६८ वर्षमै प्रतिनिधि सभा निर्वाचन नलड्ने बाबुराम भट्टराईको घोषणा 

६८ वर्षमै प्रतिनिधि सभा निर्वाचन नलड्ने बाबुराम भट्टराईको घोषणा 

काठमाडौं : पूर्व प्रधानमन्त्री एव‌ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।

गोरखाली मतदातालाई धन्यवाद दिंदै सोमबार विहान सामाजिक सञ्जालमा एक लामो पोस्ट लेख्दै ६८ वर्षीय भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’

२०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन्।

चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन्।

आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधार बनाएको पनि उनले लेखेका छन्।

यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए।

७० र ७५ वर्षमा समेत पदका लागि प्रतिस्पर्धा गर्ने अन्य नेताहरूले उनकाे याे घाेषणाबाट केही सिक्नुपर्ने अधिकांशकाे प्रतिक्रिया छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-

‘प्रिय गोरखा, २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यूभाइहरूमा अन्तःहृदयदेखि आभार ब्यक्त गर्दछु ।

आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।

मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरू भएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु । २०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ । आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु ।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु । म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु । मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहाँका साथमा हुनेछु ।

आसन्न वडादशंै, तिहार, नेपाल सम्वत् नयाँ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना !’

१७ असोज, २०७९, १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।