गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

भक्तपुरको देकोचामा सानैदेखि सारङ्गीसँग खेल्दै आएका नवराज नेपालीलाई भने खासै दसैँ लागेको छैन। उनले चाडबाडको समयमा टोलभरि दसैँको धुन बजाउन छोडेको धेरै भइसक्यो। अहिले उनी सारङ्गी बजाउने भन्दा पनि बढी बनाउन व्यस्त हुन्छन्।

लकडाउनको समयदेखि आफ्नै घरमा दिनभरि सारङ्गी बनाएर बसिरहेका छन् उनी। उनको गाउँ भने पनि, घर भने पनि यही नै हो। त्यै भएर उनलाई दसैँको त्यस्तो सारो चटारो छैन।

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै हालिन्छ।’

जब-जब दसैँ आउँछ अनि नवराज आफ्नो बाल्यकालमा पुग्छन्। सारङ्गी रेट्दै बुबाको पछिपछि भक्तपुरको चोक चोक हिँडेको सम्झन्छन्। गल्ली-गल्ली डुलेको सम्झना आउँछ।

आफू जत्रै धोक्रो बोकेर अष्टमी र नवमीमा दसैँको भाग लिन गएको बिर्सिसकेका छैनन्। अनि मानो, पाथी सँगै केही पैसा लिएर घर फर्कन्थे उनी बाबुसँगै।

त्यसै बेला हो उनले आफ्नो बुबाले बजाएको जस्तै सारङ्गी बजाउन मन गरेको। तर, अहिलेसम्म पनि उनी आफ्नो बुबाले जत्तिको राम्रो बजाउन सक्ने भएका छैनन् रे।

नागकितापछि गाइनेबाट नेपाली 

बुबाको मृत्यु पश्चात् उनले सारङ्गी बजाउन पनि छोडिदिए। कहिलेकाहीँ आफूले बनाएको सारङ्गीको आवाज ठिक छ कि छैन भनेर जाँच्न बाहेक अरू बेला उनी खुलेर बजाउँदैनन्।

टोल-छिमेक बाक्लो हुँदै गयो। त्यही बस्तीमा सारङ्गीको धुन थिचियो।  चोकहरूमा सारङ्गीको आवाज सुनिन छोड्यो। सुन्नेहरूले चासो नदिएपछि उनले पनि बजाउन चासो दिन छाडे।

उनी पनि गाइने नै हो। तर, नागरिकता बनाएदेखि उनले आफ्नो नामको पछाडि नेपाली लेख्ने गर्छन्।

’नत्र बाउ बाजेले त गन्धर्व नै भन्नुहुन्थ्यो। गाइने, गन्धर्व, गान्धारी, गायक जे भने पनि हाम्रो जात एउटै हो। उपत्यकामा चैँ जति पनि गाइने छन् प्राय उनीहरूको थर नेपाली भन्ने गरिएको छ’ उनले भने।

घरको एक्लो छोरा भएकाले उनको बाल्यकाल रमाइलो गरेरै बित्यो। सानैदेखि सारङ्गीको वरिपरि बसेका उनले आफू ठुलो हुँदै गर्दा सारङ्गी बनाउन र बजाउन जानेको पत्तै पाएनन्।

'अहिले त डिजाइनहरू पनि फरक भए। नयाँ-नयाँ निस्के। पहिला त खोप्यो कि पुग्थ्यो। अहिलेको जस्तो यसरी मिहेनत गर्नु पर्दैनथ्यो' उनले सम्झिए' पहिला त आफू बजाउने हो। अलि कति खोपेपछि आवाज आइहाल्छ भन्ने हुन्थ्यो।’

बुबाले बनाएको सारङ्गी दङ्ग पर्दै ठमेल बजारसम्म पुर्याउन जान्थे नवराज। सारङ्गीमा मन बसेपछि उनको पढाइको यात्रा भने अगाडि बढ्न सकेन। उनले ७ कक्षासम्म मात्र पढे।

