दुई वर्षकाे आम्दानी फर्काउँदै पाेखराका डुंगा व्यवसायी, दैनिक चार हजारसम्म कमाउँछन् चालक

दुई वर्षकाे आम्दानी फर्काउँदै पाेखराका डुंगा व्यवसायी, दैनिक चार हजारसम्म कमाउँछन् चालक

पोखरा : ओखलढुङगाका चित्र बहादुर मगरको दैनिकी गाउँघरमा राम्रै चल्दै थियो। विहान उठ्यो, कुटोकोदालो, मेलापात र अर्मपर्म गयो। दैनिकी चले पनि घरखर्च, बालबच्चाको विद्यालय शुल्क लगायतका लागि आर्थिक जोहो गर्न उनलाइ हम्मेहम्मे भने परेकै थियो।

गाउँकै आधादर्जन भन्दा धेरै युवाले पोखराको फेवातालमा डुंगा चलाएर राम्रो आम्दानी गरेको सुन्दै आएका थिए। पैसाको जोहो गर्न उनी पोखरा हानिए। डुंगा चलाउने योजना बनाए। २०७७ सालमा पोखरा आएर साथीहरूसँग फेवातालमा डुंगा चलाउन थाले उनी।

राम्रै आम्दानी गरिरहेका उनलाई तब संकट आइलाग्यो जब कोरोना भाइरस संक्रमण छपक्क छोप्यो। पेशा व्यवसाय ठप्प बन्यो। डुंगा चलाएर दैनिक घरखर्चको जोहो गर्दै आएका मगरले दैनिक आम्दानीको स्रोत नै बन्द भएपछि ज्याला मजदूरीको काम गरे।

कोरोना संक्रमण दर घटेसँगै पुनः उनी डुंगा चलाउने काममै फर्किएका छन्। संक्रमण घटेपछि पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएकाले उनको व्यवसाय पनि क्रमशः बढ्दै गएको छ। दुई वर्षजति समस्या भोगे पनि अब अवस्था सहज भएको उनी बताउँछन्।

‘दुई वर्षजति समस्या भोगे पनि अब त्यस्ते महामारी आउँदैन कि भन्ने लागेको छ,’ उनले भने, ‘लामो समय अवरुद्ध व्यवसाय लयमा फर्किएको छ।’

दशैंसँगै डुंगा चढ्ने पर्यटक बढेको र तालबाराही जाने भक्तजनको संख्या पनि बढेकाले डुंगा व्यवसायीलाई केही सहज भएको उनले बताए।

‘दशैंअघि पनि डुंगा चढ्नेहरू बढिरहेकै थिए,’ उनले थपे, ‘तर, दशैं सुरु भएपछि भने विगतको झल्को दिनेगरी डुंगा सयर गर्ने पर्यटक बढेका छन्।’

वर्षायाम सकिएसँगै शुरु भएका दशैं तिहार लगायतका चाडबाडको आगमनसँगै फेवातालका डुंगा व्यवसायीहरू व्यस्त हुन थालेका छन्। बाक्लिएको पर्यटकको घुइँचोले व्यवसायीहरू आशावादी देखिएका छन्।

‘कोरोनाका कारण दैनिक २/३ टिप पाउन पनि मुस्किल थियो, दिनभर काम गर्दा पाँच सय रूपैयाँ पुर्याउन पनि गाह्रो थियो,’ उनले भने, ‘अहिले पोखरा आउने अघिकांश पाहुनाहरू फेवा किनारामा पुगेर डुंगा चढ्छन्, लामो समय सुस्ताएको व्यवसायले अब, भने लय समात्छ जस्तो छ।’

डुंगा चढ्नेहरूको संख्या बढेसँगै दैनिक रूपमा तीन–चार हजारसम्म आम्दानी गर्दै आएको मगरले बताए।

