई ब्रिटिस नागरिकलाई लखेटेकी छन्।

ती विदेशी नागरिकहरूले तातो पानीमा बार्गेनिङ गर्दा नमिलेपछि स्थानीय महिलाले लौरो लगाएर लखेटेकी हुन्। ती महिलाले विदेशी सञ्चार माध्यमहरूमा अन्तर्वार्ता दिएर बाहिर सुनेजस्तो नेपाल न्यानो हृद्य भएका मायालु मान्छे बस्ने देश हैन समेत भनेकी छन्।

छैन खर्च गर्ने मापदण्ड
नेपाल घुम्न आएका विदेशी पर्यटकले कति खर्च गर्छन् र कतिसम्म खर्च गर्नुपर्ने हो यसको कुनै मापदण्ड अहिलेसम्म बनेको छैन।

एक अन्तरवार्तामा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा. पिताम्बर शर्माले भनेका थिए, ‘अन्य देशमा पर्यटकले कतिसम्म खर्च गर्नुपर्ने भन्ने मापदण्ड भए पनि, नेपाल घुम्न आएका पर्यटकले कतिसम्म खर्च गर्नुपर्ने भन्ने मापदण्ड बनेकै छैन।’

शर्माले सुनेअनुसार, नेपाल आएका पर्यटकले सरदरमा ४५ डलरसम्म खर्च गर्छन्। तर सस्तो गन्तव्यको रूपमा चिनिएको देश भुटानको मापदण्ड अनुसार बाह्य पर्यटकले २ सय डलर खर्च गर्नैपर्छ। 

डा. शर्माका अनुसार, पर्यटनलाई व्यवसायमा राखिए पनि यसले खासै कुल ग्राहस्थ उत्पादनमा टेवा पुर्याउन सकेको छैन।

उनले भनेका छन्, ‘यातायात, हस्तकला, होटल सबै जोड्दा ६ देखि ७ प्रतिशत मात्रै खर्च गर्छन्। यो भनेको कुल गार्हस्थ उत्पादनमा २ देखि २ दशमलव ५ प्रतिशत मात्रको योगदान हो।’

नेपालका लागि पर्यटन सस्तो हुनुको कारण निर्यात कम, आयात धेरै हुनुसमेत रहेको शर्मा बताउँछन्। उनका अनुसार, हाम्रो देश खेतीपाती गरेर उद्योग खोल्ने (फर्वार्ड लिङ्केज) या उद्योग खोलेर खेतिपाती गर्ने (व्याकवार्ड लिङ्केज) भन्ने कुरामा नेपाल अड्किएको छ।

केहि खोलिएका उद्योगधन्दा ब्याकवार्ड लिङ्केजमा गइरहेका छन्। त्यसैले भएका उद्योग धन्दाहरू बन्द भइरहेका छन्। ब्याकवार्ड लिङ्केजका कारण लिकेज अर्थात उद्योग खोल्ने तर त्यसलाई चाहने कच्चा पर्दार्थ बाहिरी देशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

यो कुरा पर्यटनमा कसरी जोडियो भने, नेपालमा आएका पर्यटकले के कुरामा खर्च गर्छन् र त्यो कहाँबाट आयात गरिएको हो भन्ने कुराले पर्यटन उद्योगमा प्रभाव पार्छ।

उदाहरणका लागि नेपालमा हस्तकलाको सामग्रीहरू उत्पादन गरियो। तर, त्यसलाई चाहिने कच्चा पदार्थ काठ अन्य देशबाट आयात गर्नुपर्यो भने व्यवसाय अगाडि बढ्दैन। हाम्रो देशमा खाने चामलदेखि लगाउने कपडा सबै विदेशबाटै आयात गरिन्छ।

त्यसैले पर्यटकले खर्च गरेको पैसा उनीहरू जुन देशबाट आएको उतै जान्छ भने त्यो व्यवसायमा लिकेज भयो। पर्यटन सस्तो बन्नुको एक कारण यो पनि हो। 

२१ असोज, २०७९, ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।