उनको बाबुबाजेले भेदभाव पनि ब्यहोरा। तर उनले त्यति धेरै अनुभव गर्नु परेन भेदभावको।

’झगडा चैँ परेको छैन। अहिले बरु अलि कम भएको भन्न मिल्छ। तर, मैले त्यस्तो भोग्नु परेन। यतातिर सबै किसानहरू छन्। कसैले पनि हामी ज्यापू त गाइने भनेर  भनेनन्’ उनले सम्झिँदै भने, ’पहिला हाम्रो जातको दश घर थ्यो यहाँ। त्यतिखेर धाराको पानी छुन नहुने भन्ने थियो। हुन त साथीहरूलाई उनीहरूको आमा-बाबाले केही भन्थ्यो पनि होला! तर, मैले सुन्ने गरेर त्यस्तो केही भएन। अहिले पनि साथी भाइहरू छन्  सबैले जात्रा, भोजतिर बोलाउँछन्।’

कला जोगाउने इच्छा

नवराजले सानोमा त्यस्तो केही इच्छा राखेनन्। बरु अहिले चैँ उनको इच्छा छ सारङ्गीको बजार बिस्तार गर्नु। सारङ्गी र गाइनेहरूलाई लोप हुनबाट बचाउन मन छ उनलाई। त्यही भएर उनी दिनभरि घर मै बसेर जति सकिन्छ सारङ्गी बनाएर बसिरहन्छन्।

उनले पसल भने खोलेका छैनन्। अर्डर अनुसार घरमै बनाउँछन्। अनि घरबाटै बेच्छन्।

उनलाई पसल राख्न मन नभएको होइन। तर, व्यापार निरन्तर हुँदैन कि भन्ने डर पालेर राखेका छन्। त्यही भएर उनी अर्डर अनुसार मात्रै बनाउँछन्।

त्यसको लागि उनको एक जना साहुजी छन् जसले उनले बनाएको सबै सारङ्गी एकैचोटी लैजान्छन्।

महिना को २० वटा जति सारङ्गी बेच्न चाहन्छन्, नवराज।  तर, अहिले २ –३ महिनामा जम्मा १० वटा जति मात्र बेचिरहेका हुन्छन्।

'त्यतिले नै काम चलाउनु परिराछ। बढाउने भनेको बढाउनै सकिएन। झन् घटेर गयो। एक दुई जना यहाँको ग्राहक अरू तिर गए’ उनले भने।

पश्चिम तिरबाट आउने सारङ्गी तुलनात्मक रूपमा सस्तो छ। त्यही भएर प्राय ग्राहकहरूले त्यही लान्छन्। उनले बनाउने सारङ्गीको भाउ बजारमा अलि महँगो छ।

'बजारमा यसको मूल्य २५-३० हजार पर्न जान्छ। मेरो बोसले तिमि जति सक्छ बनाऊ सबै म लान्छु भन्छन्। त्यति भने पछि मलाई पनि सजिलै भयो। कतै जान परेन । एकसुरले काम गर्न पाइयो’ उनले भने।

उनले प्रति सारङ्गी १२–१५ हजारमा विक्री गर्ने रहेछन्। त्यही भएर पनि उनी बजारको भाउ भन्दा अलि सस्तोमै बेच्न चाहन्छन्। तर, कसैले किनेन भने फेरी एकैचोटी लिने मान्छे नपाउने हो कि भनेर सोच्न थाल्छन्। अनि एकसुरले आफ्नो काम गर्न थाल्छन्।

'मेरो सामान बनाएको छु लिईदिनुस न ! हेर्दिनुस् न ! भन्नु परेको छैन। त्यति चैँ सजिलो छ। बाँकी त जति बनाउँछु सबै एकै चोटि उहाँहरूले लानु हुन्छ’ उनले भने।

सारङ्गी बनाउन नपाएका गाइनेहरू  !