विगत १९ वर्षदेखि फेवातालमा डुंगा चलाउने अर्का पाका चालक हुन् चिजमान गुरुङ। कास्कीको घान्द्रुक घर भएका उनको फेवामा तीन ओटा डुंगा चल्छन्। उनी पनि कोरोना संक्रमण कम भएसँगै डुंगा चढ्नेका संख्या बढेकोमा खुसी छन्। पर्यटक बढ्दा उनलाई उत्सव आएझैँ लाग्छ।

‘वर्षायाम सकिएपछि दशैं सुरु भएसँगै डुंगा चढ्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ,’ उनले थपे, ‘अहिले त व्यवसायीलाइ उत्सव नै आएजस्तो भएको छ, विहादेखि बेलुकासम्म डुंगा चालकलाई भ्याइनभ्याइ छ।’

दुई दशक डुंगा चलाउँदासमेत उनी पोखराको लेकसाइडमै भाडाको घरमा बस्दै आएका छन्। यतिका समय डुंगा चलाएर पारिवारको पालनपोषण गर्दै आएका गुरुङलाई बिहान बेलुकी हातमुख जोर्न सकस थिएन। तर, कोरोनाको समय ज्यान धान्नै उनले ऋण लिए।

‘कोरोनाको बेला काडेको ऋणको ब्याज अझै तिर्दैछु,’ उनले भने, ‘अब डुंगा चढ्ने पर्यटक बढेकाले ऋण तिर्न सहज हुन्छ कि भन्ने लागेको छ, अहिलेको जस्तै चहलपहल भए दैनिकी चलाउन र ऋण तिर्न समस्या हुँदैन।’

भारतको बिहारबाट रोजगारीका लागि पोखरा आएका व्यक्तिले लाखौं रूपैयाँ लगेको बताउँदै गुरुङले नेपालीहरू खाडी गएर पसिना बगाउनु नपर्ने बताउँछन्। व्यवसायमा उतारचढाव हुने भन्दै उनले नेपालीले ठाउँको सही सदुपयोग गर्न नसकेको दुःखेसो गरे।

‘हाम्रा भाइछोरा सामान्य पैसामा खाडीमा पसिना चुहाइरहेका छन्,’ उनले थपे, ‘तर, बिहारबाट आएकाहरूले फेवातालमा डुंगा चलाएर वार्षिक लाखौं रकम लैजान्छन्, हामी नेपालीले माल पाएर चाल पाएका छैनौं।’

सिन्धुलीका सुरेश विकले पनि पर्यटकलाई डुंगामार्फत फेवातालमा सयर गराउन थालेको एक दशक पुगिसक्यो। पैसाको जोहो गर्न बिहानदेखि बेलुकासम्म ग्राहकको प्रतिक्षामा बिताउने विकलाई दशैंमा डुंगा चढ्नेको भीडले गर्दा खर्च जुटाउन सहज भएको बताउँछन्।

चाडपर्वको आगमनसँगै पोखरामा आन्तरिक पर्यटकको संख्या वृद्धि भएको लेकसाइडका होटल व्यवसायी राजन सुवेदीले बताए। एक महिना अघिदेखि पोखरा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको उनको भनाइ छ।

दशैं सुरु भएसँगै आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पोखरा आएका अधिकांश पर्यटक फेवातालमा रहेको बाराही मन्दिर पुगेर दर्शन गर्ने र डुंगामा सयर गर्ने गरेका छन्।

फेवामा किनारामा रहेका विभिन्न ८ वटा घाटमा ७ सय २६ वटा डुंगा दर्ता भएका छन्। त्यसमध्ये सबैभन्दा बढी बाराही मन्दिर जान बाराहीघाटबाट चल्छन्। बाराहीघाटबाट करिब ३ सय ५० डुंगा सञ्चालन हुने गरेका छन्।

फेवातालमा बाराहीघाट सहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाटबाटै डुंगा चल्छन्। ठूलो संख्यामा डुंगा दर्ता भए पनि समितिको निर्देशनमा पर्यटकको चाप हेरेर आवश्यकताको आधारमा आलोपालो प्रणाली मार्फत सञ्चालन हुँदै आएको छ।

१७ असोज, २०७९, १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।