उकेरा फिचर

डिजिटल दशैं: प्रविधिको प्रयोगले नक्कली माया बढ्दैछ


भौतिकरूपमा टाढा भए पनि फेसबुक, भाइबर, ह्वाट्सएपमार्फत भिडियो कल गरेर मान्यजनसँग टीका लगाएर आशिर्वाद लिएजस्तो गर्ने चलन पछिल्लो समय बढिरहेको छ। विश्लेषकहरूको कुरा सुन्ने हो भने चाडपर्वमा प्रविधिको प्रयोग भनेको दुई धारी तरबार जस्तै हो।

समाजशास्त्री डा. दिनेश प्रसाईं डिजिटल रूपमा दशैं, तिहार जस्ता चाडपर्व मनाउँदाका सकारात्मक र नकारात्मक दुवै पक्ष हुने बताउँछन्। उनका अनुसार चाडपर्वमा प्रविधिको सदुपयोग गरे सकारात्मक प्रभाव पर्छ, दुरुपयोग गरे नकारात्मक प्रभाव पर्छ। 

उनले भने, ‘दुवैपट्टी धार भएको तरबारले दुवैपट्टी काट्न सक्छ। यस्तो तरबारले आफैँलाई पनि काट्न सक्छ।’

प्रविधिको प्रयोग गरी सामाजिक सञ्जालको माध्यमबाट चाडपर्व मनाउँदा मानसिक दृष्टिकोणमा समेत सकारात्मक र नकारात्मक दुवै प्रभाव पर्ने मनोविद् गोपाल ढकालको विश्लेषण छ।

ढकालका अनुसार सामाजिक सञ्जालबाट शुभकामना आदानप्रदान गर्ने तथा खुशी साट्दा मनोवैज्ञानिक रूपमा आनन्द लिन सकिन्छ। पर्वको पनि प्रचार हुन्छ।

विभिन्न बाध्यात्मक कारणले यस्ता सञ्जालको प्रयोग गरी मान्यजनसँग टीका तथा आशिर्वाद ग्रहण गर्दा मनोवैज्ञानिक रूपमा सकारात्मक प्रभाव पर्ने ढकाल बताउँछन्।

ढकालले भने, ‘बाध्यताका कारण परिवारसँग भेटेर दशैं मनाउन नपाउँदा डिजिटल रूपमा नै भए पनि टीका लगाएर आशिर्वाद लिने र दिने दुवैलाई केही हदसम्म भए पनि मनमा सन्तोष मिल्छ।’

तर, परिवारसँग भेटघाट सम्भव हुँदाहुदै पनि नभेटी इन्टरनेटबाटै टीका लगाउने, आशिर्वाद लिने जस्तो गर्नाले भने सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक रूपमा समेत नकारात्मक प्रभाव पर्छ।

ढकालका अनुसार यसो गर्नाले भौतिक रूपमा भेटेर आफन्तसँग भावना साट्न पाउने अवसरबाट व्यक्ति वञ्चित हुन्छ। यसले नैराश्य बढ्दै जाने जोखिम हुन्छ।

तर, बुवाआमा तथा परिवारसँग भेट्न मन नभए पनि बुवाआमा तथा परिवारले चित्त दुखाउलान् भनेर देखावटी रूपमा डिजिटल दशैं मनाएको नाटक गर्दा नकारात्मक प्रभाव प्रर्ने उनी बताउँछन्।

दशैं परिवार तथा आफन्तसँग भेटघाट गरेर खुशी तथा आत्मीयता साटासाट गर्दै उत्सव मनाउने पर्व हो। र ढकालका अनुसार सामाजिक सञ्जालको डिजिटल दशैंले त्यो आत्मीयता महसुस हुन दिँदैन।

‘त्यसै पनि सामाजिक सञ्जालका कारण भौतिक रूपमा व्यक्ति टाढिइरहेका छन्’, ढकालले भने,‘ त्यसमाथि दशैं जस्तो पर्वमा पनि भौतिक रूपमा भेटघाट नगर्ने हो भने त परिवार नै टाढिँदै जाने जोखिम हुन्छ।’

अर्कातर्फ यसरी डिजिटल रूपमा दशैं मान्ने क्रम बढ्दै जाने हो भने चाडपर्वको महत्त्व पनि कम हुँदै जानेछ।

चाडपर्व जीवन जिउने आधार पनि हुन्। चाडपर्वमा भौतिक भेटघाट नगर्दा यसको पुस्तान्तरण तथा हस्तान्तरण हुँदैन। जसले गर्दा व्यक्ति परिवारबाट टाढिँदै जान्छ। यसले नैराश्य उत्पन्न गराउँछ।

समाजशास्त्री प्रसाईं टाढा भएका आफन्तलाई बाध्यतावश भेट्न नपाउँदा प्रविधिको प्रयोग गरेर चाडपर्वमा खुशी साट्नुलाई सकारात्मक मान्छन्। 

