भुवन केसीलाई गाली गरे फिल्म हिट हुन्छ !

भुवन केसीलाई गाली गरे फिल्म हिट हुन्छ !

काठमाडौं : फिल्मले हल पाएन कि चलचित्र विकास बोर्डको अध्यक्षको राजीनामा माग्ने फेसनै सुरु भयो नेपाली चलचित्र क्षेत्रमा। तर राजीनामा माग्ने कारण भने बढो विरोधभाष छ। एक पक्षले हिन्दी डब फिल्म रिलिज गर्न दिएको भन्दै राजीनामा माग्छन् अनि अर्को समूहले हिन्दी डब फिल्म लगाउन अवरोध गरेको भन्दै राजीनामा माग्छन्।

फिल्म प्रकाशको बेलामा अभिनेता प्रदीप खड्का राष्ट्रवादी, क्रान्तिकारी बन्दै हिन्दी डब फिल्म रिलिज गरेर नेपाली फिल्ममाथि अन्याय गरेको भन्दै हल सञ्चालक र विकास बोर्ड विरुद्ध सार्वजनिक मञ्चहरूमा उभिए।

प्रकाश जस्तो मौलिक नेपाली फिल्ममाथि विदेशी भाषाका फिल्म रिलिज गरेर कम शो दिएर अन्याय गर्नु राष्ट्रघात समान हो जस्तै माहौल बनाउन खोजे उनले। केही हदसम्म सफल पनि भए। यो बेला उनले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामै मागिहालेनन्।

जब 'प्रेम गीत-३ को हिन्दी डब नेपालमा नेपाली फिल्म सरह रिलिज नगर्न बोर्ड सक्रिय भयो उहीँ प्रदीप मैदानमा उत्रिए डब फिल्मको पक्षमा।

नेपाली निर्माताको सर्वाधिकार रहेको नेपाली भर्सनमा कुनै समस्या थिएन। नेपालसहितका देशमा नेपाली फिल्मै रिलिज गर्ने तयारी थियो। तर हिन्दी ट्रेलरले बाहुबली फ्लेवर दिएपछि निर्माता सन्तोष सेन नेपालमा हिन्दी फिल्म रिलिज गर्ने पक्षमा उभिए।

अभिनेता प्रदीप बोर्ड अध्यक्ष केसीको राजीनामा माग्न प्रेस मिटमा उत्रिए।

बोर्डले हिन्दी डबलाई विदेशी फिल्म अनुसार रिलिज गर्ने दिने भएपछि निर्माण टिम सञ्चार मन्त्रालय पुगेर निर्णय उल्टाए।

फिल्म प्रकाशको बेलामा नेपाली फिल्मको पक्षमा माहौल बनाउन सफल प्रदीप खड्का प्रेम गीत-३ मा हिन्दी डबको पक्षमा माहौल बनाउन सफल भए इन्डो-नेपाल फिल्म भन्दै।
यो बिचमा प्रदीपले केही दक्षिण भारतीय फिल्ममा साइन गरिसकेको सुनिन्छ। ती फिल्मको रिलिजको बेलामा उनी कलाको कुनै सीमा रेखा हुन्न। जसले बनाएको अनि जुन भाषामा भए पनि रिलिज गर्नुपर्छ भन्न बेर छैन।

अब प्रसङ्ग फिल्म बाबरीको। बाबरी टिम पनि बोर्ड अध्यक्ष केसीको राजीनामा माग्न थालेको छ। कारण आफ्नो फिल्मले भन्दा साउथ इन्डियन फिल्मले बढी शो पाउनु।

बाबरीसँगै २ साउथ फिल्म रिलिज भएसँगै बाबरीले कम शो पायो। अनि यसको निर्माण टिम  प्रदर्शनमा अन्याय भएको भन्दै प्रेस मिट गर्यो।

‘बाबरी’का निर्देशक सुरेन्द्र पौडेल र चलचित्र निर्माता सङ्घका अध्यक्ष नबल खड्काले  बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागे।

हलवालाले ‘बाबरी’लाई अन्याय गर्दा बोर्ड मूकदर्शक बनेको दुवैको आरोप थियो। निर्माता सङ्घका अध्यक्ष खड्काले दशैंपछि बोर्डविरुद्ध आन्दोलनै गर्ने घोषणा गरे। प्रेम गीत-३ को हिन्दी भर्सनले नेपाली फिल्मको मान्यता पाउनु हुन्न भन्ने पक्षमा थिए खड्का।

निर्देशक पौडेलले फिल्म बाबरी राम्रोसँग चलिरहेको र दर्शकले मन पनि पराएको तर  टाइममा शो नपाएको दाबी गरे। उनले हलवालालाई बोर्डले दायरामा ल्याउनुपर्ने माग समेत गरे।

निर्माता सङ्घका अध्यक्ष खड्का विदेशी फिल्म देखाएर नेपाली फिल्मको प्रवर्द्धन गर्ने हो भने विकास बोर्ड नचाहिने भन्दै रिसाए।

उनले महिनामा एउटा मात्र विदेशी फिल्म चलाउने वातावरण बनाउनुपर्ने भन्दै ‘विदेशी भाषाको डब गरेर नेपाली भाषा र चलचित्रप्रति अतिक्रमण गर्ने विरुद्ध  चाँडै आन्दोलनमा जाने बताए।

अभिनेता धिरज मगरले आफू बेलायतमा बस्ने नेपाली भए पनि नेपाली फिल्ममा भविष्य बनाउने उद्देश्य बोकेर नेपाल आएको बताए। अभिनेत्री अदिति बुढाथोकीले बाबरीविरुद्धको विभेदविरुद्ध सबै जना एकजुट हुनुपर्ने बताइन्।

१८ असोज, २०७९, १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।