गाइनेहरूले आफ्नो लागि आफै सारङ्गी बनाउने गर्छन्। उनलाई अहिले निरन्तर सारङ्गी बनाउने आफू मात्र हो कि ! जस्तो लागेको रहेछ।

’अरू पनि बनाउने नभएका होइनन्। तर, अरूको अवस्था कस्तो छ भने, कसैले बनाइदिनु न भन्यो भने २,३ वटा बनाउने अनि फेरी अर्कै काममा लग्नुपर्ने अवस्था छ। तर मेरो चैँ अहिले केही समय भयो रोकिरहनु परेको छैन।’

लकडाउन भन्दा अगाडीसम्म नवराजले पनि अहिले जस्तो निरन्तर सारङ्गी बनाउने काम गरेका थिएनन्। आफू यसमै व्यस्त हुन थालेको देखेर त्रिवितरण पनि राम्रो हुन थालेको हो कि भने लागेको छ, उनलाई।

अहिले सारङ्गी बजारीकरण सँगसँगै अन्तर्राष्ट्रिय स्तरमा समेत यसको महत्त्व बढ्दै गएको छ। यसमा उनी खुसी छन्।

'केही त गर्नु पर्यो। काम केही छैन। अरू ठाउँमा काम गर्न सकिँदैन। त्यही भएर बिस्तारै यही गरिरहेको छु’ उनले भने।

अहिले सारङ्गीमा फरक-फरक बुट्टा हाल्ने प्रचलन बढिरहेको छ। तर, नवराजले बुट्टा भरेको सारङ्गी बनाएका छैनन्। उनलाई डिजाइन भन्दा पनि सारङ्गीको आवाज राम्रो हुनुपर्छ भन्ने लाग्छ। उनले बनाएका सारङ्गीको आवाजमा अहिलेसम्म गुनासो आएको छैन। उनी यसमै खुसी छन्

यसको लागि धेरै लगानी पनि गर्नु नपर्ने बताउँछन् नवराज।

'२० हजार जतिको काठ ल्यायो भने बाँकी भनेको त सबै मेरो मिहेनत हो। अनि मलाई एउटाको १२ हजार जति दिन्छ। त्यति भए मलाई पुगिहाल्छ’ उनले भने।

सारङ्गीको आवाज

काठ अनुसारले पनि सारङ्गीमा आउने आवाजमा फरक पर्छ। उनका अनुसार सबै भन्दा राम्रो सारङ्गी भनेको साजको काठको हो। उनी आफैले पनि त्यसकै बनाउँछन्।

'यतातिर फेरी त्यस्तो अरू काठहरू पनि पाइँदैन। यता बढी पाउने भनेकै सिसौ र साज हो। अग्राखको त फेरी निकै महँगो हुन्छ’ उनले भने।

सारङ्गी बनाउन निकै गाह्रो छ भन्छन्, उनी। सारङ्गी सम्हाल्न सकेन भने फुटिहाल्छ। त्यसलाई एकदमै जतन गरेर बनाउनु पर्ने हुन्छ। अलि कति फुटेपछि काम नलाग्ने हुन्छ। चर्केको सामान देखेपछि ग्राहकले मुख बिगार्ने गर्छन्। हावा र घामले पनि चर्केर फुटाल्दिहाल्छ।

चर्किने बित्तिकै आवाज पनि थर्केर आउने हुन्छ। अनि आवाज पनि खुल्न सक्दैन।

सारङ्गीको आकारले पनि आवाजमा फरक पार्छ।  त्यस्तै सारङ्गीमा तार कसरी राखेको छ भन्नेले पनि फरक पार्ने उनको भनाई छ। अलि कति मिलेन भने आवाज अर्कै आइहाल्छ।