तर, बुवाआमा तथा परिवारसँग भेट्न मन नभए पनि उनीहरूले चित्त दुखाउलान् भनेर देखावटी रूपमा डिजिटल दशैं मनाएको नाटक गर्दा नकारात्मक प्रभाव पर्ने उनी बताउँछन्।

अनलाइनबाटै दक्षिणा दिने, दक्षिणास्वरूप बैंक खातामा पैसा हालिदिएर दशैं मनाउने शैलीले संस्कृतिको मौलिकता नै नकारात्मकतर्फ धकेलिँदै जाने उनी बताउँछन्।

उनले भने, ‘गाउँमा बुवाआमालाई डिजिटल रूपमा दशैं मनाएको फोटो पोस्ट गरेको थाहा पनि हुँदैन। तर, सामाजिक सञ्जालमा भने फोटो हुन्छ।’ 

यसैकारण पनि सामाजिक सञ्जालको दशैंलाई दुई धारी तरबार ठान्छन् उनी।

संस्कृतिविद ओम धौभडेल पनि २१ औं शताब्दीमा आधुनिक प्रविधिको प्रयोग गर्नु स्वाभाविक मान्छन्। तर, यसैको भरमा दशैं, तिहार जस्ता चाडपर्व मनाउँदा संस्कृतिमाथि नै नकारात्मक प्रभाव पर्ने उनको विश्लेषण छ।

देश विदेशमा रहेका छोरा, छोरी, बुवाआमा लगायत परिवारसँग प्रविधिमार्फत जोडिएर खुशी साट्ने सुविधाको दुरुपयोग हुँदै गएको धौभडेलको तर्क छ। 

धौभडेलले भने, ‘संस्कृति आधुनिकीकरण हुँदै गए तीन सय र चार सय वर्षसम्म पनि नबिग्रिएको संस्कृति बिग्रँदै जान्छ।’ 

अनलाइनबाटै दक्षिणा दिने, दक्षिणास्वरूप बैंक खातामा पैसा हालिदिएर दशैं मनाउने शैलीले संस्कृतिको मौलिकता नै नकारात्मकतर्फ धकेलिँदै जाने उनी बताउँछन्।

अहिले भने आधुनिक प्रविधिले व्यक्ति परिवार तथा आफन्तलाई जोडे पनि भौतिक रूपमा भने व्यक्ति टाढिँदै गएकाले भावनात्मक रूपमा देखावटी माया मात्रै बढ्दै गएको धौभडेलको तर्क छ। ‘प्रविधिको प्रयोगले नक्कली माया बढ्दैछ,’ धौभडेलले भने।

परिवार तथा आफन्तसँग भेटघाट नगर्ने अनि सामाजिक सञ्जालमा भने चाडपर्वको उत्सवका बारेमा सामाजिक सञ्जालमा पोस्ट गर्नाले चाडपर्व नै छायाँमा पर्दै जाने जोखिम हुने विश्लेषक बताउँछन्। 

अरू त अरू डिजिटल रूपमा टीका लगाइदिने तथा लगाउने गर्नाले बाल मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने विश्लेषक बताउँछन्।

विश्लेषकको मतअनुसार दशैंमा मात्रै भए पनि घर परिवारसँग भेट गराएर भैतिक रूपमा एकै ठाउँमा बसी दशैं मनाउनाले दशैंको महत्त्वबारे बालबालिकाले थाहा पाउँछन्। जसले गर्दा बालबालिकाले पारिवारिक, सांस्कृतिक, तथा सामाजिक रूपमा दशैं मान्न सिक्छन्।

चाडपर्व मान्ने भनेको खानका लागि मात्रै नभएको विश्लेकको मत छ। संस्कृतिविद धौभडेलको मतअनुसार दशैंको मुख्य उद्देश्य नै घर परिवारको मूलीबाट टीका थाप्ने निहुले कम्तीमा वर्षको एक पटक भए पनि मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद लिन पाइनु हो। अग्रजबाट थप प्रगतिको लागि आशिर्वाद लिने पर्व हो।

दशैंलाई उनी परिवार तथा आफन्तसँग बसेर संयुक्त रूपमा भावना साट्ने पर्वका रूपमा लिन्छन्।

अहिले भने आधुनिक प्रविधिले व्यक्ति परिवार तथा आफन्तलाई जोडे पनि भौतिक रूपमा भने व्यक्ति टाढिँदै गएकाले भावनात्मक रूपमा देखावटी माया मात्रै बढ्दै गएको धौभडेलको तर्क छ। ‘प्रविधिको प्रयोगले नक्कली माया बढ्दैछ,’ धौभडेलले भने। व्यक्तिमा आफैं खाउँ, आफै लाउँ भन्ने जस्ता व्यक्तिवादी भावना बढ्दै गएको धौभडेलको विश्लेषण छ।

विश्लेषकका अनुसार हिजोका दिनमा कोही व्यक्ति गलत बाटोमा लाग्यो वा खाडलमा पर्न लाग्यो भने अग्रजले सल्लाह सुझाव दिने चलन थियो। तर, आजकाल भने व्यक्तिमा मैले गरेको सबै काम ठीक छ, अरूको सहयोग चाहिँदैन भन्ने जस्ता भावना बढ्दै गइरहेको छ। 

