दशैँमा नेपालीको आँसु नखस्ने देश छैन

दशैँमा नेपालीको आँसु नखस्ने देश छैन

काठमाडौँ : दशैँ उल्लासको चाड। हाँसी, खुसी रमाइलो गर्ने, आफन्त भेट्ने अनि आशीर्वाद लिने-दिने मज्जाको पर्व।

तर कोही रहरले त कोही कहरले बिदेसिने क्रम बढेसँगै आँसु नखस्ने घर कमै होलान् नेपालमा। नेपालीको ठुलो सङ्ख्या वैदेशिक रोजगारीका लागि बिदेसिएका छन्।

केही अध्ययनका लागि। केही उज्ज्वल भविष्य खोज्दै स्थायी रूपमै बसाई सरेका छन्। दशैँ अगाडि सोमालियामा नेपालीहरूले नेपाली सांस्कृतिक कार्यक्रम गरे। भनेपछि नेपाली पुग्न बाँकी देश कुन चैँ होला र।

अन्य दिन त ठिकै होला। परिवारका सदस्य आर्थिक रूपमा बलियो बन्दै गएको देख्दा नेपालमा बसेका हुन् या विदेशमा खुसी नै हुन्छन्। तर दशैँ अनि तिहारजस्ता पारिवारिक मिलनको दिन आउँछ अनि दुबैतिर भएकाहरूको मन भक्कानिन्छ।

प्रविधिको सहजताले धन्न भिडियो कल गर्न सहज छ। यताको समय मिलाएर उता मोबाइलको स्क्रिनमा निधार मिलाउन तयार हुन्छन् आँसुले भरिएको मुहार बोकेर।

अनि यता टीका लगाऊ सुरु हुन्छ स्क्रिनले छेकेको छ भन्ने बिर्सँदै। आशीर्वाद सुरु हुन्छ' आयु द्रोण सुते... हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नछरोस्।'

केस नझर्ने आसिक दिइरहँदा दुबैतिर आँसु भने झरिरहेको हुन्छ।

१९ असोज, २०७९, १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।