'बाङ्गिएको काठ पार्यो भने झन् गाह्रो हुन्छ। काठको पनि नशा हुने रहेछ। मैले पनि पछि मात्र थाहा पाए। त्यसैले बाङ्गिन नदिई नशा मिलाएर काम गर्नु पर्ने हुन्छ’ उनले अनुभव सुनाए।

कुनै पनि कामलाई नाइँ भनेनन्

भूकम्पको समयमा उनको काम रोकियो। जति सामान बनाएका थिए त्यही नै बेचेर बस्नु पर्यो। नयाँ माग आएन। अनि त्यसपछि जे-जे काम आयो त्यही गरे। उनले गाइडको काम पनि गरे।

'म गाइड हुँदा त एकदमै रमाइलो थियो।  त्यो ठाउँ नै त्यस्तो थियो कि, के थियो।  तर, समय गएको पत्तो नै नहुने। त्यहाँ काम गर्दा अलि अलि अङ्ग्रेजी पनि सिकियो। पैसा पनि भइराख्थ्यो। एक हजारले महिनौँसम्म पुग्थ्यो । अहिले त साट्यो कि सक्यो। सबै कुराको भाउ बढ्यो तर पैसाको भाउ बढेन।’

पछि उनले फलामको काम गरे। फर्निचरको काम गरे। रङ्ग लगाउने काम गरे। घर बनाउने कम पनि गरे। कसैले यो काम गर्ने हो भनेर सोध्यो भने उनले नाइँ भनेनन्।

त्यस बेला कुनै पनि काम गर्न नाइँ नभनेको कारण अहिले आफूलाई जुन काम गर भने पनि आउँछ भन्छन् उनी।

'सीप चैँ सिकिराख्नु पर्ने रहेछ। कहिले कुन कम लाग्छ कहिले कुन काम लाग्छ।  लकडाउनको समयमा पनि त्यत्ति काम भएन। भर्खर भर्खर बिस्तारै काम हुँदै थियो। त्यतिखेर लकडाउन भए पछि त रोकिनै हाल्यो नि’ उनले भने।

जागिर पक्की गर्ने

अहिले नवराजले ४३  वसन्त पार गरिसके। तर, पनि उनले विवाह गरेका छैनन्।

’केके मिलिरहेको छैन। प्रयास जारी छ’ उनले हाँस्दै भने।

अहिले उनी आमा र बहिनीसँग बस्छन्। कहिलेकहीँ धेरै काम हुँदा उनलाई आमाले पनि काममा सहयोग गर्छिन्।

केही वर्षदेखि उनको काम निरन्तर भइरहेको देखेर केही व्यक्ति सिक्न पनि आए। तर उनले सकेनन्।

' मैले सिकाउन सकेको छैन। त्यसको लागि खर्च धेरै हुन्छ। त्यति धेरै सामान मसँग छैन। यस्तो अवस्था हेर्यो भने पछि सारङ्गी लोप हुन पनि सक्छ। तर, अहिले माग बढेको कारण काम निरन्तरता हुन सक्यो भने चैँ फेरी लोप हुन अलि गाह्रो नै छ’ उनले भने।

उपत्यकामा जति पनि गन्धर्वहरू छन् उनीहरू कसैको पनि पक्की जागिर छैन । ’अहिले आएर २,४ जना को जागिर भयो होला । तर, उनीहरूको काम भनेको नै गाइडको काम हो।

त्यही भएर उनी सारङ्गीमा नै भए पनि आफ्नो जागिर पक्की गर्न लागिपरेका छन्। लकडाउन पछि कहिले घरबाट बाहिर निस्किए भन्ने कुरा उनलाई याद पनि छैन।

'बरु भित्रै बस्छु। एक-दुई हजारको काम गर्छु भन्ने हुन्छ।  बाहिर जाने मननै गएन।  बरु भित्रै बसेर बिस्तारै काम गरिराखेको हुन्छु । हतार गरेर पनि के गर्नु । के नै गर्नु छ र!’ उनले भने।

१७ असोज, २०७९, १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।