त्यसैले व्यक्तिलाई नजिकैबाट बसेर सहयोग गर्ने तथा सल्लाह सुझाव दिने व्यक्तिको अभाव हुँदै गएकाले व्यक्तिमा नैराश्य निम्तेर आत्महत्याको समेत जोखिम हुनेछ।

ढकाल पनि डिजिटल रूपमा दशैं मनाउँदा पर्वको वास्तविकता महसुस नहुने भएकाले गतल सिकाइको बाटोमा लाग्न सक्नेतर्फ सजग गराउँछन्।

ज्ञान पुस्तान्तरण हुन नसक्दा परनिर्भरता बढ्दै गएको उनले विश्लेषण छ।

‘बालबालिकाले समेत देखेर, भोगेर, गरेर नै सिक्छन्,’ ढकालले भने, ‘दशैं भनेको यस्तै हो भन्ने सोचको विकास हुँदै गएर गलत सिकाइको समेत जोखिम हुन्छ।’ 

संस्कृतिविद् धौभडेल पनि एकै ठाउँमा बसेर चाडपर्व मनाउँदा एक पुस्ताबाट अर्को पुस्तामा संस्कृति, संस्कार, सीप तथा ज्ञान पुस्तान्तरण तथा हस्तान्तरण भई सिक्दै जाने अवस्था रहेको तर, आधुनिकताको नाममा व्यक्तिले शिक्षा प्राप्त गरे पनि त्यो शिक्षा एकलकाटे हुँदै गएको बताउँछन्।

‘व्यक्तिले शिक्षा त प्राप्त गर्‍यो। तर, एकलकाटे शिक्षा भयो,’ धौभडेलले भने, ‘एक्लै बाँच्न सकिन्छ। तिमीलाई समाज चाहिँदैन। आफैं कमाउ, आफैं खाउ भन्ने जस्ता अरूको वास्ता नगर भन्ने किसिमको शिक्षा भयो।’

यस्तो किसिमको पाश्चात्य शिक्षाको प्रभावका कारण मौलिक पूर्वीय शिक्षा ओझेलमा पर्दै जाँदा व्यक्तिवाद हावी हुँदै गएको उनको विश्लेषण छ। 

आजभोलि पढेँ भन्दैमा बुढापाका तथा अग्रजको कुरा नसुन्ने प्रवृतिका कारण पछिल्लो पुस्ताले अघिल्लो पुस्ताको ज्ञान नसिकेको र व्यक्तिसँग सहज जीवनशैलीको ज्ञान समेत नभएको धौभडेलको तर्क छ। ज्ञान पुस्तान्तरण हुन नसक्दा परनिर्भरता बढ्दै गएको उनले विश्लेषण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तीन उद्यमी दिदीबहिनीको कथा: जसले भवन निर्माणको क्षेत्रमा नेपालमै नयाँ प्रविधि भित्र्याए

तीन छोरीले कम्पनी हाँक्न थाले। र, भवन निर्माणमा नयाँ प्रविधि भित्र्याउँदै 'आईटी स्टिल स्ट्रक्चर सोल्युसन्स प्राली' समेत सुरु गरे। सृष्टि उद्योगको प्राविधिक निर्देशक हुन्।....

शरीर र मनमा ऊर्जा उत्पन्न गराउने पर्व माघे सङ्क्रान्ति

तरुल, घ्यू, चाकु, लड्डु जस्ता परिकारमा शूक्ष्म पोषक तत्त्व पाइने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती बताउँछिन्। तरुलमा आइरन, फाइबर, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइने उनले बताइन्।....

स-साना कुरा भनेर बेवास्ता गरेकै कारण सम्बन्धविच्छेद हुन सक्छन्, यी हुन् जोगाउने उपाय

लेखकद्वय म्याथम फ्रे तथा जोएना ह्यारिसनले यस्ता समस्याबाट बच्ने उपायका बारे गहन अध्ययन गरेका छन्। घरेलु हिंसा तथा आपराधिक गतिविधि जस्ता सम्बन्ध टुटाउने मुद्दाका बारेमा....

भाँडा माझेर कमाएको पैसाले व्यवसाय थालेका सकिन्द्र, जसलाई छोराहरूको पढाइ पूरा गर्न पाए लकडाउन र महानगरको डर नै हुँदैन थियो

उनी भन्छन्, 'परिवारबाट भागेर १२ वर्षको उमेरमा नै काठमाडौं आएको थिएँ। त्यो पनि अरू मान्छे बसेको सिटमुनि बसेर। बाआमाको निकै प्यारो छोरा थिएँ। अहिले बाआमामाथि....

कृषिको ओरालो यात्राः पहुँचवालाले नै दिन सकेनन् निरन्तरता, कामदार विदेशीन वाध्य

चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अगुवाइमा सुरु गरिएको यो ‘मह एग्रिकल्चर’ फार्म ७ वर्ष चलेर बन्द भयो। १२ जना मिलेर ५५ लाख रुपैयाँ....