एक महिना अमेरिकामा लुकेका थिए सन्दीप

एक महिना अमेरिकामा लुकेका थिए सन्दीप

काठमाडौं : असोज २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ आदेश जारी भएपछि जमैकामा रहेका सन्दीप लामिछाने नेपाल फर्कने बताएर अलप भए।

क्यारेबियन प्रिमियर लिग खेल्न गएका उनलाई आयोजकले 'विशेष परिस्थिति आएको' भन्दै टिम सदस्यबाट हटायो र नेपाल  पठाउने बतायो।

उनी जमैकाबाट हिँडे तर नेपाल आएनन्। एक महिना उनी कहाँ लुके अत्तोपत्तो भएन। प्रहरी अनि क्रिकेट एसोसिएसन दुवैले सन्दीप सम्पर्कमा नभएको बतायो।

पटक-पटक फेसबुकमा लेख्दै आफूलाई लागेको आरोपको प्रतिवाद गरे पनि नेपाल नफर्किएपछि प्रहरीले प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको शाखाबाट उनको नाममा डिफ्युजन नोटिस जारी गरेपछि बाध्य भएर उनी बिहीबार कतार एयरलाइन्सबाट दोहा हुँदै नेपाल आए।

यसबीचमा उनी कतारमा लुकेर बसेका थिए त? हाेइन। उनी एक महिना अमेरिकामा बसेका थिए। उनी जमैकाबाट नेपाल आउने भनेर अमेरिका गएर बसे।

उनी अमेरिकाबाटै नेपाल फर्किएका हुन्। स्रोतका अनुसार उनले फेसबुकमा लेखेको आधारमा नेपालमा रहेको इन्टरपोलको शाखाले अमेरिकामा रहेको इन्टरपोल शाखासँग समन्वय गरेको थियो।

लागुऔषध, अवैध हतियार, मानव तस्करी र महिला तथा बालबालिका सम्बन्धी अपराधलाई गम्भीर अपराधको सूचीमा राखिन्छ। जमैका हुँदै उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको भए उनीसँग नेपाल फर्कने बाहेक दोस्रो विकल्प हुने थिएन।

तर, सन्दीप नाबालिग बलात्कारको आरोपित भएको कानूनी जानकारी नहुँदा उनले त्यसको फाइदा लिँदै अमेरिका गए।

जानकार स्रोतका अनुसार उनी आफू निर्दोष रहेको दाबी गर्दै नेपाल फर्किएर कानुनी लडाई लड्ने दाबी गरे पनि नेपाल फर्कन चाहँदैनथे। इन्टरपोलको नोटिसमै परेपछि उनलाई अमेरिकामा बस्न सहज भएन र बाध्य भएर'आत्मसमर्पण' भन्दै नेपाल आए।

उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। मुद्दाको सबै प्रक्रिया गौशालाबाटै हुनेछ। तर, त्यहाँको हिरासत सहज नभएकाले अन्यत्र सार्ने सम्भावना छ।

'जाहेरी जहाँ दर्ता भएको हो, अनुसन्धान र अन्य कानुनी प्रक्रिया गौशालाबाटै हुन्छ' काठमाडौं परिसरका एसपी दिनेश मैनालीले भने, 'अहिले गौशालाकै हिरासतमा छन्। अवस्था हेरेर अन्य हिरासतमा राख्न पनि सकिन्छ।'

२० असोज, २०७९, १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।